Skip to content

‘उदय’का कुशल सम्पादक काशीबहादुर श्रेष्ठ

  • by


यदि मैले फेरि कसैको छोरो भएर जन्म लिनुपरे काशीबहादुर श्रेष्ठ नै अर्को जन्ममा पनि मेरा पिता भएर आउन् ।

मैले यसो भन्नुको पछाडि अनेक कारण छन् । पिताज्यूजस्तो नीति-नीष्ठ, सन्तोषी, परिश्रमी, सहिष्णु, अरूलाई सहयोग गर्नेमा उहाँको अर्को जोडा व्यक्ति मैले देखेको छैन ।

केशर-कस्तुरी, मोती र जवाहरातका व्यापारी भक्तपुरबाट प्रवासित गणेशबहादुरका छोरा काशीबहादुर कुनै जमानामा ठाँटबाँटले बस्थे । बङ्गालको सेनगुप्ताको मर्सराइज धोती, कमीजमाथि बेलायती ‘कस्टम टेलर्ड’ कोट र ब्यारेट कम्पनीका जुत्ता लाउँथे । अम्मलमा चाहिँ ‘डुमरिया’ चुरोट पिउँथे ।

पछि बेपार छाडेर साहित्यतिर लागे र ‘उदय’ पत्रिका निकाले सन् १९३७ (१९९३ वि.सं.) मा । हिन्दीमा कथा लेख्न थाले । पछि आनन्दबहादुर सुब्बाको सल्लाहले नेपाली भाषामा ‘वचन’ र ‘उषा’ दुई उपन्यास कृति पनि लेखे । एउटा अधुरो उपन्यास ‘उमादेवी’ को पाण्डुलिपि मैले भर्खरै फेला पारेको छु ।

चलिरहेको बेपार छाडेर ‘उदय’ पत्रिका निकाल्दा हुनसम्मको हण्डर खाए काशीबहादुरले । बीचमा ‘उदय’ बन्द पनि भयो । उनले फेरि हिम्मतसाथ साधन (धन ?) जुटाए अनि ‘उदय’ फेरि उदायो । यसै सम्बन्धमा युगकवि सिद्धिचरण श्रेष्ठको एउटा चिठी यहाँ उद्धृत गर्नु युक्तिसङ्गत होला ।

”प्रिय साथी, २७-४-२०१६

बीचमा पर्ने मर्का, आफ्ना कमजोरीहरू र अनेक बाधासित उदयले लामो अवधिसम्म सङ्घर्ष गर्नुपरेको छ । त्यसैले ती कठिनाईहरूसित जुधेर सफलतापूर्वक अबदेखि निस्कने छ । समर्थ हुनेछ भन्ने हाम्रो आशा हो ।

अनुभवी र उत्साही तपाईंजस्तो सम्पादकको रेखदेखमा महिना महिनामा हाम्रो ढोका घच्घच्याउन आउँदै नेपाली जातिको उत्थान र निर्माणमा ‘उदय’ ले कल्याण र मंगल हुल्न सकोस् ।

नेपालीको हातमा यसलाई नलिई चैनै नहुने यसको दिन चाँडै आओस् ।

अभिन्न हृदय

सिद्धिचरण”

यस चिठीबाट ‘युगकवि’ र युगसम्पादकबीचको घनिष्ठता पनि प्रष्ट हुन्छ ।

‘उदय’ का अर्का सहयोगी हृदयचन्द्रसिंह प्रधान थिए । उनी प्रोत्साहन मात्र होइन ग्राहक पनि बनाइदिने गर्थे र बेलाबेलामा ‘उदय’ लाई मारमा पर्नबाट बँचाउन सुझाउ-सल्लाह पनि दिन्थे ।

उनले १८ फेब्रुअरी १९४४ को एकपत्रमा लेखेका थिए-‘उदय’ को कुनै एक आपत्तिजनक अङ्कले गर्दा ‘उदय’ बाट वियोग भई विरही नबन्न परोस्, ‘उदय’ सँग संयोग-शृङ्गारमा भोग गर्न मेरो तरुण आकांक्षा छ……..

” ‘उदय’ मा राष्ट्रियताको बारेमा जो मैले आलोचना गरें त्यो पनि परिस्थितिकै दृष्टिकोणले गरेको हुँ । औ ‘उदय’ को प्रेमको प्रभावले । म मान्न सक्तछु, ‘उदय’ मा राष्ट्रियताको भाव प्रकट भए पनि साहित्यको पुट पनि पूरा मात्रामा छ, तर ‘म तपाईंको साथी हुँ’ को नाताले भन्न सक्तछु-साहित्यको पुट पूरा मात्रामा भए पनि राष्ट्रियताको मसला परिस्थितिको रुचिअनुसार हुनु ठीक छ ।…….राष्ट्रियताको पुटले ‘उदय’ मेरो हृदयले झन् नजिकै देख्यो ।”

एउटा अर्को चिठीमा उहाँ लेख्नुहुन्छ-

” ‘नेपाल राज्य बिस्तार’ को विषयमा लेखकलाई समेत बोलाई श्री उ.क.ज.बहादुर शम्शेरबाट ठूलो आपत्ति गरिबक्सेको थियो भन्ने सुनेकोले तपाईंलाई ईशारा गरेको थिएँ । बुझ्नूभएकै होला । राजनीतिकताको छायाँसम्म नरहोस् । अस्तिको झञ्झटले गर्दा ग्राहक-वृद्धिमा ठूलो धक्का दियो । धेरै हचके । नाम लेखाइसकेकोले पनि अस्वीकृत गरे । सरदार मीनबहादुर, नरप्रतापशम्शेर, ख. टङ्कप्रसादले नाम कटाइदिन भने….’राम कीर्तन’ नछापोस् भनी सरदारले जोर गरेका थिए ।”….

यसै सन्दर्भमा उ.क.ज. बहादुरशम्शेरबाट पठाइएको खबरदारी पत्र पनि मननयोग्य छ –

“सम्पादक, २००१-६-२४

तिम्रो छापा बराबर आएकै छ तर पैलेको एकदुई लेखहरू अलि नचाहिने छापिएकोले क्गदकअचष्दभ गर्न डर लाग्यो । …..केही लेख हामीलाई बाधा पर्ने निस्कनासाथ बीचैमा भए पनि बंद गर्न करै लाग्ने छ । सो बुझे ।”

“मातृभाषाको उन्नति गर्नु राम्रो हो तर छेडछाड र Poiltica And Compere गरी Article निकाल्नु राम्रो होइन । सो बुझे ।

-श्री बहादुर”

लैनसिंह वाङ्गदेल ‘उदय’ का शुभेच्छु थिए । २०-८-१९४४ मा कलकत्ताबाट उनी लेख्छन् –

” ‘उदय’ को डिमान्ड चारैतिर बढ्दै गएको सुनेर हामीलाई खुबै आनन्द लाग्यो । हो, ‘उदय’ को बृद्धि हुनैपर्ने । उदयलाई बढाउने प्रत्येक शिक्षित नेपाली नरनारीको कर्तव्य हो ।”

“संसारमा कुनै महान् काम गर्नु छ भने अनेक विपत्ति, अनेक दुःख आइपर्दछ । प्रकृति उही प्राणीको परीक्षा लिन्छ, जसले संसारमा एउटा महान् उद्देश्य पूरा गर्छ । विपत्ति नै जीवनको परीक्षा हो ।”

आर्थिक समस्याले जेलिएर तथा नवजात शिशुसहितको परिवारलाई लिएर सबेला (जनकपुर) ससुरालीमा केही वर्ष बस्नुपर्दा ‘उदय’ स्थगित भयो । ग्राहकहरू-पाठकहरूमा खैलाबैला भयो तर फेरि बनारस फर्केर उनले ‘उदय’ निकाले । कमलमणि दीक्षितले लेखेका छन्-

” ‘उदय’ फेरि उदाएकोमा साधुवाद ।

मद्दत भनेको कसैले गरेर कसैलाई पुग्दैन । त्यसैले रानीसाहेबबाट ‘उदय’ का लागि अरू मद्दत नगरी यसको उत्तरोत्तर वृद्धिको कामना गर्दै ग्राहकको हैसियतले छ ः मैन्हाको चन्दा रु. एक सय पठाइदिइबक्सेको छ ।”

-कमल दीक्षित (२०१३-८-२०-४)

‘उदय’ निकालेपछि काशीबहादुरजीका अनेक शुभेच्छु मित्रहरू भए । त्यसमध्ये भवानी भिक्षु पनि एक थिए । उनी बनारस पनि बसे । त्यसैले उनी बराबर हिन्दीमा चिठी लेख्थे । उनको एउटा चिठीको अंश पनि यहाँ उद्धृत गर्नु सान्दर्भिक नै होला-

“तुम्हारी अरमाने पूरी होने देखना मेरी हार्दिक इच्छा हैं । और यह हो के भी रहंेगी । और तुम्हें सुखी देखूँ यही इच्छा हंै । लेकिन मुझे शंका हैं कि जिस रास्ते पर तुम चल रहे हो उस रास्ते में कहीं सुख भी हैं । इस पथके पथिकको कितनी तकलीफें झेलनी पड्ती हैं, रास्ते में कितने काँटे बिछे रहते हैं, यह तो भुक्त भोगियों को ही मालूम हो सकता हैं । …तकलीफोंको ही आराम मान सको तुम्हें ईश्वर ऐसी शक्ति प्रदान गरे । यही प्रार्थना हंै ।

‘उदय’ के बारे में नेपालसे कुछ आर्थिक मद्दत मिल सकेका, ऐसी आशा करना फजूल हैं । मैं वहाँकी परिस्थितियों से पूरी तरह वाकिफ हुँ । मुझे तो नैराश्य के सिवा कुछ नहीं दिखता ।”

विषम परिस्थितिमा पनि नआत्तिकन भाषा-साहित्यप्रति आफ्नो कर्तव्य पूरा गर्न उनले धर्मपत्नीका गहनाहरू पनि बेच्नु पर्‍यो । यसैबीच उनले धर्मपत्नीको वियोग एक्लै सहँदै आफ्ना छोराछोरी हुर्काउनु भयो । आफ्नो विलासी जीवनशैली त्यागेर साधारण पाइजामा-कमीज लाउन थाल्नुभयो, जो एकजोर मात्र हुन्थ्यो । ‘डुमरिया’ चुरोटको ठाउँमा बिँडी पिउन थाल्नु भयो । जीवनयापनका लागि पु्रफ पढ्न थाल्नुभयो । पाण्डुलिपि संशोधन गर्न थाल्नुभयो । इन्द्रबहादुर राईले लेखेका छन्-

“प्रिय महोदय, २६-४-६४

उपन्यासको ५ फर्मा छपाइ भैसकी ५ फर्माको फाइल गोरुबथान पठाइसक्नुभएको खबरले उत्साहित र हषिर्त बनायो ।

प्रेस कापी नबनाइएकोले साँच्चै नै यहाँलाई कठिनता पर्ने भो ।….उपन्यासको प्रस्तावनामा तेस्रो टुक्रा थप्नु आवश्यक छ । कृपया स्थान पारिदिनु होला । थप्ने वाक्य-

“उपन्यासको सफा प्रेस कापी बनाउने जाँगर मैले मच्चाउन सकिनँ र मूलकापीका अनेक काटकुटहरूमा मान्यवर काशीबहादुरज्यूले समय र श्रम नलाइदिनुभएको भए यो उपन्यास प्रेसबाट अझसम्म पनि निस्कन सक्ने थिएन । म उहाँप्रति अतीव कृतज्ञ छु ।

इ.ब.रा (इन्द्रबहादुर राई)”

‘उदय’ कै प्रतापले २० वर्ष जेल बसेका क्रान्तिकारी खड्गमान सिंह उनका सुहृद भए । उनी लेख्छन्-

“ज्येष्ठ २४-२०४१

आपसमा एक अर्कालाई हृदयमा राख्ने, चाहने र बिर्सन नसक्ने चाहिँ केही मात्र हुन्छन् र तपाईंजस्तो ‘सन्त’ व्यक्तिसँग केही समयमात्र भए पनि हेमचेम गर्ने सौभाग्य प्राप्त भएको थियो । तर न तपाईंले मलाई बिर्सन सक्नुहुन्छ, न मैले तपाईंलाई । जबजब काशी नगरीको प्रसंग चल्छ तबतब नेपाली साहित्याकाशको ‘उदय’ का काशीको संझना हुन्छ । प्रिय बन्धु, मानिसले सधँैभरि एकनासले सेवा गरिरहन सक्दैन तर कुनै बखतमा गरेको सेवाको फल कालान्तरसम्म भावी सन्ततिले उपभोग गरेर हृष्टपुष्ट बनिरहन्छन् । त्यसप्रकारको सेवा तपाईंबाट भएको छ ।…

“खड्गमान सिंह”

‘उदय’ को उज्यालो नेपाल-भारतमा मात्र नफैलिइ, सुमात्रा, मलेशिया, सिंगापुरसम्म फैलिएको थियो भन्ने कुराको प्रमाण यो चिठीले पनि बोल्छ-

सम्पादकज्यू,

तपाईंकी धर्मपत्नीको असामयिक मृत्युको समाचार सुन्दा दुःख लाग्यो । वहाँको स्वर्गीय आत्मालाई शान्ति मिलोस् । त्यहाँ तपाईंको जहान-परिवारमा शोक सहन गरुन् भनी ईश्वरसँग प्रार्थना गर्छु ।

-हस्तवीर गुरुङ

सिंगापुर पुलिस फोर्स, सिंगापुर”

“विदेशको यौटा कुनामा बसेर मातृभाषाको कथा कहानी पढ्दा मनमा आनन्दको लहर उठेर आउँछ । ‘उदय’ ले नवम् वर्षमा पदार्पण गरेकोमा हामी नेपाली जातिको उन्नति, विद्या औ नयाँनयाँ विचार उदायी रहोस्….”

-खड्गसिंह गुरुङ (मेजर)

साउथ ईष्ट एसिया कमान्ड, सुमात्रा

काशीबाट प्रकाशित ‘उदय’ पत्रिकाले भाषाको राम्रो सेवा गरेको छ । पत्रपत्रिकालाई परिआउने कष्ट झेल्दै आएको हो तापनि साहस र धैर्य यसले कहिल्यै गुमाएन । काशीबहादुरजीको यस पत्रिकालाई सर्वाङ्गीण तुल्याउने प्रयास स्तुत्य छ ।…..

”रुद्रराज पाण्डे (१५।८।१९५९)”

यस्तै प्रशंसाका अनेक उद्गार छन् । ती उद्गारमात्रै पनि साहित्यिक पत्रकारिताको अहिलेको सन्दर्भमा महत्त्वपूर्ण सामग्री ठहरिन सक्छन् ।

२५।९७, चौरवंबा, बाराणसी (उ.प्र.)

-२२१००१ (भारत)

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *