माघ मासमा बाबाले
स्वास्थानीको व्रत कथा पढेर सुनाए जसरी
गुरुले भेक्टर,इलेक्ट्रोसिटी र फोर्स पढाउँदै
६ महिनामा १२ वटा पुस्तक रटाउनु भयो ।
न्युटनको ल ले लिफ्ट चड्न सकिएको हो भन्ने कुरा सम्झाउँदै,
तापले वस्तुको लम्बाई बढ्छ भन्ने कुरा रटाउनु भयो ।
व्यापार व्यवसाय गर्दा नाफा घाटामा ख्याल दिनुपर्छ भन्दै हिसाब सिकाउनु भयो।
विद्वान् गुरुले हिसाब सिकाउँदै गर्दा,
मैले मेरो भगवानरूपी बाबाले
प्रदेशमा चर्को घाममा पोख्नुभएको
पसिनाको मूल्य निकाल्न खोज्दै गर्दा,
मूल्य निक्लिएन ।
अनि दिनरात ज्वालामुखीझैँ बल्ने
चुलोको तापमा उभिएर
किचेनमा काम गर्ने
मेरी जन्मदातालाई सोधेँ;
आमा तापले त वस्तुको लम्बाई बढाउँछ रे नि,
तपाईंको लम्बाई कति बढायो यो चुलोको तापले?
जवाफ पाइन बस् मौनता मात्र पाए।
संघर्षको गुरु मेरो पिताको
पसिनाको मूल्य पत्ता लाउन सकिन मैले,
जुन जस्ती मेरी माताको,
लम्बाइ बढ्यो कि इज्जत
त्यो पनि पत्ता लगाउन सकिन मैले।
केही कुरा पत्ता लाउन नसक्ने मैले,
आफुले आफुलाई असफल व्यक्ती सम्झिए,
तर असफल म थिइन,
असफल त मैले प्राप्त गरेको पढाइ रहेछ।
यो देशको शिक्षा प्रणालीले मलाइ दियो त बस्,
परिक्षामा ए+ ल्याएर सान देखाउनु पर्छ भन्ने ज्ञान।
तर यो जीवनले मलाई सिकायो त
बस्,
पढेर भन्दा परेर धेरै कुरा सिकिन्छ भन्ने ज्ञान !