Skip to content

डिल्लीराज नेपालको छन्दमालाभित्रका छन्दहरुमा केही तरङ्ग


आज छन्दमा कविता लेख्नु भनेको अत्यन्तै चुनौतीको काम हुन पुगेको छ । कवितालाई गजलले थिचेको बेला छ । लगभग गजलले कवितालाई विस्थापित गरेर सिध्याएको बेला छ आज । बालबच्चादेखि वृद्धवृद्धाहरु समेत गजल नै लेख्न लागेका छन्, गुनगुनाइरहेका छन् । स्वदेशबाट मात्र नभई विदेशबाट नेपाली जहाँ जहाँ छन् त्यहाँ आज गजल पुगेको छ । नेपाली गजलको इतिहासको सन्दर्भमा विषयवस्तुका आधारमा केही र अन्य पक्षहरुमध्ये रचनात्मक ऊर्बरताका आधारमा हेर्ने हो भने २०४६ सालपछिको अवधिलाई स्वर्णकालको रुपमा लिनु पर्ने स्थिति छ । यस अवधिमा सयौं कृतिहरु गजलका रचिएका छन् । सयौं शोधप्रबन्धहरु गजलकारहरुमाथि तयार गरिएका छन् । त्यसै गरेर सयौं समीक्षकहरुले गजलका बारेमा विषद विश्लेषण गरेर यसको निचोड र निष्कर्ष दिने काम गरेका छन् । यसैले आजको कविताको इतिहासको प्रवाह गजलमा केन्द्रित छ ।

कुनै बेला नेपालमा मुक्तक र गद्य कविताको बाढी आएझैं आज गलजको बाढी नै आएको छ भनेर ज्ञानुवाकर पौडेल स्वयंले समेत भनेका छन् । गजलको मूल विषय वा वण्र्य क्षेत्र श्रृङ्गार रसप्रधानतासँग छ । तर गजलको यो मौलिक पहिचान भने आजको राजनीति र आजको सामाजिक विकृतिका साथ गाँसिएको हुँदा आजका युगको गजल आप्mनो मौलिक पहिचानको विषयबाट अलिक पर पुगेको कुरा भने नकार्न सकिन्न । तर गजलबाट नेपाली कविताको क्षेत्रमा हराउन लागेको छन्दविधानको आज पुनरुदय भएको कुरामा भने नकार गर्न पनि सकिन्छ । उर्दू वा फारसी गजलको लय र यता हाम्रो परम्पराको भुजङ्गप्रयात छन्दमा समानता छ । गजल लेख्नु वा गाउनु भनेको प्रकारान्तरबाट भुजङ्गप्रयात छन्दको लेखन वा गायन पनि अलिकति ता अवश्य हो । परम्परागत छन्दको संरक्षणको प्रकारान्तरको प्रयास पनि हो । यसैले यो परम्पराले नेपालमा अहिले निकै नै राम्रो विकास कायम गरिसकेको छ । गजलको उन्नति हुनु भनेको पनि नेपाली कविताको क्षेत्रमा प्रकारान्तरबाट योगदान पुग्नु हो र छन्दका कवितालाई प्रकारान्तरबाट टेवा पुग्नु पनि हो ।

पुरानो मानिएको छन्दशास्त्रबाट कवितालाई उच्च बनाउने काम कम जोखिमको छैन । यसो भएकाले जोसुकैले छन्दमा हात हाल्ने आँट नै गर्र्दैनन् एकातिर भने त्यसको अनुशासनमा बाँधिएर त्यसका तालमा सफलता पाउन कम चुनौतीको कार्य होइन । यसैले यस क्षेत्रमा पस्न जोकोहीलाई आँट आउँदैन । आँट नगर्नेहरु छन्दलाई अलिकति हेला पनि गर्दछन् जो गलत हो । तर पनि नेपाली कविताको जगत्मा अहिलेसम्म पनि कतिपय कविहरुले देशका कुनाकुनाबाट समेत यस चुनौतीलाई शिरोधार्य गरिरहेका छन् । झापाले यस क्षेत्रमा निकै गतिला कविहरु हात पारेको छ । भर्खरै पद्यमा महाकाव्य लेखेर देखिएका पुरुषोत्तम सिग्देल र रघुनाथ रिमाल यसका उदाहरण हुन सक्छन् । यहाँका केशवराज खनाल, रोहिणीविलास लुइँटेल, मित्रप्रसाद दाहालको नाम यस फाँटमा विशेष सम्मानका साथ लिइन्छ । छन्दशास्त्रको नियम र त्यसको अनुशासनमा रहेर कविता लेख्ने झापाका केही नयाँ केही पुराना कविहरु अहिले पनि सक्रिय छन् । भर्खरका युवाकवि सौरभ पोखरेल (‘दुष्टमाली’ २०६७) ले यस फाँटमा हात हालेको र सफलता समेत हात पारेको कुरा नकार्न सकिन्न । कवि डिल्लीराज नेपालको पनि यस सन्दर्भमा उच्च स्थान रहेको छ । यहाँ यिनै डिल्लीराज नेपालका काव्यहरुमाथि र उनले लेखेका काव्यात्मकतामा अलिकति चर्चा गर्न लागिरहेको छु ।

कवि डिल्लीराज नेपाल खास गरी वार्णिक छन्दका कवि हुन् । अहिलेसम्म उनले गद्यमा लेखेका कविताहरु देखिएका छैनन् । उनका जम्मा तीन ओटा काव्यकृतिहरु प्रकाशित भएर पाठकहरुका हातमा आइसकेका छन् मन्दाक्रान्ता माला (२०६२), छन्दमाला २०६६) र मेरो माटो (२०६६) । यी तीन कृतिहरुका आधारबाट उनको काव्यकारिका झलक र उनमा रहेको काव्यको गुण तथा उच्चाइ फेला पर्दछ । यसका साथै कवि नेपालकामा रहेको काव्यकारिताको मूल्याङ्कनका आधारका लागि पनि यिनै तीन कृतिहरु हुन सक्छन् ।

डिल्लीराज नेपाल मूलतः शास्त्रीयतावादी कवि हुन् । उनको काव्यलेखन परम्पराप्रति आस्थावान् देखिन्छ । पुरातन आर्षकल्पीय मान्यताका उनी गायक हुन् । उनका कविताहरुमा यी भावनाहरु सर्वत्र सग्बगाइरहेका छन् । यसका साथै उनमा देशभक्ति, मर्यादित आदर्श, नैतिक तथा पूजनीय मूल्य र मान्यताहरुका पनि उनी मुक्तकण्ठले गाउने कुशल कवि हुन् । उनका कविताभित्र केस्राकेस्रामा माथि भनिएका भावनाहरु पोखिएका छन् । विशेष गरी पौरस्त्य संस्कारका मुक्त गायकको रुपमा उनको काव्यगत परिचय हुनसक्छ । उनका कविताबाट उनी देखिन्छन् । परम्परामोह र त्यसको उच्च सम्मानका भावनाहरु उनमा रौंरौंमा निहित छन् । उनका कविताले त्यसै भन्दछन् । उनमा पूर्वीय संस्कार र संस्कृतिको अगाध श्रद्धा रहेकोमा कुनै दुविधा छैन । यसको प्रमाण तीन आटै कविताका संग्रहहरु हुन् ।

छन्दमाला पनि कवि डिल्लीराज नेपालको एक प्रसिद्ध फुट्कर कविताहरु सँगेटिएको कृतिको नाम हो । यसमा उनका विभिन्न छन्दमा लेखिएका ६७ ओटा कविताहरु सँगालिएका छन् । यसका कविताहरुलाई छन्दको उदाहरणका रुपमा पनि लिन सकिन्छ । यसमा छन्दको लक्षण भने नदिएको भए पनि यो कृति परम्परागत लौकिक छन्दको राम्रो उदाहरण हो । यसो भएकाले यसमा चलन चल्तीका केही प्रसिद्ध छन्दमा लेखिएका कविताहरु रहेका छन् । अझ यसो पनि भन्न सकिन्छ–यस संग्रहमा उनले परम्परागत शास्त्रीय छन्दलाई प्रयोगात्मक रुपमा प्रस्तुत गरेका छन् । केही चलनचल्तीका प्रसिद्ध र केही नचलेका गरी जम्मा ६६ ओटा छन्दहरुमा यहाँका कविताको निर्मांण भएको छ । छन्दमा प्रस्तुत गर्नु पर्दा र छन्दको स्वरुप निर्माणमा लागिपर्नु पर्दा कविले के कति काव्यात्मकताको निर्बाह गरेका होलान् कुरा यहाँ यो उठ्न सक्छ । यसैले यस पक्षमा केही बहस गर्नु नै यहाँको मूल सान्दर्भिकता हो ।

केही प्रसिद्ध र केही अप्रसिद्ध छन्दहरुमा यसका कविताहरु रचिएका छन् भन्ने कुरा माथि पनि भनिसकिएको छ । वास्तवमा यहाँका छन्दहरु अतिप्रचलित, कम प्रचलित र अप्रचलित फाँटमा राखेर नियाल्नु पर्ने हुन्छ । छन्दशास्त्रका अनुसार नेपाली पद्यमा यिनको निर्माण सही देखिन्छ । तर कुनै निश्चित छन्दको उदाहरणका रुपमा कुनै कवितालाई लेखियो भने त्यहाँ काव्यको गरिमाको ख्याल भन्दा पनि छन्दको तुकबन्दी मिलाउने दिशामा कविहरुको सोच बढी जान सक्छ । तर धेरै जस्तो यहाँका कवितामा कवि नेपालले छन्दमा कवितालाई उन्ने क्रममा काव्यात्मकताको गहिराइलाई बिर्सिएका छैनन् । उदाहरणका रुपमा लेखिएका भए पनि प्रायः सबैजसो कविताहरुमा देशभक्ति, अनुशासन, नेपाली साहित्यका महारथीहरुको स्मृति, कवि र कविता, मानवजीवनका विविध अवस्था, विविध ऋतु र दिवा, रात्रि र सन्ध्या, मानवजीवनका विविध अवस्था आदि अनेक कुराहरुका परिधिको सुन्दर चित्रण ती कविताहरुमा भएको छ । यसबाहेक यिनमा समसामयिक राजनीतिक परिस्थितिबाट पनि कवि यी कवितामा अलग छैनन् । देशको बिग्रँदो राजनीतिक अवस्था, आर्थिक दरिद्रता, सामाजिक व्यभिचार र दुराचारहरुमाथि उदारहणकै रुपमा भए पनि कविताहरुबाट कविले आप्mना दृष्टिकोणलाई खुलस्त गर्न पछि परेका छैनन् । कवि नेपालमा निहित प्रगतिवादिता तथा क्रान्तिचेतनाले यी कविताहरुमा विशेष स्थान पाएको छ । सांस्कृतिक विषयवस्तु, हार्दिक प्रेमका कुराहरु, नेपालीहरुले गरेका सामाजिक र राजनीतिक आन्दोलनका कुराहरु, आर्थिक दरिद्रताका पक्षहरु बाहेक प्राकृतिक दृश्यहरुको समेत सुमधुर चित्रण गरेर उनले यस संग्रहका कविताहरु खालि कुनै चलनचल्तीमा रहेको वा अप्रचलित छन्दको उदाहरणकै लागि लेखिएका भए पनि तिनमा भावरहित शब्दहरुलाई भर्न र उदारहण बनाउन मात्र लेखिएका होइनन् भन्ने कुराको भरपुर प्रयत्न गरेको देखिन्छ । सारांशमा यसमा कवि नोपलको विद्रोही, प्रगतिवादी र सुधारवादी भावधाराहरु फिंजिएका पाइन्छन् । संग्रहभित्र निम्न छन्दहरुलाई कविताका रुपमा उभ्याएको देखिन्छ—

छन्दको नाम — कविताको शीर्षक
हीर — लक्ष्य
दु्रतविलम्बित — शुभकामना नयाँ वर्षलाई
शार्दूलबिक्रिडित — भानुतिम्रासम्झनामा
शिखरिणी — ऊ
मालिनी — धन्य हो जिन्दगानी
अनुष्टुभ — कवि र कविता
मन्दाक्रान्ता — मेरो नेपाल
पञ्चचामरा — म
भुजङ्गप्रयात — विस्मत
तोटक — वृद्धावस्था
वसन्ततिलका — वनसम्पदा
स्रग्धरा — झञ्झा प्रवात
शालिनी — शारदीय शोभा
कनकमञ्जरी — हे युवा
विद्युन्माला — विद्युन्माला
स्रग्विणी — स्रग्विणी
स्रग्विणी — शारदी चन्द्रमा
मत्तमयुर — वर्षा ऋतु
रथोद्धता — समर्पण
संयुक्ता — यथार्थमा
स्वागता — योगाभ्यास
वंशस्थ — विज्ञान वरदान
मोदक — बन्दुक र बारुद
पृथ्वी — समयचक्र
कुसुमविचित्रा — जागरण
मदलेखा — खाते
प्रियम्बदा — छटा
प्रहर्षिणी — नाम
इन्द्रवज्रा — सङ्लो माया
शशिकला — कलम
पञ्चचामर — सम्झना
चामर — दुर्दशा
अलोला — हामी
श्येनिका — चन्द्रसूर्य
तन्वी — साहस
समानिका — लोकतन्त्र
मौक्तिकदाम — कला
मनोरमा — परदेशको पीडा
मातृक — आन्दोलन
महालक्ष्मी — फूल
मातृक — शक्तिकी स्रोत नारी
सवाइ — राजन र सूरजलाइश्रद्धाञ्जलि
मयुर सरणी — तिर्सना
उपेन्द्रवज्रा — सादा जीवन उच्च विचार
मञ्जुभाषिणी — जनता जनार्दन
अतिरुचिरा — सङ्गठन
शक्र — विजयगान
तोमर — नयाँ विहानी
इन्द्रवंशा — आशा
सुवास — उद्बोध
शक्वरी — आमा
शशिवदना — हर हर गङ्गा
सारवती — लालच
जलधर माला — धोको
अभीर — पौरख
मोटनक — मान्छे
ललिता — मनको चरो
चन्द्रवत्र्म — शान्ति र क्रान्ति
विद्याधर — नेपाली
सारवती — मृत्यु
गजगति — समानता
भुजङ्गसङ्गता — शान्तिको खोजी
मणिमाला — स्वर्गको टुक्रो मेरो पहाडी गाउँ
पाइत्ता — चोट
तामरस — पसिना
महितोज्वला — इतिहास

माथिका विवरणको अध्ययन गरी यस कवितासंग्रहका कवितामा रहेको छन्दहरुको प्रयोगलाई हेर्दा यो कविता संग्रह अवश्य नै छन्दको लक्षण नदिइकन खालि कविताका रुपमा उदारहण मात्र दिन तयार पारिएको जस्तो लाग्न सक्छ । निश्चय नै यो संग्रह यसै गरिएको हो यसमा कुनै दुविधा हुन आवश्यक छैन । तर यसो गरिंदा काव्यात्मकता वा भावात्मकताले कुनै स्थान नपाउनसक्थ्यो । तर त्यस्तो भने एकाध स्थानलाई छाडेर सबैतिर भएको देखिंदैन । यद्यपि यसका कविताहरु खाली छन्दको उदाहरणका लागि मात्र तयार गरिएका छन् भन्दैमा यहाँका कविताहरु काव्यात्मकतारहित छन् भन्ने आशयतर्फ यस सन्दर्भको भनाइ होइन र त्यसरी सोचिनु पनि हुन्न । तलका उदाहरणहरुले यो भनाइलाई अझ पुष्टि गर्नका लागि सघाउ पु¥याउँछन् । त्यसका लागि केही पद्यहरुलाई लिनु पर्दछ । देशको वर्तमान अवस्था र आफैंमा विद्वेष पैदा भएर आफूआफू लडिरहेको प्रसङ्गमा तलका दुई हरफहरु निकै नै उच्चस्तरीय भावनाले युक्त छन्–

पुराना सबै भत्कँदैछन् जलेर, भताभुङ्ग भो देश आत्मा गलेर ।
भए दाजुभाइ विरोधी पराइ, यिनै भाइ लड्छन् नजित्ने लगाइँ ।।
विस्मत

तलका हरफहरुले काव्यात्मकताको रहर लाग्दो संकेत गरेका छन्—

घाँसी सङ्गतबाट सुप्त प्रतिभा जागेर उद्भासित,
तिम्रो काव्य–दियो बली जगत नै देखिन्छ आलोकित ।
त्यो रामायणभित्रको मधुरिमा वा काव्यको चाँदनी,
गर्ला शीतल चित्त पाठकविशे झन् चन्द्रज्योत्स्ना बनी ।।
भानु तिम्रो सम्झनामा ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *