अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।
किन त्यस्तो प्रीत लाएँ, सधैं टाढा हुनु रैछ ।।
किन किन आज भोली, बिगत ताजा ताजा हुन्छ,
दिन दिनै वर्तमान झैं,विगत मजा मजा हुन्छ,
वैंश जोवन सम्झँदामा, बुढ्यौली नि फूल्दोरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।
वचपना होकी प्रेम उन्माद, निदरीनी भगाउने,
दिल्लगी जस्तै लाग्यो कसम, सँगै जीवन बिताउने,
सातै जूनी सँगै वाच्ने, कसम तिम्रो झूठोरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।
चिठी पत्र लेखि लेखि, मनको बह सुनाउँदा नि,
तड्पी तड्पी दिन बित्थे,एक दिनमात्र नभेट्दा नि,
केभो सानु त्यो दिनमा, छुट्टी टाढा जानुरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।
कति छिटो दिन ढल्थे,मायाप्रीतका कुरा गरी,
मधुमाष थियो जीवन, तिम्रो साथ छँदा घरी,
कुन बैरीको आँखा लाग्यो, साथ आजै छुट्नुरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।
सल्ले वनका पाखै भरी, हाम्रै प्रीत फूल्दथे,
बेंसी देखि लेकै सम्म, हाम्रै गित गुँज्दथे,
किन त्यस्तो गित गाएँ, तिम्लाई चोट पुग्नुरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।
स्वयंवरको मालामा, तिम्रो नाउँ लेखिएन,
मंसिरको लगनमा, लगन गाँठो कसिएन,
तिम्रालागि किनिएको, सिन्दुर केवल रंगरैछ ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ ।।
जस्लाई सुन्दर गुराँसको, परागभित्र खोजेँ मैले,
जस्लाई चन्द्रमाको सितल, जूनैभित्र रोजेँ मैले,
भूल भो मेरो चन्द्र छुने, केवल मनको भ्रमरैछ।
अगाध मायाप्रीतमा, बिछोड चाँडो हुँदो रैछ।।