Skip to content


प्रिय मित्र

सप्रेम सम्झना !

यहाँ म र मसँग सम्बन्धित सबै कुराहरू ठीकठाक छन् । त्यहाँ तपाईं र तपाईंसँग गाँसिएका कुराहरू पनि ठीकै छन् भन्ठान्छु । चिठ्ठी नलेखीकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनका उकालीओरालीका अनुभवहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेको छु ।

लगभग सात वर्ष पछि सम्झनाका ती समयहरूलाई लिपिबद्ध गर्दै छु । म तपाईंसँग हिजो थिएँ, सायद भोलि हुनेछु तर आज छैन । मलाई लागिरहेछ- वर्तमान निष्ठुर भयो र मसँग तपाईंलाई छुटायो । एकै ठाउँमा सधैँ सधैँ बस्न नमिल्ने रहेछ । एक्लाएक्लै हुँदा एउटै कोठामा बसियो, एउटै ओछ्यानमा सुतियो र एउटै भाँडाको खाना खाइयो । मेरा भाइबहिनी थपिँदा तपाईंको पनि भाइ थपियो । भिन्नाभिन्नै डेरा नलिइकन धरै पाइएन । त्यसमा पनि शिक्षकको जागिर । एक्लाएक्लै बस्नैपर्ने अवस्था पनि आएकै हो । टिउशन नपढाए धर नपाइने, गौँडागौँडामा डेरा लिएर नबसे स्कुलले स्पष्टिकरण सोध्ने । त्यस बेला बोर्डिङ्गका शिक्षकहरूले सारै चर्को मूल्य चुकाउनुपथ्र्यो ।

प्रिय मित्र ! मलाईझैँ तपाईंलाई पनि सम्झना नै हुनुपर्छ । विर्सनु नै भएको भए एउटा लामो लहरो तान्दै छु । यसमा कोको आए, कोको कहाँ गए, विचार गर्दै गर्नुहोला । पत्रको अन्तिमतिर पुग्दा नपुग्दै एउटा सानोतिनो इतिहास बन्ला भन्ठान्छु ।

बाह्र बजेको खरो घाम, चुइँकिने साइकलमा चढेका छन् दुई जना । उत्तरतिर हाँकिँदा छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छ- बाई, बाई सर….बाई………..। आफूले पनि नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्- बाई, बाई स्टुडन्टस्…….बाई…….।

दुबै बोर्डिङ्गका शिक्षकहरू हुन् । दुवैमा युवा जोस छ, नयाँ रगत दगुरिरहेको छ तर नयाँ सोच उम्रन सकिरहेको छैन । दुबै आफू तालिम अप्राप्त काँचा, कलिला शिक्षक मानिन तयार छन् । तर उनीहरूका प्रिन्सिपल भने शिक्षकलाई शिक्षकका रूपमा हैन, एक रेलका यात्रुकारूपमा सम्झन्छन् । स्कुललाई रेल्वे स्टेशन सम्झन्छन् । यात्री त रेल्वे स्टेशनमा कत्ति आउँछन् र जान्छन्, यस्तो क्रम निरन्तर चलिरहेकै हुन्छ । जसले थोरै तलव स्विकार्यो र गोरु जोताइ जोतियो ऊ टिकाउ सर भयो । तर जसले यथोचित पारिश्रमिक लिएर श्रम बेच्न खोज्यो, उसका लागि छोटोभन्दा छोटो समय प्राप्त हुने भयो । उनीहरूका बीचमा यस्तै यस्तै कुरा हुन्थे ।

प्रिय मित्र, म लहरो तान्दै छु । हिजो उम्रेर, हिजै ढाकिएको लहरो तान्दै छु । आज समेत त्यसले शैक्षिक क्षेत्रलाई हल्लाउन सक्छ । हुन पनि हो, हिजोको लहरो नतानीकन आजको लहरो झ्याङ्गिने वातावरण तयार पार्न सकिन्न । मलाई त पूरापूरी थाहा छ- भोलिको शैक्षिक धरातलको पूर्वानुमान गर्न पनि वर्तमानमा विगतलाई राम्ररी केलाउनु जरुरी छ ।

हजुर, म धेरै ठाउँमा बहकिन सक्छु । त्यो त्यस्तै कुरा हो । अहिले भने म दुई जना साइकल चुइक्याउने शिक्षकका कुरा गर्दै थिएँ । तिनीहरूकै स्वरूपको, चरित्रको संक्षिप्त चर्चामा शब्द खर्च गर्दै छु ।

साइकलको पछिल्तिर बस्ने गहुँगोरो थियो, सिकुटे थियो, फुँङ्ग उडेको मुहार थियो । जे बोल्थ्यो त्यो गथ्र्यो । जे गथ्र्याे त्यो बोल्थ्यो । हण्डर खान जानेको थियो । पीडा भोग्नेलाई नै सुखको आनन्दानुभूति प्राप्त हुने कुरामा ऊ विश्वस्त थियो । विद्यार्थीमाझ ऊ ‘पातर सर’का नामले चिनिन्थ्यो । अर्को साइकल चालक सरचाहिँ खरो अङ्ग्रेजी बोल्थे । सेतो भेष्ट लगाउँथे । मंगोलियन आकृतिका रातोपीरो मुहारका थिए । थोरै बोल्ने र धेरै काम गर्ने उनको विशेषता थियो । सैनिकले आफ्नो जीवनमा आमाबाबु पनि नभनी कर्तव्य निर्वाह गरेझैँ उनी पनि त्यस्तै कर्तव्य निर्वाहमा कटिबद्ध थिए । पढ्ने बेलामा पढेनन् भने, दुईतीन पटक राम्ररी सम्झाउँदा पनि पढाइमा रूचि देखाएनन् भने, उनलाई छक्याउने काम गरे भने ती विद्यार्थीहरूले उनको कडा दृष्टिभित्र फँस्नै पथ्र्यो । उनीहरूले नैतिकरूपमा गिर्नै पथ्र्यो । शारीरिक पीडाले नभए पनि मानसिक पीडाले रन्थनिनु पथ्र्यो । आँखाभरि आँसु पार्नै पथ्र्यो । हायलकायल हुनै पथ्र्यो । त्यसैले विद्यार्थीहरूले उनको नाम ‘कडगर सर’ राखेका थिए ।

पातर र कडगर दुबै सरको गाढा मित्रता थियो । तिनीहरूको एक मन थियो, शरीरमात्र दुई । सोच एक थियो, मस्तिष्क मात्र दुई । पेट एक थियो, मुख मात्र दुई । यसरी दुईभित्र एक भएर बाँचेका ती दुबै प्राणीको बोर्डिङ्ग स्कूले शिक्षण क्षेत्रमा नाम थियो ।

राजदेवी मन्दिरमा घण्टहरू बज्न सुरु हुनासाथ पातर सर जुरुक्क उठेर दैनिक कार्य गरी स्कूलका लागि तयार हुन्थ्यो । सडकमा उभिन्थ्यो र कडगर सरलाई कुथ्र्यो । घरिघरि भुक्के घडी हेथ्र्यो । प्रार्थनाको समय ढिलो हुन लाग्यो भन्दै हतारिन्थ्यो । कडगर सर साइकल चुँइक्याउँदै आइपुग्थे । “बुढियाले मुराईतरकारी नखाइकन आउनै दिइनँ, ढिलो गर्दिई ।”, उनी स्पष्टिकरण दिन्थे । त्यस बेला उनी मलेठ गाउँमा बस्थे । उनका कुरा सुनेर पातर भने मुख मिठ्याउँथ्यो । कारण मुराईतरकारी उसलाई पनि मन पथ्र्यो ।

साइकलको पछिल्तिर पातर सर बस्थ्यो । फेरि साइकल चुँइकिन थाल्थ्यो । बाटाभरि फेरि विद्यार्थीहरूकै लावालस्कर भेटिन्थ्यो । गुड मोर्निङ्ग सर…… गुड मोर्निङ्ग सर……, स्वर गुन्जिरहन्थ्यो । हरेक विद्यार्थीलाई अभिवादन फर्काउनु सम्भवै थिएन । केही विद्यार्थीहरूलाई भने गुड मोर्निङ्ग स्टुडन्टस्….. गुड मोर्निङ्ग ….. भन्दिन्थे । केहीलाई भने टाउको हल्लाएर नै अभिवादन स्विकार गरेको जनाउ दिन्थे ।

नयाँ शैक्षिक सत्र सुरु हुनासाथ प्रिन्सिपल राम्रा शिक्षकका नजिक नजिक हुन्थे । उसलाई रिझाउनलाई हरसम्भव प्रयत्नमा रहन्थे । कडगर सर सबैका आँखाका नानी भइसकेका थिए । हुन त स्कूल प्रवेश गर्नेहरूको सुविधा मासिक नौ सयदेखि पन्ध्र सयसम्म थियो । राजविराज सहरमा एक जना मान्छेलाई सामान्यरूपले बाँच्न कम्तिमा मासिक तेह्र सय लाग्थ्यो । त्यो समयको कुरा हो । कडगर सरको कडा विचार देखेर नै उनको तलव मासिक सोह्र सय तोकिएको थियो । उनको यस लोकप्रियतामा डाहा गर्ने अन्य पुराना शिक्षक मित्रहरूको कमी थिएन । “कडगर चौधरी टिचर जकाँ नहि लागैत अछि मुदा निक टिचर अछि ।” (कडगर चौधरी शिक्षकजस्तो लाग्नुहुन्न तर असल शिक्षक हुनुहुन्छ ।) अभिभावहरूको आवाज सुनिन्थ्यो ।

उनी बोर्डिङ्ग स्कूलका शिक्षक मात्र नभएर महेन्द्र विन्देश्वरी क्याम्पसमा पढ्ने विद्यार्थी पनि थिए । क्याम्पसको कक्षा छुटाउनु आफ्नो धर्म विपरीत ठान्थे । सारा अङ्ग्रेजी विभागमै उनको नाम थियो । त्यहाँ भने उनको नाम ‘मिष्टर एभिट’ थियो । सायद उनी होचो कदका र आफ्ना कुराहरू निर्धक्क राख्ने भएकाले ठट्यौलो पाराको नाम रोजिएको हुनसक्छ । शेक्सपियरका नाटक वा नाट्यकारिताका कुरा हुन् या ‘अ कम्पेनियन टु लिटेरेचर’का कुरा हुन्, उनका जिज्ञासा कडा खालका हुन्थे । जवाफ दिन नसकेर उनलाई पढाउने कतिपय शिक्षकहरू कहिलेकाहीँ विलखबन्दमा समेत पर्थे । गम्भीर समीक्षकले पर्गेल्न नसक्ने प्रसङ्गहरू उनले तेर्साएका हुन्थे । कक्षामा प्रवेश गर्नासाथ सबैको ध्यान उनीतिर खिचिन्थ्यो । उनको उपस्थिति देखेमा प्राध्यापकहरू बढी सचेत भएर पढाउँथे ।

बोर्डिङ्ग स्कूलमा शिक्षकहरूको तलव बढाउने दिन आयो । उनको तलव भने सोह्र सयबाट बत्तीस सय पुर्याइयो । त्यस बेला प्रिन्सिपलले उनलाई भनेका थिए, ‘एभिट सर ! आजसम्म मैले अङ्ग्रेजी विषयको तपाईंजस्तो शिक्षक पाएको छैन । तलव पनि तपाईंलाई जस्तो कसैलाई दिएको छैन । सप्तरी जिल्लाकै श्रेष्ठ शिक्षकमध्ये एक ठानेर तपाईंलाई श्रेष्ठ दर्जामा राखेको छु ।’ शिक्षकको प्रशंसामा एक शब्द पनि राम्रो कुरा गर्न नरुचाउने प्रिन्सिपल उनीबाट भने पग्लिएका देखिन्थे । नपग्लून् पनि कसरी । उनलाई नै कतिपय मामलामा सिकाउने, बाटो देखाउने काम एभिट सरबाट हुन्थ्यो । वार्तालापकै क्रममा प्रिन्सिपलको अन्तिम वाक्य थियो, ‘सतप्रतिसत तलब वृद्धि गरिदिएको छु । अर्को वर्ष भने केही प्रतिशत मात्र तलव वृद्धि हुनेछ । आफ्नो कार्यमा यस्तै जागरुकता रहोस् ।’ नयाँ शैक्षिक सत्र सुरु हुनासाथ कतिपय शिक्षकलाई केही हदमा वास्ता गर्ने र कतिपयलाई वेवास्ता गर्ने बानी पुरानै हो भन्ने सबैलाई थाहा थियो । त्यस वेला एभिट सर भने मौन रहे । यी शब्दहरु केवल उनीहरू दुई जनाले मात्र सुने अरू कोही साक्षी थिएन ।

सबै शिक्षकलाई व्यक्तिगतरूपमा बोलाएर तपाईंको यत्ति र उत्ति प्रतिशत तलव वृद्धि भयो भनिन्थ्यो । समय महंगिँदै थियो । टिउशन नपढाए सहरमा टिक्न गाह्रो हुन्थ्यो । प्रायः सबै शिक्षकहरू क्याम्पस पढ्ने विद्यार्थीहरू नै थिए । धेरै जसो चाहिँ घरबाट चामल ल्याउँथे । डेराभाडा समेत ल्याउँथे । स्कूलले दिएको तलवले केवल तरकारी किन्न र सामान्य पकेट खर्च गर्न मात्र पुग्थ्यो । नयाँ शिक्षक सबैको दिनचर्चा त्यसरी नै चल्थ्यो । तलव वृद्धि सम्बन्धमा प्रिन्सिपलका अगाडि बोल्न कोही सक्दैनथे । उनी जे जति तलव बढाउँथे, सबै जसो शिक्षकहरू त्यसैलाई स्विकार्थे । दस प्रतिसतदेखि माथि सबैको तलव बढाएको छु भनेर मख्ख पार्थे । हजार रुपैयाँ तलव पाउने शिक्षकको तलव कत्ति नै बढ्थ्यो र ?

करिब छ वर्षपछि एभिट सरलाई रामजानकी माध्यमिक विद्यालयले निजी स्रोतको शिक्षककारूपमा काम गर्न बोलायो । सरकारी स्कूलमा पसिना बगाइयो, खुन सुकाइयो भने भोलिको लागि राम्रो हुने ठानेर उनी त्यतातिर हानिए । एक महिना वित्ता नवित्तै उनले राम्रो लोकप्रियता कमाए । निजी विद्यालयमा पेलिएर काम गरेका त्यहाँ पेलिनु परेन । ज्यादै हल्का लाग्यो । उनलाई बरोबर आफू शिक्षक हुँ कि हैन भन्ने लागि रह्यो । उनी बेलाबेलामा प्रधानाध्यापकहरूसँग भन्ने गर्थे, “यसरी शैक्षिक स्तर कहाँ उक्सन्छ र ? यस्तो काइदाले शिक्षकको जिम्मेवारी कहाँ पूरा हुन्छ र ? विद्यार्थीका दैनिक आवश्यता र यथोचित चाहना विपरीत हिँड्दा अभिभावकको जिम्मेवारी कसरी पूरा भयो र ?” उनले त्यहाँ विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक तीनै थरिको कमजोरी देखे । सबै जसो शिक्षक शिक्षण क्षेत्रमा सुधारभन्दा पनि समय कटाउन र तलव भत्ता पकाउनमा नै मख्ख र मस्त भएको देखे । जसरी भए पनि कक्षा चढाउनु पथ्र्यो विद्यार्थीलाई । उनले पचहत्तर प्रतिशत विद्यार्थीलाई अनुत्तीर्ण पार्नुपर्ने अवस्था देखे । त्यहाँ भएकाहरू मध्ये अधिकांश स्थानीय शिक्षकशिक्षिका थिए । कसैका नानीहरू अनुत्तीर्ण भइहाले भने चौतर्फी गुनासाका स्वरहरू गुन्जिन्थे । “यी माष्टर सब सालभर कि करैछै ? हमरा बच्चाके फेल क्या देलकै । हम किताबकापी किन्देने चिए । सब दिना स्कूल भेज्ने चिए । आब हम कि करबै ?” (यी शिक्षकहरू सालभर के गर्छन् ? मेरो बच्चालाई फेल गरिदिए । मैले किताबकापी किन्दिएको छु । सधँै दिन स्कूल पठाइदिएको छु । अब म के गरूँ ?) अभिभावकहरूको स्वरले स्कूल थर्कन्थ्यो ।

बोर्डिङ्ग स्कूलमा यस खाले समस्या नदेखिने भने होइनन् तर विरलै । एभिट सरको मनले मनसँग कुरा गरिरह्यो । विचारा विद्यार्थीको मात्रै के दोष ? उनीहरू त अग्रजको लावरवाहीका सिकार भएका मात्रै हुन् । सबै शिक्षक वर्गमा अघोषित नीति थियो परीक्षाको कापी जाँच्नुस् या नजाँच्नुस्, त्यसको त्यत्रो अर्थ छैन तर विद्यालयको रिपोर्टमा परीक्षा दिए जति सबै उत्तीर्ण हुनैपर्छ । यहाँ शिक्षक भएर हैन, तलव भत्ता पाक्ने काम गरे पुग्ने रहेछ ।

देसअनुसारको भेषमा रहनुपर्छ भन्ने कुरा एभिट सरलाई पनि राम्ररी थाहा थियो । नेपालका शैक्षिक ऐनकानुन र नियमावलीहरूको पनि राम्रो अध्ययन थियो । जनताको नुन खाएपछि काम गर्नैपर्छ भन्ने ठोस निष्कर्षमा उनी पुगेका थिए । एक्लो वृहस्पति बन्छु भन्ने भय उनमा रत्तिभर थिएन । त्यसैले उनी आफ्नो कर्तव्यको बाटोमा डटेर लागे, लागि नै रहे । कक्षाकोठामा अनुशासन कायम गर्न होस् या नियमित पार्न होस् वा पढाइप्रति अभिरूचि जगाउने काममा होस्, उनले हरसम्भव प्रयत्न गरे र विद्यार्थीमा आमूल परिवर्तन ल्याइदिए । उनले त्यहाँ एउटा प्रणालीको विकास गरिदिए । अरू शिक्षकहरूमा पनि धेरै परिवर्तन आयो । उनी माथिल्ला कक्षाका विद्यार्थीहरूलाई भन्ने गर्थे-“हेर नानी हो ! म आफ्नै कुरा भनेर तिमीहरूलाई सोच विचारेर काम गर्न प्रेरित गर्दै छु । म अहिले एक माध्यमिक तहको अङ्ग्रेजी शिक्षकको रूपमा तिमीहरूको सामुमा छु । यहाँसम्म आइपुग्न मैले धेरै धेरै भेलहरू तर्नुपरेको छ । अनगिन्ती कराल पहाडहरू फोर्नुपरेको छ । कक्षा पाँचको विद्यार्थी छँदादेखि नै मैले अर्काको घरमा बसेर ससाना बच्चालाई पढाएर पढाइको खर्च बटुलेँ । टिउशनको मुख देखिनँ । अरूलाई पढाएर धेरै जान्ने भएँ । आफूले जानेको जति धेरैलाई बाँड्न सक्यो उत्ति जान्ने भइँदो रहेछ । मनमा भएका जिज्ञासाहरू शिक्षकसामु राखी समाधान पाउन सके पढाइप्रति अभिरूचि जाग्छ । मनमा अँध्यारो पाटो नरहनु भनेको उज्यालोको राज्य स्थापित हुनु हो । सोच ठूलो राखी कर्ममा डटेर लाग । आजको समयले भोलिको जीवन सुनिश्चित पार्छ । गफले संसार हाँक्छु भन्न छाडिदेओ । कर्मले संसारलाई रिझाउन सक्नुपर्छ । कर्मशील हातपाखुरीलाई संसारले चुम्छ । आज बाबुआमाको पाखुरीमा नाच्ने काम गरेमा त्यसकै असरले जीवनभर रुनुपर्ने अवस्था आउन सक्छ । आजलाई मनमा राख र कर्ममा विश्वस्त बन ।”

उनले शिक्षण पेशालाई उत्तम पेशा ठानिसकेका थिए । म शिक्षक बनेर नै मान्छेको मनमन्दिरमा उज्यालो छर्न जन्मेको हुँ भन्न पनि उनी छाड्दैनथे । स्थायी जागिरको बाउन्न साले परीक्षा दिएका थिए । अन्ठावन्नको अन्तरवार्तामा समेत खरोसाथ प्रस्तुत भएका थिए । कतै प्राथमिक तहकै भए पनि शिक्षक बन्न सकिएला कि भन्ने झिनो आशा थियो । सप्तरी जिल्लामा शिक्षक बन्नु थियो । वैधानिक प्रकियामा अघिअघि भए पनि सोर्स, फोर्स, दानदक्षिणाका मामलामा पछि हुनुहुन्छ, आश गर्दै नगर्दा वेस हुन्छ, अमितजी भनेर नजिकका साथी र छरछिमेकीहरू उनलाई भन्दथे । जे देख्छन् अरूहरू त्यही भन्छन्, स्थायी शिक्षक बन्ने सपना देख्नु मेरो नाजायज सोच हैन भन्ने उनको ठहर थियो ।

पछिको कुरा जान्ने को छ र यहाँ ? नभन्दै रिजल्ट भयो । उनी सफल भएछन् । उनको पोष्टिङ्गको सवाललाई लिएर प्रधानाध्यापकहरूमा तँ छाड् मछाड् भएछ । सबैको आआफ्नै खाले स्वार्थ । उनी थिए स्नातक डिग्री पाएका तालिम प्राप्त शिक्षक । कतिपय स्कूलमा माध्यमिक विद्यालयमा पढाउने शिक्षक पाउनै गारो थियो । पछि थाहा पाए, उनले आफ्नै गाउँको स्कूलमा प्राथमिक शिक्षकको रूपमा माध्यमिक तहमा पढाउनुपर्ने भएछ । ठीकै छ भन्दै उनी आफ्नै गाउँतिर हानिए । २७ असार, २०६१ को निर्णय बमोजिम भदौ १ गतेदेखि तलब भत्ता पाउने गरी उनी नियुक्त गरिए । अनवरतरूपमा उनी पढाइ नै रहेका छन् र लोकप्रियता कमाउने उनको इतिहासलाई त्यहाँ पनि निरन्तरता दिएकै छन् ।

प्रिय मित्र, लामा कुरा सुनाएँ । तपाईंलाई पट्यार लाग्यो होला । विद्यार्थी सामु कडगर सर, प्रिन्सिपल सामु एभिट सर, अभिभावकका सामु कडगर चौधरी, प्राध्यापकहरू बीच मिष्टर एभिट र मित्रहरू सामु अमितजी भनेर पुकारिने व्यक्ति अरू कोही नभएर तपाईं नै हुनुहुन्छ । सबैले सबै प्रकारका नाम दिए । म भने जीवनका महत्वपूर्ण क्षणहरू साथै विताएको मित्रको नाताले र पातर सर भनेर विद्यार्थी माझ परिचित भएको हैसियतले तपाईंलाई तपाईंकै प्रमाणपत्रको नाम दिन्छु- अभितकुमार चौधरी ।

प्रिय मित्र, बोलेरभन्दा लेखेर नै धेरै कुरा जाहेर गर्न सकिने रहेछ । बोल्दा हराइने डर हुँदो रहेछ, लेख्दा समेटिन सकिने रहेछ । फेरि जीवन कहाँबाट कहाँ पुग्दो रहेछ । कसैको घोषणा र अनुमानभित्र जीवन कहाँ गुम्सदो रहेछ र ? मैले देखेका, सुनेका, भोगेका र अनुभव गरेका कुराहरू रिठ्ठो नविराईकन प्रस्तुत गरेँ । हिजो विताएको त्यो स्कुल (निजी) र आज जीवनरथ हाँकिरहेको यो स्कुल (सरकारी)का बीच फरक केके पाउनु भयो ? म पनि तपाईंबाट आफ्नो स्वभावअनुकूलको खरो प्रतिक्रियासहितको जवाफ पाउने प्रतिक्षामा हुलाकीको बाटो कुरेर बसिरहने छु । धन्यवाद ।

०६८।०२।२१ शनिबार

तपेश्वरी-१, गल्फडिया, उदयपुर,
मो. नं. ९८४२८२९२०६/९८१४७०००९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *