Skip to content

कोशीको सुनामी


फुटो कोशी ऐले सकल जनमा त्रास भरियो
लियो यस्ले सातो बगर बनियो गाउँ सब यो
कठै खेती पाती पशु धन सबै लाखन गए
हरे देख्ता देख्तै नजर भरमै सागर भए ।१।

बगे गाई भैँसी बगर हुन गैगो जमिन यो
जमे सातै कोशी अभर परिगो द्वार थुनियो
थियो कच्चा माटो बगर बलुवाको दिन दिनै
कठै भत्क्यो बाँधै बिपत परिगो एक छिनमै ।२।

रुवाबासी गर्दैमनुज सब ती लाखनथरी
बचाऊ भन्दैछन् बचन मुखले बोल्न नसकी
नछन् नाना चाचा बिचर बचरा झैँसब त्यहाँ
नछन् खाना दाना न त छ अरुनै खर्च नि त्यहाँ ।३।

लगो सारा धानै जमिन भरको खाद्य पनि गो
लियो सारा बस्ती, सकल जनमा स्वप्न सरि भो
न बस्त्रै छन् आङ्मा शरिर भर छन् घाउ खटिरा
भिजेकाछन् जम्मै अझ कति चिसो हुन्छ नि बरा ।४।

न छन् थोत्रा थाम्रा नत अरुकुनै बस्त्र पनि छन्
नसोचेको यस्तो प्रलय जलको भोग्नु कति झन्
बगायौ ब्यर्थैमा छिनभरमा नै गाउँ सब यो
लियौ कोशी साटो, कसप्रति थियो क्रुद्घ मन त्यो ।५।

जलै जल्को मेला गगन तलको दृश्य सरिको
समुन्द्रैको जस्तो क्षितिज परको बिम्ब सरि भो
न बोल्छन् द्यौता नै नत सब पिडा सुन्छ बिचरा
न छन् अश्रू पुछ्ने न त अरु कोही भन्छ नि बरा ।६।

न थाम्ने चित्तैले न त मन दरो हुन्छ नि कतै
न छन् आफ्ना सङ्गी धन र जनले रक्षित यतै
थुपारेको सारा मनुज जनको बिस्कुन भयो
कहाँ बस्ने खाने अझ पनि यसै रुन्छ मन यो ।७।

२०६५।५।२४।३
इटहरी — ५ , पचरुखी

छन्द :— शिखरिणी
गण :— य म न स भ ल गु
नोट :— २०६५ साल भदौ २ गते कोशी नदीको बाँध फुटेर गाउँ डुवाएको बेला लेखेको कविता |

Leave a Reply

Your email address will not be published. Required fields are marked *