Skip to content


ल्याउदा जनताको बजेट
गर्दै ठेलमेल र घचेट
कोही नारा जुलुसले कुर्लिए
कोही हातपात गर्दै उर्लिए
कसैको ढाडै सेकियो
कसैको टाउकै टेकियो
बल्ल नाटक सुरु भयो कि ?
यस्तै यस्तै देखियो ।

एउटा भन्छ अब
ईतिहास कालो अक्षरले लेखियो
अर्को भन्छ अझै दिन्थे
तर बिचमा नै छेकियो
रमाइलो कुरो
खेलखुदका रेफ्री
चुपचाप पो देखियो ।

आखिर नाटक न हो
दुइचार लात हाने पनि
दुइचार लात खाए पनि
अब बजेट पास भएपछि
मिलेर दाम चलाऊ ।

खाने मुखलाई जुगाले कहाँ छेक्छ ?
सरकार भए पनि काम चलाऊ
राम्रो कुरो कस्ले सुन्छ यहाँ ?
कालो अक्षरले नाम चलाऊ ।

काले माले भाले मिलेपछि
किन दिल्ली चाइना धाउने
अब यतै बाबाधाम चलाऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *