अधिनायकतन्त्रको ‘प्रतीक’ बनेर जतासुकै छाउने हुरीहरू
अन्यायको प्रतिरोध गर्न रमाउने प्रतिनीधि पात्र सिसाका झ्यालहरू
बडो बेगले थर्काउँदैछ हुरी, सिसाको झ्याललाई
आफ्नो दादागिरीको लाहाछाप लगाउन चाहन्छ उ,
उता सिसाको झ्याल, मधुरो स्वरमा ‘कटकट’ को आवाज निकाल्दै विरोध जनाउँछ।
हुरीको सुसाइमा झिनो ‘कटकट’ कसले सुन्ने?
किन पर्वाह गर्ने?
हुरी त शक्तिवान छ।
एउटा ठूलो झोक्कामै त्यो झ्याललाई टूक्रा टूक्रामा परिणत गरिदिन सक्छ।
तर सिसाको झ्याल हार्दैन।
मधुरो स्वरमै किन नहोस, विरोध जनाउँदै ऊ कटकटाउन छोड्दैन।
उसको अनुभव पनि त कम छैन!
उसले पानीको भेल थेगेको छ।
बाहिरको बरफको चीसोको सामना गर्दै, भित्रको तातोमा बफाईएको छ।
घरका वासिन्दाको लागि सुरक्षाको कवच बनेको छ।
तर हुरी?
ऊ त एकछिन न आउने हो,
उसले सायद, सुखभन्दा दुःख नै धेरै दिएको होला।
तर पनि कति घमन्ड?
के को घमन्ड?
जो सुकैलाई सोध, उनीहरू हुरी बिनाकै जीवनको कल्पना गर्न चाहन्छन।
सिसाको झ्याल भित्र नै किन नहोस, सुरक्षित भएर वाँच्न चाहन्छन।
नीलो नभमा विमानले छाडेका सेता धर्कारुपी पदचिन्ह जस्तै
कल्पनाका धर्काहरू सजाउन चाहन्छन।
त्यसैले हुरीको जस्तै दम्भ देखाएर तर्साउन चाहनेहरू हो,
बुझ, त्यहाँ श्रध्दा हुँदैन
जान, त्यहाँ आदर हुँदैन
सम्झ, त्यहाँ स्नेह हुँदैन।
के अँझै पनि तिमीलाई ‘हुरी’ को पर्याय भएर बाँच्ने इच्छा छ?
कि सानै स्वर निकालेर भएपनि ‘अन्याय’ को विरोधमा कटकटाउने सिसाको झ्याल हुने रहर छ?
first published on: 2014-11-27 08:21:08 +0545