Skip to content

बाल–लक्ष्य: तमाम आमाबाबुलाई छोरीको पत्र

PriyaYadav


श्रद्धेय तमाम बुबाआमा !

आज म मनको उकुसमुकुस पोख्न पत्र लेख्दै छु । यसबाट नमीठो अनुभूति महसुस हुन गएमा विनम्रताका साथ क्षमायाचना गर्दछु । यद्यपि आजका नेताले जस्तो कुरा फिर्ता लिन भने रुचाउँदिनँ । साथै, कुराको पोको खोल्न अनुमति चाहन्छु ।

अहिलेको समय साह्रै कलिलो छैन । पहिलेको जस्तो सोझो पनिरहेन । आठ–दश कक्षामा नपुग्दै अहिलेका छोरीहरू पनि सुझबुझसहितका भएर निस्कन्छन् । मानसिकता पाको भए पनि व्यवहार भने उत्ति साह्रो परिपक्व हुँदैन । यद्यपि आफूले गरेको गल्ती भने अनुभूत हुन्छ । मेरो पनि यस बेला ज्ञानको क्षितिज पनि फराकिलो भइरहेको छ ।

हरेकको बालमनस्थितिमा आमाबाबुको वात्सल्यप्रेमको आभास हुन्छ । निःसन्देह पारिवारिक वातावरण र संस्कारजन्य कुराको अमिट छाप हुन्छ । आजका बालबालिका अभिभावककै औँलाका सहयोगमा बामे सर्न र इसारामा नाच्न सिक्छन् । सार्थक बोलीका भरमा सतर्कता भेट्टाउँछन् । होस गुमाउँदा पाएको ठक्करबाट चेतनाको दैलो उघार्छन् । तर, कहिल्यै पनि आफूलाई चार दिवालभित्रको कैदी बन्न स्वीकार गर्दैनन् ।

मेरो अनुभवले भनिरहेछ– आजका बालबालिकालाई खुला आकाशमा चराहरूझैँ उड्न मन लाग्छ । लमतन्न फैलिएको सडकमा निर्वाध गुडिहिँड्ने गाडीझैँ गुड्ने मन हुन्छ । आफू खुशी उफ्रिरहेका र लुकामारी खेलिरहेका खरायाका बच्चाहरूसँग मितेरी साइनो गाँस्ने मन हुन्छ । दलिनमा गुँड बनाएर बस्ने र यताउती चिर्वीर गरिहिँड्ने भँगेराभँगेरीझैँ जथाभावी बकबक गर्दै दगुर्ने मन हुन्छ । स्वतन्त्र संसार कसैले नखलबल्याई देओस् भन्ने लाग्छ । यद्यपि त्यत्ति छुट कसैले नदेला, केही प्रतिशत छुट भने अवश्य पाउनुपर्छ । किनभने मन लागेको काम गर्न पाए हाम्रो अन्तस्करण खुल्छ । गल्ती गर्दै जाँदा पनि ज्ञान बढ्दै जान्छ । गल्ती गर्न नै नपाउने हो भने कसरी सिक्नु र । जोखिम मोल्नेले नै संसार कब्जा गर्न सकेको छ ।

लेखनमा जोखिम मोल्न नचाहेको भए संसारमा कोही साहित्यकार बन्न सक्तैनथ्यो । जोखिम नमोलेको भए चाल्र्स डार्विन वा आइन्सटाइनहरू वैज्ञानिक बन्दैनथे । तमाम आमाबाबु ! अतः आजको पिढीँलाई सतर्कताको ओखती पिलाएर आगोमा दगुर्छन् भने दगुर्न पनिदिनुहोस् भन्ने मेरो प्रार्थना छ ।

अर्कातिर हामीले आर्जन गरेको ज्ञान व्यवहारमा उपयोग गर्ने ठाउँ बाबुआमाले देखाइदिनुपर्छ । धेरथोर व्यवहारमा पस्न, बस्न र रहन दिनुपर्छ । अनि मात्र हामीलाई हाम्रो पारिवारिक संस्कार र संस्कृतिको ज्ञान हुन्छ । यसो गरे पुस्तकमा सिकेको ज्ञानलाई दीर्घकालीन/चीरस्थायी बनाउने अवसर पनि मिल्छ ।

तमाम आमाबाबु ! मेरा यी विचार र बुझाइ सूर्यलाई बत्ती देखाए सरह भए होलान् । कतिपयलाई मन पनि नपर्ला । समयानुसार अभिव्यक्त नगरी पनि भएको थिएन । मैले मनको खसखसलाई आलोकाँचो रुपमा अक्षरमा परिवर्तन मात्र गरेकी हुँ । अन्तमा, समयको माग अनुसारको नागरिक बनाउन तमाम आमाबाबुले नवीन सोच र समझको विकास गर्नुभए हुन्थ्यो भन्ने मनोकांक्षाका साथ पत्रान्त गर्दछु ।

धन्यवाद !

प्रिया यादव
कक्षा १०, श्रीमहावीर मावि,
विषहरिया–४, सप्तरी ।

2 thoughts on “बाल–लक्ष्य: तमाम आमाबाबुलाई छोरीको पत्र”

  1. प्रिया बेटा बहुत खुब । तिमी
    प्रिया बेटा बहुत खुब । तिमी यसै गरी अघि पढ्नै पर्छ । अलिक ठुली भएपछि तिमी अाफु र अाफंनाे समाजमा भएकाे खराबीलाइ मेट्ने अभियानमा पनि लाग्नु पर्छ । तिम्रो विचारलाइ म हार्दिक स्वागत गर्छु । धन्यछाै ।
    शुद्ध लेखन देखेर ता म अझ खुसी भएँ । बधाइ बेटा । अब दाजु हरुलाइ यसै गरी चिठी लेख है । अनि दीदीहरुलाइ र गुरुमा गुरुबाहरुलाइ पनि । ल ।

  2. प्रिया यादवको तर्फबाट होम Sir lai
    प्रिया यादवको तर्फबाट होम सरलाई

    आदरणीय होम सर;
    नमस्कार !

    मेरो काँचो-कलिलो लेख पढी ऊर्जाबर्ध्दक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछु । हजुरहरूजस्ता अग्रजहरूको स्नेह र आशीर्वाद पाइरहे अवश्य समाजका कमजोरीको चिरफार गर्न सक्षम हुने छु ।

    अहिले भने समयको अभाव र प्रविधिको ज्ञानको कमीले भनेजस्तो सफलता हात पार्न अक्षम रहेको व्यहोरा अनुरोध छ ।

    —–हजुरकै शुभेच्छाको अभिलाषी

    छात्रा- प्रिया यादव; कक्षा-10; सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *