ब्रह्मा,बिष्णु,सरस्वती मिली,शक्ति गणेशले पनि ।
सप्तर्षिहरुले र व्यास मुनिले मङ्गल गरुन् यो भनि।।
जन्मै श्री त्रिशुलीजिको भुवनमा देखाउनाको मन ।
हुँदामा मैले विचार गरी लियाँ त्यो अव्धिको मन्थन ।।
देवता दानवले मिली कन त्यहाँ , सल्लाह गर्दा भए ।
पहिले गई कन बासुकीसँग पनि , त्यो बिन्ती गर्दा भए।।
मन्दलाई मदानी पारी कन ता मथ्नुपरेको हुँदा ।
नेती भईकन बस्नलाई त भने कल्याण सबैको हुँदा ।।
मन्दलाई घुमाउँदा सकलले त्यो सागरैमा तब ।
जोड पर्दा त्यहिँ फिर निस्कन गयो त्यो कालकुटै जब ।।
डाहले गर्दा सदाशिवजीको गर्दा भए चिन्तन ।
पाई श्री गिरिजाजिको अनुमती गर्दा भए भक्षण ।।
त्यही विष गईकन घाँटिमा बसीगयो निलै बनिगो जब ।
निलकण्ठै भनी नाम पनि हुनगयो श्रीशंकरैको तब ।।
त्यै तापले गर्दा सदाशिबजीले हेर्दा भए दश दिशा ।
त्यै तापले ससुराजीका विषयमा पुग्दा भए शम्भु ता ।।
तिर्खाले गरदा सदाशिबजीले त्रिशुल लिई हातमा ।
जोड्ले हानी त्यो त्रिशूल जब झिके जल्भोभरी खातमा ।।
हिमतुल्यै जब जल पिए शिवजीले डाहा हरायो सबै ।
त्यहीँ नै अनि खुस भई शिवजीले निन्द्रा लगाए तबै ।।
सरस्वती भैरव दुबै ती तल्तीर ।
गोसाँईकुण्ड भयो उत्तरैतीर ।।
सरोबरैका सरि छ ती कुण्ड ता ।
ती अहका माथमा विराज हुँदा ।।
श्रावण पूर्णीमाका दिन सब जान्छन् ताहाँ नुहाउन ।
केही मानिस जो जान्छन वहाँ देख्छन् शशि लान्छन् ।।
मैले त्यो जलका बिचमा चारकोण समानको ।
रोगी विच्छाएको जस्तै देखिएझैँ भै गयो ।।
कुण्डै देखि पश्चिमै मुख गरी झर्दी भईन् गण्डकी ।
बाटामा गई फेर् मिलान् हुन गईन् उनै ती बेत्रावती ।।
उत्तर कासी भनेर धेर पूरुषले नामै धरेको हुँदा ।
कुशें औँशिमा सबै जनले पिण्डै दिएको हुँदा ।।
ताहाँ बाट झरेर फेरी गईन् ,नैऋत्य दिशा तिर ।
जाँदामा त्यहिँ भेट हुनाकन गईन् ,सुर्योमतिको तिर ।।
देवीको पनि त्यहिँ मन्दिर हुँदा नाम देवीघाटै रह्यो ।
वैशाख मासमाह अति ठूलो आचार्य पाठै भयो ।।
धामीहरूले पनि त्यहाँ गई बलि खान्छन् पूजा चलाईकन।
बसी फेरी भन्छन् त्यो राष्ट्रभावि फलको सुचन ।।
त्यता बाट बगेर पश्चिम गई पुग्दि भईन् बेणीघाट ।
बुढीगण्डकीले त भेट गरी दिँदा हुँदो भयो बेणीघाट ।।
आठ् कोषको बिचमा भई बगी जाँदा नर्मदा ।
पारैकोट भनेर सबै जनहरु भन्छन् पुर्कोट हुँदा ।।
त्यहिँनै जब कर्म दायल भईन् फेर पश्चिमै मुख गरी ।
जाँदामा ताहिँ कोस चार बिचमा सेती पनि सरसरी ।।
त्यसै ठाउँमा त जन्म हुन गो श्री वेदव्यासको पनि ।
गुफा एक छ रे म सुन्दछु ताहाँ परासरैको पनि ।।
त्यता बाट बगेर दक्षिण तर्फ पुग्दि भईन् देवीघाट ।
कालीगण्डकीले पनि त्यहिँ गई गर्दी भईन् भेटघाट ।।
मकर मा जब सूर्यको गती पुग्यो नुहाउनलाई भनि ।
हजारौँ भक्तालु मानिसहरू आउँछन् बिदेशका पनि ।।
पुष मसान्तमा ताहाँ सकलजन बस्छन् बगरैमा पनि ।
शालीग्राम पनि तिन जनले भेट्छन् बगरैमा पनि ।।
हरीहर क्षेत्र यो सबैले कहेको ।
यज्ञैं शाला एक छ यो राम्रो बनेको ।।
जसले आसा धेर पूण्यको गर्दछन् अनन्ती
ती मास मसान्त सम्मन् बस्दछन् ती अगन्ती ।।
त्यस ठाउँमा देवयैनी जति छन्
आ आफ्नो देहको शुद्धी पार्छन् ।।
रामकृष्णका छन् बनेका बिभूती ।
रामायणका लेख छन् ती अनुपी ।।
पारी दिपमा एक छ शिलाअपार ।
मुकुन्द ऐन चक्रशिला छ हेर ।।
तिर्थ यात्रा गर्नलाई भनेर ।
जो जन् हिँड्छन् बस्नलाई भनेर ।।
धर्मशाला एक छ त्यहाँ बनेका ।
यो तिर्थको भेद सारा बुझेका ।।
देवता दानव नागहरू यतिलाई ।
मानिसले ता त्यो नदेख्नेछन् भाई ।।
त्रिशुलिको नाम त्यहीँ हरायो ।
नारायणी नाम तिनको चलायो ।।
जाँदी भईन् ती नित्य दिशामा ।
लिएर बाटो सजिलो क्षणमा ।।
त्रिवेणीमा पूग्दी भईन् जसैदा ।
तिर्थै ठूलो त्यो भैगयो तसैता ।।
माघे औँसीमा फेर त्रिवेणी गएर ।
नुहाउँछन् सारा प्राणीहरु मिलेर ।।
देवघाट देखी केही योजन परैमा ।
जानीलिनु तिर्थको त्यो महिमा ।।
त्यसमा रोगी जो गई स्नान गर्ला ।
सारा रोगले छाडी नै जानुपर्ला ।।
बाल्मीकी फेरी आश्रम त्यहीँ छ ।
रामले सिता त्यहीँ त्याग्नुभएछ ।।
लबकुशको जन्म फेरी त्यहीँ भएछ ।
बनमा हेर्दा दृश्य देखी रहेछ ।।
कृष्णवेणीको त्यो महिमा बुझेर ।
जो स्नान् गर्लान् मुक्ति हुनेछ हेर ।।
त्यता बाट फेरी बग्दै गएर ।
भागीरथमा गईन् ती मिलेर ।।
शालीग्रामलाई पखाली झरेकी ।
बुटीको सार साथमानै धरेकी ।।
भारत भूमी सोनपुरका नजीकमा ।
दोस्रो हरीहरी क्षेत्र भनिन्छ देशमा ।।
नारायणीको नाम त्यहीँ हरायो ।
भागीरथी नाम तिनको चलायो ।।
देखेसुनेको जो जती हो पहिले ।
लेखी दिएँ आज यहाँ मईले ।।
चौँतिस सालको माग महिना अपार ।
पूणैँ भई गयो महिना अपार ।।
नाम मेरो नित्यनाथ जानीलेउ ।
यसको प्रती खुसीले मानिलेउ ।।
जुन जुन ठाउँ जो त्रुटी देख्नुहोला ।
त्यही त्यही ठाउँ सब क्षमा गर्नुहोला ।।
२०३४ साल माघ २ गते
