Skip to content


मन्दिरको देउतालाई ठम्याउन नसकेर
घाटमा मसान खोज्दै हिंड्छ मान्छे ।
धूरी आकर्षक बनाउँन खोजेर
जग मक्काएको पत्तो पाउँदैन मान्छे ।।

आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेर
पीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।
आफूभित्र भएको खुसी पहिल्याउन नसकेर
वेदनामा छटपटिन बाध्य हुन्छ मान्छे ।।

अहमताको दलदलमा आत्मालाई फसाएर
सत्यताको भरोसामा तैरिन चाहँदैन मान्छे ।
आफू हुनुको अस्तित्वको यर्थाथतालाई लत्याएर
आक्रोशको गुलामीमा रमाउँछ मान्छे ।।

निरर्थक आजादिमा प्रफुल्लित भएर
अनमोल समय अकार्थ व्यतित गर्दछ मान्छे ।
टल्कने पत्थर अन्वेषण गर्ने चक्करमा
बहुमूल्य रत्न परख न जान्दैन मान्छे ।।
कञ्जुसाईं र लालसाको पराकाष्ठमा उभिएर
दयाको अनुराग छर्न मान्दैन मान्छे ।
हृदयमा भएका तिक्ततालाई भुलेर
मैत्रीभावले चित्त जगमगाउन जान्दैन मान्छे ।।

ईर्ष्या र डाहले मनलाई असान्त पारेर
शान्ति प्राप्तिको चेष्टामा भौतारिन्छ मान्छे ।
स्वकीय चाहलाई जित्न नसकेर
अरुलाई दमन गर्ने तिब्रता देखाउँछ मान्छे ।।

व्यक्तिगत आडम्वरलाई संरक्षण गर्न खोजेर
सार्बभौमताको सन्धी गर्छ मान्छे ।
स्वार्थको रङ्गमञ्चमा अभिलाषा मंचन गरेर
अखण्डताको समेत मोलमोलाई गर्छ मान्छे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *