Skip to content


केही वर्ष पहिलेसम दुर्लभ नेपाली महाकाव्यविधालाई आज युवापुस्ताले उर्वर बनाउँदैछन् । काव्य स्रष्टा कलानिधि दाहालद्वारा लिखित ‘विभाजित विश्व’ महाकाव्य नै यसको उदाहरण हो । विचार, धर्म, जात-जाति, संस्कार र खानपानको संकीर्णताभन्दा माथि उठेर ‘विभाजित विश्व’ बीचको विभेद खाडल सम्याउने समदर्शी सोचलिएर पहिलोपटक काव्यकारको रूपमा कलानिधि उदाएका छन् । नेपाली महाकाव्यको दुर्लभ पृष्ठभूमिमा यो आगमनलाई शुभ सङ्केतको रूपमा मान्न कर लाग्छ । परम्परागत मनोगतमा आश्रति विभेदपूर्ण वर्गीय मानव विकासप्रति विश्वास नराखी सबै मानव समान देख्ने काव्यकारले समदर्शितामा मात्र सांसारिक न्याय र सन्तुलन गर्दै सन्तुष्टिको विशालतालाई यसरी उद्धृत गरेका छन् ।

सबै उस्तै सधैँ उस्तै सारा उस्तै समग्र यो ।
हेर्नसक्ने भए भित्री आँखा उस्तै अनन्त यो ।।

महाकाव्य वास्तवमा विराट जीवन र जगत्को बृहत् यात्रा, विस्तृत व्याख्या एवं समस्त चराचर जगत्को पुनरावलोकन समष्टि पनि हो । यिनै विषयवस्तु, पात्रहरूको उपस्थिति तथा जीवनदर्शनको दृष्टिमा प्रस्तुत महाकाव्यको यथोचित भूमिका रहेको छ । जीवनजगत्को स्वतन्त्र पर्यवेक्षण गाउँबाट सुरु भई लोक-परलोकसम्म फैलिएको

छ । एउटै अनुष्टुप छन्दमा २९ विश्राम, १५४३ सङ्ख्यात्मक गुच्छ र ३०८६ श्लोकमा महाकाव्य फैलिएको छ । प्रयोगशील भाषाशैली, बिम्ब प्रतीकयुक्त संरचनाले महाकाव्यको लेखनविधिलाई अनुशरण गरेको छ । सामाजिक सुधार र न्यायको नाममा हुने अन्याय, मुक्तिको नाममा थोपरिने बन्धन, धर्मका नाममा लगाइने चन्दन, सभ्यताका नाममा देखाइने असभ्यता र समग्र मानवका रूपमा गरिने दानवीयताको ठाडो भत्र्सना गर्दै उपेक्षित वर्गको दह्रो वकालत गरेका छन् काव्यकारले । यसर्थ सफल, सार्थक, समुन्नत र स्वच्छ विश्वको कामना देख्नेदेखाउने समदर्शि भावनात्मक शिक्षा नै यस महाकाव्यको वास्तविक सन्देश हो ।

यस महाकाव्यलाई पूर्वीय तथा पाश्चात्य महाकाव्य सिद्धान्तको आधारमा पूर्व महाकाव्य कृतिको रूपमा विवेचना गर्न सकिन्छ । विचार, छलफल, चिन्तन र प्रयोगविधिको स्वानुकूलतामा रचित, विभाजित विश्व, महाकाव्यको भाषाशैली अनुकूल छ । धीरदत्तवादी पुरुषपात्र र मुग्धा स्त्रीको तालमेलसहित पतिपत्नी रुपाको स्थान महाकाव्यमा शून्य छ । मूल पात्र म र हेमालाई प्रेम-प्रेमिकाको प्रतीक बनाएर मनोलोक-स्वप्नाचोक यात्रा गर्दा प्रेमपूर्वक सम्झिएका केही अनुहार मात्र पात्रमा गणना हुनु र आवश्यक सामग्री विधि अपूर्णताले अलिनो पन खड्किएको छ । तथापि उत्तरआधुनिकताले प्रभाव पारेको समालोचकीय लहर नेपाली काव्य फाँटमा झाङ्गदिै छ । यस परिवेशमा आधुनिक महाकाव्यका सिद्धान्त, भाषा, कथावस्तु, परिवेश, संरचना, पात्र, भूमिकाको सिलसिलेवार अध्ययन, तालमेलको उज्यालो पक्षले काव्यभित्रका झिनामसिना अभाव कमजोरीलाई ओझेल पारेको छ ।

विधाः विभाजित विश्व (महाकाव्य)
महाकाव्यकारः कलानिधि दाहाल
प्रकाशकः सगरमाथा वाङ्मय प्रतिष्ठान, काठमाडौँ
संस्करणः प्रथम, २०६६ साल
पृष्ठ ः १९७ ं ५५
मूल्यः रु. २००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *