Skip to content


कोसी टप्पुमा धेरै खालका जीवजन्तुको वासस्थान थियो । त्यहाँ हात्ती, बाघ, भालु, अर्ना, मृग, जरायो आदि बस्तथे । त्यहाँ हात्तीको बथान निस्कँदा सम्पूर्ण झाडी नै सखाप पार्दथे ।

यसै जङ्गलको बीच भागमा एउटा तलाउ थियो । तलाउको छेउमा दुलाहरू बनाएर खरायो, मुसा, न्याउरी, सर्प आदि बस्तथे । तलाउको छेउछाउमा धेरै रूख थिए । ती रूखमा बस्ने विभिन्न प्रकारका चराहरू आफ्ना-आफ्ना भाषामा गीत गाइरहन्थे ।

एक रातको कुरो हो । गर्मीको समय थियो । चन्द्रमाको उज्यालो चारैतिर छरिएको थियो । त्यसै समय टाढा हात्ती कराएको सुनियो । हात्तीको बथान तलाउतिरै आइरहेको थियो । हात्तीहरू खुब आवाज निकाल्दै कराउँदै आउँदै थिए । पोखरीका भ्यागुताले त्यो चर्को आवाज सुनेपछि टर्रटर्र गरेर कराउन थाले । चराका बचेराहरू पनि च्याँ च्याँ चिँ चिँ चिँ गर्दै डराएर कराउन थाले । खरायो, मुसा, न्याउरी आदि पनि आफ्ना दुला छाडेर लाखापाखा दौडन थाले । यसरी यस जङ्गलका जनावर पशुपक्षी आदिमा खैलाबैला मच्चियो ।

त्यही तलाउको एक छेउको रूखमा फिस्टो चरा पनि बस्तथ्यो । त्यो बाहिरबाट भर्खरै त्यहाँ आएको हुनाले हात्तीको अत्याचारबारे केही थाहा थिएन । आफ्ना छिमेकी चराचुरुङ्गीहरू आत्तिँदै भाग्न थालेको देखेर फिस्टोले भन्यो – साथीहरू हो किन यसरी भाग्न थालेको ? त्यसपछि एउटा भ्याकुर चराले फिस्टोलाई हप्काउँदै भन्यो – तँ नयाँ छस् । हात्तीको अत्याचार तँलाई थाहा छैन । हात्तीको बथान आएपछि यी रूखहरू उखेलिन्छन्, चराको गुँडहरू भत्किन्छन्, बच्चाहरू मर्छन् । हात्तीको कुल्चाइले खरायो, मुसा, न्याउरी, आदिका दुलाहरू भत्किन्छन् । त्यसैकारण हामीहरू यहाँबाट भाग्नुपर्छ ।

फिस्टोले सोध्यो – यी हात्तीलाई रोक्न सकिँदैन र ।

भ्याकुरले भन्यो – तिमी किन यस्तो मूर्ख कुरा गर्छौ ? हात्तीलाई पनि रोक्न सकिन्छ ?

भ्याकुरको निराशापूर्ण कुरा सुनेर फिस्टोलेे भन्यो – संसारमा सबैभन्दा ठूलो बल भनेको नै बुद्धि हो । आपत्ति परेको बेला साहस गरेर बुद्धिले काम लिनुपर्छ । विपद पर्‍यो भनेर भाग्नु हुँदैन । पख ! हात्तीलाई रोक्न म केही बुद्धि लगाउँछु । पहिला त यी डराएर भागेकालाई रोक ! फिस्टोको कुरो सुनेर ढुकुर पहिले त फिसिक्क हाँस्यो । तैपनि के हो सोचेर ढुकुरले सबै चरालाई भन्यो – यस फिस्टोले हात्तीलाई रोक्ने बुद्धि लगाउँदैछु भन्दैछ । एकछिन पर्खौँ ।

फिस्टोले फेरि भन्यो – साथीहरू हो, संसारमा सबैभन्दा ठूलो भनेको बुद्धि हो । आपत्ति पर्‍यो भनेर भाग्न खोज्दा त त्यो आपत्तिले पछ्याइरहन्छ । त्यसकारण साहस र बुद्धिसँग धैर्यसाथ काम गर्नुपर्छ ।

त्यसैबेला हात्तीहरूको चर्को स्वर फेरि सुनियो । सबै चरा डराए तर फिस्टोले सबैलाई हात्ती भगाउन कसले के गर्ने भनेर कामको भाग लगायो ।

हात्तीको सरदार पोखरीको छेउ आई नपुग्दै फिस्टो, चिरबिरे काग, चिबे र अरू सैयौँ चराले हाडे र सिउँडीका काँडा, चुच्चामा च्यापेर हात्तीका कान र आँखामा घोच्न थाले । हात्तीका आँखा फुटे कुनै चराले कानका जाली फुटाइदिए । यसरी केही बेरमा नै हात्तीहरू अन्धा र बहिरा भए । हात्तीहरू आत्तिएर जताबाट आएका थिए उतै फर्किए । हात्तीहरू यसरी फर्किएको देखेर त्यस ठाउँमा चराचुरुङ्गी र स-साना जनावरहरूले ‘यो सानो फिस्टोको बुद्धिले गर्दा’ भनेर प्रशंसा गर्न थाले ।

फिस्टोले पनि गमक्क पर्दै एउटा रूखको हाँगामा बसेर पखेटा हल्लाउँदै भन्न थाल्यो हेर साथी हो यो हाम्रो जित एकता, साहस र बुद्धिको जित हो । सबै प्राणी एकता, साहस, बुद्धिकै बलमा मात्र बाँच्न सक्तछन् । आपत्ति आइलाग्यो भनेर डराएर भाग्नेहरू जीवित रहन सक्तैनन् । आपत्तिको सामना गर्न सक्नुपर्छ । तसर्थ साथी हो सबै एकै स्वरले भन-एकता, साहस र बुद्धिको जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *