Skip to content

घरबाट कुनै खवर आएन

  • by


खै धेरै भो, घरबाट कुनै खबर आएन,
सानेले फोन पनि गरेन ।

कतै गोली चलेको कुरा छ,
कतै मान्छे हराएको कुरा छ,
कतै बाटो थुनियो रे,
कतै पानी छेकियो रे,
दूरघटना नै दूरघटनाको भूमरीमा मन अत्तालिरहेको वेला,
खै धेरै भो, घरबाट कुनै खबर आएन,
सानेले फोन पनि गरेन ।

कतै पधेरोमा पानी भर्न गएकी छोरी हराएको कुरा छ,
कतै वम पड्किएर स्कूलनै ढलेको कुरा छ,
कतै मेलामा गएका मान्छेहरू मारिए रे,
कतै गुडिरहेको वस एम्वुसमा पर्दा यात्रुहरू जले रे,
अनिष्टै अनिष्टको आशंकामा मन रोइरहेको वेला,
खै धेरै भो घरबाट कुनै खबर आएन,
सानेले फोन पनि गरेन ।

कतै दाउरा खोज्न वन पसेकाहरू क्रसफायरमा परेको कुरा छ ,
कतै गाँउ घरमा अड्न नसकेर मुग्लान पसेकाहरूको कुरा छ,
कसैको भाइ मारियो रे, कसैको दाइ काटियो रे,
कसैको सिंउदो पुछियो रे, कसैको इज्ज्यत लुटियो रे,
अनिष्टै अनिष्टको समाचार बग्रेल्ती आइरहेको वेला,
खै धेरै भो घरबाट कुनै खबर आएन
सानेले फोन पनि गरेन ।

कतै पहिरोले गाँउनै बगाएको कुरा छ,
कतै आगोले वस्तीनै खाएको कुरा छ,
कतै नाकावन्दीले मान्छे भोकै परेरे,
कतै दङ्गा भड्कियो रे,
कतै लुटपाट मच्चियो रे,
अनिष्टै अनिष्टको सपनाले मन जलिरहेको वेला,
खै धेरै भो घरबाट कुनै खबर आएन
सानेले फोन पनि गरेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *