Skip to content


सुनसान अँध्यारो रात्री थियो । एउटा किशोर आफ्नो गनतव्यतिर हतार हतारमा गइरहेको थियो, कुनै नारी रोदनले ऊ अडियो, ‘यति राती को रहेछ ?’ उसले ध्यान दियो, ‘नाईँ छोडिदे, मलाई छोडिदे…’ आवाजलाई पछ्याउँदै किशोर त्यही नजिक पुग्यो, एउटा सानो कुटिया थियो, निष्पट्ट अँध्यारो, भित्रबाट आवाज आइरहेको थियो, ‘स्याँक्क स्याँक्क ……’ छामछुम गर्दै किशोर अँध्यारोभित्र प्रवेश गर्छ, ‘को हो ?’

‘तिमीपनि आयौं, आऊ तिमीपनि आफ्नो प्यास मेटाऊ । तिमीहरूकै पेवा हुँ, जसरी भोग गर्न मन लाग्छ गर…..’ निष्पट्ट अँध्यारोभित्र त्यो रोदनमय वातावरण विलाउँछ ।

विरानो त्यो ठाउँमा किशोर आफू सबै कुराबाट अनभिज्ञ रहेको बताउँछ, ‘तपाई जो भएपनि एउटी नारी हौं, एउटी जननी हौं, तिमीलाई पनि म आमा भन्छु, तिम्लाई भोग्न म आएको होइन, बाटोबाट जाँदै थिएँ, तिम्रो रोदन सुनेर आएको म यौटा यात्री हुँ ……’

‘यहाँ किन अँध्यारो छ ? खै, कतै उज्यालो छैन ?’ ती किशोरको जिज्ञासा थियो ।

‘उज्यालो छ तर उज्यालो बाल्ने छैन ।’

‘किन, सधैं अँध्यारोमा नै बस्छौं ?’

‘उज्यालोमा बस्ने रहर कसलाई नहोला ?’

‘उसो भए किन यहाँ अँध्यारोमा बस्छौं त?’

‘जो आमा आफ्नै सन्तानबाट बलात्कृत हुन्छे, उसलाई उज्यालोमा बस्न कसरी इच्छा लाग्ला….’

‘मतलब ?’

वेदनाको भेल बगेर आउँछ र आफूमाथि भएका हरेक आघातहरू बगाउँदै जान्छिन्, ‘….. मेरो पनि सुन्दर शान्त संसार थियो । सानो भए पनि स्वर्गीय आनन्दानुभूति त्यहाँ थियो तर…’

‘के तर?’ किशोरले जिज्ञासा व्यक्त गर्यो ।

‘तिमीलाई लाग्दो हो यहाँ म आफ्नो इच्छाले बसेकी हुँला, तर यो मेरो बाध्यता हो, यहाँ म कैद गरिएकी छु । पेवासरी मलाई भोग गर्न मलाई यहाँ कैद गरिएको छ । मेरो अस्तित्व मात्र मेटिएको छैन, मेरो सर्वस्व लुटिएको छ । मेरो वेदना सुन्न सक्छौं ?’ किशोरले जवाफ दिन नपाउँदै ती नारीको वेदनाको भेल बगिसक्यो । ‘आफ्नै सन्तानबाट म बलात्कृत भएकी छु, भन मेरो वेदना कति होला….’ वेदनाको भेल अविरल बग्दै गयो । उनको वेदनाको गहिराइ किशोरले मापन गर्न सकेन ।

उनको वेदनाको भेलसँगै किशोर बग्दै गयो, किशोर आफै घृणित महसुस गर्न थाल्यो…..

‘कसरी ती नारीलाई त्यो बन्धनबाट छुटाउने’ किशोर सोच्दै थियो, ती नारीले किशोरको मनोदशा प्रष्ट पारिदिइन्, ‘मलाई थाहा छ तिमी के सोच्दै छौं ? यो कैदबाट मलाई कसरी उम्काउने भन्ने कुरा नै तिमी सोच्दैछौ, हैन?’

किशोरको मौनताले त्यही कुरा बताउँथ्यो ।

‘नयाँ नयाँ छौ, मेरो स्वतन्त्रताको बारेमा सोच्दैछौ, तर त्यो व्यर्थ हुनेछ । कालान्तरमा तिमी नै मलाई पेवा ठान्नेछौं । मलाई भोग्नेछौं…….’ किशोर भने मौन थियो ।

‘किन मौन छौं, यो बुढी के के बक्दैछ सोच्दै छौ, तर, तर समयले तिमीलाई पनि भोगी नै बनाउनेछ । मेरो स्वतन्त्रताका लागि तिमीले मात्र सोचेका होइनौं, इतिहासका पाना पल्टाएर हेर, मेरो स्वतन्त्राका लागि कतिले बलिदान दिए, कतिले शहादत पाए, कतिले सपनाहरू देखाए तर म त्यही छु, त्यस्तै छु ।’ यथार्थको चित्रण दर्शाइन् ।

किशोर कुन्नि के सोच्दै थियो, ‘छिंडिभरको अन्धकारभित्र ऊ पनि विलाएको थियो, एकोहोरो ती नारी वार्तालाप गर्दै गइन्, किशोरले सुन्यो या सुनेन, ‘….फरक यति हो, हिजो कसैले भोग्दै थिए त आज कसैले, भोलि कसैले भोग्नेछ ….मेरो विडम्बना म आफ्नै सन्तानबाट ठगिएकी छु लुटिएकी छु……..’

किशोर मौन छ……

‘…..साँचो भनूँ, आफैलाई देखेर आफैलाई घृणा लाग्दैछ, मैले यस्ता सन्तानलाई जन्म दिएँछु । धिक्कार छ…’

ती नारीका शव्दले किशोरपनि लज्जित हुन्छ, बल्ल किशोरको भक्कानो फुट्छ । ‘कुनै दिन थियो, तिम्लाई हाम्प्रति गर्व हुन्थ्यो, तर कस्तो विडम्बना आज हामीरुकै कारण तिमी घृणित छौं । धिक्कार छ । यस्तो सन्तान भएर बाँच्नुभन्दा मर्नुमै जाति…’

किशोरप्रति सहानुभूति जनाउँदै ती नारीको कुरा अगाडि बढ्छ, ‘खोट मेरै गर्भमा थियो, आफ्नै सन्तानबाट बलात्कृत भएँ……..’ रोदनसाथ स्वर त्यो अँध्यारोमा विलाउँदै गयो ।

‘धिक्कार छ’ विरक्तताको भुमरीमा थियो किशोर । ‘त्यो पवित्र कोखमा खोट नलगाऊ आमा । तिम्रो कोखमा खोट छैन, खोट छ तिनको चरित्रमा, तिनको सोचमा, तिनको विचारमा……… त्यो पवित्र कोख खोटी हुनसक्दैन ।’

किशोरको मनमा प्रतिशोधको आगो जलिरहेको थियो । आफ्नै आमामाथि बलात्कार गर्न खाज्नेहरूको आलो रगतले मात्र आफ्नो क्रोध शान्त हुने उसले ठम्याइसकेको थियो, ‘पाखण्डी, ती पाखण्डीलाई म छोड्ने छैन आमा । तिमी माथि आइलाग्ने एक एकको खुन पिएर मात्र मेरो त्रोध शान्त हुनेछ ।’ ती पाखण्डीहरूको खुन पिएर ती नारीकोे आलो घाउ पुर्ने संकल्प गर्यो किशोरले ।

संकल्प त गर्यो किशोरले तर किशोरका लागि त्यो त्यति सजिलो थिएन । आफ्नो संकल्प पूरा गर्नका लागि किशोरले आफ्नै दाजुभाइको रगत बगाउनु पर्थ्याे ।

आफूलाई जन्माउने हुर्काउने आमाका लागि सन्तानले नसोचे पनि आमाको मनमा भने सदा सन्तानकै बास रहेको हुन्छ । हरेक पल उसले आफ्नो सन्तानको बारेमा मात्रै सोचेकी हुन्छे ।

किशोरको मनमा ज्वाला दन्किसकेको थियो, बिष्फोट हुन मात्र बाँकी थियो । ती नारीले नै किशोरको मनमा दन्किरहेको ज्वाला शान्त पार्ने कोसिस गरिन, ‘कसकसको खुन बगाउँछौ बाबु, आफ्नै दाजुभाइको या आफ्नै । जीउभरिका यी खत सहनसक्छु । तर तिमीहरूको खुन देख्न सक्दिन ।’

‘पाखण्डी, आमा, तिमीपनि तिनै पाखण्डीको पक्ष लिंदै छौं ? जसले तिमीलाई यो अवस्थामा पुर्याए, तिनकै साथ दिंदै छौं ?’

‘आमा हुँ ।’ ती नारीले यति मात्र भन्न सकिन् ।

‘इतिहासका हरेक सुनौला क्षणहरूमा तिमीमाथि छल भएको छ, हरेक क्षणको तिरो असुल्नु, बन्धक पारी तिम्लाई भोग गर्नेहरूको भोग मेटाउनु छ । यसका लागि मेरै रगत किन न बगाउनु परोस्, आमा मलाई पर्खी बस, म आउनेछु, उज्यालो ल्याएर, मलाई कुरेर बस…….

क्रोध सहित किशोर त्यहाँबाट प्रस्थान गर्छ…….।

(रचनाकालः२०६९ माघ १ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *