Skip to content

म उत्तर आधुनिक समाजवादी ‘गजु’

  • by


अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर पनि उत्तरआधुनिक समाजवादी हुन खोजेको होइन । यहाँ शब्द र अर्थका सागरमा रनभुल्ल परेर तमासा हेर्ने मन खोतल्न पनि म लागि परेको छैन । बरु व्यष्टिमा समष्टि र समष्टिमा व्यष्टि भर्ने सङ्घीय संरचनाको आधार लिएर उत्तरआधुनिक समाजवादी चिन्तनको जग निर्माण भएको स्पष्टोक्ति दिन लागि परेको हुँ । कुरो अब चुरो भएर आयो ! सङ्घमा बहुलता छ ! त्यो बहुलता व्यक्तिमा व्यष्टि छ र एकतामा समष्टि छ । परम्परागत केन्द्रहरूमा स्वतन्त्रता खोजेर म उत्तरआधुनिक भई टोपल्छु । अब मेसो सर्यो उत्तरबाट, कुराको गाँठो पर्यो दक्षिणबाट ! जे भए पनि म उत्तरआधुनिक समाजवादी! अब पढ्नुहोस् मेरो घोषणापत्र !

“अँ …, नक्कल पार्न र नक्कल गर्नमा फरक सिद्धान्त र धार छ । म उत्तरआधुनिक नक्कलमा आफ्नो अर्थ छैन भन्दै ‘गजु’ नाम जुराउँछु । यो नाम ‘गणतन्त्रको जुग’ बुझे पनि हुने र ‘गणतन्त्रको जुम्रो’ अनि … भने पनि हुने अर्थमा साटिन्छ । अर्थ भर्न र जोर्न जानेको भए म अहिलेसम्म ‘गजु’ भएर इतिहासमा गुम्सनुपर्ने थिएन । अर्थसँग खेल्न जानेको भए म उहिल्यै हिरो माथिको नायक र नायकमाथिको उपरनायक नै हुन्थेँ । अलिकति नायकको दम्भ भएर हो कि समाजवादको पहिरन भएपछि जता नाचे पनि हुने भएर हो म खलनायक उत्तरआधुनिक ‘गजु’ भने निर्धक्क आफ्नै चिन्तनमा रमाएको छु ।”

भनाइ मिलेन भनी टिप्पणी पनि हुनसक्छ । फटाहावृत्ति वाक्य मिलेन, शब्द मिलेन भनाइ मिलेनमा साटिन्छ । संसारमा नमिलेका कुरा धेरै छन् भने यो भाषा मिलाउनै पर्ने किन ? नक्कल पार्न नजाने पनि नक्कल गर्न भने साहित्य पढेर नै जानेको भन्दा हुन्छ । साहित्य चिन्तनमा बहेँलिँदा पहेँला पात झरेझैँ पहेँलिएका विचार मनबाट र्झदै गए । झरेका पातमा लेखिएको कुरो हो-हाम्रा आदि गुरुले थाहा नपाएरै भए पनि नक्कल नै साहित्यको धर्म हो भन्ने गाँठी कुरो बताएकै छन् । गुरुले नक्कल पार्ने अर्थ नबुझेर के भयो र ? चेलाहरूले राम्ररी बुझे त हुन्छ नै ! नक्कलको व्याख्याभित्र चेलाहरू घोरिए, चिन्तनको सभ्यता जन्म्यो । चिन्तनको सभ्यतामा गर्व गर्दै म उद्घोषण गर्छु- यो उत्तरआधुनिक समाजवादी चिन्तन सबैभन्दा पछिल्लो हो । यो चिन्तन नेपाली माटामा घुलित भएर ‘गजु’ का अर्थमा फैलिएको छ ।

चिन्तनका परम्परामा हुर्किएको मेरो मन समकालीन र उत्तरआधुनिक बन्ने सपनामा हिँड्दै गर्दा म झ्वाट्ट मनको कुरो खोल्छु । हो त! म उत्तरआधुनिक युगको मान्छे अनि मेरो उत्तरआधुनिक विचारका चिन्तन परम्परामा सक्कली दस्तावेज हो । यो दस्तावेज समयको माग हो अनि मेरो चिन्तनको अनुराग हो । व्यक्तिवादको खुकुलो किल्लामा समाजवादको केन्द्र खडा गर्ने मेरो चिन्तन के उत्तम दर्जामा आउँदैन त ?

म पढ्न र संश्लेषण गर्न भनेपछि सारै अल्छी छु । गैँडाको छालाजस्तो दिमागमा पनि चेतनाको चमक आएको पाउँदा म आफैँमा तीन छक्क छु । भगीरथझैँ उत्तरआधुनिक सोचमा डुबेकाहरू गोताखोर बनेर ढड्डु किताबका उत्पादकबाहेक के पो बने र ? म गोताखोर त परै जाओस् उत्तर भनेपछि हिमालतिर फर्की हेर्ने परेँ । अनि परीक्षा र उत्तर भन्नेबित्तिकै म खलखली पसिनामा भिज्छु । उत्तरका सन्दर्भमा एउटा गाँठी कुरो भने बताउनै पर्छ । उत्तरतिरको देशको चिन्तनसँग मेरो मोह बालकै कालदेखि बसेको हो । उत्तरको त्यस मोहमा कसरी आधुनिक बन्ने होला भन्ने सोच्दै थिएँ । एक दिन गैँडा छाले दिमागमा स्वात्तै उत्तरआधुनिक हुरी पस्यो । नेपाली माटामा मच्चिएको हुरीमा उत्तरको समाजवादी सोच र पश्चिमको व्यक्तिवादी प्रगति मिसाएपछि मेरो उत्तरआधुनिक बन्ने सपना पूरा भयो । अनि म गर्वसाथ भन्न सक्ने भएँ- म समाजवादी, नवमाक्र्सवादी उत्तरआधुनिक नेपाली ‘गजु’ ।

हँस र हजुरले जस पाएको गणतन्त्रमा जुम्ला हातले पाएको इज्जत र प्रतिष्ठा नै ठूलो छ । गणतन्त्रमा पनि सामन्ती संस्कार त यथावत् नै छ । पार्टीकेा झन्डा नओढी र नेताको आशीर्वाद नथापी गणतन्त्रमा पनि प्रगति हुँदैन । टोलको कुखुरो मरेको पुर्जीपत्र र सगरमाथाबाट जेट उडाएको फर्जीपत्रमा नेताको दस्तखत भएपछि गणतन्त्रको संस्थागत विकासमा कुनै बाधा छैन । म उत्तरआधुनिक व्यक्तिवादी डोरीमा मच्चिएकाले होला जागिरको बिदामा होस् कि लेखनको सिफारिसमा पार्टी र नेताको सहीछाप रुचाउँदिन । साथीहरू “बडो नवसिद्धान्तवादी भएर घमण्ड गर्छस्- नाकमा डोरी लाएको राँगाको भाउ नबुझ्दा दुःख पाउँछस्” भन्छन् । मलाई थाहा नै भएन खोल ओढेपछि त झोलको पछि लाए पनि टोलको बदनामी सहन परे पनि मोल भने उच्च नै हुन्छ । उच्च हुने द्वन्द्वात्मक सूत्र पनि सजिलो छ । ‘आँतको मार्गी घात गर्ने परको मार्गी बात गर्ने ?’ नीति लिएपछि नै प्रगतिको दौडमा कसैले भेट्न सक्दैन । तालुमा आलु फल्ने सामन्तकालीन समय विनिर्माण भएर म समाजवादी ‘गजु’ का अगाडि उत्तरआधुनिक झुन्डिएको छ । यो उत्तरआधुनिक गलगाँड हो कि फलगाँड भन्ने नबुझे पनि दुई चारवटा खुइले टाउकेको ओत लाएर अर्थ खोज्न भने म पछि पर्दिन । ‘गजु’ फलेको फुलेको नबुझ्नेले मेरो उत्तरआधुनिक अर्थ पनि पटक्कै बुझ्दैनन् ।

उत्तरआधुनिक चिन्तनको केन्द्र छैन भन्दै आफ्नो केन्द्र बनाउन र उन्मुक्त चिन्तनको पखेटा खुम्च्याएर बद्ध समूह जन्माउन न्वारनदेखिको बल निकालेर नै म आफ्नो प्रवृत्ति निर्माणमा सफल भएको हुँ । नयाँ शब्दको थिति भन्दै आफ्ना कृतिको बखान आरम्भ पनि आफ्नै काँधमा आइलाग्यो । अहिलेको युगको कुरो भए पनि के कसो हुन्थ्यो पहिलेदेखि नै ‘म नै ब्रहृम हुँ’ को परम्परा छ । अनि त म ढुक्कसाथ उत्तरआधुनिक समाजवादी जङ्गलको हर्ताकर्ता नै भएँ । यति भएपछि त हाँस्नै पर्यो नि । हाँस्नाको कारण र उत्तर एउटै छ- ‘किन हाँसिस् मङ्गले आफ्नै कर्मले !’

जरो र फेदको अर्थ नबुझेकाहरू मकैलाई चामल भनेर विचार उसिनिरहेका छन् । मकै र चामलको गुण एउटै छ- भोक मेटाउनु । मकै र चामल जे भने पनि मेरो एक मात्र उद्देश्य हो समाजवादी उत्तरआधुनिक व्याख्याता भएर जुगको मर्म खोतल्नु तर मेरो सन्दर्भ नै फरक भएको छ । बादसाहभन्दा एक्का ठूलो भएर मेरो युग लेखिएको छ । बादसाहका केन्द्रहरू भत्काउन एक्काको सत्ता बलियो भएको छ । वीर पूजाको अवशेष गणतन्त्रमा पनि कायम छ । म गणतन्त्रको वीरपूजामा व्यक्तिवादी भएर त्यहाँ समाजवाद हल्लाएको देख्छु । उत्तरआधुनिक फुटानी भनेर मेरो मिहिनेतको पसिना झोलमाँसको रउसे गन्थन बनाएपछि बङ्गारो नतातेर के तात्छ र ? दाँत तात्नु, आँत तात्नु, भात तात्नु र जात तान्नु … शब्द पाएपछि म उत्तरआधुनिक गजल लेख्छु ? मेरो प्रतिभाको तौल गर्नेहरूलाई के थाहा ? गजलमा ‘शृङ्गारिक भाव मात्र हुन्छ’ भनिदिन्छन् । यसो भन्नेहरू मेरो परखको व्याप्तिसँग परिचित छैनन् । म आफ्नै समालोचनाको पुस्तकमा समालोचक भएर गर्व गर्छु- म उत्तरआधुनिक लेखक, नवमाक्र्सवादी पण्डित, नारी समालोचनाको पारखी, संस्कृति र लोकसाहित्यको समालोचक, विनिर्माणको नेपाली प्रतिपादक हुँ । यतिका पखेटा फिँजाएको मजस्तो खाट्टी उत्तरआधुनिक समाजवादी चिन्तक कोही छ त ? त्यसैले म गर्वका साथ भन्छु- ”म उत्तरआधुनिक समाजवादी गजु ।”

मेरो सफलताको अर्काे पनि सूत्र छ । म आफ्नो लेखन जति राम्रो अरू कसैको पनि देख्दिन । यो कुनै फोबिया होइन नि ! अरू त के कुरा ? यसभन्दा अगि यो विषय नै थिएन भन्दै  उत्तरआधुनिक पण्डितहरूलाई ठेगान लगाउने मेरो कलमको गुणगान आफैँले गाउनै पर्छ । ‘यो कार्य पहिलोमा पनि पहिलो भनी आफ्नो कार्यको आफैँ विज्ञापन मूल्याङ्कन गर्नु मेरो शैली कम रोचक छ त ? अनि मेरो सिद्धान्तमा अर्काे पक्ष पनि छ – ‘अहिले कसैले पनि पढ्दैनन् !’ यो मेरो थेगो नै हो । यो थेगो बनाउन नजानेको भए म पढैया कसरी नै हुन्थेँ र ? म इन्साइक्लोपेडियाको किरो नै थिएँ । पछि साइबरभित्र छिरेर बिजुली पुस्तकालयका हरफहरू हेर्ने भएँ । पुस्तकका नाम त रट्नै पर्ने गाँठे ! नत्र त कहाँ विद्वता रहन्थ्यो त ? यो सबै सिद्धान्तको ख्वात्तै रस लिने मेरो मगज बुज्रुकहरूका कोटिमा पर्दैन त ? कुरै नबुझी ‘लालबुझक्कड’ भनेर हँसीमजाक गर्छन् । तथ्य त यही हो लाल हुनेहरूको हालत खराब छ, बुझक्कड हुनेहरूको जीवन उर्वर छ ! म यत्ति पनि नबुझ्ने विश्वविद्यालयको बौद्धिक हुँ र ?

मेरा लेखनमा ‘रति माफिया’ भन्नेहरू पनि छन् । ताजमहलमा चुलिएको प्रेमको सौन्दर्य दाम्पत्य जीवनमा परिहाल्छ । सङ्गनिी भनेको बच्चा उत्पादन, खाने खेल्ने मात्र त होइन नि ! आफ्नो सिद्धान्तका हरफहरफमा पढ्न पाइने नाम पनि हो । परिवारवाद, फरियावाद भनेर उत्तरआधुनिक समाजवाद नबुझ्नेहरू त मेरा लागि झिँगा नै हुन् । झिँगालाई समाजवादमा स्थान त छैन तर झिँगाको उपस्थिति हटाउन पनि सकिएको छैन ।

यन्त्रसँग बुद्धि साट्न जानेको मान्छेले नै आज यान्त्रिक लीला रचेको छ । यो यान्त्रिक लीलामा लेखिएको साहित्य उत्तरआधुनिक हो भन्ने नबुझ्ने पनि छन् । मेरो यान्त्रिक लीलामा मच्चिँदै बहस गरेको पाएँ- ‘मान्छेले यन्त्रसँग बुद्धि साट्न जानेको युगयुगदेखि नै हो । गुफामा ढुङ्गो ताछ्न होस् वा धनुमा काँण मिलाउन अनि समयमा बम जडान गर्न मान्छे यन्त्रसँग खेलेको छ । ढुङ्गो ताछ्ने सभ्यता नै आजको मिसायलको जरो हो । मान्छे आदिसभ्यतादेखि नै श्रम र पसिनासँग साटिएको छ । यन्त्र र शस्त्र, अस्त्र र मन्त्रविनाको मानव समाज कहालीलाग्दो पशुशाला मात्रै त रहन्थ्यो र हुन्थ्यो ।” बहसलाई मतिर हुत्ताएर च्वास्स घोच्ने गरी बोल्छन्- “यो उत्तरआधुनिक यन्त्र लीला के त ?”

म आफ्नो यन्त्रलीलामा विश्वस्त छु । पहिले जन्मने ढुङ्गामा खेल्यो रामापिथेकसको सन्तान भएर, पछि जन्मने बिजुली यन्त्रमा खेलेको छ- होमोसेपियन्सको सन्तान भएर ! यन्त्रको गुणगान नै अर्काे अर्थमा मानव सभ्यता हो । म यो मानव सभ्यताको विनिर्माण गरी नयाँ नेपालसँगै निर्मित भएको चिन्तक हुँ । मेरो चिन्तनको रस पक्कै पनि चोपिलो हुनेछ । मैले आजका यन्त्रसँग आफ्नो चिन्तनको बखान गरिन भने यसका लागि अर्काे व्यक्ति जन्मने छैन । आफ्नो चिन्तन फुलाउन, फैलाउन म चियामा फिटिन परे पनि रक्सीमा साटिन परे पनि पछि पर्दिन् । अनि त म पनि गर्वसाथ भन्ने हुनेछु – म उत्तरआधुनिक यन्त्र लीलाको समाजवादी ‘गजु’ हुँ ।

मेरा सिद्धान्तमाथि पनि वर्तमानको आक्रमण छ । भत्ता र सत्तामा मैमत्तहरूले नै सङ्घर्षको जरो काट्छन् । उनीहरू सत्ताको तर खान्छन् र अरूको पसिना दर ठान्छन् । यो प्रवृत्ति मेरा सिद्धान्तमा पनि घुसेको छ । विनामोलतोल झोलमा रमाएकाहरू खोल ओढेर फेद काट्न थाल्छन् । स्वार्थी बखतेहरू तलुवा चाट्न होस् वा बालुवा निचोर्न पछि पर्दैनन् । आजको प्रगति र मान्यता यही हो । समय बुझेर रङ फेर्न र बोलीमा रङ चढाउन ढङ्ग भयो भने प्रगति पातपातमा खस्छ । वर्तमान उत्तरआधुनिक गणतान्त्रिक सङ्घीय समाजवादमा रमाएका बेला समयको बोली नबोले कसरी नयाँ सिद्धान्त बन्छ त ? उत्तरआधुनिक चिन्तनमा पनि ईर्ष्या, घात, प्रहारको खेती बढेकामा दुःख लागे पनि उत्तरआधुनिक समाजवादी मार्गको म एक मात्र दार्शनिक भएकाले अलमलमा पर्ने कुनै कुरो छैन ।

अहिले म उत्तरआधुनिक ढाँचाभित्र जीवन पढ्दै छु । के थाहा कम्प्युटरले युग रचेको ती झोलका चोक्टाहरूलाई ! के थाहा साइबरभित्र विश्वग्राम भएको नबुझ्ने केन्द्रवादीहरूलाई ! म उत्तरआधुनिक समाजवादी ‘गजु’ गर्व गर्छु- धन्य, हो ! समकालीन विषय नै रोजिएछ । अङ्ग्रेजी औपचारिक नपढेर के भयो र ? अङ्ग्रेजी पढेका र पचाएकाहरूको उत्तरआधुनिक रवाफ दस गुना बढी भएर पो के भयो र ? नौलो चिन्तन उनीहरूका टाउकामा फुर्दै फुरेन ।

अङ्ग्रेजीका पाँचवटा शब्द पढ्न दसपटक शब्दकोश पल्टाउने भए पनि मेरा दिमागमा नै नयाँ सिद्धान्त मौलायो । म गफ गर्ने किताब जोड्न र पाठ्यपुस्तक कोरल्न पोथी कुखुरी नै हुँ । उत्तरआधुनिक जरो समातेर समाजवादी सिद्धान्तका खोकाइमा मभन्दा भरपर्दाे अरू को पो छ र ? प्लेटोको चेलो अरिस्टोटल, अरिस्टोटलको चेलो … मा विनिर्माण भएर उत्तरआधुनिक समाजवादी नयाँ चिन्तनबाट हेर्दा म नेपाली गजुको चेलो प्लेटो हुने युग रच्दै म घोषणा गर्छु- विश्वमा नेपाल चिनाउने सगरमाथा मात्र छैन । म एक्काइसौँ शताब्दीको जनवादमार्गी, उत्तरआधुनिक समाजवादी ‘गजु’ पनि हँु । मेरो यो सिद्धान्त विश्वमा नेपाली योगदान भएर कसो नचिनिएला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *