बालकृष्ण सम जहानिया राणापरिवारकै सदस्य पिता समरशमशेर र माता कृर्तिराज्यलक्ष्मीबाट काठमाडौं ज्ञानेश्वरमा संवत् १९५९ माघ २४ गते जन्मेका थिए । उनी वंशजका नाताले राणा भए पनि स्वभाव र आचरणका हिसाबले साधारण मानिस झैँ थिए । बालककालमा आफ्ना बाजे डम्बरशमशेरको क्रूर व्यवहार र आफ्नी बज्यैको दयालु स्वभाव समले देखेका थिए । बाजे र बज्यैका आचरण देख्ता समको कोमल हृदयमा बज्यैको प्रभाव पर्‍यो । फलस्वरूप उनी हिरण्यकशिपु होइन प्रहलाद बन्न पुगे । त्यसकारण उनी बाल्यकालदेखि नै नम्रता, शिष्टता र भद्रता अँगाल्न लागे ।

१.शिक्षा र दीक्षा
बालकृष्ण समले भानु माध्यमिक विद्यालय अर्थात् त्यस वेलाको दरबार हाइ स्कूलमा दशौँ कक्षासम्म अध्ययन गरे । साथै उनले कोलकाताबाट म्याटि्रक पास गरे । सम त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्दापढ्दै सैनिक सेवामा कप्तान बनाइए । मिलनशील, नम्र र भावुक प्रवृत्तिका समलाई सैनिक सेवा रुचिकर थिएन । उनको अध्ययन बढाउने चाहना सबल थियो । तर उनलाई परिस्थितिले साथ दिएन । उनी पछि बढुवा भएर लेफ्टिनेन्ट कर्र्णोलसम्म हुन पुगे । उनी अध्ययनशील भएकाले अध्ययनमा संलग्न रही निजी अध्ययन बढाउँदै जान लागे । उनको साधना, योग्यता र सेवाको कदर गरेर त्रिभुवन विश्वविद्यालयले समलाई साहित्यविद्यावारिधि (डी.लिट.)को विशेष उपाधि प्रदान गर्‍यो । सुखशयल, मोजमज्जा र परिपूर्ण ऐश्वर्यले सम्पन्न वंशमा जन्मेर पनि सरस्वतीको आराधना र उपासना गर्नु समका लागि सानो कुरा थिएन । समका दाजु पुष्करशमशेर सरस्वतीकै उपासनामा लागेका थिए तापनि शारीरिक कमजोरीले पूर्णतया समर्पित हुन सकेका थिएनन् । सम चाहिँ तन्दुरुस्त थिए । उनी सुरा र सुन्दरीको बोलवालामा पनि साहित्यसाधना गर्दै थिए । यति हुँदाहुँदै सरस्वतीका कर्मठ आराधक उनी नेपालीभाषासाहित्यका एउटा अमर प्राज्ञ बने ।

२.व्यक्तित्व
बालकृष्ण समले सैनिक सेवामा रहे पनि नेपालीभाषा र साहित्यलाई नै केन्द्रविन्दु बनाए । १९७० मा खुलेको गोरखाभाषा प्रकाशिनी समितिलाई गोरखा शब्दबाट सम्पूर्ण नेपाल नबुझिने हुँदा १९९० सालमा नेपालीभाषा प्रकाशिनी समिति बनाएर नाम बदल्ने काममा समको नै प्रमुख हात थियो । समले त्यसै समितिको अध्यक्षका रूपमा केही वर्षकाम गरे । राणा भएर नेपालीसाहित्यमा लागी जनजनसँग घुलमिल गर्दा उनले राणाकालमा धेरै झापट र सास्ती खानुपर्‍यो । लक्ष्मीनन्दन चालिसेको एक लेख उद्योगमा छापिँदा हेरविचार नगर्ने बाबु चक्रपाणिलाई १५ रुपियाँ र रेखदेख नगरेकोमा समलाई २० रुपियाँ जरिवाना भयो । त्यस्तै कुस्लेको पुस्तक पास गर्न नहुने पास गरिदिएकोमा पनि सम सजायका भागी बने । त्यसवेला सम उदारवादी भएकाले एकातिर राणाशासकहरू उनलाई देखिसहँदैनथे, अर्कातिर जनता चाहिँ समलाई राणा सम्झेर तर्सन्थे । यसरी समको स्थिति त्यसवेला कतै पनि राम्रो थिएन । यसै पृष्ठभूमिमा समलाई एक अप्रिय घटनासँग मानिसहरू मुछ्ने गर्छन् । त्यो घटना हो- लक्ष्मीनन्दन चालिसे थुनिनु र मर्नु ।
लक्ष्मीनन्दन युवा लेखक र कवि थिए । उनी त्रिचन्द्र कलेजमा बी.ए.मा पढ्दथे । उनी जोशिला र निडर पनि थिए । उनलाई पढाउने गुरु चाहिँ सम पनि थिए । त्यसताका सम त्रिचन्द्र कलेजमा नेपाली पढाउँथे । यो घटना १९९८ तिरको हो । लक्ष्मीनन्दनले जाँच दिँदा प्रसङ्गवश आफ्नो उत्तरपुस्तिकामा ‘नपुंसक राणा’ उल्लेख गरेका रहेछन् । यस बेहोराको लेखोट प्राध्यापक गोकुलचन्दले फेला पारेछन् र समलाई देखाएछन् । त्यसवेला सीमित परीक्षार्थी हुँदा लेखाइ हेरिन्थ्यो । अब समलाई अति अप्ठयारो परेछ, ढाकछोप गरौँ आफु दुईदुईचोटि सजायका भागी भइसकेका र प्राध्यापक गोकुलचन्दले थाहा पाइसके ढाकछोप नगरौँ भन्दा एक साहित्यिक रुचि राख्ने युवकको अवस्था खतरनाक स्थितिमा पुग्ने । त्यस स्थितिले उनी मानसिक रूपमा अन्योलमा परेछन् । लतः राणाहरूमा उदार ठहरेका पद्मशमशेरकहाँ यो कुरा पुगेछ । पद्मशमशेरले जुद्धशमशेरकहाँ यो कुरा पुर्‍याएछन् । काठालाई बाह्र वर्षा लागि जेल ठेसिदिनू भन्ने जुद्धशमशेरको आदेश भएछ । त्यस आदेशलाई बढ्ता भयो भन्ने पद्मशमशेरको टिप्पणीले ६ वर्षकैद माफि भएछ । अस्वास्थ्यकर जेलले गर्दा लक्ष्मीनन्दन क्षयरोगले ग्रस्त भए । उनी २००२ सालतिर जेलबाट छुटेर मरे । यस घटनाबारे लेख्ता के भन्न सकिन्छ भने यसमा समको पूर्णतया दोष नभएर तात्कालिक स्थिति, वातावरण र शासकको प्रमुख हात रहेको स्पष्टै बुझन सकिन्छ ।
सम दरबारी खानदानका भएकाले उनका नाटकहरूको समीक्षा गर्दा हृदयचन्द्रले समलाई श्री ३ महाराजलाई झैँ मौसूफ, लेखिबक्सेको, हजूर जस्ता शब्द प्रयोग गरेका रहेछन् । समले त्यो हेरेपछि साहित्यसमीक्षामा यस्ता शब्द प्रयोग नगर्नु राम्रो हुन्छ भन्ने निर्देशन दिएका थिए । २००७ सालताका भित्रभित्र एउटा कुरा र बाहिरबाहिर एउटा कुरा गर्दा समलाई चित्त बुझेन र आफ्नो पदबाट उनले राजीनामा दिए । यसरी राजीनामा दिनेमा नीरशमशेर, सुरेन्द्रशमशेर र शान्तशमशेर पनि थिए । तर अरुले पछि राजीनामा फिर्ता लिए, समले लिएनन् । सम आफु राणा भए पनि विचार सामान्य जनताको जस्तो छ भन्ने देखाउन चाहन्थे । तर्सथ उनी जनसभामा गएर भाषण दिन लागे । फलस्वरूप छोरा जनार्दनसहित उनी गिरफ्तार पनि भए । जनअधिकारका निम्ति सरकारविरोधी भाषण दिने राणा सम थुनिएपछि उनले तीन प्रतिज्ञा गरे-
१.सामन्ती पाराका स्वस्ति, कुर्णेश, गोडामा ढोग्ने जस्ता चलनका विरुद्ध सबैलाई नमस्कार वा नमस्ते गर्ने ।
२.सबैमा समानता, सहृदयता र आदरबोधक तपाईं शब्दको प्रयोग गर्ने र
३.भादगाउँले टोपीलाई राष्ट्रिय पोशाक मान्ने ।
थुनिएका व्यक्तिहरूलाई पिटेको देख्दा बालकृष्ण समको हृदय द्रवीभूत हुन्थ्यो । अझ सँगै पक्राउ परेका ह्नुछेमानको कुटाइबाटै मृत्यु भएको देख्ता समको भावुक हृदय टुक्राटुक्रा भएको थियो । २००७ सालको क्रान्तिपछि जेलबाट छुटेका उनी सहानुभूति व्यक्त गर्न सोझै ह्नुछेमानका घर गए । ह्नुछेमानको सम्झनामा जनतालाई पक्रने, चिथर्ने, टोक्ने शेरलाई काटेर हटाएर आफु र्सवसाधारण जनतासँग सम मात्र बाकी राखी घर फर्के । यस घटनाबाट नै बालकृष्णशमशेरबाट उनी बालकृष्ण सम बनेका थिए । त्यसपछि उनले शेर लेखेनन्, सम नै लेखे ।
प्रजातन्त्रको उदयपछि उनी रेडियो नेपालका निर्देशक, गोर्खापत्रका प्रधान सम्पादक हुँदै २०१४ सालदेखि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य, उपकुलपति, आजीवन सदस्य समेत भई सम्मानित भए । साथै राजसभा स्थायी समितिका सम्माननीय सदस्यमा पनि उनी सुशोभित भए । उनी सफल अभिनेता, कुशल चित्रकार र मर्मज्ञ कथाकारका रूपमा पनि परिचित भए ।

३.पुरस्कार
‘जसले गर्छ सेवा उसले पाउँछ मेवा’ भनेझैँ जीवनभर नेपालीभाषा र साहित्यको उपासनामा संलग्न रहने सम (सेवाबापत) गोरखादक्षिणबाहु प्रथमले विभूषित भएका थिए । त्यस्तै उनले भूकम्पपदक, त्रिभुवन जयन्ती पदक, एकेडेमी पदक, दीर्घसेवा पदक जस्ता अनेक पदक पाएका थिए । उनलाई २०२९ सालमा नेपालीसाहित्यमा आधा शताब्दीदेखि योगदान गर्दै आएबापत नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले त्रिभुवनपुरस्कार प्रदान गरेको थियो । त्यस्तै २०३४ सालमा आएर रु. एक लाखको पृथ्वीप्रज्ञापुरस्कार नेपालीभाषा र साहित्यको उन्नति र विकासमा लामो समयदेखि उल्लेखनीय सेवा गरी राष्ट्रको गौरव बढाउन अमूल्य देन प्रदान गरेबापत उनको सम्पूर्ण साहित्यिक व्यक्तित्व र कृतित्वको कदरका निमित्त प्रदान गरिएको थियो ।
यसरी पृथ्वीप्रज्ञापुरस्कार पाउने उनी पहिला व्यक्ति बने । जीवनकालमै हृदयचन्द्रले केही नेपाली नाटक लेखेर, तारानाथ शर्माले सम र समका कृति लेखेर र प्रकाशपिण्डले समविशेषाङ्क प्रकाशित गरेर नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईले एउटा अमर प्राज्ञ : बालकृष्ण समनामक बृहद् ग्रन्थ सम्पादन गरी समको यथोचित सम्मान गरेका थिए भने समको नाउ“मा बालकृष्ण सम फाउन्डेशनको स्थापना गरी आदर प्रकट गरिएको छ ।
बालकृष्ण समले स्वदेशका अतिरिक्त भारत, पाकिस्तान, बर्मा, चीन, जापान, जर्मनी, फ्रान्स, इटली, वेलायत, रूस र अमेरिकाको भ्रमण यथासमय गरेका थिए । नेपालीभाषा र साहित्य भनेपछि हुरुक्क हुने सम आफ्नो लामो सेवा पूरा गरेर २०३८ सालमा परमधाम भए ।

४. कृतिहरू
समको सम्पूर्ण कृतित्वलाई मोटामोटी रूपमा ५ प्रकारबाट वर्गीकरण गर्न सकिन्छ- १. नाटक, २. कविता र काव्य, ३. कथा, ४. निबन्ध र प्रबन्ध, ५. जीवनी ।
४.१ नाटक
१. मुटुको व्यथा (१९८६)
२. ध्रुव (१९८६)
३. मुकुन्द इन्दिरा (१९९४)
४. प्रह्लाद (१९९५)
५. अन्धवेग (१९९६)
६. भक्त भानुभक्त (२०००)
७. म (२००६)
८. प्रेमपिण्ड (२००९)
९. अमरसिंह (२०१०)
१०. तलमाथि (२०११)
११. अमित वासना (२०१६)
१२. तानसेनको झरी (२०२७रचनाकाल १९७९)
१३. भीमसेनको अन्त्य (२०३३)
१४. स्वास्नीमान्छे (२०३४)
१५. ऊ मरेकी छैन (२०३५)
अप्रकाशित नाटक
१.मिलिनद (१९७७ रचनाकाल)
२.अमलेख (१९८६ रचनाकाल)
३.प्राणदान (१९८८ रचनाकाल)
४.कोही दान दिन नसकोस् (२००८)
५.चिन्ता (२००५)
६.स्वामी (२०१३)
७.हरित तारा (२०१४)
यी पूर्णाङ्की नाटकहरू अझ दराजमै थन्केकै छन् । समकृत अज र अजङ्गबहादुर नाटक चाहिँ अधुरै रहेका छन् । यी पूर्णाङ्की नाटकका अतिरिक्त दर्जनौँ एकाङ्कीहरू प्रकाशित अप्रकाशित छन् ।
४.२ कविता र काव्य
१.आगो र पानी (खण्डकाव्य:२०११)
२.चिसो चुह्लो (महाकाव्य:२०१५)
३. बालकृष्ण समका कविता (कवितासङ्ग्रह)
४,३ लघुकाव्य वा लामा कविता
१.फुटेको फूलदान (१९९२)
२.कवि र कविता (१९९२)
३.कागसित (१९९२)
४.बहुलाहाले (१९९३)
५.र्स्वर्ग र देवता (२००४)
६.नेपाल आमासित झगडा (२००६)
७.अवतार्रदर्शन
८.म पनि द्यौता मान्छु
९.मृत्युपछिको अभिव्यञ्जन
१०.मेरो नुहाउने कोठा
११.म नयाँ चाहन्छु
१२.म नाङ्ग्रै बोल्छु

४.३ कथा
कथामा सिङ्गो सङ्ग्रह ननिस्केको भए पनि उनका एक दर्जनभन्दा बढी कथाहरू प्रकाशित छन् । ती कथाहरू हुन्- पराइघर (१९९२), देवराली (१९९३), तलतल (१९९३), खुकुरी (१९९४), हरिसिद्धि (१९९२), शरण (१९९५), कैकेयी (१९९५), फुकेको बन्धन (१९९५), टाङगन घोडा (२००६), रूपको मूल्य (२०१२), यौवन र सुन्दरता (१९९८) र नौली (२०१९) । यसरी कथामा १९९२ देखि २०१९ सम्म समको कलम चलेको देखिन्छ ।

४.४ निबन्धकार
निबन्धप्रबन्धमा- आत्मविश्वास, त्यो पानी, बर्दाहामा शिकार जस्ता दर्जनौँ निबन्धहरू छन् भने प्रबन्धात्मक निबन्धमा
१.नियमित आकस्मिकता (दार्शनिक ग्रन्थ, २००५),
२.नेपाल ललितकला (२०२२)
३. दीक्षान्त भाषण (२०१९)
४.५ जीवनी वा आत्मकथा
१.मेरो कविताको आराधना (उपासना- १, २०२३)
२.मेरो कविताको आराधना -उपासना( २, २०२९)
३.हाम्रा राष्ट्रिय विभूतिहरू (२०२४)

५. कृतिगत मूल्य
५.१ नाटककार
बालकृष्ण सम बहुमुखी प्रतिभा हुन् तापनि उनको मूर्धन्य व्यक्तित्व नाटकक्षेत्रमा आबद्ध भएको छ । उनको सबभन्दा बढी साधना पनि यसै क्षेत्रमा समर्पित थियो ।
समका नाटकहरू आकारका दृष्टिले पूर्णाङ्की र एकाङ्की, शैलीका दृष्टिले गद्य र पद्य, गद्यपद्य अनि विषयका दृष्टिले पौराणिक, ऐतिहासिक र सामाजिक गरी वर्गीकरण गर्न सकिन्छ । पद्यनाटकमा चाहिँ क्रिस्टोफर मार्लो र विलियम शेक्सपियरको खाली पद्य (ब्ल्याङ्क भर्स) जस्तै गरी अनुष्टुप् छन्दलाई समले अ“गालेका छन् । समका नाटकहरू वियोगान्त पनि छन् र संयोगान्त पनि छन् । प्रेम, राष्ट्रियता, वीरता र दार्शनिकता समका नाटकीय विशेषता हुन् । वियोगान्त नाटकहरूमा अमरसिंह, भक्त भानुभक्त, बोक्सी, मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि छन् । समका नाटकभित्र बालक, युवा, युवती, बूढा, बूढी र उच्च, मध्यम र निम्न सबै वर्गका पात्रहरूले अभिनय गरिरहेछन् । समको रङ्गमञ्च काठमाडौंमा मात्र सीमित छैन, जुम्ला, पाल्पा, रिडी, इलाम जस्ता ठाउँ र त्यहाँका बासिन्दा पनि पात्रपात्रीका रूपमा अभिनय गर्छन् । समका नाटकमा चित्रित पात्रहरूको चरित्र एकै प्रकारको नभएर छुट्टाछुट्टै अस्तित्वमा आधारित छ । सम सस्तो, अश्लील र शारीरिक प्रेमका मात्र पक्षपाती छैनन् । उनका प्रेमी र प्रेमिका जीवन सोच्छन्, वास्तविकता बुझछन्, उनीहरूले प्रेमको नदीमा पौडनुपरिरहे पनि पौडन नजानेर वा नसकेर नदीमा डुब्नुपरोस् । तानसेनको झरीको शोभन र निर्मलीले अँगालो मारेर एकै ठाउँ डढ्नुपरे पनि प्रेमपिण्डका नकुल र सविताले कालीगण्डकीमा अँगाल्दै डुब्नुपरे पनि, अन्धवेगको जयवीर मारिएर पम्फाले आत्महत्या गर्नुपर्ने स्थितिमा पुग्नुपरे पनि, मुटुको व्यथाका माधव कपिलाले बेग्लाबेग्लै ठाउँमा रगत छाद्दै मर्नुपरे पनि उनीहरूले आत्मिक प्रेमलाई प्रकट गर्न पाउँछन् र नाटकलाई व्यथापूर्ण बनाउन यी पात्रपात्रीको प्रभावकारी प्रतिष्ठानमा नाटककार सम सफल देखिन्छन् ।
समका सम्पूर्ण नाटकमा मन पर्ने नाटक कुन हो भनेर प्रश्न गर्दा सम सोझै भनिदिन्छन्- प्रेमपिण्ड । हुन पनि यो नाटक मात्र नभएर संस्कृतको नाटकीय सिद्धान्तअनुसार महानाटक हो । एक सय चार वर्षम्म चलेको राणाशासन नेपालको इतिहासमा अमर प्रसङ्ग हो र यस समयको यथार्थ चित्र देखाउन प्रेमपिण्डमा नाटककारले भरमग्दुर प्रयत्न गरेका छन् । स्वयं नाटककार राणापरिवारकै एक सदस्य भएकाले स्थितिबोध उनका लागि सुगम थियो भने राणाकालमै साधारण जनतासँग भिजेर बस्ने स्वभावले गर्दा निर्भीक र निःसङ्कोच भएर समले आफ्नै परिवारको इतिहास यस महानाटकमा अङ्कित गर्न सके । यसभित्रको कथामा सं. १९०५ देखि १९७५ अर्थात् ५९ वर्षा सबै कुरा अटाउन नसके पनि कलात्मकता अँगाल्दै नाटकीय रूप दिन सकिने जति प्रसङ्गलाई समले अँगालेका छन् । समले नाटकमा प्रविष्ट पात्रपात्री र कथानकमा कतैकतै काल्पनिकता जडिएजस्तो पनि देखाएका छन् ।
समका अनेक संयोगान्त नाटकहरू छन्, तिनमध्ये मुकुन्द इन्दिरा र म चाहिँ प्रमुख मानिन्छन् । यी दुवै नाटकको उद्देश्य बाटो भुल्न लागेका दुराचारी पतिहरूलाई ब्रि्रनबाट बचाएर आफ्नी पतिव्रता पत्नीप्रति आकषिर्त गर्नु हो । नेपाली समाजले परम्परागत रूपमा देखाएको पतिव्रत्यको गुण गाउनु मुकुन्द इन्दिरा र म नाटकको विशेषता हो । मुकुन्द इन्दिराकी इन्दिरा भन्छिन् –
देशभक्ति त मर्दैन चुत्थै देश भए पनि
पतिभक्ति त मर्दैन पापी पति भए पनि ।
अनि म नाटकमा मनोहर आफ्नी बहिनी प्रभालाई भन्छन्-
स्वामीका चरणको जल कस्तो
माली गाईका दूधको तर जस्तो ।
नाटककार सम पौराणिक नाटकमा पनि पर्याप्त सामाजिकता घुसाउँछन् । सामाजिक समस्या र विवशतालाई पौराणिक आख्यानभित्र पार्छन् । साथै उनले हिटलरको बढ्दो जगजगी र गान्धीको आध्यात्मिक कडी देखेर क्रमशः हिरण्यकशिपु र प्रह्लादको कल्पना गर्दै प्रह्लाद नाटक रचेका थिए । यसरी नै पौराणिक होस्, ऐतिहासिक होस् वा मनोवैज्ञानिक, नेपालीनाटकका फाँटमा मूर्धन्य नाटककारका रूपमा उनको व्यक्तित्व प्रकाशित भएको देखिन्छ ।

५.२ कवि सम
शैलीका दृष्टिले समका कविताको वर्गीकरण दुई प्रकारले गर्न सकिन्छ( १. वाणिर्क छन्दमा रचित, २. गद्यमा रचित । सम भावनाको बौद्धिक कोमलतालाई कविता मान्दछन् । उनका कविता मानववादका उदात्त आदर्शमा आधारित छन् । व्यवहारमा शिष्टता, मृदुता र कोमलता ल्याउनुको अर्थ विश्वका घृणा, द्वेष र मनोमालिन्य हटाउनु हो भन्ने सन्देश उनका कविताले दिन्छन् । समका कविताको केन्द्रविन्दु प्रेम हो ।
विश्वमा मानवले जतिसुकै प्रगति गरे पनि वैज्ञानिक प्रक्रियाद्वारा उन्नतिको चुचुरोमा पुगे पनि हृदयको क्षेत्रमा प्रगति हुन सकेको देखिँदैन । त्यसै हुनाले अन्याय शोषण, ईर्षया, द्वेषजस्ता आगोमा सद्भावना, समता, स्नेह, न्यायजस्ता कुराको पानी हालेर त्यो राप साम्य पार्नुपर्छ भन्ने सन्देश आगो र पानी(खण्डकाव्य)मा पाइन्छ ।
सम कवितालाई देवीमन्दिर र कविलाई पुजारी मान्छन् । चिसो चुह्लो उनको यस्तो महाकाव्य हो जसमा परम्पराका विरुद्ध क्रान्ति छ, प्रगतिशीलता छ, मानववादी दृष्टिकोण सलबलाएको छ, गरीबीको मुटु छेड्ने चित्र छ । यस महाकाव्यका नायकनायिका सन्ते र गौरी छन्, जो परम्परागत महाकाव्यमा लायक थिएनन् । सन्ते (दमै) र गौरी(छेत्रिनी)बीच प्रेम हुन्छ । तर उनीहरूको प्रेम शारीरिक सम्पर्कमा पुग्दैन । गाउँले सामान्य प्रेमको विषय, गरीबीको चित्र, पूर्वीय सदनमा भएको कविसम्मेलन, गौतमबुद्धको वर्णनजस्ता कुरा काव्यको कथावस्तुसँग तालमेल खाँदैनन्, समले जबरजस्ती आफ्नो पण्डित्यपप्रदर्शनको लागि राखेका छन् तापनि बृहत्काय भएकाले र ज्ञानको क्षेत्र पनि विस्तृत भएकाले महाकाव्यका रूपमा यसलाई लिइएको छ । समका दृष्टिमा महाकाव्य त्यसलाई भनिन्छ जो संलग्न रूपले लेखिएका धेरै कविताहरूको सङ्ग्रह छ । यस परिभाषालाई हृदयङ्गम गर्ने हो भने चिसो चुह्लो निर्विवाद महाकाव्य हो । यो महाकाव्य बत्तीस र्सगमा रचिएको छ । चिसो चुह्लो निश्चय नै नेपालीसाहित्यको एक उपलब्धि हो । वियोगान्तमा टुङ्गिने यसको मुख्य भाव र सन्ते र गौरीको प्रेम भएपछि यहाँ मानवताका उपासक, विषमताका विरोधी र विश्ववन्धुत्व रुचाउने समले जातभातको विरोध गर्दै प्रेम भन्ने वस्तु ठूलाबडा सौखिनमा मात्र होइन निम्नवर्गीय साधारण व्यक्तिमा पनि हुन्छ भन्ने आशय स्पष्ट पारेका छन् ।

५.३ कथाकार सम
समको कथायात्रा १९९२ देखि २०१९ सम्मको अवधि भए पनि उनका एक दर्जन कथा मात्र नेपाली पाठकले पाएका छन् । उनका कथामा कथात्मकताभन्दा चिन्तनका झल्झिका र निबन्धात्मकता बढी पाइन्छ । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्करशमशेर- जस्ता वरिष्ठ कथाकारसँगसँगै दार्जीलिङ्गबाट निस्केको कथाकुसुममा उदाएका कथाकार सम नेपालीकथाका चम्किला ताराका रूपमा छन् । उनका प्रकाशित कथाहरूलाई मुख्य रूपले अध्ययन सुविधाका लागि प्रतीकात्मक, मनोविश्लेषणपरक, समाजपरक र समस्यामूलक गरी ४ प्रकारबाट वर्गीकरण गर्न सकिन्छ । हुनत समको प्रत्येक कथामा सामाजिकता छ, समस्या छ र जीवनसापेक्षता छ तर पनि विशेष रूपमा प्रतीकपरक कथामा देवराली, यौवन र सुन्दरता, खुकुरी एवं कैकेयीलाई लिन सक्छौँ भने हरिसिद्धि, टाँगन घोडा, नौला र तलतललाई चाहिँ मनोविश्लेषणपरक कथाका पङ्क्तिमा उभ्याउन सकिन्छ ।
समको कथा यौवन र सुन्दरतामा पूणिर्माको यज्ञमा यौवन र सुन्दरताको विवाहको प्रसङ्ग छ । त्यसैले त्यसलाई प्रतीकात्मक रूपले निबन्धात्मक शैलीमा काव्यात्मक अभिव्यक्ति सजाइएको छ । साथै देवराली कथामा हजार तोला वेदान्तभन्दा एक तोला दया बढ्ता हुन्छ भन्ने बेहोरा देखाइएको छ । खुकुरी कथामा पनि मामूली खुकुरीको अंशबन्डाको प्रसङ्गले काटमार चलेर नराम्रो स्थिति आएको देखाएका छन् । त्यसै गरी कैकेयीमा युद्धको प्रयोग शान्तिस्थापनाका लागि आवश्यक हुन्छ भन्ने सन्देश कथाकी नायिका कैकेयीको चरित्रबाट थाहा हुन्छ । टाँगन घोडा र हरिसिद्धि एकै प्रकारका कथा हुन् । काले सयस टा“गन घोडालाई अत्यन्त माया गर्छ भने हरिसिद्धिमा घरका नजीकको मूर्तिप्रति एकसुरे श्रद्धा व्यक्त गरिएको छ । त्यस्तै नौली र तलतल कथालाई पनि तुलनात्मक दृष्टिले हेर्न सकिन्छ, जस्तै नौलीमा एउटी गाउँले युवती शहर पसेपछि अर्की आइमाईप्रति श्रद्धालु बन्छे । तलतलमा चाहिँ स्यानो ठिटो चुरोट खाने बानीले जिराहा हुन्छ । तर दुवै कथाको अन्तमा उपसंहार भने मिल्दोजुल्दो देखिन्छ- नौली बहुलापन छाडेर सद्दे हुन्छे र गोपाल चुरोट खान छोड्छ ।
नेपाली समाजमा नारी जातिले भोग्नुपर्ने समस्या, विवशता र कठिनाइ शरण, पराइघर र रूपको मूल्यमा अङ्कित छन् । पराइघर र शरण एकै प्रकारका कथा भए पनि रूपको मूल्यको कथानकको संरचना चाहिँ छुट्टै प्रकारको छ । यस कथामा एउटी कुरूपा नारीले पाएको कष्ट प्रभावकारी रूपमा देखाइएको छ । सामाजिक व्यवहार र पुरानो परम्परा मिलेर हाम्रो समाजका नारीहरूलाई रुवाउँछन् र इहलीला पनि समाप्त पारिदिन्छन् भन्ने कुरा पराइघरकी सावित्री र शरणकी सानीको जीवनचरित्रबाट स्पष्ट हुन्छ । यसरी कथाकार सम आफ्ना अभिव्यक्तिका माध्यमबाट नेपाली समाजका अनेक समस्या र स्थितिको विश्लेषण गर्न नाटक र कविताका माध्यमबाट मात्र होइन कथाका आकारमा पनि सफल छन् भन्ने बुझिन्छ ।

५.४ निबन्धकार सम
समका निबन्धको विभाजन दुई प्रकारबाट गर्न सकिन्छ- १. फुटकर निबन्ध र २. प्रबन्धात्मक निबन्ध । फुटकर निबन्धमा चिन्तनपरक, विवरणपरक र यात्रावर्णनगरी अनेक उपआधारको सिर्जना गर्न सकिन्छ । यस्ता निबन्धमा आत्मविश्वास, बर्दाहामा शिकार जस्ता निबन्ध पर्दछन् । प्रबन्धात्मक निबन्धलाई ग्रन्थात्मक रूप दिइएको छ; जस्तै- नियमित आकस्मिकता (दार्शनिक ग्रन्थ) । यो पनि दार्शनिक चिन्तनहरूकै सँगालो हो । त्यस्तै नेपाल ललितकला -यसमा पनि मूर्तिकला, चित्रकला, इतिहास, साहित्यहरूको चित्र तथा रूपरेखा सङ्कलित छन् । यसरी प्रबन्धात्मक निबन्धमा पनि समको भूमिका छ । समका अरु दर्जनौँ निबन्ध र लेखहरू यत्रतत्र छरिएका छन् । यिनबाट पनि समको चिन्तनशिल्प र विषयज्ञानको राम्रो परिचय पाउन सकिन्छ । २०२९ सालमा समले तयार पारिदिएको दीक्षान्त भाषण अझ महत्त्वपूर्ण प्रतीत हुन्छ । यसरी उनको निबन्धकला उच्च रहेको छ ।

५.५ जीवनीकार वा आत्मकथाकार सम
सम आफ्नो लामो साधनाले नेपालीवाङ्मयका एक प्रतिष्ठित प्रतिभाका रूपमा सम्मानित छन् । उनको लामो जीवनका तीतामीठा घटना र अनुभव नेपाली इतिहास र सामाजिक अध्ययनसँग सम्बद्ध छन् । त्यो जान्ने धोको सबैको दिलमा हुन्छ, त्यसैले पनि समको जीवनीलेखन महत्त्वपूर्ण छ । समले २०२३ र २०२९ सालमा गरी आफ्नो जीवनी २ भागमा प्रकाशित गरिसकेका छन् । यसको संरचना गद्य र पद्यमय (चम्पू) ढा“चामा भएको छ । पुराना कुरा र समको जीवनदर्शन बुझन यसले निकै सघाउ“छ । जीवनीको तेस्रो भाग पुग्ने सामग्री नाति जीवनशमशेरसँग सुरक्षति छ समयले प्रकाशमा ल्याउनेछ । दोस्रो जीवनीहरूको सङ्ग्रह हो, हाम्रा राष्ट्रिय विभूतिहरू । यसमा जनक, बुद्ध, सीता, अंशुवर्मा, अरनिको, राम शाह, पृथ्वीनारायण, बलभद्र, अमरसिंह, भीमसेन थापा, भानुभक्त, मोतीराम र त्रिभुवन गरी १३ राष्ट्रिय विभूतिहरूको सङ्क्षिप्त परिचय दिइएको छ । आफ्ना राष्ट्रिय विभूतिहरूलाई छोटकरी रूपमै भए पनि चिनाउन समले गरेको प्रयास स्तुत्य छ ।
नेपालीवाङ्मयका अनवरत उपासक समलाई सुन्दरीका कटाक्षले मोहित बनाएन, मदिराको मादकताले लठयाएर आफुतिर तानेन, सुखसयल र मनोरञ्जनका लहरीहरू छुटेर लहरीमय गराएनन् । सुखसयल जे भने पनि साहित्यसाधनामा उनी तन्मय बने । तर्सथ आज नेपालीवाङ्मयका महान् साधक उनी बन्न पुगे र सम्मानित पनि भए । उनको जीवनचरित्र पढेर राष्ट्र, राष्ट्रियता र साधना सबभन्दा ठूला कुरा हुन् भन्ने बुझिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *