Skip to content

अब मलाई त्यही हड्ताल र चक्काजाम प्यारो लागेर आयो

उहाँ पुग्नेबित्तिकैको मलाई पहिलोपटक छोरीले दिएको दीक्षा थियो—“मुखमा थुक आयो भन्दैमा यहाँ जतापायो उतै र जहाँसुकै थुक्नुहुन्न, विचार पु¥याएर थुक्नुपर्छ । ठुलो आवाजले खोक्नुहुन्न । अलिक नियन्त्रण गरेर खोक्नुपर्छ, । यहाँ चिया पानी वा अन्य कुराहरु खाँदा वा प्युँदा स¥यार र स्याप्¥याक्क पार्नुहुन्न । त्यस्तो मान्छे बडो असभ्य मानिन्छ । ममले यस्ता कुराहरुमा विचार पु¥याउनुहोला ।”
यो मेरी छोरीले दिएको दीक्षा थियो । छोरीले दिएको यो दीक्षा पालन गर्न सक्छु कि सक्तिनँ भन्ने लागेर मलाई अलिकति झस्का प¥यो । तैपनि आइएको छ विदेश, यस मुलुकमा उनीहरुको नियमभित्र ता बस्नै पर्छ नि भन्ने लागेर म आफैंमा आश्वस्त बनें, मैले आफैंलाई आश्वस्त पार्ने प्रयत्न गरें ।
म अलिक रोगी छु । रुघाखोकी लागिरहन्छ । सधंै जस्तो खोकी र रुघा लागिरहनु मेरो उहिल्यैदेखिको शारीरिक समस्या हो । नाक बग्ने र कफ आउने गर्छ । खोकी लाग्ने रुघा ता हो नि भन्छु हेल्चेक्र्याइँ गर्छु, यस्तो हुँदा तुलसीपत्ता हालेर नुन र बेसारका साथ पानी पकाउँछु । पकाएर सेलाएको त्यो पानी सुत्ने बेलामा घटघट पिउँछु र सुत्ने गर्छु । भोलिपल्ट केही हलुका भएको हुन्छ । डाक्टरी उपचारको झमेलो गरिरहन्न । आफ्ना यिनै जरीबुटीको उपयोगबाट यो यसै जिम्लिन्छ र आफैं कुनै दिन गएर रोग तङ्ग्रिन्छ । मेरो उहिल्यैदेखिको यो रोग हो । अहिले लामो अन्तरिक्ष यात्रा गरेर कुबेरको मुलुकमा आइपुग्दैदेखि म यही मेरो निजी रोगबाट ग्रसित छु । मेरो यही स्थिति देखेर होला मेरी छोरीले मलाई सतर्क गराएको । कतै छोरीको इज्जत नजाओस् भनेर म पनि बडो चिन्तित छु ।
हप्ता दिनसम्म कोठामा कोचिएर बसियो । कति कोठामा कोचिएर बस्नु भन्ने पनि लाग्न थालेको थियो । यहाँ ता तुलसी पत्ता कहाँ पाइनु, बेसारसम्म पाइँदो रहेछ । बेसार पानी खाएँ, अलिकति रुघासम्म ता कम भयो, तर खोकी उस्ताको उस्तै छ । विदेशमा रमाइलो र आराम गर्न आएकी अरे, खा बाबै केरा भनेजस्तो पो भइरहेको छ ।
बल्ल बल्ल छोरीले कसरी हो फुर्सुद मिलाएर मलाई एकाबिहानै चौडा चौडा सडक पार गराएर एक बगैंचातिर लिएर घुम्न लिएर हिंडी । ऊ मलाई उसै गरी सतर्क गराइरहेकी थिई । “झुक्किएर कतै थुक्नुहोला नि ! फेरि परिन्छ डन्डमा !” छोरी मलाई अस्तिको भन्दा अझ बढी सतर्क गराइरहेकी थिई । म भने एकातिर ठुलो आवाजमा खोकिने पो हो कि भन्ने कुरालाई लिएर त्राहित्राहि थिएँ भने अर्कातिर खोकी लागेर मुखभरि खकार पनि आइरहेको अवस्थामा थिएँ । धन्न केही प्लास्टिकको झोलाहरु नेपालबाट लुकाएरै भए पनि लिएर आएकी थिएँ र छोरीको इज्जत बचाइरहेकी थिएँ, छोरीलाई डन्ड तिर्नबाट बचाइरहेकी थिएँ । मुखबाट आएको खकार त्यसैमा थुकेर झोलामा हालेर बोकेकी थिएँ र त्यहाँ म बडो भद्र र सभ्य भइरहेकी थिएँ । यस्तो अवस्थामा दिशापिसाब आए के गरिंन्थ्यो होला, वा झोलैमा पो हाल्नु पर्ने हो कि ? सोच्तै पनि थिएँ । मैले खकार थन्क्याएको कुरा कुनै मान्छेले देख्ने पो हो कि भन्ने त्रासका साथ अभिन्तरमा र नदेख्ने जसो गरी पोको पार्दै झोलामा लुकाउँदै बोकिरहेकी थिएँ । आएको खोकीलाई आफैं घिच्र्रो च्यापेर नियन्त्रण गर्दथें । खोकी आएपछि अन्तमा सरी भन्नुपर्छ भनेकोले म बेलाबेला सरी सरी पनि भन्दै थिएँ । मलाई लागिरहेको थियो म कुनै ठुलो अपराध गरिरहेकी छु । अहिले यी कुराहरु लेख्न पनि मलाई बडो लाज र घिन लागिरहेको छ । कस्ती फोहोरी आइमाई रहिछे भनेर पाठकहरुले पनि सोच्लान् भन्ने कुरा अहिले यो लेख्ता मनभित्र आइरहेको छ । तर त्यो बेला मलाई बडो विडम्बनापूर्ण स्थितिको बोध भइरहेको थियो, अप्ठेरोको पनि हदै भइरहेको थियो । खकार भित्रै पो निलिदिऊँ कि ! सोच्तै पनि थिएँ । सकिनसकी मुखभरिको आफ्नो खकार आफैं बोकेर हिंड्दै सभ्य बन्नु पर्ने यो मुलुकमा सभ्य बनिरहेकी थिएँ । धेरै खोक्ता आँसु आइरहेको थियो, आँसु झर्दा पनि डन्ड पो तिर्नु हो कि ? सोच्तै थिएँ । यहाँको यसरी बाँच्नु भनेको प्राकृतिक बनिसकेको रहेछ । यो प्राकृतिक बनिसकेको कृत्रिम सभ्यतालाई देखेर मलाई अलिकति पनि चित्त बुझेको थिएन । अव्यवस्थित हुनुपर्छ भन्ने कुरा भन्न खोजेको होइन मैले पनि । मलाई पनि अव्यवस्थितताको र फोहोरको पक्षमा केही भन्नु छैन, जथाभावी थुक्तै र भित्तो रँगाउँदै हिंड्नुपर्छ भन्ने पक्षमा म पनि छैन । यस्ता गलत कुराको पक्षमा ओकालत गर्नु छैन । अनुशासित हुनै पर्छ, व्यवस्थित हुनै पर्छ, आजको युगमा सभ्य हुनै पर्छ । यो कुरा जानेर पनि हामी कति पछि छौं सबैलाई कण्ठ छ । सरकारी अफिसहरु वा विद्यालयका छेउछाउ हेर्दा हाम्रो सभ्यता थाहा हुन्छ हामी कति सभ्य रहेछौं भन्ने कुरा । काठमाडौंको गल्लीमा र लगभग नयाँ सडक वा दरबारस्क्वायरको बीचमा समेत मलाई जता पायो उतै थुकेर हिंड्ने अवसर थियो, म जत्रो आवाजमा पनि खोक्न सक्थें । म त्यहीमा बानी परेकी थिएँ, त्यसैमा अभ्यस्त थिएँ । अझ बरा लोग्नेमान्छेहरुले ता यसो अलिक अभिन्तर भेटे भने नयाँ सडकैमा पनि लघुशंका गरिदिन बाँकी राखेका हुँदैनन् । कुनै उपाय नपाएपछि के गरुन् बरा ! यस कुरामा ता हामी आइमाईहरुलाई पो पर्छ त समस्या ! यहाँ कसरी चल्दा हुन् काठमाडौंमा त्यस्तो बानी परेकाहरु ? सोच्तै पनि थिएँ । एकातिर नेपालको त्यो फोहोरोदेखि मलाई घृणा थियो भने यताको व्यवस्थितता र अनुशासनको नाममा खकार र राल पनि बोकेर हिंड्नै पर्ने वा निल्नै पर्ने व्यवस्थितता भने मेरा लागि सुपाच्य लागिरहेको थिएन । यो मुलुकका मानिसहरुले यो शासनलाई कसरी पालन गरेर मर्यादित भइसकेका थिए, उनीहरुलाई यो कसरी पचेको थियो मलाई बडो कठोर यथार्थ लागेको थियो । नत्र भने यो देशमा वाक्वाकी लागेको हँड्याइँदो पानी पनि निलेर स्वस्थ हुनु पो पर्ने हो कि भन्ने अमिलो यथार्थ पनि मनभरि कोक्याइरहेको थियो । खोकी लाग्ने बानी छ, रोगी छु, कतै जाऊँ खोकीले च्याप्छ । त्यो बेला पनि मलाई खोकी लागिरहेको थियो । थुक्ने ठाउँ कतै पाइन्न । के हो यस्तो हरिबिजोग ? मलाई अटेसमटेस भइरहेको थियो ।
पार्कतिर पुगेर बिहानको हावा खान मात्र के पसेकी थिएँ त्यहाँ मेरो भन्दा पनि अरुको बिजोग देखियो । कुकुरहरुलाई चराउन लानेहरुका हातमा कुकुरको गोबर र गहुँत बटुल्ने भाँडाहरु बोकिएका रहेछन् । केही कुकुरहरु ता भाँडामै गोब्व¥याउन गहुँत्याउन अभ्यस्त भइसकेका रहेछन् । त्यसले कुन ठाउँमा खुचालिदेला भनेर तिनीहरुलाई जगजगी परेको बुझिन्थ्यो । जे होस् हातमा कुकुरको गोबर बोकेर कुकुर चराइरहेका केही भद्र भलादमी पनि देखिए ।
केही बेरपछि नै मलाई आप्mनो त्रासबाट मुक्ति मिल्यो । मेरो सोचाइ सब भ्रम मात्र रहेछ । मैले सोचेको कुरा सत्य होइन रहेछ, त्यस्ता फोहोरहरु फाल्ने निश्चित स्थानहरु पनि हुँदा रहेछन् । थुक्ने ठाउँहरु पनि हुँदा रहेछन् । बल्लबल्ल कुरा बुझ्दै थिएँ । बल्ल खकारको एउटा झोला फ्याँके । फ्याँक्नुअघि मलाई छोरीले बडो गम्भीर कुराहरु भनिरहेकी थिई । ऊ मलाई त्यो मुलुकको उन्नति, त्यहाँको प्रगति र त्यस देशले गरेको आर्थिक विकासका बारेमा राम्रै गरी सम्झाउँदै थिई । तर मलाई त त्यो बेला त्यस्ता कुराको कुनै अर्थ थिएन, मुखभरिको थुक र खकार थुक्न पाए कति आनन्द हुँदो हो भन्ने लागिरहेको थियो । त्यस मुलुकले गरेको प्रगतिबाट मलाई त्यस बेला कुनै अर्थ राखेको थिएन, तर छोरीलाई त्यसको महान् अर्थ थियो । ऊ त्यसैमा खुसी थिई, त्यसैमा राजी थिई । त्यसैमा अभ्यस्त भइसकेकी थिई । अनि उसको आग्रह थियो—‘मम, अब यसै मुलुकमा बसौं । सधैं मधेसपहाडको पीडा, सधैं साम्प्रदायिकताको आतङ्क, सधैं चन्दाको आतङ्क, सधैंको हड्ताल, सधैंको बन्द, सधै्रको लोडसेडिङ, सधैं चोरी, सधैं डकैती, यो टन्टाबाट मुक्त हुनुपर्छ मम’ उसको भनाइ थियो ।
यसको मुक्तिका लागि अर्काे मुलुकमा जाने कि आफ्नै मुलुकमा बसेर डने ! म सोच्तै थिएँ । उसले मलाई सतर्क गराएर मेरो मुलुकको अहिलेको यथार्थ देखाए पनि मलाई त उसको मम शब्दतिर पो ध्यान खिचियो । मैले आमाबाट मम हुनु परेकोमा पहिलेदेखि नै भित्र कता कता हो च्वास्स बिझ्न थालेको थियो, कोक्याउन थालेको थियो । अहिले ता मलाई त्यस ममले झन् कोतरेर चिमोटेको अनुभव भयो । यसै छोरीका लागि केही वर्ष पहिलेसम्म म आमा नै थिएँ । यसैका लागि मैले भोक पनि भनिनँ निद्रा पनि भनिनँ । उसको आमा शब्दमा म हार्दिक माया र ममता पाउँथेें तर यो मममा मलाई त्यस्तो केही भएन । यता आएपछि म उसकी मम भएकी छु । यो ममसँग म तदाकारित हुनै सकिरहेकी थिइनँ । किन हो किन, उसको यो बोलीचाली र यो व्यवहारप्रति म भित्रैबाट सन्तुष्ट भइरहेकी थिइनँ । ऊ यता आएपछि उसका लागि म आमाबाट मम भएझैं उसको बाबा पनि ड्याड हुनुभएको छ र उसको भाइ ब्रो हुन पुगेको छ । यी ड्याड र ब्रोहरु के सोच्छन् मलाई थाहा छैन । तर मलाई छोरीले आमाको साटो प्रयोग गरेको ममले चिलिरहेको छ, पोलिरहेको छ, घोचिरहेको छ, कता कता भित्रभित्रै कोतरिरहेको छ ।
यो कहाँको कुरा हो र अहिले म कहाँ छु, कोही हुनुहुन्छ पाठक भने यी कुरा पढेर आफंै बुझ्न सक्नुहुन्छ । आफ्नै बडप्पन देखाउन भएका नभएका कुराहरुको रङ्गीचङ्ग्ी बयान गरेर मेरो मुलुकका जनतालाई आफू स्वर्गैमा पुगेर फर्किएको जस्तो पार्नु परेको छैन मलाई । देशलाई ठगेर घुसको बोरा खाएर विदेश ढल्कन पुगेका फटाहाहरुले के के न देख्यौं भनेर सपनाको संसार देखाएझैं मलाई देखाउनु पनि परेको छैन । कहाँ कहाँ गएर केके देखेंं भन्दै चाहिंदो नचाहिँदो बयान गर्दै दुनियाँको भ्रमण गरेको घमण्डको तुजुक पोख्नु परेको पनि छैन मलाई ।
मलाई यहाँको प्रगतिले चकित तुल्याएको छैन । त्यहाँको वैभवले कुनै फरक पारेको छैन । यहाँ वैभवको स्वाँग पारेर दुनियाँमाथि हैकम गर्ने चलनको मलाई भित्रैदेखि घृणा लागेर आयो । दुनियाँ भरिबाट धनको लोभमा पारेर यस्तै प्राविधिकहरु किन्न सक्नु हो भने हामी पनि कुनै भन्दा कम हुने थिएनौं होला । धनको तुजुकले दुनियाँभरिबाट बौद्धिक तस्करी गरेर ल्याएकाहरु बँधुवा घोडा भएको देखेर पो मलाई ता माया लाग्यो । मनचिन्ते शैलीमा स्वतन्त्रताका साथ एक सास एक गाँस र एक बास यिनीहरुले नपाएको देखेर मलाई ता दया पो लाग्यो । यिनलाई डलरको घारीमा बाँधेर राखिएको रहेछ भन्ने लाग्यो । यिनलाई उठ् भने उठ्नु र बस् भने बस्नु पर्ने बँधुवा बौद्धिकको दर्जा भएको मात्र मैले ठानें । मेरी छोरीको बौद्धिकतालाई यहाँको डलरले किनेको देखेर मलाई त्यही बोध भयो । छोरी पढाउनका लागि गरिएको प्रयत्न र त्यस प्रयत्नका साथ परिश्रम गर्दा उठेका हातका ठेलाहरुका डामहरु मेरा हातमा अझै छन् । उसका लागि मैले गरेको प्रयत्न अझै मलाई मेरा मनभरि ताजै छ । मैले मेरा मुलुकको उन्नतिमा एउटा इटा थप्ने जनशक्ति तयार गर्ने भएँ भन्ने ठानेकी थिएँ, मेरा मुलुकले पनि मेरी छोरीको श्रम किन्न सक्ला कि भन्ने ठानेकी थिएँ । मेरै देशले मेरी छोरीको विद्यावारिधिको महत्व बोध गर्ला भन्ने सोचेकी थिएँ । तर मेरो श्रम र मेरो पसिना डलरले किनिदिएको छ । छोरीले राम्रो डलर कमाइ गरेकी छे । अनि उसलाई त्यही बेलायती गाईलाई झै बाँधिएको छ जसलाई बाँधिएको थलोमा खुलासँग ओर्कनफर्कन पनि मिल्दैन । अहिलेका बेलायती गाईहरुलाई मिठो कुँडो हालिदिएर एउटै थलामा बाँधिदिएर रातदिन दोहेजसरी मेरी छोरीलाई दोहिरहिएको रहेछ । यो तस्करी देखेर मलाई चसक्क बिझिरहेको छ । गरीब घरको गतिलो कुकुरलाई धनी घरका मान्छेले मासुको चोक्टो देखाएर लोभ्याउँदै हातमा पारेर पल्काएझैं मेरी छोरीलाई पनि डलरको लोभमा पल्काइएको छ, हत्याइएको छ । म यस्तै केके सोचिरहेकी छु ।
कमसे कम मलाई यहाँको यान्त्रिक जगत्को दास बनेर आफ्नो स्वत्व गुमाइहाल्ने अहिले विचार आइहालेको छैन । हामी गरीब भएकोमा उहाँ नेपालमा छँदा मलाई दुःख लाग्दथ्यो तर अहिले मलाई त्यही गरिबीको महत्व यहाँको धनाढ्यको भन्दा अधिक लागिरहेको छ । धनाढ्यको धनले बाँधिएका बँधुवाहरुको वैयक्तिक स्वतन्त्रतालाई डलरको पाशो लागेको देखें । मेरा ज्वाइँको र मेरी छोरीको घरभित्र पनि भेट भएको मैले देखिनँ । लोग्ने र स्वास्नीको भेटघाट एकै घरमा कतिबेलै पनि हुनै नपाएको देखेर मलाई अटेसमटेर लागेर आयो । कुन दिनमा छोरी दिएकी रहिछुु यो खैरेको मुलुकमा ! मलाई आपैंmं धिक्कार लागेर आयो । अमृतका घडामा व्यक्तित्व गुमाउँदै डुबुल्की मारेर अमृतले नै भोक मार्नु र अमृतमा नुहाउनु भन्दा ता लोग्ने र स्वास्नी एकै छाक मात्रै भए पनि एकसाथ बसेर मिठो मसिनो खाँदै सुख दुःख बाँड्नुलाई नै मैले स्वर्ग ठानें ।
आँखालाई चकित बनाउने पानीका फोहोराको तुमुल दृश्य देखेर मलाई रिँगटा लाग्न खोज्यो । गगनचुम्बी भवनको अट्टालिकामा लिफ्ट चढेर गएका छौं अहिले हामी । सिरानको बार्दलीबाट ओरिपरिको रजधज देखिन्छ । यो सन्ध्याकालीन दृश्यको मनोहर मनमोहक दृश्यले पनि मलाई आकर्षित गर्नुको साटो कोक्यायो । छोरीको लागि म उसले जताजता भन्छे त्यतै त्यतै गएँ । उसले जता जता लान्छे त्यतै त्यतै गएँ । मानौं म कुनै अबोध पशु हुँ जो कुनै मान्छेले अनुशासनको साङ्लोमा बाँधेर डो¥याइरहेको छ । मनमा यस्तो पनि लागिरहेको छ । आकासलाई नै छेड्ने खालका पानीका मुस्ला उठेका छन्, फोहोराहरुमा बिजुलीको रङ्गीचङ्गी प्रकाश प्रयोग गरी आँखाका लागि जादू देखाइएको छ, मसिना पानीका कणहरुको स्पर्शले सुखानुभूति पैदा गरिरहने सुखद स्थिति छ । किन यस्तो अपूर्वताका अघि र यस्तो सुन्दरताका बीचमा पनि मेरो मन खिन्न छ ? मलाई अझै पनि सुखानुभूति र अवलोकनको आनन्द किन आइरहेको छैन ? मलाई मन भरि यस्तै खुल्दुलीहरु आइरहे । त्यसै बेला त्यही उचाइमा रहेको एउटा क्याफेमा छोरीले कफी खान मलाई पनि लगी । अनि डर लागेर आयो कतै कफी पिउँदा स¥याप पो पारिने हो कि ? बरु यो कफीको साटो तुलसी पानी पाइँदो हो त मजाले पिउने थिएँ, बेसार पानी पाइन्न यो ठाउँमा, रुघा ता बिसेक हुने थियो, सोचें मात्र । यहाँ कतै खोकी पो लाग्ने हो कि ? सबैका अघि कसरी प्लास्टिकमा खकार थुक्ने ? थुकेर ब्यागमा हाल्नु हुने हो होइन ? प्रत्येक टेबुलमा बसेका ग्राहको वस्तुस्थितिलाई यथार्थ रुपमा देखाइरहने सीसी क्यामेराहरुमा मेरो सम्पूर्ण गतिविधिको रेकर्ड भइराखेको हुँदो हो । घरैमा फ्याँक्ने गरी आफ्नो ब्यागमा खकार हालेर घर ता लगँुला तर तल काउन्टरमा ब्याग चेक गर्दा खकार देखियो भने त्यो बेला छोरीको इज्जत कता पुग्ने हो ? उसले कति डन्ड तिर्नुपर्ने हो ! हे भगवान् अब मेरा यस कारणले मेरी छोरीको इज्जत कता पुग्ने हो ? यो देशैको इज्जत जान बेर लाग्दैन । छ कि यहाँ थुक्ने ठाउँ ? सोचिरहें । छोरीका अघि यो सबै सोधौं भने म अझै पाखे हुने त्रास छ एकातिर अर्कातिर मनभित्रको यो अटेसमटेसले मलाई खपिनसक्नु पारेको छ, बडो विवश छु ।
तै कसै गरी कफी पिएँ, बडो डर लागिरह्यो । सुरुप्प होला कि भन्ने सानो डर परेन ! ख्वाक्क खोकी लाग्न के बेर ? तरल वा अन्य पदार्थ निल्दा सर्कियो भने कति खोकिने हो ? कति डन्ड तिर्नुपर्ने हो सोच्तै पिएँ त्यो कफी । अहिले मलाई सोचेजस्तो खालकोे समस्या परेन । नत्र पर्ने थियो फसाद ! कसै गरी कफी पिएँ । मलाई लाग्यो त्यो कफी होइन डर र त्रास पिएकी हुँ । यसै बेला मेरा आँखा हामी बसेको भन्दा अलिक पल्लो टेबुलतिर गए । त्यहाँ एक जोडी थिए । परेवाको माउले बच्चालाई चारो खुवाउँदाझै उनीहरु मुख जोतिरहेका थिए । खोक्न र सुरुप्प गर्न नभए पनि यहाँ मुख जोत्न भने मजासँग पाइँदो रहेछ भन्ने लाग्यो । यो ठाउँमा मनपरिसँग काठमाडौको जसरी कतै थुक्न पाइने होइन क्यारे, त्यसैले शायद यिनीहरुले परस्परमा खकार पो निलानिल गरिरहेका होलान् कि भन्ने पनि लाग्यो । बराहरुले थुक्न पाएनछन् क्यारे, यस्तो पनि सोचिहेरें ।
अब मलाई अहिले नै घर फिरुँ फिरुँ लागेर आयो । यो खकार बोकेर सभ्य बन्नु भन्दा बरु ता बरु हडताल र जुलुसै पो सहन सकिने मेरो अनुमान भयो । मेरा मनभरि मेरो घरको परिदृश्य घुम्न थाल्यो । उही बाँसझाँग, उनै टाँकीका रुखहरु, उनै घर कटेराहरु, उही ढाल्ने घारी, उही अरुण खोलाको सुसाहट ! उही सगरमाथाको मनोहर दृश्य ! इत्यादि कुराहरु सम्झेर मनमा खुल्दुली मच्चिन थाल्यो । घर ता फिर्ने नै हो तर हडताल पो. छ कि अहिले पनि……. देशलाई टुक्राटाक्री पार्ने काम अब ता सके कि त ? मेरो भागमा पनि एउटा टुक्रो प¥यो कि परेन होला ! सोच्तै छोरीका साथ लागेर म गगनचुम्बी भवनको अट्टालिकाबाट ओर्लिन लागें । अनि सोचें– मेरो देश पनि कतै म जस्तै माथि पुगेर तल असपत्तालतिर खसिरहेको ता छैन !
भद्रपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *