Skip to content

मनको भैँचालो


यसपाली मनको धरहरा नि ढल्यो
यसपाली धनको हरहरा नि ढल्यो
भलिभाँती देखाएर
हामी सान जोगाउँथ्यौँ
हामी मान कमाउँथ्यौँ
वसन्त ऋतुमै
वसन्तपुर दरबार नि ढल्यो
कान्तिपुरको सान काष्ठमण्डप पनि लड्यो ।

नाँचेको देँखेँ
घर, मन्दिर, कौशी, बार्दली अनि बुर्जाहरू
बैशाख १२ गते
मैले मानिसको सक्कली अनुहार
त्रासमा पढेँ
मानिसको निखुरा मौलिक रूप
डर र आतङ्कमा मात्र पढेँ ।

रोयो मानिस रोयो
जसरी जन्मदाँ रुन्छ
रोयो मानिस रोयो
त्यसरी त आफन्त मर्दा पो रुन्छ
जतनसाथ तिजोरीमा राखेको
तनको धरहरा पनि ढल्यो
अदबसाथ हृदयको गौरवमा सजाएको
भक्तपुरे पचपन्न झ्याले दरबार पनि लड्यो ।

एकएक गर्दै सबै लड्दा
कुनै क्षण विश्वास ढल्यो
कुनै पल मूल्य ढल्यो
तर ढलेनन्
मानष आँट र धैर्य
मानवता र सहयोगीपनहरू
हातहातले पानी दिए
मनमनले खाना दिए
जो दानवीर थिए
ती र तीहरूले बास दिए
आस दिए
र साहस दिए ।
शताब्दीऔं सजाएर राखेको
धरोहरको पर्याय अग्रज
यसपाली मनको धरहरा नि ढल्यो
यसपाली धनको हरहरा नि ढल्यो ।

धनमा गएको भैँचालोभन्दा
मनमा गएको भैँचालो
त्रासदहरूको माउ थियो
जसले अकल्पनीय
र अपूरणीय घाउ बनाएर गयो ।

विश्वास छैन अँझै
यसपाली मनको धरहरा नि ढल्यो
यसपाली धनको हरहरा नि ढल्यो ।

पेशल आचार्य
मोबाइल: ९८४४०४४०८३
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *