Skip to content


साहित्य सिर्जना गर्नु र सिर्जित साहित्यको परख गर्नु दुई भिन्न बाटा हुन् । सिर्जना गर्ने पारखी बन्न सक्दैन र पारखी बन्दैमा सिर्जना गर्न पनि सक्नुपर्छ भन्न सकिँदैन । अर्थात् सिर्जना र समालोचना दुई अलग बाटा हुन् र ज्यादै थोरैले मात्र एकसाथ दुइटै बाटोमा हिँडेर सफलता हासिल गरेका छन् । डा. कुमारप्रसाद कोइराला मूलतः एउटै बाटोमा मात्रै हिँडिरहेका व्यक्तित्व हुन् र उनले हिँडेको समालोचनाको बाटोमा औँलामा गनिने नामहरूमा उनी पनि पर्दछन् । नेपाली आख्यानको अध्ययन (वि.सं. २०५८), केही आधुनिक नाटक र नाटककार, (२०६६) पछि प्रस्तुत कृति आख्यान विमर्शसम्म आइपुग्दा रूखो विधा मानिएको सालोचनाका क्षेत्रमा दर्बिलो नाम बनिसकेको अनुभव हुन्छ ।

‘आख्यान विमर्श’ मा जम्मा तीन खण्ड रहेका छन् । पहिलो खण्डमा डा. कोइरालाले सिद्धान्तका कुरा गरेका छन् । आख्यानको सैद्धान्तिक स्वरूप र तेस्रो आयाम र लीलालेखन ः समानता र असमानता गरी दुई शीर्षकमा विश्लेषण गरिएको छ । उनको कृति आख्यान केन्द्रित समालोचनाको भएकाले आख्यानको परिभाषा, आख्यानको ऐतिहासिकता, विशेषता, रूप र प्रकार आदि केलाइएको पहिलो खण्डको पहिलो शीर्षकीय विश्लेषणले कृतिभित्र पस्नलाई आमपाठकका लागि ढोका खोल्ने काम गरेको छ तर यसै खण्डको दोस्रो शीर्षकीय व्याख्याले भने पाठकलाई अलमलमा पार्ने काम गरेको छ । तेस्रो आयाम र लीलालेखनका सम्बन्धमा व्याख्यान गरिएको कोइरालाको यो लेखले समालोचनाभन्दा पनि टिप्पणी मात्रैको स्वाद दिन्छ र सँगालोमा अमिल्दो सन्दर्भजस्तो पनि लाग्दछ । डा. कोइरालाले आख्यानमा पर्ने मूलतः कथा, उपन्यास र लघुकथा हुन् भनेका छन् र यसभन्दा बाहिरका विधा चाहिँ गैरआख्यान हुन् । गैरआख्यानमा पनि काव्य र नाट्यसँग चाहिँ यसो सम्बन्ध हुन्छ भनेर केलाइसकेपछिको दोस्रो लेखले अलमलमा पार्नु स्वाभाविक हो । तेस्रोआयाम र लीलालेखन स्रष्टात्रय-इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्ल्भसँग सम्बन्धित हुन् तर आख्यान केन्द्रित विचार वा वाद होइनन् । यसकारण यो शीर्षकलाई उनले समेट्नुको मोह स्पष्ट हुँदैन ।

आख्यान विमर्शको दोस्रो खण्डमा उपन्यासकेन्द्रित समालोचनाहरू रहेका छन् । यसमा समेटिएका आख्यानकारहरूमा -डायमनशमशेर राणा, बीपी कोइराला, डा. ध्रुवचन्द्र गौतम, डा.गोविन्दराज भट्टराई, तेराख, सरुभक्त, कृष्ण धरावासी, नारायण वाग्ले, होमनाथ सुवेदी र धीरकुमार श्रेष्ठ छन् । उल्लेखित आख्यानकारहरू पनि डायमनशमशेरको औपचारिक सफलता केलाइएको छ भने बीपी कोइरालाका उपन्यासमा मानवतावादको खोजी गरिएको छ । अन्यका भने एक/एकवटा उपन्यासको विश्लेषण गरिएको छ । यसरी विश्लेषण गरिएका कृतिहरूमा डा. ध्रुवचन्द्रको घुर्मी, डा. भट्टराईको सुकरातका पाइला, तेराखको सर्वजा, सरुभक्तको समय त्रासदी, धरावासीको टुँडाल, वाग्लेको पल्पसा क्याफे, सुवेदीको यमपुरीको महल र धीरकुमारको घुर रहेका छन् । यसै खण्डमा रहेको समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू शीर्षकको लेखलाई भने ज्यादा महत्त्वपूर्ण मान्न सकिन्छ । समालोचक कोइरालाले वि.सं. २०४० यतालाई समकालीनभित्र राखेका छन् र यो समयमा लेखिएका उपन्यासहरूको नामावलीसमेत प्रस्तुत गरेका छन् । उनले नेपाली साहित्यमा मात्रै नभई विश्वसाहित्यमै उपन्यासलाई सर्वाधिक लोकप्रिय विधा भएको उल्लेख गर्दै प्रवृत्तिहरूको विश्लेषण गरेका छन् ।

तेस्रो खण्डका रूपमा समेटिएको कथाकेन्द्रित समालोचना भवानी भिक्षुको कथाकारिता, गोविन्द गोठालेको कथायात्रा र प्रवृत्ति, परशुका यौनकथा ः एक अध्ययन, नारायण ढकालको बहिर्गमन (२०६०) कथासङ्ग्रहको विश्लेषण, आसाम (भारत) का कथाकार मिङ लिवाङको कथासङ्ग्रह ‘मनभित्रको मन’ केन्द्रित विश्लेषण, प्रनिधिनि नारी यौन कथाको सङ्ग्रहको चिरफार, समसामयिक नेपाली द्वन्द्व र युद्धकथामाथि समलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । कोइरालाले लघुकथालाई पनि आख्यानकै भेदमा समेटेकाले लघुकथासँग सम्बन्धित ‘नेपाली लघुकथा ः स्वरूप र परम्परा’ शीर्षकमा अनुसन्धानमूलक आलेखलाई पनि यसै खण्डमा समेटेका छन् । यस खण्डको अन्त्यमा समकालीन नेपाली कथाका मूल प्रवृत्ति र विशेषता केलाइएको महत्त्वपूर्ण आलेखले उनको कृतिको ओजलाई थप वल पुर्‍याएको अनुभव हुन्छ ।

नेपाली कथाकारिताका क्षेत्रमा यौन मनोविश्लेषणात्मक कथाकारका रूपमा उच्च मूल्याङ्कन गरिएका भवानी भिक्षु र मनोविश्लेषणात्मक आख्यानकार गोठालेका बारेमा समालोचक कोइरालाले अनुसन्धानमूलक सामग्री नै तयार पारेका छन् । त्यस्तै, पछिल्लो समयमा आएर विभिन्न विषयकेन्द्रित कथासङ्ग्रहहरू तयार पार्ने लहड क्रममा आएका नारी यौनकथा र द्वन्द्वकथामाथि पनि उनले मेहनतपूर्ण सामग्री नै प्रस्तुत गरेका छन् । डा. कोइराला पछिल्लो समयमा आएर साहित्यिक कार्यक्रम, विमोचन, अन्तक्रिर्या, कार्यपत्र आदिमा निक्कै सक्रिय एवं सफल समालोचकका रूपमा स्थापित भएकाले उनका ‘आख्यान विमर्श’ भित्रका कतिपय सामग्रीहरू पनि तिनै उद्देश्यपूरकका रूपमा तयार पारिएका जस्ता देखिन्छन् । अर्थात् प्रयोजन सिद्ध भइसकेपछि र विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेपछि सिङ्गो सङ्ग्रहमा आएका समालोचनात्मक सामग्रीहरूले विश्वविद्यालयस्तरीय अध्ययन-अध्यापन एवं खोजअनुसन्धान गर्नेहरूका लागि महत्त्वपूर्ण सामग्री बन्न सकेको छ । परम्परागत समालोचना गर्नेहरूमाथि हुनेगरेको टिप्पणीबाट डा. कोइराला माथि उठेको अनुभव हुन्छ । उनले आफ्नो समालोचकीय रूपलाई अनौपचारिक शैलीमा विषयपरक प्रस्तुति तर्फ जोड दिएकाले पठनीय समालोचक बन्न सक्ने यस कृतिले देखाएको छ । अधिल्लो पुस्तादेखि अहिलेको ज्यादै चल्तीको पुस्तासम्म आएका कोइरालाका समालोचना नेपाली साहित्यको काल निरूपणमा पनि सहयोगी हुने देखिन्छ । केही आलेखहरू छोटा र सतही छन् भने सिद्धान्तखण्डको तेस्रो आयाम र लीलालेखनसम्बन्धी लेख यस कृतिमा असान्दर्भिकझैँ अनुभव हुन्छ यो कृति पाठकमैत्री समालोचनाको क्षेत्रमा ओजपूर्ण छ ।

कृति : आख्यान विमर्श (सिद्धान्त र समालोचना)
समालोचक : डा. कुमारप्रसाद कोइराला
प्रकाशक : ओरिएन्टल पब्लिकेसन, काठमाडौँ
प्रकाशन : २०६८
पृष्ठ : २९६+१८
मूल्य : रु. २७५।-

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *