पद्य कविता
हाम्रो नेपालमा
लाली गुराँस बनैभरि, मुस्कुराउँदै फुल्दा हुन्,
साइली माइली, सुसेलिंदै ती बनपाखा डुल्दा हुन् ।
सयपत्री, मखमली, बेली पनि फुल्दा हुन्,
हरियाली धानको बाला लहलह झुल्दा हुन् ।
लालुपाते बाटैभरि, टिपी सिरमा लाउँदा हुन्,
तल्लो गाउँकी ठुली-सानी गोठालो नि आउँदा हुन् ।
पल्लोघरे चतुरे नि बाख्रा लिई जाँदा हुन्,
ऐंसेलु र काफल टिपी क्वप्प क्वप खाँदा हुन्।
अनौठो मेरो माया
किन तिमी आउछौ सधैं मेरो झझल्कोमा
निदरीमा बिपनीमा अनि सपनीमा
किन यति धेरै माया दिन्छौ राखी समिप्यमा
म त पागल सरी भैसकें तिम्रै सम्झनाले
तिम्रै कल्पनाले तिम्रै ममताले।
निष्ठुरी बनी छाड्छौ भन्ने त्रास् जिबितै छ
त्यो दिनको कल्पना मात्रै पनि सार्है मर्माहत् छ
आखिर किन यस्तो भयो कसरी म बुझौं?
हाँसी हाँसी बसौं कि सधैं आँसुले नै रुझौं?
वैशाख लागेपछि
वासन्ती नवकान्तिले सब धरा बन्दै छ नौली वधू,
लोभिन्छन् नवफूलमा भ्रमर यी, प्यारो छ साह्रै मधु ।
पाक्यो काफल, कोइली कुहु गरी क्यै सोध्न आएपछि,
यस्तो चाल सहन्छको भने सखे! वैशाख लागेपछि ।।
भालेले सिङले मृगी नजिक गै’ थाल्यो नि कोट्याउन,
उड्दै भुन्भुन गर्छ एक भमरो पाएर पोथी किन ?
जोडी घुर्छ कपोतको नजिकमै, यी दृश्य देखेपछि,
सक्लाको अब मान खोजिरहनै, वैशाख लागेपछि ।।
