यहाँ कला छ काव्यको यहाँ छटा छ भावको
यहाँ मजा छ सूरको यहाँ मिठास रागको ।
यहाँ मिलान तालको छ धुनको कला यहाँ
गलाहरु सुसाउँछन् कि छन्दका तरङ्गमा ।
तमोरको किनारका कथा यहाँ छचल्कने
यहाँ छ पूर्वी भेगको सुसंस्कृति झझल्कने
बेथाहरु निचोरिंदै कथा अनेक फुर्दछन्
यहाँ हरेक छन्दमा कला अनेक फुर्दछन् ।
इलामका कथाहरु यतै कतै सुसाउँछन्
मधुरता भरी भरी जवानी झैं रसाउँछन् ।
गुँजिरहन्छ माईको हिवाँ र बेनीको धुन
तरङ्गबाट छन्दको सकिन्न है अलग्गिन ।
छिमेकीका गलासँगै कला यहाँ रसाउँछन्
नजानिदो नजानिदो प्रिति मिठो बसाउँछन् ।
म नाचूँ कि म गाऊँ कि खुशीसँगै उमङ्गमा
म पोखियूँ कलासँगै कि छन्दका तरङ्गमा !
●
