Skip to content


भएका छौँ भेला विविध रङका सुन्दर चरा
सबै साझा भन्दै रवि किरणका दिव्य छहरा
हुँदा कस्तो राम्रो गगन धरती एक मुलुक
सबै प्राणी बाँचौँ अब नलुटियोस् जीवन-हक ।

यही भन्छन् सारा विधि विषमता बाँध ननिका
महान् यात्रा रोक्ने सब मुलुकका साँध ननिका
न एक्लैको धर्ती, न त नगर हो एक जनको
न बाटो एक्लैको जल र थलको वा गगनको ।

सबैको हो हावा पलपल नयाँ यौवन छुने
सबैको हो पानी कलकल गरी जीवन दिने
न चाहन्छौँ हिंसा न त समरको विश्वविजय
सबैको होस् भन्छौँ मधुमिलनबाटै जय जय!

कतै छौँ ताराझैँ किरणपथका रम्य गहना
कतै इन्द्रेनीझैँ कुसुम वनका भव्य सुषमा
रच्यौँ साझा भाषा कलख बन्यो जीवन लय
रचौँ साझा यात्रा शुभ शकुनले मङ्गलमय ।

बढाऔँ यो शोभा गगन-धरती-जङ्गलतिर
सिको हाम्रो गर्दै परिजन उडून मङ्गलतिर
सबै नाचौँ गाऔँ हृदय नभझैँ व्यापक गरी
बनाऔँ यो धर्ती पि्रय मिलनले देव नगरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *