प्यारो साथी प्रेम तिमीलाई कस्तो छ हँ ? म यहाँ सञ्चै छु तिमी त त्यहाँ गएपछि प्याट्रिक भएछौ अरु साथीहरुले भनेर पो थाह पाएँ । अनि कस्तो पाखे रहेछ हाउ आर यु ? आर यु फाइन ? नभनी आजकल को जमानामा पनि सञ्चै भनेर सोधेको अनि डियर हो को बियर हो नलेखेर प्यारो लेखेको नभन ल तिमीले मलाई राम्रोसँग चिनेका छौ म अङ्ग्रेजी जान्दिन । अँ साँची तिमीले त नेपाली भाषा बोल्न र लेख्न पनि भुलिसकें भन्छौ रे हो ? हेर न आफूलाई इङ्ग्लिश फिङ्ग्लिश आउदैन नेपालीमै लेख्दै छु, फेरि पाखे मोराले नेपालीमै पो पड्काएछ भनेर पत्र नपढी च्यातेर चैं नाफाल्नु नि है, पढेपछि भने जेसुकै गर ।
अँ अनि तिम्री ती खैरिनी भाउजू कस्ती छिन हँ ? तिमीले त नेपाली केटी त मान्छे नै हैनन् भनेर ती गोरिनीलाई बिहे गरेका हौ रे । तिमी त्यहाँ गएपछि अर्कै भएका छौ रे, नाम पनि फेरेर प्याट्रिक बनाएछौ, धर्म संस्कृति सबै भुलेछौ । क्या हो तिम्रो चाला त निको छैन नि । नेपाल पनि के जाने हो र जानै मन लाग्दैन, यतै सेटल हो कि फेटल हो हुनुपर्ला भन्छौ रे । तिमीले कति चाडै नेपाली रीति रिवाज धर्मसंस्कृति भुल्यौ हँ ? के छ तिम्रो त्यहाँ स्वदेशलाई बिर्साउने ? यहाँ को दशैं तिहार ल्होसार होलि आदि बिर्सेर खै के के डे हो मनाउछौ रे । यस्तै हो भने धिक्कार छ तिमीलाई, नेपाल आमाले तिमीलाई श्राप दिनेछिन ।
तिम्रा ती बुढा बाबाले पैताला खिइने गरी चर्चरी फुटेका गोडाले भारी बोकेर पढाएको छोरो ठुलो र ज्ञानी होला र बुढेसकालमा लट्ठी जस्तै सहारा देला भनेको खै बिर्स्यौ यत्त्ति छिट्टै ? तिम्री आमाले खाई नखाई दश धारा दुध ख्वाएर लाड-प्यार गरेर हुर्काएको त्यो दुध को भारा बिर्स्यौ ? अँझै पनि तिम्री आमाको त्यो सेतै फुलेको केशमा नाम्लोको भारी टुटेको छैन । ती बुढी आमा अँझै पनि गाउँ बेशी मेलापात गर्दैछिन् । तिम्रा बाबु चिरिएका पैताला लिएर गोठाला घाँस दाउरा गर्दै छन् । के गरुन र बिचरा प्राण नजाइञ्जेल ज्यान पाल्नै पर्ने रहेछ, तिमी उतै रमायौ । तिम्रा बाबाको त्यो फाटेको कछाड अनि तिम्री आमाको त्यो टालेको चोली कसले फेरिदिने हो ? तिमी त त्यहाँ खैरिनीको चार अङ्गुल छोटो कपडाले छोपेको अर्धनग्न शरीर देखेर मख्ख छौ होला हैन त ? तिमीले बचपनमा खाएर हुर्केको त्यो गुन्द्रुक र ढिडोको स्वादको अलिकति पनि झल्को लाग्दैन ? तिमी त त्यहाँ खै कस्ता कस्ता अङ्ग्रेजी खाना पिज्जा र वर्गर जस्ता खानेकुरा खान्छौ रे, नेपाली खानालाई घृणा गर्छौ रे । त्यतिमात्रै कहाँ हो र नेपालबाट भेट्न जाने साथीहरूलाई पनि चिन्दिन भन्छौ रे । हैन अलिकति पनि लाज लाग्दैन तिमीलाई यसो गर्न ? अँझै आजकल त स्मार्ट बन्न खै त्यो कोकिन र हेरोइन जस्ता लागु पदार्थ समेत पो सेवन गर्छौ रे । अनि अङ्ग्रेजी पप हो कि टप हो त्यो कानै खाने ट्यारट्यार र प्यारप्यार गर्ने गीत सुन्छौ रे । यहाँ भञ्ज्याङ्ग र देउरालीमा गाइने रोधी, झ्याउरे, चुड्का, सालैजो र दोहोरी को भाका सबै यत्ति छिट्टै भुलिसक्यौ हँ ? तिम्रो यहाँ घर को हालत कस्तो छ थाहा छ तिमीलाई ? त्यो खरको छानो चुहिएर वर्षाको पानी नथामिने, अनि ती बाँसका भित्ताहरू मक्किएर भत्किसकेतिम्रा बाबु दिनदिन बुढो, असक्त र रोगी हुँदै गए । कसले बनाइदिने तिम्रो त्यो घर ? तिमी त त्यहाँ साठियौ तल्ला माथि बस्छौ रे, त्यो कस्तो स्वार्थी मन हो तिम्रो ? कमसेकम आफू नाआएपनि ती बुढा बाआमालाई पैसा पठाउन त सक्थ्यौ होला त्यो पनि छैन । तिम्रा बाबुआमा छोरो कहिले आउला भनी बलिन्द्र धारा आँसु बहाउदै तिम्रै बाटो हेर्छन । तिम्रा बाबाआमा मरे भने पनि काजक्रिया कसले गर्ने हो ? तिमी त्यहाँ एक्लै मोजमस्ती गरेर आखिर के पाउँछौ ? अजम्बरी त तिमीपनी छैनौ होला आखिर तिमी पनि त एकदिन त मर्छौ होला । यदि तिम्रो मनको कुनामा अलिकति पनि माया दया छ भने, म नेपाली हुँ भन्ने भावना छ र तिम्रा ती बृद्द बाबुआमा को सन्तान हौ भने तुरुन्त नेपाल फर्क ।
घर परिवार, गाउँ समाज र राष्ट्रले तिमीजस्ता युवा को प्रतिक्षा गरिरहेछ ।
हेर न यसले त एकोहोरो मलाई मात्रै गाली गरिरह्यो आफ्नो र गाउँ घरको अरु खबर त केही बताएन भनौला पर्ख सुन म बताउँछु त्यो पनि । म अँझै पनि त्यही गाँडाकोट गाउँको पुरानै ढाँडको घरमा छु । त्यहीङ्का हाम्रा बचपनका पुरानै तरुनी साथीहरू न्याप्टी, भुन्टी, उजेली, काली, झुमा अनि केटा साथीहरू हर्के, बिर्खे, तल्लाघरे साइँला, भूमे, भुन्टे आदिसँग गाउँबेसी मेलापात, गोठालो र घाँस दाउरा गर्दै छु । अहिले पनि भर्खरै माथि बेलभञ्ज्याङ्गबाट भुन्टी र उजेलीले ढाँडघरे दाइ छिट्टो आऊ है बनमा घाँस काट्न जान भनेर बोलाउँदै थिए यसो तिम्रो याद आएर पत्र लेख्न बसेको । कम्मरमा खुर्पेटो र काँधमा नाम्लो भिरेकै छु । म त त्यही कछाड र भोटो लगाउँदै छु पाइन्ट त यो ज्यानमा अँझैसम्म परेको छैन । हाम्रा ती साथीहरू भुन्टी उजेली पनि चोली र फरिया नै लगाउछन् ।
सुन न हामी त बिहान उज्यालो भएपछि थोरै अर्नी पानी खाएर बनमा घाँस दाउरा गर्न जान्छौं सबै तरुना तरुनी जम्मा भएर । अनि बनबाट फर्केर आएपछि त्यै ढिडो र गुन्द्रुक महीसित खर्ल्याक खुर्लुक निलेर गाइवस्तु लिएर गोठालो जान्छौं । कम्ती रमाइलो हुँदैन हेर गोठालोमा पनि । ती गाउँले तरुनीहरुसित खेल्दै जिस्कन्दै र दोहोरी गीत गाउँदै गोठालो गर्दा समय बितेको पत्तो हुँदैन । फेरि ए उस्तै उस्ता उत्ताउला केटा केटी मिलेर गोठालो को निहुँमा केके गर्छौ भनौला त्यस्तो नराम्रो नसोञ्च । हामी सबै समूहमा रमाइलो गर्छौं र त्यहाँ गोठालोमा कोही साना केटाकेटी र बुढाबुढी पनि हुन्छन । बेलुका बस्तुभाउ लिएर गीत गाउँदै उकालो लाग्छौं । अँ साँची ती भुन्टी काली हरुले पनि प्रेमलाई चिट्ठीमा हाम्रो पनि सम्झना सुनाइदिनु है भन्दै थिए । अँ हामी बेलुका खान खाइवरि बेलभञ्ज्यांङ्गको चौतारीमा मादल, खैञ्जडी, बाँसुरी, मुजुरा, सारङ्गी, गितार आदि लिएर रोधी गाउन जान्छौं दोहोरी हानाहान चल्छ, कम्ती रमाइलो पो हुँदैन ती रातहरू । तिमी पनि त गाउँमा छँदा मारुनीको भेषमा फरिया लगाएर नाचेको, उजेलीसँग थाक्ने गरी झ्याउरे नाचेको, न्याप्टिसँग दोहोरी चल्दा रातभरि पनि हारजित नभएर बिहान आआफ्नो घर तर्फ लागेको बिर्स्यौ र ? कहिलेकाहीं पल्लागाउँ तिलिङ्गडाँडाका फुलमती, चम्पा, रुपा, सान्नानी आदिहरू कौरा नाच्न यतै आउछन । कहिले फेरि हामी उनीहरुका गाउँमा गएर झ्याउरे गाउँछौं । त्यो गाउँनै थर्कने मादलको रङ्को त नभुल्नु पर्ने हो तिमीले पनि । लाज नभएका उरन्ठेउला मोरामोरीहरू रात बिरात जम्मा हुने भनौला त्यसो होइन त्यहाँ हामी बाहेक वल्लो गाउँ पल्लो गाउँका बुढा बुढी, किशोर किशोरीहरू पनि आउँछन । हामी आफ्नै तालमा नाच गान गर्छौं, बुढा बुढीहरू चुरोट बिंडी तान्दै खोक्दै अर्कापट्टी बसेर हाम्रो रमाइलो हेर्दै आफ्ना जवानीका रमाइला क्षण को याद गर्दै कुराकानी गर्छन । हामी अँझैपनि देउसी भैलो खेल्छौं, होलि को रङ्गले रङ्गिएको त्यो मेरो कछाड को रातो अँझै गएको छैन । खयरबोट, दारेगौंडा र देउरालीको त्यो आठ पिर्के काठको रोटे पिङ्ग, माझ गाउँ को लट्ठे पिङ्ग अँझै पनि मच्चिरहन्छन उस्तै रमाइलो हुन्छ चाड बाड को बेला । अँझै ती गुराँस फुलेर राताम्मे भएका ऐंसेलु खर्क, भेंडी खर्क उस्तै रमाइला छन् । देउरालीको डाँडामा मयुर र डाँफेहरू उसैगरी नाच्दै छन्, कोइलीले उस्तै स्वरमा नयाँ मान्छेलाई कोहो कोहो भन्दै छ । सेराको बनमा न्याउली उसैगरी कुर्लन्दै रोइरहेको सुनिन्छ । तारे भिरको त्यो ओढारमा अनि त्यो सेराको जङ्गलमा उसैगरी बाघ गर्जन्दै छ । कोटकि देवी, देउराली देवी, कालिका माइ, भीमसेनस्थान, भैरवस्थान, रम्बादेवी, पाथिभरा देवी आदिमा अँझैपनि चाडपर्वका बेला पुजाआजा र भाकल गर्दै र बलि दिनेको उस्तै घुइँचो छ । शहरतिर जागिर व्यापार गर्नेहरू पनि चाड बाड को बेला गाउँमै जम्मा भएर उसैगरी रमाइलो गर्छन ।
तिमीजस्तो पढेलेखेका युवाहरू अचेल गाउँमा पनि धेरै छन् । स्वदेशमै जागिर व्यापार गर्छन, स्वदेश को माटोमा बहाएको पसिनाको फल अर्कै स्वादिलो हुन्छ । तिमीझैं विदेश पढ्न जाने पनि त कम्ती छैनन् गाउँघरमा अचेल तर उनीहरू तिमीजस्तो पलायन भएनन् । विदेशमा पढेर र काम गरेर सिकेको ज्ञान, सिप, प्रविधि र अनुभवलाई स्वदेशमै परिचालन गरेर यहीङ्को माटो मलिलो बनाएर देश विकाशको गति दिने युवाहरू पनि छन् । तिमीलेझैं ती सस्ता र नाङ्गा सुन्दरीहरू तिनीहरुले पनि देखेका थिए होलान तर तिमीजस्तो उनीहरू बेपत्ता हुन चाहन्दैनन । तिमी त ती गोरेनी हरुको अर्धनग्न शरीरसँग खेल्न र अरु भौतिक सुख सुबिधा पाएपछि संसारै भुल्ने रहेछौ । हेर मान्छे भएर जन्मेपछि आदर्श जीवन सिउन सिक्नु पर्छ । विदेशको कमाइलाई स्वदेशमै लगानी गरेर यो देशको विकाश गर्नुपर्छ । स्वदेशलाई तिमीजस्ता शिक्षित र प्राविधिक ज्ञान भएका कर्मठ युवाहरुको खाँचो छ । केही वर्ष देखि देशको राजनीतिक र आर्थिक अवस्था बिचलित भएको छ । अब फर्केर देश बनाउनु पर्छ । तिमीजस्तै सबै युवाले देशको राजनीतिलाई दोष दिन्दै नेताहरुले देश बिगारे, बेरोजगार भईयो, यो देशमा के छ र, कुनै कामै छैन यहाँ बसेर भन्दै विदेश भासिने हो भने भोलि नेपाल कङ्गाल र वृद्धआश्रम को देश भनेर संसार भरि चिनिने छ ।
अँ हेरन लेख्दा लेख्दै चिट्ठी लामो र धेरै बेर पनि भएछ । उता मोरीहरुले डाँडाबाट छिटो आऊ भगवान दाइ भनेर चिच्च्याउँदै घाँटी नै सुकाएर हैरान पार्न लागिसके । मोरीहरुलाई यत्ति चिट्ठी सकिञ्जेल एकछिन पर्खन पनि कत्ति साह्रो परेको हो । लौ त प्रेम अहिलेलाई पत्र बन्द गरेँ, बनमा घाँस काट्न जान अबेर भयो ।
लौ लौ मोरी हो ! नआत्तिउ म आउँदै छु आँसी नाम्लो लिएर तिमीहरू पर्ख है त्यै बेलभञ्ज्यांङ्गमा म आइहलें ल !
उही तिम्रो गाउँले मित्र
ढाँडघरे भगवान
