Skip to content

आँखामा जुको


सोमबारे हाटनेर ठूलो नहर पर्थ्यो । तराईमा पानी ल्याउने लैजाने मानव निर्मित पानी बग्ने माध्यमलाई नहर भनिन्छ । सप्तकोसी नदीबाट ल्याइएको नहर हुनाले त्यहाँ निकै पानी बग्थ्यो । त्यो नहर गहिरो थियो ।

अहिलेजस्ता यतिविधि टिभि च्यानलहरू घरघरमा थिएनन् ।

त्यसबेला केटाकेटीहरू अधिकांश समय आँगन, दलान, चउर या बारीका पाटाहरूमा गाग्राका फुटेका खबटामा भातपकाइ खेल र झुम्राका पुतलीमा आफ्नो रहर मेटाउँथे । मोजाको भकुण्डो, भेडीगाँठो, गट्टा, आसपास, लठ्ठीकासा, तेलकासा र अन्य बालसुलभ खेलहरू खेलेरै दिन बिताउँथे ।

स्कुलमा पढाइहुँदा भने चुँसम्म गर्न दिँदैनथे – मास्टरहरू । विद्यालयको नियम कडा हुन्थ्यो । शनिबार र बिदाका अरू दिनमा साथीहरूसँग दिनभर खेलेरै बिताउने हामीले नहरलाई बालक्रीडा स्थल या खेल स्कुलका रूपमा लिएका थियौं ।

फेरि सबैलाई खेल्ने फुर्सद् पनि हुँदैनथ्यो । बाआमालाई घरको काममा सघाउनेलाई घरको काम गरेर फुर्सद नहुने । अरू गरिब केटाकेटीहरूलाई खेल्नु कुद्नु र रमाउनु भनेको ‘आकासको फल आँखा तरी मर’ झैँ हुन्थ्यो । जूनकीरी र घामकीरी समाउन पनि बाआमाका आँखा छल्नु पर्थ्यो ।

हाम्रो भने खेलकुदमा जम्ने एउटा टोली नै थियो । डाक्टर केशरीजीका छोराहरूमध्ये सहपाठी भएका नाताले शेखर बाबुसँग खूब कुरो मिल्थ्यो । अरू पनि थिए दँयाली साथीहरू –प्रफुल्ल, कोशु, कुमार र लीला सुवेदी आदि ।

शारदा मावि त्यो ठूलो गाउँमै नाउँ चलेको स्कुलमा गनिन्थ्यो । एक जमानामा त्यहाँबाट एस्एल्सी उत्तीर्ण गरेका विद्यार्थीहरूमध्ये थुप्रै डाक्टर, इञ्जिनियर, पत्रकार, लेखक र कर्मचारीहरू भएका थिए । आज पनि त्यहाँबाट निस्कने विद्यार्थीहरूले देशविदेशका ठाउँ ठाउँमा राम्रो नाउँ कमाएका छन् । राष्ट्रिय स्तरमा कोही पत्रकार, कोही प्रशासन अधिकृत, कोही विद्वान् प्राध्यापक र कलाकार भई देशसेवामा लागेका छन् भने कोहीचाहिँ फौजमा भर्ती भई राष्ट्रको पहरेदार भएका छन् ।

छोटकरीमाभन्दा रङ्गीन पुतलीझैँ उडेर शारदा माताका वरद्पुत्रहरू देशदेशावरमा पुगेका छन् । आफ्नो बालापन स्वर्णी म इतिहास भएको स्कुलमा बिताउन पाएको प्रसङ्ग सम्झदा हामीलाई अहिले पनि गौरवको अनुभूति हुनेगर्छ । मन कसोकसो चञ्चल हुन्छ । टोपी लगाएको शिर तनक्क भएर उचालिन्छ । उँचो हुन्छ ।

त्यस भेगमा ठूलो बाहुन गाउँ थियो । लगभग खोटाङ् र ओखलढुङ्गाका क्षेत्रीबाहुनहरू खर्लप्पै बसाइँ सरेर आएका थिए –त्यस ठाउँमा । पोख्रेल, भट्टराई, निरौला, दाहाल, न्यौपाने, सुवेदी, आचार्य र सन्यासीहरूका अलाबा पहाडी भेगकै राई, लिम्बू, नेवार र मगरहरू त्यहाँ बाक्लो बस्तीमा रमाएरै बसेका थिए । पूर्वतिर चौधरी र अलिपर मेहता, यादव अनि मुसल्मानहरूको घना गाउँ थियो । एक प्रकारले त्यहाँ पूरा नेपालकै जस्तो जातजाति र भाषाभाषीको संयुक्त बसोबास लाग्थ्यो ।

त्यसबेला इनरूवा नगरपालिका भैसकेको थिएन । पुरानो शैलीकै भए पनि हाटबजार गुल्जार थिए । खेतीपातीमा रमाएका व्यवहारिकहरू, पेसाका जागिरेहरू र अन्य सानोतिनो काममा लागेका मानिसहरूले त्यस ठाउँलाई मलिलो बनाएका थिए । जग्गाको सुक्रीबिक्री राम्रै हुन्थ्यो । धान, गहुँ, मकै, मास, मुसुरो, रहर, तिल, तोरी आदि अन्नबाली र नगदे बालीहरू पनि सालबसाली राम्रै हुन्थ्यो । सदरमुकाम नजिकै भएकाले होला त्यहाँ प्रत्येक असल कुराको विकास छिटोछिटो भैरहेको थियो । मानिसहरू मिलेर बसेका थिए । एकप्रकारले गहिरो सामाजिक शान्ति थियो । मानिसले आनन्दपूर्वक गृहस्थी चलाएका थिए ।

बाटाघाटा भने अलि व्यवस्थित थिएनन् । डगरहरू बर्खामा हिलाम्मे र हिउँद्मा धुलाम्मे हुन्थे । बटुवालाई बाटो हिँड्दा खूब समस्या हुन्थ्यो । कृषकका लागि नहर जसरी वरदान् थियो त्यसरी नै खेलबाडमा मस्त हुने हामीजस्ता केटाकेटीहरूका लागि त्यो आधुनिक सहरबजारमा खोलिएका ‘वाटर किङ्डम’ जतिकै महत्वको थियो ।

बाललीला जसरी गरे पनि कसैले रोकटोक गर्दैनथे । पढाइमाजस्तो घुमिरहने रुटिन थिएन । थिएनन् –भारी न भारी कापी किताबका झोलाहरू । प्रकृतिको काखमा रमाउन पाउँदा खुसीले खुला गगनमा उडेका चरीपंक्षीझैँ उन्मुक्त थियौं –हामी सबै साथीहरू ।

शनिबार र बिदाका दिन पौरी खेल्ने, लुगाधुने र गाईभैँसीलाई पानी ख्वाउन तथा नुहाउँन एकैसाथ प्रयोग हुने त्यो नहर बास्तवमा मजाको खेलबाड हुने फराकिलो ठाउँ थियो ।

बेलाबेलामा नहरमा धमिलो पानी बग्थ्यो । यस्तो भएका बेला माछा मार्ने जलाहारीहरू पनि आउँथे । थरीथरीका माछा मार्थे । हामी सबै रमिते भएर हेर्थ्यौं । अलौकिक मजा आउँथ्यो । आला माछा हेरेर खूब मुख मिठ्याइन्थ्यो ।

हाम्रो धून भने पौरी खेल्ने मात्रै हुने गर्थ्यो । जीवनमा पौरी खेरेर कहिल्यै पनि अघाइएन ।

‘आज यो पानीमा जुकाहरू पनि आ’का छन्’ –शेखर बाबुले भने । खेलबाडको शूरमा कसैले पनि सुनेनन् । उनी चुप लागे ।

बलाहा गाउँतिरका साथीहरू कोही भर्खर आएका थिए । कोहीचाहिँ अघि नै आइवरि मस्तसँग पौरी खेल्दै थिए । म पनि पौरीमा मस्त थिएँ । पानीमा खेलिने ढोल खेलिएको थियो । एउटालाई डुम बनाएर बाँकी साथीहरू भागेर खेलिने त्यो खेल बास्तवमा अति रमाइलो हुनेगर्छ । पूरै नहरका डिलडिल भरिभराउ हुने गरी पानी टिलपिल छोडिएको थियो । त्यस दिन पानी नाप्ने नै हो भने पनि लग्भग् एक बाँस जति थियो होला ।

पौने घन्टाको खेलयात्रापछि मेरो आँखामा केही खस्रो वस्तु सक्सकाएको जस्तो भयो । मलाई आँखा हेर्न असजिलो भएपछि म किनारमा आएँ र शेखर बाबुलाई बोलाएँ ।

‘लु यस्को आँखा त खत्तम’ शेखर बाबुले ठट्टा गरे ।

कोशुले पनि सही थाप्दै भने ‘आँखा भित्रबाट भल्भल्ती रगत पो आउँदैछ ।’

मेरो होशहवास् गुम भयो । म रून थालेँ । सबै साथीहरू पानी भित्रबाट फात्तफुत्त आए । मलाई नहरको डिलमा उत्ताने पारेर सुताए । सबैले के भयो भनी अनुसन्धान गरे । आखिरमा टुङ्गो लाग्यो । आँखामा जुको पसेको रहेछ ।

बरको रूखको पातको चिचिलालाई काब्रा भनिन्थ्यो । त्यही काब्रा खान भनेर ल्याएको नून कोशुले मेरो आँखामा एउटा झारको पातले थोरै हाल्दिएपछि पन्ध्र मिनेटमा त्यो जुको झर्यो । जुको त झर्यो तर अब नूनले गर्दा आँखा पोल्न थाल्यो । अब के गर्ने घरमा जाऊँ भने उल्टै गाली खाइएला भनी आँखामा नहरको पानी छ्यापियो । आँखामा धमिलो पानी हालेकाले होला एक हप्तापछि मेरो आँखा नराम्रोसँग पाक्यो ।

समय आफ्नै रफ्तारमा बित्दै गयो । हामी सबैका बालापन बितेर आज बुढ्यौली आएको छ । आँखामा जुको परेको सालदेखि मैले आजसम्म नहरमा पौरी खेलेको छैन । पानी र त्यसमा पनि धमिलो पानी भनेपछि मलाई आँखामा जुको परेको झल्याँस्स सम्झना आइहाल्छ । अरूले समेत पौरी खेलेको देखेँ भने मलाई जुकासुका छन् कि जस्तो लाग्छ । जीउ नै सक्सकाउन थाल्छ ।

पेशल आचार्य
शिक्षक, मन्थली उमावि, मन्थली
मोबाइल ९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *