Skip to content


चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको “पटाचारा” चलचित्र बौद्धकालीन कथामा आधारित छ । प्रेममा अन्धो भई घर परिवार त्यागेकी पटाचाराको कारूणिक जीवनको कथा बोकेको यो कथामा उनलाई भगवान बुद्धले उद्धार गर्ने देखाइएको छ । नेपाली र नेपाल भाषा दुबैमा बनेको “पटाचारा” मा मेलिना मानन्धरले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । यसभन्दा अघि “चाण्डालिका” शीर्षकमा पनि एउटा बौद्धकालीन कथामा आधारित चलचित्र बनिसकेको छ । नेपाल भाषामा निर्माण गरिएको “चाण्डालिका” का निर्देशक मनीष श्रेष्ठ हुन् । यस चलचित्रमा हिसिला महर्जनले शिर्ष भुमिका निर्वाह गरेकी छिन् । चाण्डालिकाको कथा अनुसार तल्लो जातकी एउटी युवतीको एक बौद्ध भिक्षुसित मन बस्ने र त्यसैको वियोगमा छटपटिने देखाइएको छ भने यसमा भगवान बुद्धले देखाउनु भएको सद्मार्ग अपनाएर शान्ति मार्ग प्राप्त गर्ने देखाइएको छ । चलचित्र बिकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार ०६७ मा “पटाचारा” चलचित्रले सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक र सर्वश्रेष्ठ नायिका गरी तीनवटा राष्ट्रिय पुरस्कार पनि जित्न सफल भयो । यसको उत्साहित सफलताबाट हौसलान्वित भएर यसका निर्माता दीजेन्द्र शाक्य र निर्देशक रामकृष्ण खड्कीले अब अर्को एउटा बौद्ध कथा “कृषा गौतमी”लाई पर्दामा ल्याउने तयारी गरिरहेका छन् ।

यी सानो पर्दाका भिडियो फम्र्याटका चलचित्रहरू बाहेक नेपाल टेलिभिजनको पर्दामा “पाइला” शीर्षकको बौद्ध कथामा आधारित टेलिश्रृृङ्खला पनि प्रसारित भइसकेको छ । बुद्धकालीन कथामा टेलिशृङ्खला बनाउने प्रयास गरेका निर्देशक दुर्गाराज खरेलले विभिन्न कथाहरू समेटेर लामो शृङ्खला बनाउने कोशिश गरेका थिए । यसै क्रममा “अंगुलिमाल” को कथामा आधारित केही शृङ्खलाहरू प्रसारित पनि भयो यसमा अभिनेता ध्रुव कोइरालाले अंगुलिमालको शीर्ष भूमिका निर्वाह गरेका थिए । प्रायोजकहरूको अभाव र निर्माणको अत्याधिक लागतको कारण निर्देशक खरेलले आफ्नो योजना अनुसार “पाइला”लाई गन्तब्यसम्म पुर्‍याउन सकेनन् । त्यस्तै वि.सं. ०४४/०४५ सालतिर बौद्ध कथामै आधारित टेलिचलचित्र “बिसन्तर” पनि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । उसो त भगवान बुद्ध वा बौद्ध कथामा आधारित गरेर बनाउने भनि बढाइनेे पाइलाहरू गन्तव्यसम्म नपुगेका उदाहरणहरू धेरै छन् । कतिपय पाइलाहरू त घोषणाभन्दा अगाडि बढ्न नसकेको देखिन्छ । यसतर्फको एउटा ज्वलन्त उदाहरणको रूपमा “लर्ड बुद्ध”लाई लिन सकिन्छ ।

करिब दश वर्ष जति अगाडि निर्माण थालको “लर्ड बुद्ध”का निर्देशक बन्नी प्रधान हुन् । त्यत्तिबेला चालिस करोड रूपियाँको लागतमा अन्तराष्ट्रिय स्तरमा निर्माण गर्ने भनिएको “लर्ड बुद्ध”को छायाङ्कन पनि आरम्भ भएको थियो । तर चार पाँच दिनको छायाङ्कन नै बन्द हुन पुगेको “लर्ड बुद्ध” फेरि कहिल्यै छायाङ्कनको संघारसम्म पुग्न सकेन । यस्तै गरी चर्चित निर्देशक युवराज लामाले बनाउने घोषणा गरेको “शाक्यमुनि बुद्ध” पनि घोषणापछि नै बन्द हुन पुगेको चलचित्र हो । यसरी घोषणामा मात्रै सीमित हुन पुगेको अर्को एक बुद्ध कथामा आधारित चलचित्र “सिद्धार्थ” हो । यसलाई प्रकाश साय्मीले निर्देशन गर्ने अभिभारा बोकेका थिए । तर उनले यो हर्मन हेस्सेले लेखेको पुस्तक “सिद्धार्थ”मा आधारित भइ निर्माण गर्न लागिएको थियो । तर त्यस्तो हुन सकेन ।

अहिले प्रसिद्ध निर्देशक तुलसी घिमिरे पनि बुद्धको जीवनीमा आधारित एउटा चलचित्र बनाउने उद्देश्यसहित अगाडि बढिरहेका छन् । उनले यो चलचित्र एनिमेसन प्रविधिमा बनाउने सोच बनाएका छन् । एनिमेसन प्रविधिमा बन्ने चलचित्रमा कुनै पनि कलाकारको अभिनय नभई रेखाचित्रहरूको माध्यमबाट चलचित्र तयार गरिन्छ । भारतमा समय समयमा बुद्ध कथामा आधारित चलचित्र र टेलिशृङ्खला बन्ने क्रम चलि नै रहन्छ । अभिनेता अरूण गोविलले भगवान बुद्धको भुमिका निर्वाह गरेको “बुद्ध” शीर्षकको शृङ्खलालाई पनि लिन सकिन्छ ।

नेपालमा जस्तै भारतमा पनि भगवान बुद्धको कथामा आधारित भई बनाउने भनी बढाइएका कतिपय पाइलाहरू गन्तव्यमा नपुगेका उदाहरण प्रशस्तै छन् । ती मध्ये अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक शेखर कपुरले बनाउने भनि घोषणा गरेको “यशोधरा” प्रमुख हुन् । यसमा उनले ऐश्वर्या राय बच्चनलाई सिद्धार्थकी पत्नी यशोधराको भूमिकामा अभिनय गराउने चर्चा चलेको थियो । जोधा अकबर र लगान जस्ता भारतीय इतिहासलाई चलचित्रको पर्दामा उतार्न सफल निर्देशक आशुतोष गोवारीकरले पनि “बुद्ध” शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका थिए । अहिलेसम्म बनाएका छैनन् ।

शनिबार, गोरखापत्र
बैशाख ३१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *