Skip to content

नेपाली हास्यव्यङ्ग्य निबन्ध र दिवङ्गत स्रष्टाहरू

  • by


सूर्यबहादुर पिवा (१९८४–२०६३)
मास्टरसाहेब (२०३५), घुयेँत्रो (२०५५), झटारो (२०५५) र जिउँदो मान्छेको फेला (२०६१) जस्ता कृतिमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा योगदान पुर्याउने सूर्यबहादुर पिवा सशक्त हस्ताक्षरका रूपमा परिचित छन् । उनले आफ्ना हास्यव्यङ्ग्य निबन्धमार्फत नेपाली जीवनका विविध क्षेत्रमा विद्यमान अनेकानेक कमी–कमजोरी एवं विसङ्गत पक्षलाई सम्बन्धित क्षेत्रसम्म पुर्याउने प्रचेष्टा गरेका छन् ।

उनका निबन्धहरूमा विशेषतः मानवीय कमजोरीलाई नै विषय बनाइएका छन् र ती कमजोरीहरू राजनीतिक, सामाजिक, धार्मिकलगायतका क्षेत्रमा विद्यमान भएको उनको ठम्याइ छ । त्यसैले उनी राजनीतिमा देखिएका विकृति र विसङ्गति, सामाजिक जीवनमा विद्यमान कुरीति र कुसंस्कार, धार्मिक क्षेत्रमा प्रभुत्व जमाइरहेका रुढि र अन्धविश्वासलाई आफ्ना निबन्धका विषय बनाउँछन् ।

निबन्धकार पिवा आफ्ना निबन्धहरूमा आफू र आफ्नो परिवारका सदस्यहरूलाई समेत पात्रका रूपमा उभ्याउन हिच्किचाउँदैनन् । यसको उदाहरणका रूपमा घुयेँत्रोमा सङ्गृहीत सूर्यबहादुर पिवा शीर्षकको निबन्धलाई लिन सकिन्छ । यस्तै विद्वान् सर्वत्र पूज्यते, दक्षिण मोहडाकी आइमाई र स्वर्गमा बाबुलाई फोन शीर्षकका निबन्धहरूमा पनि उनले आफू र आफ्नो परिवारलाई पात्र बनाएका छन् । अरूलाई पात्र बनाउनु सजिलो भए पनि आफू र आफ्नो परिवारलाई नै पात्र बनाएर लेख्न सजिलो छैन तर पिवाले यस्तो असजिलो कामलाई सजिलै पूरा गरेको देखिन्छ । उनी हास्यव्यङ्ग्य निबन्धहरूमा कडा भाषा र आक्रोशपूर्ण शैलीको प्रयोग गर्न रुचाउँदैनन्, बरु विषयलाई कथात्मक एवं संवादात्मक ढङ्गमा प्रस्तुत गर्ने शैली अवलम्बन गर्छन् ।

उनका निबन्धहरूमा घर, परिवार र समाजका विषय मात्र आएका छैनन् राष्ट्रिय र सामाजिक विषयवस्तु पनि उत्तिकै प्रभावकारी रूपमा आएका छन् । घुयेँत्रोमा भएका मास्टरसाहेब ! नमस्कार !!, अविश्वासको प्रस्ताव, भूतपूर्व जड्याहा, विदेशयात्राजस्ता निबन्धमा व्यक्तिले भोग्नुपरेका विडम्बनालाई निबन्धीकरण गरिएको छ । स्वर्गमा बाबुलाई फोन उनको उत्कृष्ट हास्यव्यङ्ग्य निबन्ध हो, जसमा उनले आफ्नै पिता र परिवारजनको नामै उल्लेख गरेर पाठकलाई हास्यरसपान गराएका छन् । व्यक्तिमा हाबी हुँदै गएको आडम्बरप्रवृत्ति, राजनीतिक पार्टीहरूको चरित्र, बढ्दो फोहरले हामीप्रति विदेशीको नकारात्मक धारणा बन्दै गएको यथार्थता र विदेशी भाषाप्रतिको बढ्दो मोहलाई उनले व्यङ्ग्यात्मक पाराले निबन्धीकृत गरेका छन् । यसैगरी झटारोमा रहेका निबन्धहरूमा पनि उनले पूर्ववर्ती कृतिहरूमा भं“ैm विविध विकृति र विसङ्गतिलाई निबन्धको विषय बनाएकोे देखिन्छ तर यस सङ्ग्रहका निबन्धहरूमा भने उनले भाषण, समाचारवाचन, निवेदन र पत्रलेखन शैलीमा निबन्ध लेखेर आफ्नो सिर्जनक्षमताको परिचय दिएका छन् । उनको सबैभन्दा पछिल्लो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह जिउँदो मान्छेको फेलामा भने उनले बहुदल आएपछि देखिएका विकृतिजन्य व्यवहारलगायतका विविधखाले विषयलाई आफ्नो निबन्धको विषय बनाएका छन् ।

रुद्र खरेल (२००१–२०६५)
प्राध्यापन र लेखनमा जीवन बिताएका रुद्र खरेल प्रबल व्यङ्ग्यचेत भएका प्रमुख निबन्धकार हुन् । तपाईंको नाम के हो ? (२०४८), तोरीलाहुरे चोकमा एक छिन (२०५२), बिर्सिस्यो कि ? (२०५७), आषाढस्य प्रथम दिवसे (२०५९), तेस्रो आँखा (२०६१) र शब्दको भ्वाङ (२०६४) छ व्यङ्ग्यनिबन्धसङ्ग्रहका माध्यमबाट उनी यथार्थ र प्रगतिवादी चेत भएका चोटिलो व्यङ्ग्यनिबन्धकारको रूपमा स्थापित भएका छन्

निबन्धकार खरेलका सबै निबन्ध हाम्रा सामाजिक–राजनीतिक परिदृश्यका विविध पाटा र मानवीय कमजोरीतर्फ केन्द्रित छन् । आफ्ना अनुभव र पर्यवेक्षणका माध्यमले उनले समसामयिक स्थितिप्रति तीव्र व्यङ्ग्य गर्दै समाज र राष्ट्रलाई एउटा उचित बाटोमा हिँड्नपर्ने निर्देश गरेको देखिन्छ । निबन्ध लेखनमा उनी आफ्ना पूर्वस्मृतिहरूको प्रयोग गर्दै समकालीन विद्रूप र विकृतिलाई चित्रण गर्छन् । समाजमा उभिएका भ्रमका पर्खालहरू भत्काउँदै उनी आफ्नै सांस्कृतिक चेतनाले युक्त आदर्श र सुसंस्कृत समाजको स्थापनामा निबन्धमार्फत जोड दिन्छन् ।

“तपाईंको नाम के हो ?” निबन्धसङ्ग्रहमा भएका प्रारम्भकालीन निबन्धमा उनले समसामयिक यथार्थलाई अत्यन्त राम्ररी छर्लङ्ग्याउनुका अतिरिक्त विकृतिविरुद्ध कडा प्रहार गरेको पाइन्छ । त्यसपछि उनी क्रमशः अझ बढी सक्रियताका साथ सामाजिक बेथिति र अन्धविश्वास, राजनीतिक कुकर्म र चरित्रलगायतका विषयमा चर्को प्रहार गर्न संलग्न देखिन्छन् । तोरीलाहुरे चोकमा एक छिन र बिर्सिस्यो कि ? मा आईपुग्दा निबन्धकार खरेलको व्यङ्ग्यचेत अझ तीव्रतर हुँदै गएको पाइन्छ । उनी आफ्ना निबन्धमा एकातिर सामाजिक–राजनीतिक क्षेत्रमा विद्यमान बेथिति र विषमताहरूलाई चिरफार गर्छन् भने अर्कोतिर नारीप्रति कुदृष्टि राख्ने र विदेशी संस्कृतिप्रति बढी मोह राख्ने प्रवृत्तिविरुद्ध चर्को प्रहार गर्छन् तर उनको व्यङ्ग्य यत्तिमै सीमित छैन ।

आषाढस्य प्रथम दिवसेको पहिलो निबन्ध जुनसुकै कुरा लेखिए पनि …मा उनले अदालतमा प्रयोग हुने भाषालाई विषय बनाएर तीव्र व्यङ्ग्य गरेका छन् । यस सङ्ग्रहमा रहेका आषाढस्य प्रथम दिवसे तुलनात्मक रूपमा सबैभन्दा प्रभावोत्पादक निबन्ध हो । यसमा द्वन्द्व र हिंसाले गाउँघरको जीवन, संस्कृति र परम्परामा पारेको घाउको मर्मस्पर्शी चित्रण गर्दै राष्ट्रिय चेतना, मानवीय भावना र सामाजिक संवेदनालाई अत्यन्त राम्ररी प्रस्तुत गरिएको छ । मेघलाई सम्बोधन गरेर लेखिएको यस निबन्धमा मेचीदेखि महाकालीसम्मको हाम्रो ग्रामीण परिवेश र भूबनोटको चित्रात्मक अभिव्यक्ति पनि पाइन्छ । व्यङ्ग्यकार खरेलको पाँचौँ व्यङ्ग्यकृति तेस्रो आँखामा रहेका निबन्धहरूले पनि सामाजिक कुप्रवृत्तिप्रति प्रहार गर्नुका अतिरिक्त मानव अधिकारका नाममा हाम्रो देशमा हुनेगरेका गलत कार्यहरूप्रति तीखो व्यङ्ग्य गरेका छन् । उनका निबन्धहरूले व्यक्तिलाई नभई प्रवृत्तिलाई कटाक्ष गर्दै त्यसका विरुद्ध मोर्चा तयार पार्नुपर्ने आवश्यकतालाई जोड दिएको पाइन्छ । उनको शब्दको भ्वाङ निबन्धसङ्ग्रहका निबन्धहरू पनि विशेषतः सामाजिक एवं राजनीतिक विषयमा केन्द्रित छन् । सामान्य विषयबाट उठान गरिएका उनका कतिपय निबन्धहरू अन्त्य हुँदा गम्भीर विषयको चिन्तनमा रूपान्तरण भएका भेटिन्छन् ।

प्रगतिवादी चेतनाबाट अनुप्राणित कुशल निबन्धकार रुद्र खरेल निबन्धहरूमा कविता र गीतका अंशहरूको प्रयोगबाट निबन्धलाई प्रभावपूर्ण र रोचक बनाउँछन् भने भाषाको प्रयोगबाट भन्दा विषयको प्रतिपादनबाट नै व्यङ्ग्य गर्न रुचाउँछन् ।

प्रकाश प्रेमी (२००६–२०५०)
प्रकाश प्रेमीले लामो आयु भोग्न नपाए पनि जति बाँचे नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा सक्रिय भएर बाँचे । उनका पत्रपत्रिकामा छापिएका थुपै्र फुटकर निबन्धमध्येबाट छानिएका आठवटाको सङ्ग्रह पर जा तन्त्र वि.सं. २०५० मा छापिएको छ । यी सबै निबन्ध २०४१ सालदेखि २०४९ सालको अवधिभित्र भाँडभैलो र झ्याइँकुटी पत्रिकामा प्रकाशित भएका हुन् । उनको पहिलो हास्यव्यङ्ग्य रचना भने खजान्ची मन्त्रीलाई बिन्तीपत्र २०४१ सालको भाँडभैलो पत्रिकामा प्रकाशित भएको थियो ।

प्रकाश प्रेमीका हास्यव्यङ्ग्य निबन्धहरू २०४६ सालको राजनीतिक परिवर्तन हुनुभन्दा अघि र पछिका परिवेश र परिस्थितिका चित्रण गर्नमा केन्द्रित देखिन्छन् । विशेषतः राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका कारण सम्पूर्ण राष्ट्र र समाजमा परेका प्रतिकूलताहरू नै उनका निबन्धका विषय हुन् । राजनीतिक परिवर्तनपछि सत्तामा व्यक्ति परिवर्तनको आभास भए पनि चरित्र र मानसिकतामा परिवर्तन नभएकोतर्फ उनका निबन्धहरूले प्रहार गरेका छन् । आकारका दृष्टिले अत्यन्त छोटा उनका निबन्धहरूमा सरल र सरस भाषाको प्रयोग भएको छ । हाँस्य र व्यङ्ग्य दुवैको समुचित प्रयोगमा उनको रुचि देखिन्छ ।

–विराटनगर, हाल मालीगाउँ, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *