Skip to content


म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ ।

म बसेको पालछेउ लेकको ओसिलो जङ्गलमा हिउँ परेको पर्‍यै थियो । दुईटा स्लिपिङ व्यागले पनि जाडो छेकेको होइन । हिजो राति परेको हिउँ अलि बाक्लै जमेको थियो । अलि तल जुनारको रुख भएको घमाइलो लेकमा भने रातिको बाक्लो हिउँ पग्लिसक्न लागेको थियो ।

हिमाल छेडेर बिस्तारै सूर्य उदाउँदा मेरा आँखा तिरमिराए । घामको मधुरो सुन्तला रङले म पनि रङ्गिए कि ? पहाड घुम्न निस्केका बेला प्रेमिकाको खुब याद आउँछ । डायरी खोलेर केही लेख्न बस्छु । त्यसबेला मैले लेखेको थिएँ-म प्रेममा परेको छु । एकाबिहानै मलाई चियाउने त्यो कलेजी सूर्य मेरो प्रेमको साक्षी हो । कतै म कविजस्तै विम्बहरूमा त बोलिरहेको छैन ? कतै पागलजस्तो अभिनय गरिरहेको वा बढी नै स्वच्छन्द बनिरहेको त छैन ?

त्यसो त एक महिनाअघि राति बास बसेको घरकी केटी साह्रै स्वभावकी थिई । सहरकी मेरी प्रेमिकालाई त्यसले बिर्साइदिएकी थिई । उसैले पकाएको भात खाइवरी दङ्ग परेको थिएँ । मोबाइलमा सेभ गरेको मेरी प्रेमिकाको फोटो हेर्दै बिस्तरा मिलाउँदा उसले भनेकी थिई-‘सर कति राम्री रहिछन् । तपाईंकी श्रीमती हो ?’ म अक्मकिएको थिएँ र केही पनि बोलेको थिइनँ । उसकी आमा चाहिँ लालटिनको मधुरो उज्यालोमा सिलाम केलाइरहेकी थिई । सानो भाइ ठूलो स्वरमा रोइरहेको थियो । त्यो केटीप्रति म यति आकषिर्त भएँ कि मेरी प्रेमिकालाई केही छिनका लागि बिर्सिसकेको थिएँ ।

म अबेरसम्म निदाउन सकिनँ । स्लिपिङ ब्यागभित्र चटपटाइरहेँ । त्यस केटीकी आमाले अघि भनेकी थिई, ‘अब सबै घरबाट एक-एक जना माओवादीमा जानुपर्ने रे । नत्र खोसेर लैजान्छन् रे । बेसी खेतमा धान रोप्दा चाउरेले सुनाएको ।’ गाउँभरिबाट २४/२५ जना तन्नेरी टिपिसकेका थिए तिनले । नमान्नेको घरमा राति आएर जर्बजस्ती लैजान्थे रे । मैले गाउँलेको आँखामा त्रास देखेको थिएँ । त्यस घरकी केटीको आँखामा झनै ठूलो डरको रङ मडारिइरहेको देखेँ । जसलाई पठाए पनि तीन दिनको म्याद दिएका थिए माओवादीले ।

बाबुआमा बूढा थिए । छोरा सानो कखरा सिक्ने उमेरको । मैले अन्दाज गरेँ, ‘माओवादीले यही केटीलाई लान्छन्, तानेर ।’ अघि भात खाने बेला केटीकी आमाले भनेको सुनेँ, ‘रमा अब के गर्ने त ? हामी बूढाबूढी माओवादीसँग वन जान सक्दैनौँ । भाइ सानै छ । तँ के गर्छेस् त ? नगए मार्लान् फेरि ।’ ऊ आफ्नी कलकलाउँदी छोरीलाई ‘जनयुद्ध’मा सरिक गराउन चाहन्छे । मनमनै लाग्यो, ‘कति निर्दयी आमा रहिछे ।’ त्यसबेला रमा सुक्कँ-सुक्कँ रोएको मैले सुनेँ । उसका आँसु आँखा हुँदै थालमा पुगेर अडिएका थिए । एक मन त लाग्यो, ‘यसलाई आजै टिपेर सहर भागुँ । यति राम्री कलकलाउँदी केटी माओवादीसँग गएर कलिला हातले कसरी बन्दुक समाउली ?’

त्यस रात छट्पटीमै बित्यो । स्लिपिङ ब्यागभित्र कोल्टे फेरिरहेँ । बिहानको कलिलो घाम स्लिपिङ व्यागभित्र पस्न खोज्दै थियो । रमा आइ र भनी-‘सर चिया लिनुस् ।’ उसलाई आँट गरेर बिस्तारै सोधेँ-‘तिमी जान्छ्यौ त माओवादीमा ?’ ‘जान मन छैन’, दबिएको स्वरमा उसले भनी, ‘तर, म गइनँ भने बूढा बुबालाई लैजान्छन् सैतानले ।’ उसको अनुहार फुङ्ग उडेको थियो । कुनै खाले चमक देखिनँ । बिस्तारै थाहा भयो, उसको बिहे भइसकेको रहेछ र श्रीमान् माओवादीको गोलीको निसाना भएको रहेछ । म छाँगाबाट खसेजस्तो भएँ । मन अमिलो भएर आयो । मेरो अघि सुन्दरी बिधवा उभिएकी छे मदमत्त बैंस लिएर । उसको श्रीमान् सेनाको जागिरे रहेछ र पाण्डुसेन बाजुरामा माओवादीसँगको भिडन्तमा मारिएछ । कल्कलाउँदो बैंस भएकी विधवा । बिहे भएको वर्ष दिनमै सिन्दुर पखालिएछ विचरीको । तर मलाई के भइरहेछ ? म यो केटीप्रति अलिकति पनि संवेदित भएको छैन । उसको रूपले तानिरहेछ । यो सबै घटना सुनेपछि त्यो केटीप्रतिको मेरो हिजो साँझ पलाएको प्रेम त्यसै हराएर गयो । मैले प्रेम गरेको रहेनछु । मात्र आकषिर्त भएछु, उसको बैंससँग ।

केही छिनमै बुट बजार्दै एक जना केटो आइपुग्यो । अनुहार कलिलै थियो । जुँगाका रेखी बस्न सुरु गर्दै थिए । मेरोबारे सामान्य सोधपुछपछि उसले रमाको बुबालाई सम्झाउन थाल्यो । ‘हामीले रमालाई मात्र लैजाने होइन, गाउँलेका हजारौंैं छोराछोरी उसकै साथ हुनेछन्,’ त्यो केटोले सम्झाएको थियो ।

‘म त एक्लै हुन्छु, ज्वाइँ मरेपछि ऊ यता आएर हाम्रो सहारा भएकी छे’, उनले भने, ‘मलाई चिन्ता छ छोरीको ।’

‘पीर नगर्नुस् बा,’ ऊ चर्किंदै भन्दै थियो, ‘ऊ लाखौँ जनताका लागि क्रान्तिमा उभिन्छे ।’ लाग्थ्यो, केटो भर्खरै कुनै ठूलो भनाउदो नेताको प्रशिक्षणबाट सीधै यता आएको थियो ।

म रमालाई हेर्छु । सपँ्रदै गरेका अवयवहरू । बिचरी अभागी रहिछे, सानैमा बिहे गरिदिएछन् । हुर्कंदै गरेकी तुलसीको बोटझैँ छे । उज्यालो अनुहार । केटो अझै सम्झाउँदै थियो, ‘जङ्गलमा ऊ एक्लै हुँदिन । गाउँका अरू पनि हुने छन् उसको साथमा ।’

‘तपाईंहरूले यी नानीहरूलाई बन्दुक चलाउन सिकाएर के गर्न्ा खोजेको ?’ बूढाले लामो सुस्केरा हाले ।

‘यो सबै क्रान्ति तपाईंहरूकै निम्ति हो बा’, उसले भनेको थियो, ‘तपाईंहरूसँग के छ ? न चैन, न सुख, सडक, न बिजुली न स्वास्थ्य सेवा । धनीमानी पेट दुखे पनि उपचार गराउन पिलेन चढेर विदेश पुग्छन् । हामी भने ठूलै रोग लागे पनि यही भीरपाखामै मर्नुपर्छ । हामी सबैको मुक्तिका लागि लागेका छौँ । हामी त यही कालो पहाडमा सधैं जिन्दगी घिसार्न अभिशप्त छौँ बा ।’

भोलि साँझतिर रमालाई लिन आउने र त्यसका लागि तयार भएर बस्नु भन्दै केटो उकालो लाग्यो । रमा ढोकाको आडै लागेर मलिन अनुहारमा भन्दै थिई, ‘म नगए तपाईंहरूलाई मार्छन् बा ।’

दुःखी बाबुछोरीको यो संवाद नसकिँदै म घरबाट निस्किनँ तयार भइसकेको थिएँ । मैले रमाको हात समाउँदै भने, ‘पीर नगर सबै ठीक हुन्छ ।’

त्यसदिन यता म रमाको घर गएको छैन । अहिले रमा के गर्दै होली ? वा हातमा बन्दुक लिएर कसैलाई मार्न उद्यत पो छे कि ?

म जुनार फुलेको फाँटमा आइपुगेको छु । तल बाटोतिर र्झदर्ै गरेको १०/११ वर्षको उज्यालो अनुहार भएको केटोले डोकोको भारी बिसाएर सोेध्यो, ‘जुनार खाने हो सर ?’ २० वटा जुनारको ६० रुपियाँ बतायो । ‘चालीसमा दिन्छौ’ भन्दा अनुहार बिर्गादै भन्यो, ‘हुन्न सर । यो जुनार बेचेर स्कुलको किताब किन्नु छ, फेरि किताब पनि त महँगो छ ।’

केटोको योजना सुनेर उसको उज्यालो अनुहार हेर्दै ७० रुपियाँ दिएर उकालो लागेँ ।

त्यसको तीन दिनपछि एउटा दोबाटोमा म अल्झिएँ । माथि डाँडातिर हेर्दै उभिइरहेका बेला एक जना केटो आइपुग्यो जसले मलाई ‘उल्टो बाटो गइरहेको’ सुझायो । मीठो बोली र उज्यालो अनुहार भएको केटो त्यही रहेछ जसले केही दिनअघि मलाई जुनार बेचेको थियो । मैले हत्तपत्त उसलाई सोधेँ, ‘किताब किन्यौ त ?’ ‘कहाँ किन्नु ? पैसा पुगेन । वनबाट दाउरा काटेर घर ल्याएको छु, तल बजार लगेर बेच्छु, अनि पक्का किताब किन्छु सर ।’ हिजो साँझ दाउरा बेच्न सहर पुगेको केटो आज बिहान घर फिरेको रहेछ । अनि भात खायौँ त ? उसले हिजो राति पनि नखाएको बताउँदै भन्यो, ‘छैन सर, भात खान घरै पुग्छु ।’ अनि खुरुरु तलतिर दौडियो । उसको घर पुग्न त्यहाँबाट एक घण्टाभन्दा बेसी लाग्थ्यो ।

बाटैमा पर्ने त्यही केटोको घरको आँगनमा एउटा लाश थियो र वरिपरि गाउँलेहरू । त्यही केटो पनि लाशमा घोप्टो परेर डाँको झिक्दै थियो । डाँको छोडर रुँदै गरेकी सायद केटोकी दिदी थिई । पछि थाहा लाग्यो, त्यो लाश उसकै बाबु भक्तबहादुरको रहेछ । भक्तबहादुरकी जहान दुर्गाको डाँको सबैभन्दा ठूलो थियो । वरपर जम्मा भएका छिमेकीहरूका आँखामा पनि आँसु बगिरहेको प्रस्टै देखिन्थ्यो ।

बिहान म ब्यूँझदा सुनिएको ठूलो आवाज बन्दुकबाट निस्किएको गोलीको रहेछ, जुन गोली भक्तबहादुरको छातीमै लागेको रहेछ । गाउँलेहरूले १० मिनेट माथिको उनको घर पुर्‍याएका रहेछन् ।

त्यस बिहान के भएको रहेछ भने, सधैँझैँ भक्तबहादुर घाँस-दाउरा गर्न जङ्गल हिँडेका रहेछन् । गाउँमा गस्ती गर्दै गरेको सेनाले केहीबेर सोधपुछ गरेपछि माओवादी भन्ने ठहर्‍याएर ठाउँको-ठाउँ गोली ठोकेका रहेछन् ।

काठमाडौँ हिँड्दै गरेको म त्यो घटनामा अल्झेर बस्ने मनस्थितिमा थिइनँ, हिँडिहालेँ ।

काठमाडौँ पनि कहाँ शान्त थियो र ? काठमाडौँको अन्धकारमा राति पड्केका गोलीका चर्का आवाजले मान्छेको निद्रा बिथोलिदिन्थ्यो । चिसो र कुहिरोले डम्म ढाकेको जस्तो भएको थियो । युद्धका विषेश खबरहरू सुनाइरहन्थे रेडियो । लाग्थ्यो, संसारकै विषेश समाचार भइरहेको थियो नेपाल । टेलिफोन खुब बज्थ्यो । उठाएर साध्य थिएन । भिडन्त भएको र प्रहरी मरेका रक्तमुच्छेल फोटोहरूले पत्रपत्रिका भरिएको हुन्थ्यो । म फेरि आफ्नै काममा लागेँ । एउटा राष्ट्रिय सञ्चार माध्यममा रिर्पोटिङ गर्थेँ म ।

रात सडकमा कफ्र्यु लाग्थ्यो । सबैको आँखामा आपत्तिको रन्को भरिएको थियो । सडकमा दिनहुँजसो हुने विरोधका जुलुसहरूले कोही न कोही घाइते जन्माइरहेको हुन्थ्यो ।

समय बित्दै गयो । एक दिन बिहानै सम्पादकले फोन गरेर भने, ‘तपाईं फेरि गाउँ गएर त्यहाँको स्थलगत रिर्पोटिङ गर्नुपर्‍यो ।’ खासमा पहिले रिर्पोटिङ गरिएका पात्रहरूकै जीवनको फ्लोअप गर्न उनी अह्राइरहेका थिए । त्यसै दिन साँझको बस समातेर म खोटाङ जान हिँडे । एक वर्षअघि खोटाङबाट काठमाडौँ पसेको म फेरि खोटाङ जाँदै थिएँ ।

खोटाङ ओर्लिएपछि बम र गोलीको एक खालको नमीठो गन्धले नाक पोलिरहृयो । अघिल्लो दिन राति बजारमा भिडन्त भएको रहेछ माओवादी र प्रहरीको । त्यो युद्धमा तीन सेना मारिएका रहेछन् । माओवादीले सदरमुकामको प्रहरी चौकीमा आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको रहेछ । त्यसको रिर्पोटिङपछि म गाउँतिर उक्लिने मुडमा थिएँ । बजारको एउटा होटलमा चिया खाँदै गर्दा एउटा केटोले नजिकै आएर सोध्यो, ‘सर सञ्चै हुनुहुन्छ ?’ मेरा नजरले उसलाई धेरैबेर गौढ गरेर हेरेपछि मात्र चिन्न सक्यो । त्यो केटो त्यही रहेछ, जसले एक वर्षअघि म खोटाङको गाउँमा घुमन्ते भएर डुल्दै गर्दा जुनार बेचेको थियो । र, उसको किताब किन्ने योजना मैले सुनेको थिएँ । त्यसको केही दिनपछि उसको बाबुलाई माओवादीले सुराकीको आरोपमा छातीमा गोली हानेर मारेको थियो । म काठमाडौँ हिँड्नेबेला बाबुको लाशमाथि घोप्टो परेर ऊ रोएको गाढा सम्झना मेरो मस्तिष्कमा ताजै भएर बसेको छ । त्यस घटनापछि म निकै दिन विक्षिप्त भएको थिएँ । म सहर पुगेपछि पनि यो उदास केटोको अनुहार निकै दिनसम्म आउँदै-जाँदै गरेको मलाई सम्झना छ । मैले हत्तपत्त नाम सोधेँ, ‘रामलाल सर’, उसले भनेको थियो । त्यो उज्यालो अनुहार मात्र मेरो दिमागमा आइरहेको छ । अहिले म उसको मलिन अनुहार नियालिरहेको छु । जहाँ अनेक दुःख, शोक र पीडाका धर्सा मडारिइरहेको अनुभव गर्न सक्छु ।

गाउँमा बुबा मरेपछि केटोको पढाइ छुटेछ र ऊ सदरमुकामको एउटा होटलमा भाँडा माझ्न आइपुगेछ । परिवारको एउटा सदस्यको मृत्युले कति छिन्नभिन्न हुँदोरहेछ परिवार ? यो द्वन्द्वले कहिल्यै ननिभ्ने घाउ दियो । एउटा डँढेलो सल्काएर गयो । उसलाई अरू केही पनि सोधिनँ । गाउँ जान उकालो लागेँ ।

लौ अचम्म हिजो राति पनि गाउँमा हिउँ परेछ । पहाडी बाटो छिचोल्दै गर्दा हिजो परेको हिउँ अलि बाक्लै जमेको थियो । भक्तबहादुरकी स्वास्नी दुर्गा घर्तीको घर मैले हेरिरहेको दुईतिरको हिउँको बीचमा थियो । बाटोको देब्रे किनारमा । रातोमाटोले लिपिएको घरका भित्ता चर्किएका थिए । अघिल्लो दिन परेको जमेको पानी छानाबाट बग्दै आएर गाह्रोमा धर्सो परिरहेको देखियो ।

एउटा मुर्दाशान्ति व्याप्त थियो घरवरिपरि । झ्यालढोकामा पुरानो मक्किँदै गरेको चाइनिज ताला झुण्ड्याइएको थियो । घरमा कोही पनि थिएन । मलाई दुर्गाको विषयमा फिचरिङ गर्नु थियो । जसले द्वन्द्वमा आफ्नो श्रीमान् गुमाएकी थिइन् ।

एकजना बूढो चुरोटको धूँवा उडाउँदै थिए । केही ठिटा ती बूढासँग गफ चुट्दै थिए । दुर्गालाई कतै पनि नदेखिएपछि उनीहरूलाई सोधेँ, ‘दुर्गा खोइ ?’ जवाफ दिन सबै तम्सिए-

-श्रीमान् बितेपछि अलि फरकजस्ती भएकी थिई । एकोहोरो हुन्थी । अनेक तकर्नामा हराइरहन्थी । उसको केही पनि कामको ठेगान थिएन ।

-बिचरी एक्ली छे । उसको छोरा बजारको होटलमा भाँडा माझ्छ । त्यतै गएकी होली ।

-घरमा कोही नभएपछि हामी नै हौँ उसलाई सहयोग गर्ने । हामीसँग पनि झगडा गरेर हैरान गर्थी । बजारतिर माग्दै होली ।

दुर्गाकी जेठी छोरी शारदाले पल्लो गाउँको एउटा माओवादी नेता छानेर बिहे गरिछे । बूढा यसो भन्दै थिए, ‘भएकी एउटी छोरी पनि पोइल गई, दुर्गा एक्लै भएकी छे ।’ राति रक्सी खाएर खुब चुट्छ अरे शारदालाई । ‘मेला गएर साँझ घर पस्दा कोसँग सुतेर आइस् भन्दै सधैं नितीखोजी गर्छ अरे, दुःख पाई विचरीले,’ बूढा भन्दै थिए, ‘लोग्ने सेनालाई झैं मारिदिन्छु भन्दै बर्बराउँछ रे बेलाबेला ।’

सुरु-सुरुमा त पोइल हिँडेकी छोरी पनि आमालाई फरिया, पटुका, पछ्यौरा ल्याइदिन्थी । आमालाई निकै माया गर्छे जस्ती थिई ।

अब त आउनै छोडी । बिचरी आमा दुर्गाको जीवनले कत्ति कष्ट भोगेछ ? धेरैपटक ऊ भोकै सुतेकी गाउँलेले थाहा पाएका रहेछन् । दुर्गा रातोदिन लोग्नेलाई सम्झिइरहन्थिन् । ‘यो मन कठै कहाँ हो कहाँ ? मलाई मारेर त्यहाँ पुर्‍याइदिने को होला ?’ गाउँलेहरूसँग उनी विलौना गर्थिन् । मनमा एउटा छिन्नभिन्न परिवारको विम्ब नाचिरहृयो । सोचेँ-परिवारको शक्ति पनि द्वन्द्वले गुम्ने रहेछ । दुई दिन गाउँमै बसेँ । गाउँमा घाउ उस्तै छ तर युद्धले यता न उता भएको परिवार यही दुर्गाको हो । विचरी दुर्गाले लोग्ने बाँचुञ्जेल पनि सुख पाइनँ, मरेपछि त झनै सुख भएन ।

पल्लो गाउँकी रमा के गर्दै होली ? माओवादीले जङ्गल लैजान मरिहत्ते गरेकी रमा कुन हालमा होली ? एक वर्षअघि घरमा जाँदा आँगनमा लुटुपुटु गर्दै कुचो लगाउँदै गरेकी रमा अहिले पनि त्यस्तै भेटिएली ? मेरी प्रेमिकालाई बिर्साउने रमाको मलिन अनुहारमा चमक फर्कियो होला ? यस्तै सोच्दै गाउँको चिया होटलमा चिया घुट्क्याइरहेँ । बल्लतल्ल साँझ पर्नै लाग्दा रमाको आँगन टेकियो । कुहिरो लागेकै थियो । बाटो हिलो र गज्याङगुजुङ । भर्खरै हिलो पखालेर लिपिएको आँगन सफा थियो । आँगनमै साग पखालिरहेकी थिइन् रमाकी आमा । सानो छोरा कराउँदै कापीमा केही लेख्दै थियो । मलाई देखेपछि झ्याम्मिदैँ मतिर आयो । आमा चाहिँले बस्नलाई चकटी राखिदिई । ‘रमा खोई त ?’, अरू हालखबर सोधेपछि रमाको बारेमा सोधेँ । निकैबेर सन्नाटा छायो । उसका आँखामा आँसु टम्म भरिएजस्तो लाग्दै थियो । चाहेर पनि शब्द निस्किन सकिरहेको थिएन । बिस्तारै बोली, ‘रमा त मरी अरे । जान्न भन्दै थिई, माओवादीले लिएर गएका थिए । बीचमा एकचोटि साह्रै थाकेर घर आएकी थिई । मैले हतियार चलाउन जानेकी छैन आमा भन्थी । खुब दुःख हुन्छ आमा भन्दै थिई । घरबाट गएको एक महिनापछि खबर आयो-राति सुतेकै ठाउँमा सेनाले गस्तीका बेला गोली चलाएछ । सात जनाको हूलमा ऊ पनि मरिछे । हामीले त लाश पनि पाएका होइनौँ ।’ यति भनिसक्दा उसका आँसु गाला हुँदै भुँइमा तप्प झरिसकेका थिए ।

म हिँड्न भनेर झटपट उठेँ । रमाले करेसाबारीमा रोपेका आरुका बोटमा फूल फुल्ने बेला भएको थियो । सायद अबका केही दिनमा त्यसमा फूल फुल्नेछन् र आरुको बास्ना घर तलैसम्म फैलिनेछ तर यता उसकी आमाको हाल ठीक छैन । मलाई लाग्यो-मान्छेको शक्ति भनेको उसको परिवार हो । जब त्यो नै रहँदैन, ऊ एक्लो र निरस हुन्छ ।

अगाडि रात ठिङ्ग उभिएको थियो । झमक्कै रात परिसक्दा म जङ्गलबीचमै थिएँ । हावाको सुसेली दिने आरुको फूलको रङ अहिले अँध्यारोले छोपिदै गइरहेको थियो ।

मधुपर्क २०६८ बैशाख

1 thought on “एउटा मौन समय”

  1. kunai kunai harafharu palpasa
    kunai kunai harafharu palpasa cafe sanga mi6n jastai: ma premma pareko 6u, junar fuleko thaunma aipugeko 6u etc, lekhle sirjana afai umarne ho aruko copy garne hoina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *