काव्य लेख्नेहरूलाई म केही प्रश्न गर्दछु
मेरो चित्त बुझेदेखि काव्यकै भर पर्दछु
चमत्कार बनेको छ विश्वविज्ञानले सब
कविजी भन सो काव्य पढ्ने छ कसले अब ?

काव्य लेखेर के हुन्छ ? यसले भोक टर्छ र ?
अन्याय सहने बानी परेर रीस मर्छ र ?
कि आफैँ मनको डाहा बिलाएर हराउँछ ?
कस्तो मानिसले पढ्दा मन सञ्चो गराउँछ ?

काव्यको अर्थ लाएर पढ्ने मानिस को छ र ?
काव्यकै भरमा पर्दा यसले रोग हर्छ र ?
यो पैसे युगमा काव्य पढेर धन बढ्छ र ?
मान्छेका मनको बाधा-विरोध पनि हट्छ र ?

रमिते युगको मान्छे रमितामै रमाउँछ
पैसाकै जपना छोडी कल्ले काव्य समाउँछ ?
कस्तो काव्य पढेदेखि मानको पीर हट्तछ ?
के कस्तो कविता पढ्दा उदासीपन घट्तछ ?

पढ्दैमा कविता-काव्य कामना पूर्ण हुन्छ र ?
कपटी जनको भित्री कलुषपन धुन्छ र ?
हँसी, ठट्टा, मजाजस्तो कविता-काव्य हुन्छ र ?
पढ्दैमा कविता-काव्य सबैको मन छुन्छ र ?

सबै रक्सी, जुवा, तास, खाना, फेसन खोज्दछन्
नरनारी निकैजस्तो विलासीपन रोज्दछन्
काव्यको रस माधुर्य चाहने छन् निकै कम
विलासी जनले भन्छन् छैन साहित्यको दम ।

काव्यले दुःख हर्ला र ? कस्तो आनन्द आउला ?
दुःख सारा मिटाएर के सुख भोग्न पाउला ?
काव्य पढ्नेहरू सारा के कस्तो ज्ञान गर्दछन् ?
काव्यका तपसी चाहिँ सित्तैँमा ध्यान गर्दछन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *