Skip to content

टुक्रिएको देश सर्बियामा पेन सम्मेलन

  • by


विश्वमा अमेरिका र सोभियत युनियनको नेतृत्वमा दुई पक्षको धु्रबीकरण भएको बेलामा म किशोरावस्थामा थिएँ र युगोस्लाभियाको नाम बारबार सुनिराख्दथेँ । यसै सन्दर्भमा मार्शल टिटोको नाम पनि आउँथ्यो । टिटो कम्युनिस्ट भए पनि दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घको सेनालाई आफ्नो देशमा राख्न नदिएकोले आफू असंलग्न आन्दोलनमा लागी नेतृत्व प्रदान गरेका थिए । सन् १९६१ मा तत्कालीन युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन भएको थियो । त्यसमा नेपालको तर्फबाट राजा महेन्द्रले पनि भाग लिएका थिए । यसै कारणले र युगोस्लाभियाको नाम अहिले मानचित्रभित्रबाट मेटिए पनि यो नामसँग धेरै नेपाली परिचित छन् । बेलग्रेड शिखर सम्मेलन भएको पचास वर्ष भइसक्यो र यस अवधिमा विश्वमा युगान्तकारी परिवर्तन भयो । सोभियत सङ्घको विघटन भयो र पूर्वी युरोपबाट कम्युनिस्ट शासनको अन्त्य भयो । यसैवर्ष लेखकहरूको सङ्गठन इन्टरनेसनल पेनले आफ्नो वाषिर्क सम्मेलन बेलग्रेडमा गर्न लागेकाले त्यहाँ नेपालबाट प्रतिनिधि पठाउन आमन्त्रण आयो । बेलग्रेडमा हुने सम्मेलनमा भाग लिन पेन नेपालका अध्यक्ष रामकुमार पाँडे र महासचिव मलाई जाने मौका मिल्यो ।

युगोस्लाभियाबाट टुक्रिएको स्लोभेनिया, क्रोएसिया, बोस्निया हर्जगोभिना, सर्बिया, मन्टेनिग्रो, मेसोडोनियाको अतिरिक्त कोसोभो पनि हो । यसअघि सन् २००७ मा स्लोभेनियाको ब्लेड सहरमा अन्तर्राष्ट्रिय पेनको सम्मेलन भएको बेला पुगिसकेको थिएँ । यसपटकको पेन कांग्रेसमा भने टुक्रिएको अन्य ६ देशका व्यक्तिहरूसँग पनि भेटघाट गर्ने मौका मिल्यो । पेन भनेको लेखकहरूको सङ्गठन हुनाले यसमा सहभागी हुने व्यक्ति पनि बुद्धिजीवी हुन्छन् । टुक्रेका सातै देशका व्यक्तिसँग मैले प्रश्न राखेँ-युगोस्लाभिया किन टुक्रियो त ? यसपटकको पेन सम्मेलनमा असीभन्दा बढी देशका प्रतिनिधि आएका थिए र तीमध्ये केहीसँग कुराकानी गर्दा आफूलाई धेरै लाभान्वित भएको भन्ठानेँ । पेनको कांग्रेस (सम्मेलन) भनेको सानो संयुक्त राष्ट्र सङ्घ नै हो किनकि यहाँ तीनचार भाषामा एकैपटक अनुवाद हुन्छ र संसारका विभिन्न देशका अभिव्यक्तिको स्वतन्त्रतामा हनन् अथवा लेखक तथा पत्रकारहरूलाई कारागारमा राखिएको विषयमा धेरै देशलाई भत्र्सना गर्ने प्रस्तावमा छलफल गरी पारित गर्ने कामसमेत हुन्छ । अन्तर्राष्ट्रिय पेनको कामकाजको भाषा अङ्ग्रेजी र फ्रेन्च हो । कुनैकुनै सम्मलेनमा स्पेनिस भाषामा पनि बोल्न पाइन्छ रे त्यसको अनुवाद पनि हुन्छ ।

म बेलग्रेड पुग्दा यो सहर सम्पूर्ण युगोस्लाभियाको राजधानी नभई केवल टुक्रिएको युगोस्लाभियाको सर्बिया राज्यको मात्र राजधानी थियो । डेन्युव नदीको किनारामा रहेको यस सहरबाटै साभा भन्ने अर्को नदी गएर डेन्युवमा मिल्दछ । हामी बसेको पाँचतारे होटेल कन्टिनेन्टल रहेको ठाउँलाई बेलग्रेड सहरबाट साभा नदीले छुट्याएको थियो । यो होटेल एकीकृत युगोस्लाभिया भएको बेलामै बनेको जस्तो थियो । कोठाहरू आधुनिक नै थिए तर अत्याधुनिक होइन । अचेल धेरैजसो होटलमा चाबी नराखी कम्प्युटरबाट बनाएको कार्डबाट ढोका खोल्ने गरिन्छ । अमेरिकाका कैयौँ सानातिना मोटेलमा समेत अहिले त्यस्तो गरिन्छ । यस होटेलमा अझ त्यस्तो गरिएको रहेनछ । सर्बियाका राष्ट्रपतिले पेन कांग्रेसको उद्घाटन गरे । जुनजुन देशमा पेनको कांग्रेसको आयोजना गरिन्छ त्यहाँ सो देशका राष्ट्राध्यक्ष अथवा प्रधानमन्त्रीले त्यसको उद्घाटन गर्ने चलन नै छ ।

सर्बियन भाषामा बेलग्रेडको नाम बेओग्राद रहेछ । पूर्वी युरोपका स्लाभ परिवारका भाषामध्ये पोलिस, चेक, स्लोभाक आदि रोमन लिपिमा लेखिँदारहेछन् तर सर्बियन भाषा भने रुसी भाषाजस्तै सिरिलिक अक्षरमा लेखिँदोरहेछ । यस्तो हुँदाहुँदै पनि सर्बियन भाषा भने अहिले दुवै लिपिमा लेखिँदोरहेछ । रोमन लिपिमा समेत लेखिने हुनाले सडकको नाम र गन्तव्यस्थलको नाम पढ्न सजिलो हुन्थ्यो । बेलग्रेडमा ट्राम र बसको राम्रो व्यवस्था रहेछ । युगोस्लाभिया टुक्रिएपछि आफ्नो पहिचान बचाउन सर्बियन भाषालाई सिरिलिक लिपिमा मात्र लेख्ने अभियान चलेको कुरा पनि एकजना साहित्यकारले बताए । पहिलो विश्वयुद्ध (सन् १९१४-१९१८) पनि सर्बियाको एकजना राष्ट्रवादीले तत्कालीन अस्ट्रिया-हङ्गेरी साम्राज्यका युवराज फ्रान्स फर्निडान्डको सन् १९१४ मा सारोयेवोमा हत्या गरेको कारणले सुरु भएको रहेछ । पछि यसमा एकतर्फ जर्मनी, अस्ट्रिया र तुर्की र अर्को पक्षमा रुस, फ्रान्स र बेलायन सामेल भएछन् । पछि बनेको युगोस्लाभियाको पश्चिमी भाग (हालको क्रोएसिया र स्लोभेनिया) तत्कालीन अस्ट्रिया हङ्गेरीको अधीनमा रहेछन् । अहिले सरायेवो बोस्निया हर्जगोबिना राज्यमा पर्दोरहेछ ।

सर्बियालाई उन्नाइसौँ शताब्दीसम्म करिब चार शताब्दी नै तुर्कीको अटोमन साम्राज्यले शासन गरेको रहेछ । यसरी शासन गर्दा बोस्नियामा स्लाभ भाषा बोल्ने केही व्यक्तिलाई मुसलमान पनि बनाएका रहेछन् । सर्बियाकै दक्षिण पूर्वी भागमा कोसोभो भन्ने प्रान्तको नब्बे प्रतिशत जनसङ्ख्या अहिले अल्बानियन भाषा बोल्ने इस्लाम धर्मावलम्बी भएका रहेछन् । यस इलाकामा सन् १९९० को दशकमा सर्बियाबाट यहाँको मुस्लिम जनसङ्ख्यालाई जनसंहार गर्ने प्रयास भएकोले नेटो, अमेरिका र बेलायतबाट सेनासमेत राखिएको रहेछ । पेन कांग्रेसमा एकजना कोसोभोका लेखक पनि आएका थिए । सर्बियामा आउन गाह्रो भएन भनी सोद्धा ‘सर्बियाको पेनका साथीहरूको सहयोगले आउन सकेँ’ भने । बोस्निया-हर्जगोभिनामा तीन जातीय समूह ः सर्बियन, क्रोएसियन र मुस्लिमको साझा सासन रहेछ । कोसोभोका मुस्लिम भने स्लाभभाषी मुस्लिम रहेनछन् । विखण्डित युगोस्लाभियाका सबै इकाईहरू (कोसोभोबाहेक) सबै स्लाभ भाषा बोल्दारहेछन् ।

वास्तवमा युगोस्लाभिया भनेको ‘दक्षिणी स्लाभहरूको देश’ रहेछ । युगोस्लाभिया किन टुक्रियो त भनी मैले टुक्रिएका सातै देशका प्रतिनिधिहरूसँग प्रश्न गरेँ । सबभन्दा पहिले युगोस्लाभिया छाडेर स्वतन्त्र भएको कुरा घोषणा गर्ने पश्चिमोत्तर भागमा बस्ने स्लोभेनहरू रहेछन् । युगोस्लाभियाको सबभन्दा विकसित भाग यही रहेछ । युगोस्लाभियाको दक्षिणी भागका मेसोडोनिया र मन्टेनिग्रो उत्तरी भागभन्दा पछाडि परेका रहेछन् । अन्य गणराज्यहरूले छोडेर गइसकेपछि यिनले पनि आफू स्वतन्त्र राष्ट्र भएको घोषणा गरेछन् । दोस्रो विश्वयुद्धपछि प्रभावकारी नेतृत्व दिने मार्शल टिटोको देहान्त भएपछि देश टुक्रिने प्रक्रियालाई रोक्न सक्ने कोही भएनछ ।

सन् २००८ मा दक्षिण अमेरिकाको कोलम्बियामा पेन कांग्रेस हुँदा मेरो कोठाको साथी इथियोपियाको सोलोमन भन्ने व्यक्ति थियो । विगत तीन वर्षमा इथियोपियामा पनि जातीय आधारमा सङ्घीयता लागू भएछ । सोलोमन भन्दै थियो ‘म पनि पहिले जातीय सङ्घीयताको विरोधी थिएँ तर अहिले यसैकारणले त्यहाँ विकास भएको छ ।’ बेलग्रेडमा पेनको कांग्रेसको समापनपछि सम्मेलनमा सहभागीहरूलाई सर्बियाको उत्तरपश्चिमी भागमा रहेको नोभिसाड भन्ने सहरमा हुन लागेको साहित्यिक कार्यक्रममा लगिएको थियो । त्यहाँ सर्बियाको दोस्रो सबभन्दा ठूलो विश्वविद्यालय रहेछ । सर्बियन भाषा र विदेशी भाषाका कविहरूले आफ्नो आफ्नो भाषामा कविता वाचन गरे । त्यहाँ विश्वविद्यालयमा अर्थशास्त्र पढाउने एउटी युवतीसँग मेरो कुराकानी भयो । यो पुरानो सहर हङ्गेरीको अधीनमा रहेछ । अहिले यहाँ सर्बियनको अतिरिक्त हङ्गेरियन, रोमा (जिप्सी), क्रोएसियन गरी १५ प्रतिशत जनसङ्ख्या अल्पसङ्ख्यकहरूको रहेछ ।

‘हामीकहाँ अल्पसङ्ख्यकहरूलाई आ-आफ्नो स्कुल खोल्ने र आफ्नो भाषामा पढ्ने अधिकार छ’ भिक्टोरिया नामकी त्यस केटीले बोल्दै थिई । सर्बियाको जनसङ्ख्याको ८२ प्रतिशत मात्र सर्बहरू छन् र त्यसपछि ४ प्रतिशत हङ्गेरियन छन् तर नोभिसाडमा ६५ प्रतिशत मात्र सर्बहरू रहेछन् । नोभिसाडका स्कुलमा ६ वटा भाषा (सर्बियन, हङ्गेरियन, स्लोभाक, क्रोआट) मा पढाइ हुँदोरहेछ । त्यो केटीसँग कुरा गरिसकेपछि नोभिसादको सांस्कृतिक केन्द्रले आयोजना गरेको कक्टेल पार्टीमा सहभागी भयौँ । त्यहाँ अनेक प्रकारको मदिरा हुनुको साथै स्वादिष्ट खाना पनि थियो । बैन्डबाट सङ्गीत बजाएपछि नाचगान पनि सुरु भयो । नेपालबाट पेन कांग्रेसमा भएका अर्का प्रतिनिधि रामकुमार पाँडे पनि नाच्नु भयो । त्यहाँ नाच्नेमध्ये न्युजिल्यान्डका नेल्सन पनि थिए । उनले नाचिसकेपछि अङ्ग्रेजीमा गाना पनि गाए । उनले गाएको गाना सुनी अन्तर्राष्ट्रिय पेनका प्रेसिडेन्ट क्यानाडाका सल (क्बग) िलगायत सबै मन्त्रमुग्ध भई हेरी राखे । उनको नाचले उनी शोकमग्न भएको बुझिन्थ्यो । यसको एउटा कथा नै छ ।

मैले न्युजिल्यान्ड निवासी नेल्सनलाई पहिलोपटक सन् २००८ मा कोलम्बियाको बोगोटामा भेटेको थिएँ । त्यसपछि अस्ट्रियाको लिन्स सहरमा भएको पेन कांग्रेस र जापानको टोकियोमा भएको पेन कांग्रेसमा म सहभागी नभएकोले उनीसँग भेट भएन । पेन नेपालका अध्यक्ष रामकुमार पाँडे टोकियो जानु हुँदा नेल्सनलाई भेट्नु भएछ र सन् २०११ को बेलग्रेडको पेन कांग्रेसमा न्युजिल्यान्डबाट बेलग्रेड जानेक्रममा काठमाडौँमा आएर केही दिन बस्न निम्त्याउनु भएछ । नेल्सन काठमाडौँ आएपछि रामकुमार पाँडे, म, मुरारी सिग्देल र भीष्म उप्रेतीलगायत हामी केही पेन-नेपालका सदस्यले उनीलाई काठमाडौँ, पाटन र भक्तपुरमा घुमाइदियौँ । उनको र नेपाली कविता वाचनको कार्यक्रम पनि गरेथ्यौँ ।

बेलग्रेडमा पुगेपछि नेल्सनले चौथो पटक चुनाव लड्ने निर्णय गरेछन् । यस चुनावमा बेलग्रेड कांग्रेसमा सहभागी हुने सबै सेन्टरले भोट दिए । अर्का प्रतिद्वन्द्वी चिनियाँ पेन (स्वतन्त्र) र फ्रान्सको पेनका उम्मेदवार थिए । नेल्सनले चौथोपटक चुनाव हारे । ७३ वर्ष नाघिसकेको र सीधासादा स्वभावका नेल्सनले त्यही दिन चुनावमा पराजित भएपछि केही रक्सी पनि पिएर बिदाइ समारोहमा गाना गाएका रहेछन् । सो गाना पराजय र दुःखको गाना थियो । पेन सम्मेलनमा सहभागी हुने कसैले पनि उनको गाना र नाच बिर्सेनन् । पेन नेपालले त झन् बिर्सने कुरै भएन । पेन नेपालका अध्यक्षले रचना गरेको पुस्तकको भूमिका नेल्सनले लेखिदिएका थिए । आफ्नो उम्मेदवारी दिँदासमेत पेनका साधारणसभामा पेन नेपालबारे नेल्सनले आभार प्रकट गरेका थिए ।

कारागारमा रहेका लेखक (Writers in Prison) समितिले तयार पारेको प्रस्तावमा छलफल भयो । पहिलो प्रस्ताव चीनसम्बन्धी थियो र तिब्बत र सिङ्कियाङमा कैयौँ लेखकहरू थुनिएका र उनको मानवाधिकार हनन् भएकोमा चीनलाई सेन्सर गर्ने प्रस्तावनाको विरोधमा कसैको मत परेन । चीन र सिङ्कियाङको उइधुर पेनबाट दुईदुई जना प्रतिनिधि आएका थिए । एक पेन केन्द्रबाहेकले समर्थन गरे । यसरी समर्थन नगरी (Abstain) तटस्थ रहने पेन सेन्टर नेपाल नै थियो । अन्तर्राष्ट्रिय पेनमा ४ वटा चिनियाँ पेन सेन्टर रहेकोमा यसपटक सङ्घाईमा कार्यालय रहेको भनेको चिनियाा पेन पनि आएको थियो । चीनको सिङ्कियाङमा रहेका उइधुर जातिहरू इस्लाम धर्मावलम्बी हुन् र तुर्की भाषा बोल्दछन् । उइधुर पेन सेन्टर चीन बाहिर रहेको छ र त्यसमा आएका दुई प्रतिनिधि चीन बाहिर बस्दारहेछन् । तीमध्ये एकजना उज्वेकिस्तानको ताशकन्दमा बस्दारहेछन् र त्यहाँबाट प्रशारण हुने बीबीसीको तुर्की भाषाको कार्यक्रम बनाउँदा रहेछन् । उनको भनाइअनुसार उइधुरहरू पाँच शताब्दीअघि मुसलमान बनेका हुन् । त्यसभन्दा अगाडि बुद्ध धर्म मान्दथे ।

यसैगरी तुर्की, इरान, इराक र सिरियासमेत चार देशमा रहेका कुर्दहरूको पहिचान र भाषिक अधिकार हनन् भएको भनी तुर्कीलाई सेन्सर गर्ने प्रस्ताव पनि स्वीकृत भयो । माथि उल्लेख गरेका चार देशमध्ये सबभन्दा धेरै कुर्दहरू तुर्कीमा रहेका छन् । यो प्रस्ताव कुर्दिस्थानका लेखकहरूको तर्फबाट ल्याइएको थियो । उनीहरू भन्दै थिए- ‘तुर्कीको जनसङ्ख्याको एक तिहाई कुर्दहरू छन् तर त्यहाँ कुर्दिश भाषालाई मान्यता दिइएको छैन । कुर्दहरू बहुसङ्ख्यक रहेको पूर्वी तुर्कीमा सहरहरूको नाम पनि तुर्कहरूले कुर्दिश भाषाबाट बदलेर तुर्की भाषामा राखेका छन् । कुर्दिश भाषा फारसीसँग मिल्दोजुल्दो रहेछ र संस्कृति, हिन्दी र नेपालीजस्तै एउटै भाषा परिवारको सदस्य रहेछ ।’ यो प्रस्ताव निर्विरोध पारित भयो । कुर्दिस्तानको पेनबाट आएका दुई प्रतिनिधिमध्ये एकजना इरानी र अर्की सिरियाकी कुर्द महिला थिए । हाल इजरायल तथा प्यालेस्टाइनमा रहेको इसाईहरूको पवित्र भूमिमा शताब्दीयौँ पहिले मुसलमान र इसाईबीच धर्मयुद्ध भएको थियो, जसलाई क्रुसेड भनिन्छ । यसमा मुस्लिमहरूका तर्फबाट लड्ने सालाद्दिन कुर्दिस्तानका कुर्द थिए । सालाद्दिन कुर्द भएको कुरा कुनै पाठ्यपुस्तकमा नलेखिएको कुरा तुर्कीका प्रतिनिधिले भन्दै थिए । इरानी कुर्दिस्तानका प्रतिनिधिले कुर्दहरू सुन्नी भएको तर इरानको शासक वर्ग शिया सम्प्रदायको भएको कुरा गरे । उनको भनाइअनुसार इरानको राजधानी तेहरानमा दश लाख सुन्नी छन् तर उनीहरूको प्रार्थनाको निम्ति एउटा मात्र मस्जिद छ । मसाद र कोमजस्ता सहरमा शिया सम्प्रदायका मस्जिद मात्र छन् ।

जर्मन पेनले युरोपियन युनियनका केही देशहरूको मानवाधिकारको हनन् गरेको केही उदाहरण भेटिएकोले युरोपियन युनियनलाई नै सेन्सर गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो । मैले ‘केही देश’ र ‘केही उदाहरण’ भन्नुभन्दा त्यसो गर्ने देशको नाम तथा के कस्तो मानवाधिकार हनन् हो उदाहरण सोसमेत तोकेर उल्लेख गरेर मात्र प्रस्ताव छलफल गर्नुपर्ने भन्ने कुरा भने, जुन स्वीकृत भयो । अन्तर्राष्ट्रिय पेनको ‘शान्तिसम्बन्धी समिति’ तथा अनुवाद र भाषिक अधिकार समितिका केही प्रस्तावहरू पनि छलफल भयो । युरोपका धेरै देशमा ‘रोमा’ को उपस्थिति छ, जसलाई जिप्सी पनि भनिन्छ । यिनीहरू धेरै सङ्ख्यामा रुमानियामा बस्दछन् र हाल फ्रान्सको पेरिसमा पनि पुगेका रहेछन् । ती देशका सरकारहरूले उनीहरूप्रति मानवाधिकारको विषयमा भेदभाव गरेकाले ती सरकारहरूको विरुद्ध पनि प्रस्ताव पारित भयो । पेनको अनुवाद तथा भाषिक अधिकार समितिका अध्यक्ष स्पेनको क्याटालोनिया प्रान्तका निवासी हुन् । त्यस समितिले स्पेनको जिरोना भन्ने सहरमा सम्मेलन गरी भाषिक अधिकारको म्यानिफेस्टो पारित गरेको रहेछ, जसलाई अन्तर्राष्ट्रिय पेनको साधारणसभाले पारित गर्‍यो । यसका प्रमुख बुँदाहरूमध्ये ‘आफ्नो बोल्ने भाषालाई प्रयोग गर्ने र रक्षा गर्ने सबैलाई अधिकार भएको र संयुक्त राष्ट्रले आफ्नो मानवाधिकारको घोषणापत्रमा समावेश गर्नुपर्ने तथा प्रत्येक भाषिक समुदायलाई आफू बसेको क्षेत्रमा आफ्नो भाषालाई आधिकारिक भाषासमेत बनाउन पाउनुपर्छ’ भन्ने समेत थियो । सन् २०१० मा पेनसँग सम्बन्धित दुई जना व्यक्तिहरूलाई नोबेल पुरस्कार दिइएकोमा अन्तर्राष्ट्रिय पेनले बधाई प्रस्ताव पारित गर्‍यो । यसरी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पेरुका मारियो भर्गास ल्होसा कुनैबेला अन्तर्राष्ट्रिय पेनका प्रेसिडेन्ट थिए र नोबेल शान्ति पुरस्कार विजेता लिउ जाउ बु स्वतन्त्र चिनियाँ पेनका संस्थापक अध्यक्ष थिए ।

सन् २०१२ मा अन्तर्राष्ट्रिय पेनको सम्मलेन कोरियामा हुने निर्णयको साथ बेलग्रेड पेनको समापन भयो । यसपटकको पेन कांग्रेसमा नेपालको राम्रो सहभागिता रह्यो । पेन नेपालको प्रकाशन पनि वितरण गरियो । दक्षिण एसियामा सहभागी हुने अर्को देश बङ्गलादेश मात्र थियो । बङ्गलादेश पेनको तर्फबाट एकजना अब्दुल करिम भन्ने कवि प्रतिनिधि भएर आएका थिए । उनले आफ्नो कविता सङ्ग्रह ‘द मिमोसा’ भन्ने प्रकाश गराएका रहेछन् । उनले आफ्नो पुस्तकको कभरमा आफ्नो पुस्तक पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनलाई उपहारको रूपमा पठाएको र उत्तरसमेत पाएको कुरा लेखेका रहेछन् । सम्मेलनका केही कार्यक्रममा उनले समेत कविता वाचन गरेका थिए ।

कुनै समयमा असंलग्न राष्ट्रको नेता भएका टिटो दिवङ्गत भइसकेका छन् । उनको समाधि चाहिँ बेलग्रेडमै रहेछ । उनको जन्मस्थल भने सर्बिया नभई क्रोएसिया रहेछ । सर्बिया नेपालजस्तै भूपरिवेष्ठित राज्य बनेको छ । टिटो राष्ट्राध्यक्ष भएको बेलामा असंलग्न राष्ट्र भएकोले नेपालसँग युगोस्लाभियाको निकट सम्बन्ध, अहिले युगोस्लाभिया टुक्रिई सर्बिया बन्नु, नेपालमा जातीय आधारमा सङ्घीय राज्य बनाउने प्रस्ताव आउने सन्दर्भमा यसपटक भएको बेलग्रेड पेन कांग्रेसमा सर्बियालगायत विभिन्न देशका लेखकहरूसँग भेट्न पाउनु मेरोलागि रमाइलो अनुभव रह्यो ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *