परदेशी छोरीको चिट्ठी


आदरणीय आमा,
परदेशी छोरीको साष्टांग दण्डवत !

पत्रको सुरुवात आफू निको रहेर, हजुरहरूको आराम, कुशलता र स्वास्थ्यको कामना गर्दै कोर्दैछु !

निश्चिन्त रहनुहोस, आमा यहाँ सबै निको छ, प्रवाशको यो बसाइ जति नै निको र राम्रो भने पनि किन किन यहाँको भूमिले मन जित्न सक्दैन रहेछ, प्रकृति जति नै सुन्दर र आकर्षित भए पनि मन अल्झ्याउन सक्दैन रहेछ, आमा … । आँखै डिलबाट बगेको समुद्र आँखा कै क्षितिजसम्म फिजिएर बगे पनि, आँतको प्यास मेट्न नसक्दो रहेछ आमा । यति बेला आएर सोच्न बाध्य छु, तिमीले कसरी तिम्रो छातीबाट अमृत चुसाएर यो धड्कन धड्काइरह्यौ ? कसरी यो जीवन बचाएर जगत देखाउने लायक बनायौ ? हो आमा हिजोआज सोच्न बाध्य छु । तिम्रो महानताको गाथा, त्याग र तपस्याले सिर्जित मेरो अमूल्य जीवनको मूल्य र मान्यता ।

तिमीलाई थाहा छ, आमा ? … परदेश भनेको अनौठो केही छैन, ठुला-ठुला गगन चुम्बी भवनको थुप्रो, जेरी जस्तो जति घोत्लेर हेरे पनि उल्झन जस्तो देखिने सडकको नागबेली लस्कर, दिपावलीमा झिलिमिली दीप जस्तो बिजुली बत्ती जो साँझ पर्ने बितिकै आँखै तिर्मिराउने तरिकाले बलि दिन्छन, सबैभन्दा ठुलो कुरा त आत्मा बिहीन मान्छेको बिगबिगी नै परदेश रहेछ, आमा । तिमीलाई मेरो चिट्ठीको हरफहरू पढ्दा लाग्दो हो, कति सुखी सम्पन्न ठाउँ रहेछ तर त्यो सरासर मनको भ्रम हो, आमा ।

किनकि मेरो जीवनको तीसौ वसन्त पार गरिरहँदा सबैभन्दा प्रिय र मन मोहक समय तिम्रो काखमा लुटुपुटु गर्दै तिमीले लगाएका पोते खेलाउने, तिम्रो निधारको टिकी उक्काउदै आफ्नो निधार गालातिर टाँस्ने, तिम्रो मक्किएको चौबन्दी बिना कारण तान्ने अनि तिम्रा बादलु जस्तो केसरासी खेलाउनु नै प्रिय र यादगार समय थियो । जुन समय सायद अब कदापि आउने छैन होला मेरो जीवनमा …

लेख्दा लेख्दै केके लेख्न पुगिसकेछु, अनि साँची आमा ! वरपर छरछिमेकतिर के कस्तो छ?सुनेकी थिएँ माथ्ला घरे जेठा पनि साउदी लाग्यो रे, उनका छ जाना सन्तानहरू स्कुल जान्छन कि जान्दैनन ? जति नै दुख परे पनि आफ्नो सन्तानको पढाइ लेखाई गर्नु भन्नु है ती भाउजूलाई … । अनि लप्टन बा को छोरो सिद्धार्थ पनि डाक्टर भाको छ अरे नि ! उ अम्रिका तिरै बस्छ रे, के यो सत्य हो, आमा? यदि यो सत्य हो भने … यसरी नै अब आउने पिढीका शिक्षित, विद्वान र जवानहरू विदेश मात्र दौडने हो भने देश कहिले बन्ला र आमा? यस्तै कुराहरू सम्झाई बुझाइ गर्नु हाम्रो भाइलाई जो अहिले इञ्जिनियरिङ्ग पढ्दैछ । उस्को इन्जिनियरिंग सकिएर सक्षम बन्न सफल भयो भने देश निर्माणमा लाग्नु पर्छ भनेर सम्झाउनु, किन कि देश समृद्ध, शान्त र बिकशित भए हामी फलानो देशको नागरिकभन्दा गर्वले छाती फुक्दछ र शिर स्वाभिमानले ठडिन्छ न कि कहीं कतै नसुनिएको देशको समृद्ध धनाढ्य व्यक्तित्वभन्दा …

यी सब कुराहरू पढ्दा तिमी छक्क परिरहेकी छौ होला मेरी आमा ! छक्क पर्नु पर्दैन आमा यी त मेरो जीवन भोगाइ र समयले सिकाएको पढाएको केही अन्त्यन्त गहन कुरा हुन जुन कुराहरूमा यदि समयमा सोच्न र बुझ्न सकेनौ भने अमूल्य जीवन अर्थहीन हुने छ । जुन बेला मैले आफ्नो आँगनी, गाउँ, शहर हुँदै देशको सीमा नाघेर पराई भूमिमा अर्थ आर्जनको लागि टेंके त्यो बेला घरको परिस्थिति अत्यन्त दयनीय थियो जुन तिमीलाई मभन्दा राम्रोसँग थाहा छ, त्यसैले मनले नचाहदा नचाहदै पनि प्राणभन्दा प्यारो देश छोडेर अन्धाधुन्दा यो ठाउँ आई पुगे । र सोचेकोभन्दा बिपरित दुख कष्ट झेल्दै ढुंगा माथि प्राण भर्ने काम गरेर केही पैसा कमाउन सके । यही कमाइले गर्दा आज हाम्रो निधारबाट दरिद्रताको ताज हटेको छ, भाइ बहिनी राम्रो विषय लिएर पढ्दैछन हाम्रो लागि यही नै ठुलो उपलब्धि हुन ।

जुन दिन घरको संघार नाघेर हिड्दै थिएँ गाउँ समाजले अनेक लान्क्षना लगाएको तिमीले सुनेकी छ्यौ । त्यो बेला कठिन समयको सामना गर्नु परेको थियो तर जसै उठाएको पाइला र साहसले सफलता पायो त्यसै गाउँले र समाजको सोच बिचार नै परिवर्तन गरायो, त्यसैले आमा अरुले के भन्ला मतलब गरेर चल्नुभन्दा आफ्नो हृदय र बिचारले के गर्दा ठिक हुन्छ त्यो सोचेर चल्नु ठुलो कुरा रहेछ, आमा । यो सत्य हो कि भौतिक परिवर्तन जस्तो सोचको परिवर्तन आजको भोलि कठिन छ तर समय अनुसार सोचको परिवर्तन पनि हुँदो रहेछ, जुन तिमी आफै पनि अड्कल काट्न सक्छौ ।

हुन त सबै परदेशी म जतिकै भाग्यमानी हुँदैनन आमा, यहा प्राय जसो हरेक दिन कुनै न कुनै घट्ना, दुर्घटना यात आत्महत्याको खबर आइरहन्छ जसको शिकार हामी नेपाली नै धेरै जसो छौ । कोही काम गर्दा गर्दै कम्पनीमा दुर्घटना भएर ज्यान गुमाउछ्न, कोही तनाब युक्त भएर काममा लाग्दा दुर्घटनाको शिकार भएका छन, कोही काम गर्ने ठाउँको अनावस्यक किचकिच र मानसिक पीडाले आफूलाई एक्लो सम्झेर आफैलाई खतम गर्छन, कोही आफ्नो सोचाइको बिपरित भोग्नु पर्दा पारिवारिक साथ र समर्थन नपाउदा दुख पीडाले आफूलाई अब कहिले छोड्दैन होला भन्ने मानसिकता बोकेर पनि आत्महत्या गर्नेको कमी छैन आमा … तर तिमी न आतिनु, म कम्जोर छैन आमा, किन कि मेरो शरीरमा तिम्रो रगत बगिरहेको छ, मेरो छातीमा तिम्रो धड्कन धड्किरहेको छ, त्यसैले म कम्जोर छैन, … एउटा कुरा भन्दिन भनेर तिमीबाट लुकाई राखेकी थिएँ, किन कि भन्ने गर्छन खाटो बसेको घाउ चलाउनु आफूलाई पीडा दिनु हो, तर मलाई थाहा छ यो खाटोले मलाई होइन तिमीलाई दुखाउछ, सन्तानको पीडा आफ्नो छातीमा थाप्ने एउतै आमा हुन्छिन, हो आमा … केही महिना अघि मात्र म सिकिस्त बिरामी परेर ओछ्यान परेको थिएँ, हस्पिटलको सय्यामा पल्टेर छिटो निको हुन पाम भगवान भनेर जप्नुको बिकल्प थिएन, समय कुर्नै पर्ने बाध्यता जो थियो, यसै बीच बेखर्ची हुँदै गएँ, हातबाट काम फुत्कियो, दैवको अर्को मार पर्यो, मलाई अर्को रोग देखियो र मेजर अप्रेसन गर्नु पर्ने डाक्टरले बताउनु भयो, म स्तब्ध भएँ । के गरौ कसो गरौ कोसँग सल्लाह लिउ?यसै बीच तिम्रो भोगाइको याद झल्झली आयो । हाम्रै गाउँको मुखियाले तिमीलाई दलित भनेर अनेक अपशब्द र हेला गर्दा हाम्रो मुखमा माड हाल्न तिमीले गरेको लाख दुख सम्झिए र सम्झिए मेरो मेरो भौतिक दुखाइ केही होइन जस्तो लाग्यो आफूलाई त्यतिकै पनि निको महसुस गरें …

यसै क्रममा लाखौलाखको ऋण काँध भरी थियो, थोरै पनि बिचल्लित नभएर आफूलाई निको पार्दै लगे, र समयको ओखतिसँगै निको हुँदै गएँ राम्रै काम पनि पाएँ, केही साथीभाइहरूको ऋण तिर्दै कम गर्दै गएको छु अब केही बाँकी छ आमा त्यो पनि तिर्छु, म कम्जोर भएर आत्महत्या गर्ने मान्छे होइन, म समय र परिस्थतिसँग राम्रोसँग परिचित हुँदै गएकी छु, मान्छेले गर्ने व्यवहार बुझ्न थालेकी छु, स्वाभिमान बचाएर बाच्न जानेकी छु आमा … तिमी ढुक्क हौ ।

याहाको सबैभन्दा राम्रो कुरा लेख्नै बिर्सेछु आमा, तिमीलाई थाहा छ ? यहाँ छुवाछुत छैन नि ! दिनभरि काममा काम बिग्रिएर गाली गरे पनि दिउसो शाँझ एउतै भाडाको भात एकै ठाउँमा मिलिजुली खान्छौ, मालिक होस कि नोकर हो, आमा, यहाँ छुवाछुत छैन … !

लेख्दा लेख्दै धेरै लेखिसकेछु, कतै उदि गल्ती भए सच्याएर पढ्न लगाउनु भाइ बहिनीलाई, रात धेरै भयो अब निदाउछु, बाँकी अर्को पत्रमा लेख्छु । बिदा चाहन्छु ।

उही परदेशी छोरी
कविता …
समुद्रपारीको देशबाट

लेखक:कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “परदेशी छोरीको चिट्ठी”

  1. खुसी लाग्याे । यस्ता भावनाहरु
    खुसी लाग्याे । यस्ता भावनाहरु अाइरहुन् टाढा टाढाकाे बसाइ भए पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *