Skip to content

अँध्यारो उज्यालो


सबेरै
उज्यालो लिएर आउने
चराहरूको चिरविर बोलीमा
कसले अलिकति अँध्यारो मिसाई दियो हँ ?

अघिल्ला दिनहरूकोभन्दा सुमधुर,
सुललित अनि सुस्पष्ट
चिर्विराहटको अभ्यास गर्दै
चराहरू आकासका वर्गीकृत
मोर्चाहरूमा तैनाथ छन् ।
उनीहरू आफ्नो पखेटामा
समयचक्रको छद्मउज्यालो दलेर
उडिरहेछन् ।
मानौं, यो धर्तीको छद्मअस्तित्व,
हावा र पानीको छद्मबहाव
आफूभित्र लुकाएर चराहरू
उडिरहेछन् ।

चराहरूसितै बहकिनुको नियतिमा
फूलहरू पनि
आफ्नो उत्पतिका सम्पूर्ण रङ्गहरूलाई
मेटिरहेछन् र
छद्मरङ्गका डबकाहरूमा आफूलाई
डुबाइरहेछन् ।

ओहो !
यी अतिक्रमित इच्छाहरूको उज्यालो
कति बेस्मारी अँध्यारो हुँदोरहेछ !
यी अनपेक्षित भाग्यहरूको आगमन
कति भयङ्कर दुर्भाग्य हुँदोरहेछ !!

खोलाहरू केवल सुश्कता
बगिरहेछन्,
फूलहरू केवल कठोरता
फुलिरहेछन् ।

उज्यालो जस्तै लाग्ने यो
अँध्यारै अँध्यारोको साम्राज्यमा
बाटाहरू
कतै देखिए देखिए जस्ता लाग्छन्
अनि फेरि
छोपिए छोपिए जस्ता लाग्छन् ।

मिर्मिरेमा नै
मेरो गाउँको बाटो भएर आउने
घामका झुल्कहरूमा –
कसले अलिकति अँध्यारो राखिदियो हँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *