Skip to content


समयको बहावमा बग्ने म व्यक्ति
होइन
मेरो कर्म नै समय बनाउनु हो
घमण्डी भन्नुहुन्छ होला ?
इश्वरले बनाएको प्रतिमा हुँ
के गर्नु !
यस्तै छु।
समय अनुसार
आफ्नु आचरण
स्वाभिमान
निष्ठा
औसरवादीले बदल्छन
क्षमा गर्नु !
म औसरवादी होइन
मिथ्या बोल्न न सक्ने व्यक्ति
खरो हुन्छन।
समय अनुसार बदल्ने व्यक्ति
काँचो माटोको भाँडो जस्तै हुन्
कुमालेले जब चाह्यो
जे चाह्यो
बनाउन सक्छन
क्षमा गर्नु !
म काँचो माटोको भाँडो होइन।
हत्केलामा कोट्याएर
भाग्य खोज्दै हिडेर हुन्छ र?
समय नै यस्तै छ भनी
पनछ्याएर हुन्छ र?
सबै सत्यवादी
कर्मयोगी
हुनै पर्छ भन्ने पनि त छैन
सत्यवादी युधिष्ठिर कहाँबाट ल्याउने?
कर्म योगी चाडक्य कहाँ गई खोज्ने?
सपुत जन्माउनेले
कपुत जन्माउदैन भन्ने
आधार के छ र?
बुद्ध पनि त यही जन्मेका थिए
अनि!
प्रचण्ड पनि यही जन्मेका हुन्
यो कलियुग हो भनी
समयलाई दोष दिई केही हुन्न
द्वापरमा कृष्ण मात्र होइन
कंग्स पनि जन्मेका थिए
त्रेतामा राम मात्र होइन
रावण पनि जन्मेका थिए
समय अनुसार बदलिदै
कंग्सको राज्यमा कंग्स जस्तै किन बन्नु
समय अनुसार बदलिदै
रावणको राज्यमा रावण जस्तै किन बन्नु
कंग्स र रावणलाई नै बदल्नु नि !
पुराण कालमा पनि सूर्य
पूर्व बाटै उदाएथ्यो
पश्चिममा अस्ताएथ्यो
यस कालमा पनि बदलिए न त
समयलाई दोष दिई
आचरण बदल्ने
मेरो प्रवृत्ति होइन
भ्रष्टाचारीहरूकै बिचमै
बल्झिए पनि
क्षमा गर्नुस म भ्रष्टाचारी
बन्न सक्दिन
रावण र कंग्स जन्मदैमा
न आत्तिनुस
राम र कृष्ण पनि
सङ्सँगै जन्मेकाछन
आउनुस तपाई र हामी मिलि
आफ्नु आचरण
स्वाभिमान
अनि निष्ठासँगै बोकी
समयसँगै माराथुन गर्दै
राम र कृष्ण कहाँ जन्मेका छन
खोजी गरौँ

हरि पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *