Skip to content

अन्तिम प्रहर

  • by


तिमी चाहिं किन रोएकी नि ? मनबाट रुने त मैले कोही देखिन त ? आँखाबाट रोएर दुनियालाई के भन्न खोज्दैछ्यौ ? तिम्रो त दिन खुले नि ? अब मेरो हप्काइ खानु परेन । मेरो रिस देख्नु परेन । अब कहिले पनि तिमीले मेरो कारणबाट चित्त दुखाउनु नपर्ने भयो हगि ? म जिउँदो हुँदा कति वचन लगाई रहन्थे । अब त हाई सन्चो भयो तिमीलाई । खप्परमा त लेखेर लेराएकै रहेछौ नि तिमीले ! ल जे जे भयो भयो, जति गल्ति गरें, मेरो बुद्धि पुगेन । म मुर्ख मान्छे । मेरो सोच दरिद्र थियो, मैले सबैको चित्त दुखाएँ । मलाई माफ गरिदेऊ है । अब कहिल्यै दुख दिन्न, कहिल्यै गाली गर्दिन तिमीहरूलाई ।

“रामभक्त रिसाएका छन् । यो फटाहा ! धत्तेरिका त्यसको पनि नाम लिनु ? त्योसित संगत गर्न पुगेर कस्तो गल्तो भयो । के गर्ने, मुखले ठिक्क पार्थ्यो अगाडि परेपछि हिहिहि । “किरणजी तपाईं जस्तो मित्र कहाँ पाउनु ?” भन्थ्यो । अलि पर पुगेपछि धतुरो झार्दो रहेछ । पछि पो थाहा भयो । साथी भनी विश्वास गर्यो, घर व्यवहारको दुखेसो पोख्यो । ऊ त तिललाई पहाड बनाएर उल्टो सुल्टो बुट्टा भरेर कान कानमा हावाको बेग झैँ खबर पुर्याई सक्दो रहेछ । जीवनभर बच्चै बुद्धिको भएर मर्ने भयो फटाहा ।” एक छिन किरण चिताबाटै उसलाई दुख दिने मित्रको सम्झना गर्छ ।

चिता नजिकैबाट आएको आवाज किरणको कानमा ठोकिन्छ – “नरोऊ आमा नरोऊ । एक दिन सबले जानै पर्छ । बरु छिट्टै गएर उनी भाग्यमानी भए । अशक्त भएर घर परिवारको बोझ भएर बाँच्नुभन्दा त जानै जाति नि । उनको आत्माले शान्ति पाओस् । राम्रोसित क्रियाकर्म गरिदेऊ । रोएर के हुन्छ बेकारमा ?” छोराछोरी आमालाई सम्झाउदै थिए ।

वाह वाह स्वार्थी दुनियाँ ! ओहो ! त्यो दिन पनि आउदो रहेछ । भगवान ? हात खुट्टा चल्दासम्म कमाएर उनीहरूको शोख पुरा गराउँदासम्म “हाम्रो बाउ संसार एक मात्र प्यारो बाउ ! हाम्रो बाउ यस्ता, हाम्रो बाउ उस्ता ! ” तिनीहरूलाई हत्केलामा राखेर उठाउँदाका दिनदेखि पढाई गुनाई बिहेवारीको कामसम्म सम्पन्न गर्दासम्मको दुख सास्ती । अनि ऋणले गर्दा मानसिक तनाबको हिसाब छैन । उनीहरूको सुखद भविष्यको लागि भन्दै आफ्नो जवानी बन्धकी राखियो । जिन्दगी संघर्ष नै संघर्षमा बित्यो । त्यसको कसैलाई मतलब छैन । एक जनाले दर्जनको बोझ उचालेर घिसार्दा घिसार्दै मानसिक तनाबको कारण पक्षघात भयो ।

केही महिना ओछ्यानमा पर्दा छोरा बुहारी श्रीमतीको लागि बोझ भैसकेको रहेछु । मरेपछि पो थाहा भो ! पहिले थाहा भएको भए मर्ने नै थिइन । म यिनीहरूलाई झन दुख दिन्थें ।
अझ गएकै राम्रो ? हे भगवान कसरी सृष्टि गर्यौ यस्तो स्वार्थी जातलाई ? भाँङगको सुरमा थियौ कि ?

मैले के गरिन सन्तानको लागि ? एक नम्बरको महँगो स्कूलमा पढाइन कि ? विदेश पठाइन कि ? बा यति पैसा पठाइदेऊ बा यो त्यो पठाइदेऊ । मैले कहिल्यै उनीहरूमा अभावको महसुस हुन दिइन, ऋण काटेर हुन्छ कि, जग्गा बेचेर हुन्छ कि अरुसित सापट मागेर हुन्छ कि । उनीहरूको खुसी नै मेरो खुसी, मेरो सम्पति उनीहरू कै सम्पति त हो नि भन्दै खर्च गरें । त्यस बेला कति खुसी थिए ?

श्रीमती । उफ् श्रीमती । जबसम्म म बलियो थिएँ, प्रशस्त कमाउन सक्थें, “मेरो राजा कस्तो छ हजुरलाई ? भरे के ज्युनार गर्ने इच्छा छ हजुरको ? के बनाएर राखौ ? कुन बेला आइसिन्छ हजुर ?” भन्थिन् । उफ् उफ् यो दुनियाँ ! सम्झेर सम्झिसाध्य छैन । आज म आधा हर नचल्ने भएको छु । उच्च रक्तचापले ग्रसित भएको छु । अनि उनले दुख पाउन थालिन् । म करकरे भएको छु । हिजै त हो फोनमा कोसित कुरा गर्दै थिइन् – “कता पो निस्कन पाउनु नि घरबाट ? करकरे बुढाले एक छिन दायाँ-बायाँ गर्न दिए पो ? कहिले के लेराइदे भन्छन, कहिले के खान भन्छन् भन्या । म त हैरान भैसकें । कति दिनको हो यो घिड्घिडो ?”

वाह वाह देखिस् भैरे तेरो दुनियाँ ? हिजो त मेरो छोरा मेरो श्रीमती भन्थिस् नि ! खोइ को छ दुखमा तेरो ?

कृष्णप्रसादले ठिक्कै भनेका थिए ‘”छोरा हुर्कायो बुहारीलाई, छोरी हुर्कायो ज्वाईलाई, मर्ने बेलामा कोही न कोही ।” हात खुट्टा चलुन्जेल र कमाउन सकुन्जेल मात्र हो । बुढो भएपछि आफ्नै शरीरको छालाले पनि हड्डीको साथ छोडिदिन्छ भन्छन !

फेरि किरणलाई बालसखा जीवलालको याद आउँछ । खोइ कता गएछ हँ कुन्नि । आज म मरेको खबर पाएको भए त बिचरा पक्कै रुँदै आउथ्यो होला घाटसम्म ! बिचरा जीवलाल ! नोकरी राजिनामा दियो, पेन्सन र संचयकोष झिक्यो छोरालाई विदेश पढ्न पठाउन । दोस्रो बर्ष घरजग्गा समेत बेच्यो डाक्टर पढ्दै गरेको छोरालाई फिस तिर्न भनेर । भन्थ्यो – “मेरो छोरो अमेरिकामा डाक्टर पढ्दै छ । केको दुख मलाई भोलि ? एउटै छोरो त हो नि उसकै हो सम्पति उसकै लागि बेचिदिए ।” छोरो डाक्टर त बनेछ । जब छोराले एक्कासि बिहेको निम्तो पठायो, जीवलालको आँखाबाट दुख र खुसीका मिश्रित आँशु झरेको थियो । मेरो अगाडि उसले छोराको बारेमा गुनासो गर्न् चाहेको थिएन । त्यो मैले बुझेको थिए । बिहे सकिएको अर्को हफ्ता नै छोराले, “बा यहाँ बाबुआमा बिहे गरेको छोरासित सँगै बस्ने चलन छैन । तपाईंहरू बसिदिनु भयो भने त क्रिस्टिनाले मलाई छोड पत्र दिन्छे । सकिन बा ! मलाई अप्ठ्यारोमा नपारिदिनुस्” भनेर हातमा टिकट थमाई फिर्ता पठाईदिए । खुब रोयो बिचरा मसित । भन्थ्यो – “बाबु आमाको मन छोरा-छोरीमाथि छोरा-छोरीको मन ढुंगा-मुढामाथि भन्थे हो रैछ ।”

आज जीवलाल ससुरालीले दिएको सानो टुक्रो जग्गामा जस्ताको एकतले छाप्रो हालेर बसेको छ । म मरेको थाहा पायो भने पक्कै आइपुग्छ ऊ । मलाई पनि उसलाई भेट्ने साह्रै इच्छा छ ।

कठै ती बुढी आमा ! तिनको पनि किन झझल्को आएको होला ? फेरि मेरो कोही त पर्दिनन तिनी ? तर म ती बुढी आमाको त्यो पिल्पिलाउदो अनुहार बिर्सन सक्दिन । बेला बेलामा याद आइरहन्छ । उनका ती पिडाहरूले मलाई घोचिरहन्छ । “हम व गाउँके बाख्रा भैंस चराउने वाला है । बचपन मे सादी हो गया । पढाई लेखाइ नहीं है मेरो । मे जवान ठी पतिका स्वर्गे हुवा । एक हि बेटा है मेरा । उसको ज्यामी मजदुरी कर के अंग्रेजी पढाया । वह यहाँ आया गोरीको सादी किया । मेरेको बुलाया लेकिन साथमें नही रखा । मैं बुढीको कोही काम नही देता ।” एउटी बुढी आमा न्युयोर्कको गुड्दै गरेको ट्रेनमा अर्को सहयात्रीलाई आफ्नो दुखेसो पोख्दै थिइन आँशु झार्दै ।

“दुसरौकी कोठे मे बैठी हु । किरायाका पैसा भी नहीं है मेरे पास । कोइका खोज्दिजिए मेरे लिए ।” उनीहरूको बार्ता चल्दै थियो । म मेरो स्टेसनमा ओर्लिएर बाटो लागें । ती बुढीको ब्यथा बेला बेलामा याद आइरहन्छ कस्ता कस्ता सन्तान ?

उफ् कहाँ हराउदै छ मानव समवेदनसीलता ! बाध्याताको बहानामा कर्तव्यबिमुख भैराखेको छ आजको पुर्खा । कति स्वार्थ लुटपुटी राखेको छ मानिसभित्र ।

किरण अरु अनुहार खोज्दै गयो केलाउदै गयो ! होइन त्यो त आउनु पार्ने हो घाटमा किन आएन ? खबर पाएन कि ? त्यो पनि एक चोटि त पक्कै रुन्छ होला । पक्कै मेरो हँसिलो फोटो राखेर मेरो समवेदना छाप्छ होला । मनको धनी छ त्यो । हुन त हर्के, बिर्षे, रिठ्ठेले पनि छाप्लान् ।

छोरोले खबर त पायो होला । कहाँ आइपुग्यो कुन्नि । नआउने पो हो कि ? त्यो खेत अब कसले हेर विचार गर्ला ? त्यति मिठो सुन्तला, भोगटे रोपेको फल्ने बेलामा आफूलाई जानुपर्यो । त्यो बगैचा पनि अब गाई-बस्तुले ध्वस्त पार्छन्, हेर्ने कोही छैन ।

अब सबैसित बिदा लिने समय आयो । बिदा हुने बेला भयो । खुब रुन मन लाग्यो आफू मरेकोमा । नफर्कने गरी जानु पर्ने, कस्तो नमज्जा लाग्दो रहेछ ।

किरण चिता माथिबाट दुनियाको अन्तिम दृश्य हेरिरहेको थियो । कृष्णहरिले मुखमाथि पराल राखिदिए । आँखाबाट भल बहाली आँशु बगिराखेको थियो चिताको आगो निभ्ला झैँ गरी । तर निभ्दैन । धुवाले किरण निस्सासिन्छ । स्वास फेर्न गार्हो भएर आउछ छटपटिन थाल्छ । । आगो ठुलो हुन्छ । खुट्टा चरचर बल्न थालेपछि अत्तालिएर किरण खुट्टा बजार्छ ।

उसको चितामाथि बजारिएको खुट्टा सँगै सुतेकी श्रीमतीको ढाडमा बज्रिन पुग्छ ।

“ऐया बाबा । उनी ओछ्यानबाट भुईंमा पुगिसकिछन् । यो बुढो बौलाए कि क्या हो ?”

किरण भर्खर टुटेको सपना सम्झेर खिसिक्क हास्छ । धत्तेरिका कस्तो सपना ? आफ्नो टाउकोदेखि खुट्टासम्म छाम्छ । शरीर तन्दुरुस्त थियो । सुतेको ठाउँ हेर्यो – ऊ ओछ्यान मै थियो । चिता थिएन त्यो ।

भित्ताको घडी हेर्छ । उठ्ने बेला भइसकेको रहेछ ।

श्रीमतीले झर्किदै सोधिन् -“के सपना देख्यौ त्यस्तो ?”

“म मरेको !” किरणले ठाडो जवाफ दियो ।

श्रीमतीको मुख देख्न लायक थियो । नमिठो अनुहार लगाउदै किरण लाग्यो दैनिक आफ्नो काम तिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *