Skip to content


कुनै पनि समयमा सोच्न पाइन्छ
सोच्छु म जसरी पनि सोच्न त पाइन्छ ।

बीच बाटोमा सोचिँदैन, छेउछाउ हिँडिरहेछु
पहिलोचोटि गुच्चा हानेको माझी औँलाझैँ
अप्ठ्यारा पाइला साथ छन् ।

मान्छेलाई बुद्धिलेभन्दा पनि दूरीले बढी
यहाँ र त्यहाँ, तल र माथि फरक पार्छ कि
म बाटो हिँड्छु लाग्दैन
खालि एउटा दूरी मात्र हिँडिरहेछु लाग्छ ।

एउटा गोलो ढुंगामा कसैको आँखा खोप्न सक्नु
खासै केही उपलब्धि त्यस्तो हुन्न
अनुहार एकै आँखाले
न हजार आँखाले बनेजस्तो लाग्छ कहिल्यै
उही ढुंगामै ‘मुटु’ शब्द कुँदिदीए पनि
मुटु कुनै पनि युगमा ढुंगाभित्र बाँँच्न सक्दैन ।

एउटा खुट्टाबेगर चारपाईमा एकछिन निदाए
आकाशतर्फको हवाईजहाज उडान बिर्सिएर
जान सकिने बेर लाग्दैन,
बच्चाले उडाइरहेको प्लास्टिक
हेलिकप्टरले ब्यूँझाइदिन सक्छ ।

सिरकको खोल उतारिदिँदैमा नांगियो सिरक
कोही भन्ला तर जरुरी यो होला
कि नग्नताको पनि रङ हुन्छ बुझ्छ कोही यहाँ ।

एउटा बाच्छोले आफ्नो सिङ
पलाइसकेको पत्तो नपाएजस्तै
आफ्नै पनि धेरै कुरा मलाई नै थाहा हुँदैन
बितेर जान्छन्, आइहाल्छन् पनि
उसै धेरै थोक एकसाथ
केहीचाहिँ ख्यालमा बस्छ
आँसुको प्रहार दुई मिनेट लुकाइँदैन
कि एउटा आइफोनको चार्जर नै बिग्रिए

संसारमा दुःख थपिदिन्छ
बुद्धको दुःख-धारणा थाहा पाउँदा पाउँदै
एउटा मान्छे थपिहाले चाहिँ
संसारमा आँसु त्यसै घट्छ त ?

स-सानै ग्रिनेड-बमहरू नै किन नहुन्,
कुनै पनि युग होस्
मेरा लागि बजारको मुडेआलुसमान
प्रिय कहिल्यै हुँदैनन् ती !

नेपाल साप्ताहिक अंक: ६०५ | २०७१ श्रावण ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *