Skip to content


आधुनिक नेपाली काव्यजगत्का सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको कृतित्वको विषयमा तयार पारिएको कृति हो ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ । यसका कृतिकार हुन् सुकुम शर्मा ।

लेखक शर्माले २०४८ सालमा रूपरेखा, रक्सी र भूपि शीर्षकमा एक लेख लेखेका थिए, जुन ‘प्रयोग’ (२०५३) मा सङ्कलित भयो, यसै लेखले उनलाई भूपिका बारेमा चासो, रुचि र लगाव बढ्यो र फलस्वरूप यो पुस्तकको जन्म भयो । भूपि शेरचन भन्नेबित्तिकै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को सम्झना हुन्छ । यो उनको सर्वाधिक लोकप्रिय कृति हो । यो कृति प्रकाशनपूर्व उनका ‘परिवर्तन’ नाटक र नयाँ झ्याउरे गीति कवितासङ्ग्रह तथा ‘निर्झर’ कवितासङ्ग्रह प्रकाशित भैसकेका थिए । यी पुस्तकहरू उनी उग्रवामपन्थी धारमा यात्रारत हुँदाका कृति थिए, जहाँ कलाले भन्दा विचारले बढी प्रश्रय पाएको थियो तर ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा आइपुग्दा उनको विचार र कलाले उच्चता हासिल गर्‍यो र ख्याति एवम् यश दिलायो । त्यसपछि उनको देहान्तपछि मात्र एक कवितासङ्ग्रह प्रकाशित भयो, शिव रेग्मीको सङ्कलन र सम्पादनमा ।

यस हिसाबले भूपिका ४ कृति उनको जीवनकालमा तथा पाचौँ कृति मरणोपरान्त प्रकाशित भएको पाइन्छ । लेखक सुकुम शर्माले भूपिका यी ५ कृतिलाई आफ्नो अध्ययनको सिमाना र लेखनको परिधि बनाएका छन् । यो कृति भूपिलाई सङ्क्षिप्तरूपमा चिनाउने तथा उनको कृतिहरूको विषयमा जान्न चाहने पाठकका लागि मनग्य उपयोगी हुने देखिन्छ । त्यस्तै, विश्वविद्यालयका अल्छी विद्यार्थीहरूका लागि यो पुस्तकले ठूलो आडभरोसाका रूपमा काम गर्ने ठोकुवा गर्न सकिन्छ ।

यो पुस्तकको रचनागत बनोट परम्परागत ढङ्गले भएको छ, जहाँ विचारहरू बटुलिएका छन् र तिनै विचारहरूलाई विस्तारित गरिने प्रयास भएको सिङ्गो पुस्तकले बताउँछ । पुस्तकको नामाकरण ‘सिर्जनाका परिधिमा भूमि शेरचन’भनिएझैँ सिङ्गो कृतिले भूपिको रचना संसारको चिनारी मात्र होइन, रचनाहरूको विश्लेषणसमेत प्रस्तुत गर्दछन् । सङ्क्षिप्त वा परम्परागत नै किन नहोस् यस कृतिले भूपि शेरचनको रचना संसारको विचरण गराउँछ ।

नेपाली समालोचनात्मक कृतिहरू पूर्वप्रकाशित सामग्रीहरूको आधारमा विश्लेषण गरिने परम्परा छ । स्नातकोत्तरका विद्यार्थीले गर्ने शोध होस् या विद्यावारिधिको शोध होस्, स्वयम् शोधकर्ताले नयाँ खोज, अनुसन्धान र विचारको नयाँ वीज दिने मौलिक परम्परा नफस्टाएको नेपाली वाङ्मय संसारको वर्तमान परिप्रेक्षमै यस कृतिलाई हेर्नुपर्ने हुन्छ । सहज उपलब्ध सामग्रीको उपयोग गरी लेखिएको यो कृतिमा प्रत्येक लेखकको कविताले गरेको विश्लेषण अत्यन्त तारिफयोग्य छ । वास्तवमा यो कृतिको चुरो पनि यही नै हो ।

कृतिः सिर्जनाका परिधिमा भूपि शेरचन (समालोचना)
लेखकः सुकुम शर्मा
प्रकाशकः सनलाइट पब्लिकेसन
पृष्ठः १६६+१०
मूल्यः रु. १७५।-

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *