Skip to content


संसार अनौठो छ । मान्छेहरू अनौठा छन् । कसैलाई मायाको भोक छ । कसैलाई अनौठो सौख छ । मलाई माया गर्ने मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहीँ जीवनसँग जल्नेहरू पनि धेरै भेटें मैले ।

ला…. मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केही पनि थाहा छैन । तर मेरा मनबाट निस्किएका यी शब्दहरू यसै खेर जान्छन कि जस्तो लाग्छ । भोलि पर्सी डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ । “यसको असली मजा त यसैमा छ नि !” जस्तो पनि लाग्छ तर यी पानाहरू कति सिरक्षित रहलान भन्न सकिन्न ।

म दोधारमा छु ।

होइन, दुइटा धार भए पो दोधार त ! यहाँ त अनगिन्ती धारहरू अगाडि तेर्सिएका छन् अब कति धार भन्ने ? धार परिचयको, धार आत्मसम्मानको, धार मायाको, धार धोकाको, धार उदेश्यको, धार प्राप्तिको, धार सम्झनाको, धार कल्पनाको, धार जीवनका कति कति । अब त दोधार नभनेर चौधारभन्दा पनि नमिल्ने पो भएछ ।

सानो छदाँ ढुङ्गै ढुङ्गा भएको खोलाका बगर पुग्दा संसारको सबैभन्दा सुखको ठाउँमा पुगे जस्तो लाग्थ्यो । किन त्यस्तो लाग्थ्यो मालाई थाहा छैन तर मेरो स्मरण शक्तिले भ्याएसम्म मेरो जीवन बगर बाटनै सुरु भएको हो ।

मलाई याद भएको मेरो जीवनको पहिलो घटना, म मेरो बुवाको काँधमा बसेर खोला र बगर पार गर्दाको घटना ।

म कत्रो र कस्तो थिएँ सम्झन्न तर म आफुले होस्मा बाँचेको पहिलो जीवन त्यही हो जुन बगरमा सुरु भयो ।

आज त जीवन अर्कै छ । खुशी खोज्न पनि निकै टाढा जानुपर्छ जस्तो । हिजोका ती दिनहरू सम्झेर आनन्द लिनुको मज्जा पनि छुट्टै छ । तिनै सम्बन्धहरू आज आएर एकातिर थन्किएका छन् । नयाँ सम्बन्धहरू बने, टुक्रिए । फेरि बने अनि फेरि टुक्रिए कति कति ! केटाकेटी छदाँ चिउँडोमा बुढी औँला ठोकेर कट्टी गरी छ महिनासम्म नबोलेर, छ महिना पछि दुवैले एक अर्काको नामका अक्षरहरू पालै पालो उच्चारण गरेको भरमा सम्बन्ध फेरि जोडिए जस्तो यी सम्बन्धहरू जोडिंदा रहेनछन् । कति सम्बन्धहरू आफैँ प्रखाल भए, कति सम्बन्धहरूमा अरु कोही प्रखाल बनेर उभिए । त्यसो त पुल पनि भएहोलान कोही !

लेखन मिति: २ अप्रिल २००९, बिहीबार
काठमाडौँ, नेपाल
www.actorgopal.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *