Skip to content

पद्य कविता

पिताज्यूको सम्झनामा

खन्यौ बाँझो बारी, सकल जनको पेट भरनै
थियौँ हामी साना, अनि नसकिने काम गरनै
गर्यौ चिन्ता हाम्रै, सकस सहँदैमा कति गल्यौ
रह्यौ नाङ्गै भोकै, जब सहज हुन्थ्यो तब ढल्यौ ।।

जन्म स्थानप्रतिको सम्मान

म जन्मेर हुर्केँ र बढेँ पढेँ म
दुख सुख भोग्दै अगाडि बढेँ म
मेरो प्यारो गाउँ मेरो प्यारो ठाउँ
कहाँ सक्छु भुल्न प्रिय तिम्रो नाउँ

सदा सर्वदा यो मुटुमा तिमी छौ
मेरो ढुक्ढुकीभित्र पनि तिमी छौ
जीवन चलाउन झापा बस्या छु
छोडदा तिमीलाई अति दुख्या छु

तिनी चाँदनी चाँदकी हुन् जुहार

तिनी चाँदनी चाँदकी हुन् जुहार
सदा टल्कने मोती जाज्वल्य हार
त्यही ज्योतिको रोशनीमा हराइ
पुगें व्रह्मको छेउमा ज्ञान पाइ ।

नुहाई शरदका शशीका झरीले
वसन्ति मीठा फूलका मन्जरिले
अघाएर सन्त्रिप्त भै ओत लागें
अजीर्णै सरी कष्टले दूर भागें ।

त्रिशुलीको उत्पति वर्णन

ब्रह्मा,बिष्णु,सरस्वती मिली,शक्ति गणेशले पनि ।
सप्तर्षिहरुले र व्यास मुनिले मङ्गल गरुन् यो भनि।।

जन्मै श्री त्रिशुलीजिको भुवनमा देखाउनाको मन ।
हुँदामा मैले विचार गरी लियाँ त्यो अव्धिको मन्थन ।।

देवता दानवले मिली कन त्यहाँ , सल्लाह गर्दा भए ।
पहिले गई कन बासुकीसँग पनि , त्यो बिन्ती गर्दा भए।।

मन्दलाई मदानी पारी कन ता मथ्नुपरेको हुँदा ।
नेती भईकन बस्नलाई त भने कल्याण सबैको हुँदा ।।

मन्दलाई घुमाउँदा सकलले त्यो सागरैमा तब ।
जोड पर्दा त्यहिँ फिर निस्कन गयो त्यो कालकुटै जब ।।

डाहले गर्दा सदाशिवजीको गर्दा भए चिन्तन ।
पाई श्री गिरिजाजिको अनुमती गर्दा भए भक्षण ।।

मनको व्यथा

भोका, नाङ्गा, चिथराको थलो बनेको छ यो ठाउँ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ

चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले
योदेखि त्यसैले मन मेरो जलिरहेछ पिरले
बिग्रिरहेछ देश आज कसरी म बचाऊ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ

अगाध मायाप्रीतमा

अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।
किन त्यस्तो प्रीत लाएँ, सधैं टाढा हुनु रैछ ।।

किन किन आज भोली, बिगत ताजा ताजा हुन्छ,
दिन दिनै वर्तमान झैं,विगत मजा मजा हुन्छ,
वैंश जोवन सम्झँदामा, बुढ्यौली नि फूल्दोरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।

क्षितिज चेतना

क्षितीजको चेतना शुन्दर सृष्टि,
दुर्गम कठोर चट्टानमा उम्रिएको पिपल,
मौलाउदै झागिदै विशाल वृक्ष जस्तो ।

नदीका अन्तसम्म लम्वने किनाराहरु,
विषम भौगोलिक वनावट विरुद्धमा,
अविरल कटानले सुगम राजमार्ग बन्दै जस्तो ।

मनोज बाबु

शायद समयलाई गर्न सकेन काबु
एक्लै टहल्लिरहेथ्यो मनोज बाबु
झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो
दु:खेसो साथीको आँखामा पढियो

“ए मनोज के भो तँलाई यस्तो
शुन्यमा एक्लै झर्या तारा जस्तो”
“लाजै लाग्छ यार, के भनुँ तँलाई
धोका दिई बिन्दुले डिभोर्स गरि मलाई”

बिधुवा

कहिले सरकार पक्षको गोलीले
कहिले सरकार विरोधी टोलीले
श्रीमान् मारीयो, दु:ख बिर्सिगो
बिधुवालाई बाँच्नु पर्ने कस्तो दु:ख यो

डालो, नाङ्लो, कसौँडी रित्तै छरियो
लडीबुडी काखे बच्चा, दूधै रोकियो
छोरा छोरी भोकै रोको हेर्नै गारो
बनी गर्ने मरि गयो छैन चारो

भूत

आज मैले भूत देखेँ
जिउँदो मान्छे मृत देखेँ
चिता बल्छन् बिना चिहान
अँध्यारो भित्र छैन विहान

भूतका पनि कति मान्छे
भूतिनी पनि उतै जान्छे
डर धम्की त्रासले होला
बालक ववुरो कोहला कोहला

शुभकामना

तन स्वस्थ रहाेस् नित्य मन स्वस्थ सदा रहाेस् ।
भावना स्वच्छ हाेस् स्वार्थ स्मृतिमा कहिल्यै नहाेस् ।।
नलागाेस् दुखकाे हावा कल्पना सम्ममा पनि ।
सुखकाे भरिया सच्चा नयाँ वर्ष(२०७१) सधैं बनी ।।

छन्दको तरङ्ग

यहाँ कला छ काव्यको यहाँ छटा छ भावको
यहाँ मजा छ सूरको यहाँ मिठास रागको ।
यहाँ मिलान तालको छ धुनको कला यहाँ
गलाहरु सुसाउँछन् कि छन्दका तरङ्गमा ।

हरायो खकार

सन्तशिरोमणि आचार्य खेमराज केशव सरणको अभिनन्दन ग्रन्थको विमोचनको कार्ययक्रममा समीक्षाका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा पासो थापेर सरस्वतीको नाममा चन्दा उठाइरहेका मुन्द्रेको डफ्फालाइ चन्दा दिइसकेपछि चार हरफ फुरेका थिए । ती यस्ता थिए

लू चन्दा उठाएर आफै डकार
नदीनेहरुलाइ सक्तो हकार
जसै साँझ पर्ला तिमी जानू बार
थुकौ‌ भन्छु थुक्ने हरायो खकार ।।

आमा

जब यो धर्तीमा पहिलो पल्ट मेरा आवाज गुन्जिए
आमा तिम्रा आँखाबाट अविरल रुपमा आसुहरू वगेका थिए
कुनै दिन त्यही पीडा मैले पनि महसुस गर्ने छु भनेर
नारीत्वका सारा चोटहरू मैले पनि सहन गर्नु पर्छ भनेर

किन ?

उदास छ दिन पनि निरास छ यो रात किन
दर्द छ मुस्कानमा छ कपट सब बात किन
झुटो भनुँ म कसलाई साँचो यहाँ को छ र
अविश्वासमा जेलिएको छ यहाँ हरेक साथ किन

जो चोर हो उही भन्छ म साधु हुँ म सन्त हुँ
अरु असत्य म सत्य हुँ शुरु हुँ म अन्त हुँ
उपकार गरे अपकार भई तोडिन्छन ती हात किन
जो झुक्छ नम्र भई सधैँ फोडिन्छन ती माथ किन

नअटेको नेपाल

एकातिर फोहर माकुराको जाल
अर्कोतिर फोहरी नेताको जाल
उम्कन नसक्नेको साह्रै बेहाल
उम्कन सक्ने नअटेको नेपाल

कोशी कर्णालीबाट कमिशनको र्याल
भेटेजति सोर्छन् बनेर छाल
खाने कुरोमा दल दलको एउटै थाल
भ्रष्टाचार नगर्ने नअटेको नेपाल

के इलामे म हैन र ?

बर्बोटेभित्रको गाऊँ तोरिबारी प्रसिद्ध छ,
त्यहीं नै जन्मिएँ हुर्कें के इलामे म हैन र ?

रामकान्त त्यहीं जन्मे डिल्लिराम पनि त्यहीं,
पिता राम त्यहींका हुन् के इलामे म हैन र ?

मैले पढें चुरेघाँटी टीकाराम थिए गुरु, के इलामे म हैन र ?
त्यो जान्ने थोर छन् आज के इलामे म हैन र ?