Skip to content

मलाई चिन्ता छैन । मैले कथा लेख्न सकिनँ वा मेरो कथा लेखिएन, यसबारे कुनै दुश्चिन्ता वा पीर छैन । मेरो भनाइको तात्पर्य यसरी लगाइयोस् भन्ने मेरो आग्रहसम्मत छ र कुरो के चाहिँ हो भने अचेल मेरा पात्रहरू क्षणक्षण समयसापेक्ष्ाित भएर बदलिने अन्य नागरिकभन्दा विपरीत निकै दुब्लाउने, झोक्राउने, निरास हुने, खुम्चिने, डराउने, भय बोक्ने आदि जस्ता देखिन थाले । चिन्ता यसमा छ भन्न खोजेको हुँ ।

त्यही चिन्ताको संविधानअनुसार मेरा अनेक पात्रमध्ये एक, यस पात्रलाई म नियाल्ने प्रयास गर्दैछु । मेरो यस पात्रको प्रमुख परिचय भनेको नै अन्य नागरिकसरह यो पनि यस मुलुकको एक मौलिक नागरिक हो र नागरिक हुनुको काम, कर्तव्य र दायित्व के हो ? यत्रो लामो व्याख्यानतिर नगई यतिमा मात्र सीमित हुँदा के देखियो भने मेरो यस पात्रलाई भोक लाग्यो । अब कथाको थालनी र पात्रको दिनचर्या यसरी प्रारम्भ भयो भनेमा कुनै पनि दफा वा कानुन नलाग्ने घोषणा म कथाकार हुनुको अधिकारले यहाँ सम्प्रेषण गर्छु ।

पात्र बाहिर निस्कियो । भोक सहन भन्नुपर्‍यो । यद्यपि सहनुपर्ने धेरै कुरा देशमा उपलब्ध देखिन्थे । धन्य छ, तै दौडिएन । बाहिर देश एक्कासि एकदमसँग इमानदार र जो हेर्‍यो त्यही राष्ट्रवादीजस्तो देखिन थालेको रहेछ । अनि ठाउँठाउँमा जुलुसहरू राष्ट्रगान बोकेर विगतको इतिहासलाई गिज्याउँदै हिँडिरहेका देखिन्थे । पात्रलाई अचम्म लागेन । भोक बरु लागेको थियो । माथि नै भनियो । यस देशभित्रका मान्छेको मूलभूत परिचय भनेको नै यही हो, समयअनुसार तत्काल परिवर्तन हुनु र जो बलियो छ, त्यसैको भक्त भइदिनु । त्यति मात्र होइन, देशभित्र देशले खान दिएन भनेर क्रूद्ध भई विदेश भाग्ने र विदेशमा भाँडा माझ्दै सगौरव देश सम्झने अनेक वीर देशभक्त नागरिकहरू पनि बेलाबेला छापामा देखिन थालेका छन् अचेल भने यसमा के अनौठो मान्नु ? अनौठो यसैले पनि मानिएन । पात्रलाई रमाइलो लाग्यो । भोक त लागेकै छ, जस्तो माथि नै भनियो । अब रमाइलो लाग्नमा हानि छैन । पात्र टुँडिखेल पुग्यो । वरिपरि बारमा मान्छेहरू झुम्मिएका थिए । चउरमा उन्नत जातका घोडाहरू मजाले हरियो घाँस चरिरहेका थिए । मान्छेहरूलाई पुग्यो आनन्द र समय कटाउन । भोक मेटियो । आनन्द प्राप्त भयो । घोडादर्शन पर्याप्त भयो । घोडालाई धन्यवाद । पात्रले सोच्यो ।

पात्रले आकाश हेर्‍यो । अनि झनक्क रिस उठ्यो । पात्रलाई राजधानीका मान्छे र मौसम कहिल्यै मन परेन । कतिबेला बदलिने हो, थाहै पाइँदैन । जस्तो मान्छेका हकमा ऊ हेर्नोस् त जुलुस । त्यही जुलुस केही समयअघि के बोकेर हिँडेका थिए ।

अहिले के बोकेर हिँडेको देखिँदै थियो भने मौसमको प्रश्नमा हेर्नोस् न, मौसम पनि मान्छेजस्तै क्षणक्षण परिवर्तन हुने । यो किन भनियो भने अघि भर्खर टन्टलापुर घाम लागेको मौसमी दिन अहिलेको अहिल्यै ‘कालिदासस्य मेघम् मल्हार’ लाई नै बिर्साउने गरी घनघोर घटा धारण गर्दै थियो । छाता बोकिएन, यही चिन्ताले झन् बढी भिजिने भयो । पात्रले सोच्यो र दौड्न थाल्यो । कति सोचाइहरू पनि पात्रसँगै दौडँदै आए ।

“ए सुन्नुहोस् त महोदय !”

कसैले पात्रको गतिलाई रोकिदियो । पात्र रोकियो र हेर्‍यो । अगाडि राष्ट्रवादी स्वरूप धारण गरेका गरिमामण्डित एक पण्डित उभिएका थिए दौरा-सुरुवालमा ठाँटिएर ।

“भन्नोस् त महाशय !”

पात्रले त्यस पण्डितको विगतलाई एकफेर सम्झँदै बोल्यो । विगतमा च्यातिएको जिन्स पाइन्ट लगाएर गाँजा तानेर हिँड्ने व्यक्ति थिए तिनी । त्यस स्वरूपलाई कसैकसैले सीआईडी, विशेष प्रहरीको संज्ञा पनि ओढाउने गर्दथे ।

“म त एकदम राष्ट्रवादी नागरिक भएँ नि ! अब देश र जनताको सेवा गर्ने मनसाय प्राप्त गरेँ ।”

पण्डितले बोधिज्ञान नै प्राप्त गरेसरि घोषणा गरे । पात्रलाई काउकुती लाग्न थाल्यो । देश परिवर्तनको चक्रमा दौडँदैछ भन्थे कसैले, हो जस्तै लाग्यो ।

“म के गरुँ त ?”

प्रश्न गर्नुपर्ने भयो । गर्‍यो ।

“केही गर्नुपर्दैन । बरु समर्थन गर्नोस् ।”

पण्डितले एउटा कापी निकालेर दिए । हेर्‍यो । त्यसमा परिवर्तन, वर्तमान समय, सत्ता, व्यवस्था एकदम उचित भएकाले नागरिक समर्थनअनुरूप सही गर्नुपर्ने रहेछ । पात्रलाई झोक चल्यो । यदि सही गरेर देश त छोडिदिउ“m- आफू मात्र पनि सुरक्षित हुने भए गरिन्थ्यो नै । यसैले पात्र रिसको वाक्य फाल्न थाल्यो ।

“महाशय, म सही त गरिदिन्छु तर के तपाईं मेरो जीवनको प्रत्याभूति दिन सक्नुहुन्छ ?”

“कस्तो प्रत्याभूति ?”

“म अर्धबेकारी छु । म जहाँ काम गर्छु, त्यहाँ १५ वर्ष भयो करारमा झुलाएको र त्यहाँ कस्ता-कस्ता अल्पशिक्षितलाई अधिकृत बनाएर मलाईचाहिँ हीन, ग्लानि, त्रास दिने गरिरहेका छन् । त्यहाँबाट म न उम्कन सकेको छु, न त बस्न नै सकेको छु । यस्तो स्थितिमा के तपाइर्ं मेरो योग्यताअनुसार देशको नागरिक हुनुको मौलिक अधिकार मलाई दिन सक्नुहुन्छ ? अनि धारामा पानी छैन । बोरामा चामल छैन । स्टोभमा ग्यास छैन । तरकारीमा समान मूल्य छैन । जीवनमा आशा छैन । आशामा आस्था छैन । के तपाईं यी सब पूरा गर्न सक्नुहुन्छ ?”

“पूरा होइन, कुरा गर्न सक्छु । भाइ अहिले त म तपाईंलाई गाँजा दिनसक्छु, खाजा होइन । तपाईंजस्तै भोकाहरूलाई लिएर नै म यो मुलुक बदल्न चाहन्छु ।”

“बदल्न कि दल्न, त्यो त पछि थाहा होला, अहिलेलाई जानुस् । ऊ त्यहाँ चउरमा, घोडासँगै पुच्छर हल्लाएर घाँस खान थाल्नुस्, गाँजा होइन ।”

यति भनेर पात्र आफ्नो बाटो र परिवेश बोकेर हिँड्यो । पण्डितको स्थिति कस्तो रह्यो, त्यो हेर्नसम्म पनि त्यहाँ उभिएन । विदूषकीय अनुहार के हेर्नु ? देश यस्ताकै हातमा छ, के गर्ने ?

“बाबू, औषधि ल्याइस् त ?” माताको आशालाग्दो स्वर ।

“औषधि हैन आमा, निराशा बोकेर ल्याएको छु,” पात्रको सुस्केरा ।

“निराशाले रोग निको पार्छ त ?” पिताको त्रासलाग्दो बोली ।

“रोग हैन, भोक निको पार्छ, बा ।” पात्रको उक्ति । आफँैप्रतिको ठट्ठाजस्तो ।

“कसरी ?” प्रश्न सामूहिक । सुक्खा धारा, खाली भाँडा, खाली स्टोभ, रित्तो बोरासहितको प्रश्न । कहिलेकाहीँ भोकै बसे, ग्यास्टि्रक आदि रोगलाई सान्त्वना मिल्छ । यो कुरा पात्रले मनमै गर्‍यो, प्रकटमा गरेन । प्रकटमा गर्नु लाछी हुनु हो । यत्रो प्रजातान्त्रिक मुलुकमा देश र जनता भनेपछि ठूलो अर्थ राखिन्छ तर अर्थमा चाहिँ के राखिन्छ ? प्रश्न छोडिदिऊँ, किनभने त्यस्तो अवस्थामा आफू लाछी हुनु भनेको त देश र प्रजातन्त्रकै प्रतिष्ठामा कुठाराघात गर्नु हो । यसैले यहाँ पात्र निराशा त बोक्न चाहन्छ तर लाछी भने कदापि हुन चाहँदैन । आफू पनि त यस महान् प्रजातान्त्रिक मुलुकको प्रजातान्त्रिक नागरिक हो नि, यसैले ।

“ए भाइ, गोलभेडा किलोको कति ?”

“५० रुपियाँ ।”

“किन ?”

“नाका बन्द भएर नि !”

“खोइ, कहाँ छ बन्द नाका ?”

“मासु किलोको कति ?”

“तीन सय ५० ।”

“ओहो, कति महँगो !”

“के गर्ने, नाकै बन्द छ ।”

“बन्दमा महँगीचाहिँ बन्द हुँदैन ?”

“चामल ३० किलोको कति ?”

“एक हजार तीन सय पचास ।”

“अस्ति त सात सय थियो नि !”

“अस्ति नाका खुला थियो नि !”

“तपाइर्ंहरू नेपाली कि व्यापारी मात्र ?”

“हामीले बढाएको हो त महँगी ?”

“कसले बढाएको ?”

“देशले नि !”

“कसरी ?”

“सधँै बन्द, सधँै त्रास अनि ?”

“यसको मोल कति ?”

“सय रुपियाँ ।”

“त्यसको मोल कति ?”

“दुई सय रुपियाँ ।”

“अनि मान्छेको मोलचाहिँ कति नि !”

पात्र त्यस किनमेलको भीड र संवादको हुलबाट पन्छियो । झोला रित्ताे थियो । किनमेल भएन । देशले साँच्चै परिवर्तन बोकेछ बा ! एक्कासि सबै कुराको मूल्य मूल्यवान्जस्तै भएर देखा पर्न थाल्यो । यो सोचेर पात्र हिँड्दै थियो । अब कति र कसरी थाम्ने हो ? यो सोचाइ बोकेर हिँडिरहेको थियो । त्यहीबेला एक्कासि के भयो के, पात्रको आँखा धमिलो भयो र सबै दृश्यहरू कालो र अदृश्य बने । अघिसम्मको त्यत्रो आवाज, ध्वनि, स्वर पनि सबै ठप्प भए । कान गुम्म भएर बन्द भयो । हिँड्दा-हिँड्दै खुट्टा पनि फतक्क गलेर लुलो भएर आयो, हिँड्नै नसकिने पो भयो । रित्ताे झोला बोकेको हात पनि कमजोरी र शक्तिहीन भएर तुर्लुङ्ग झुन्डियो । यो के भएको हो ? थाहा नलाग्दै अकस्मात्् नातागतको रोगीजस्तै पात्र गल्न थाल्यो बाटामै । पात्र आत्तिएर कराउन थाल्यो तर अचम्म ! मुखबाट कुनै पनि स्वर निस्केन । आवश्यक समयमा धोका दिने मनुष्यजस्तै स्वर पनि कता हरायो कता ? जिब्रो लाटो र नचल्ने भएर बसेजस्तो भयो । अन्ततः एकदम निरीह र निहत्था रूपमा पात्र छारे रोगका बिरामीजस्तै देशको अति नै व्यस्ततम् बाटामा डङ्ग्रङ्ग लड्यो त्यहाँ देश, जनता, प्रजातन्त्र सबै एकसाथ हिँडिरहेका देखिन्थे । तर, पात्र लडेको कसैले देखेनन् वा सबै आ-आफ्नो कर्तव्य बोकेर हिँड्दा त्रासले हो वा वातावरणले हो, पात्र त्यसरी लड्नु कसैलाई चासोको विषय र दृश्य रहेन ।

महोदय, यो कथा मात्र हो भनेर मान्नुहुन्छ भने यो कथा समाप्त भएको घोषणा गर्छु वा यो कथा मात्र होइन भनेर मान्नुहुन्छ भने यो कथा समाप्त भएको छैन भन्ने जानकारी अवगत गराउँछु ।

अब अन्त्यमा मसँग पात्र त होइन, एउटा प्रश्न बाँकी रहेको छ महोदय, त्यो के भने कुनै पनि प्रजातान्त्रिक मुलुकमा कुनै पनि निरीह र निहत्था नागरिक चिन्ताग्रस्त भई आफ्नै मुलुकको कुनै पनि बाटोमा लडेर अचेत रहनु उसको जन्मसिद्ध अधिकार हो कि होइन ? उत्तरको प्रतीक्षा यहाँ प्रश्नवत् छ ।

नेपाल साप्ताहिक
अंक १४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *