Skip to content

‘म गोपाल अर्थात गोपालहरू’भित्र पस्दा

  • by


परिचय

यो कवितासङ्ग्रका रचयिता हुन् वियोगी बुढाथोकी । यस कवितासङ्ग्रहमा एकसय आठवटा कविताहरू समावेश गरिएका छन् । हाम्रो धर्म संस्कृति आदिमा एकसय आठको व्यापक मान्यता दिएको पाइन्छ । स्वयं कृतिकारले पनि एकसय आठ अङ्कको विशेष र व्यापक महत्व हुने कुरा स्वीकारेका छन् । वियागी बुढाथोकी, पिता स्व कृष्णबहादुर बुढाथोकी र माता विष्णु बुढाथोकीको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०११ जेठ ६ गते खड्काभद्रकाली, गा.वि.स, हात्तीगौडा, काठमाण्डौमा भएको थियो । उहाँ एक कवि, गजलकार, सम्पादक, समाजसेवी, को रूपमा चिनिनु भएको छ । राष्ट्रिय प्रतिभा पुरस्कार, शिक्षा पुरस्कार, युवाकवि महोत्सव–प्रथमको साथै थुप्रै साहित्यिक संस्था तथा सामाजक संस्थाहरूबाट पुरस्कार तथा सम्मान प्राप्त गरी आफूलाई साहित्यकार तथा समाज सेवकको रूपमा स्थापित गराउन सफल देखिनु भएको छ । नेपाली बृहत शब्दकोषमा गोपाल शब्दको अर्थ, गाई पाल्ने व्यत्ति या गाईको धनी, ग्वाला, गोठालो, श्रीकृष्ण, नेपालको प्रथम एक राजवंश भन्ने अर्थ बुिझफन्छ । वियोगी बुढाथोकीको यो कृतिको अध्ययन गर्दा पनि व्यापक स्थान ओगटेको देखिन्छ भने व्यापक शन्देश दिएको महसुस गरिएको छ । यसको अध्ययनले के शन्देस दिन्छ भने यो एउटा नौलो कृतिको रूपमा उभिएको देखिन्छ ।

कृतिहरू

उहाँका कृतिहरू यस प्रकार छन् –समयलाई सञ्चो छैन (कवितासङ्ग्रह, २०४२), काठमाण्डौ धाइरहेंछु (कवितासङ्ग्रंह, २०४९), छुटेका यादहरू (कवितासङ्ग्रह, २०५३), आफन्तका चोटहरू (गजलङ्ग्रह, २०५२), गजल तिम्रो नाम होइन (गजलसङ्ग्रह २०६३), म गोपाल अर्थात गोपालहरू (कवितासङ्ग्रह, २०६४)

विभिन्न साहित्यिक व्यक्तित्वमा वियोगी बुढाथोकी

वियागी बुढाथोकी को साहित्यिक व्यक्तित्व र कृतित्वमा धेरै साहित्यकारहरूले टिका टिप्पणी गरेका छन् । हेरौं ‘म गोपाल अर्थात गोपालहरू’मा पोखिएका अभिव्यक्तिहरू–

गोविन्दराज भट्टराईको नजरमा– प्रस्तुत काव्य साधनामा प्रतिबिम्वित, समकालिन चेतनाको प्रतिध्वनि, प्रयोग र नविनता शीर्षक दिएर समालोचक डा. गोविन्दराज भट्टराई लेख्नु हुन्छ – ‘वियागीले एउटा निश्चित कलात्कम संरचनाको निर्माण गरे, सोही अनुकूलको शैली र विषयबस्तुको चयन गरेर एउटा विशिष्ट पहिचानको स्थापना गरेका छन् ।

कृष्ण धरावासीको नजरमा

मन रित्याइएको काव्यः म, गोपाल अर्थात गोपालहरू, शीर्षकमा कृष्ण धरावासी लेख्नु हुन्छ –मुक्त लेखनमा विश्वास गर्ने, प्रजातान्त्रिक चेतनाका धनी, कवि वियोगी, बैचारिक स्पष्टता र काव्यिक सौन्दर्य चेतनायुक्त दृष्टि सम्पन्न व्यक्तित्वको रूपमा परिचित छन् ।

डा. ध्रुवचन्द्र गौतमको नजरमा

वियोगी बुढाथोकी नेपाली साहित्य र साहित्यिक पत्रकारितामा स्थापित नाउँ हो । उनको कवितामा प्रयोगशीलता, सरलता र तीक्ष्णता एकैसाथ पाउन सकिन्छ । म, गोपाल अर्थात गोपालहरू वियागीको काव्यिक उपलब्धिको ताजा नमुनाहो । यी कविता प्रयोगशील छन् । यी एकै शीर्षकका शृङ्खलाका भएर पनि स्वतन्त्र छन् । जीवनका विभिन्न पक्षहरूलाई संवेदनशीलता र कुशलताकासाथ टिपिएका उभिएका र मालाकारूपमा पाठकलाई पहिर्‍याइएका यी कविताहरू पहिलैदेखि नै चर्चित छन् । सङ्ग्रहकारूपमा यिनले वियोगीको काव्यिक क्षमताको सशक्त दिने छन् । यस किताबले नेपाली काव्यमा नयाँ क्षितिज उघारेको छ ।

रोचक घिमिरेको नजरमा

बर्तमान नेपाली साहित्यिक फाँटका ऊ उज्ज्वल प्रतिभा हुन् वियोगी बुढाथोकी । कवितामा उनको कलम बलियो भएर बगिरहेको छ । ‘म गोपाल अर्थात गोपालहरू’ कविता शृङ्खलामा सृजनात्मक दक्षताको मनोहर वान्की देखाएका छन् उनले । गजलमा समेत खारिएका शीर्ष स्रष्टा वियागीको अर्को उल्लेख्य पक्ष साहित्यिक पत्रकारिता हो । उनको शिवपुरी सन्देशले नेपाली साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ राखेको छ । यसरी लेखन सम्पादन–प्रकाशनमा छरिएको वियोगीको श्रम र सीपको हाम्रो साहित्यलाई उर्वरक बनाइरहेको छ । यस्तो सत्कार्यको तारिफ गर्दै, अझ बढी सफलताको निम्ति हार्दिक शुभेच्छा ।

ध्रुव मधिकर्मीको नजरमा–

‘ म गोपालअर्थात गोपालहरू ‘मार्फत कवि वियागीले समसामयिक जीवनका पीडा, प्रकृति र परिवेशलाई हाम्रा सामु छताछुल्ल पारेका छन् र हामी सबै कहीं न कहीं सहभागी एक एक अंश हौं ।

काव्यकारको आफ्नै धारणा

‘ ‘म गोपाल अर्थात गोपालहरू ‘भित्र पसेर सम्पूर्ण शृङ्खला पढ्ने हो भने जो कोहीले कुनै न कुनै शृङ्खलामा आफू गोपाल भएर उभिएको र आफ्नो भोगाइ नै कवितामा अभिव्याक्त भएको अनुभव गर्ने छ ।

प्रकाशकको अभिव्यक्ति

‘म गोपाल अर्थात गोपालहरू’भित्र असंख्य गोपालहरू उभिएका छन् विविध विषयबस्तु समेटिएकोले, एउटा शृङ्खला पढेपछि अर्को शृङ्खला नपढी चित्तै बुझदैन ।

कवितासङ्ग्रहको विवेचना

‘म गोपाल अर्थात गोपालहरू’कवितासङ्ग्रहलाई महाकाव्य हो भन्न सकिदैन तर यसलाई काव्यको रूपमा लिन भने सकिन्छ । यो नयाँ शृङ्खलामा लेखिएको छ । कविको यो नयाँ प्रयोग हो । यो कवितासङ्ग्रह संवादको रूपमा लेखिएको छ जस्तै –

‘म,
गोपाल
अर्थात गोपालहरूसँग सम्पत्तिनष्ट गर्नुको फाइदा
कसलाई भयो सोधिरहेछु ।

आज देशमा द्वन्द्वले निम्त्याएको देशले भोगेको यथार्थताको प्रस्तुति हो / उदाहरण हो । जसलाई आज देशले भोगीरहेको छ । यस काव्यमा के लेखिएको छ भन्दा पनि यसमा के लेखिएको छैन भन्ने प्रश्न राख्न सकिन्छ । यसमा लेखिएको समूह स्वजनको समूहमा लिन सकिन्छ पारिवारिक बृतमा, समाजमा, दूरस्थ असम्बंद्ध समूह यहाँ वनभोजको समूह, शान्तिको कामना अग्रज र सर्जकको स्मरण घरेलु हिंसाको यथार्थता, देशमा घटेका घटना, विश्वास, आस्था, देशको परिस्थिति, परिवेश आदि आदि यसले समेटोको पाइन्छ । यहाँ हामीले दर्द देख्न पाउँछौं, यहाँ कमिसनखोरीको चित्रण छ । नैतिकताको खोजी, राष्ट्रियता माथी भएको आक्रमण, आजको फोहोरी राजनीति ट्राफिकजाम सांसदको स्वार्थन्धता, अपराधीकरण, धुर्त्याइँ, प्रशासकहरूको अन्धति, देशको द्वन्द्व सरकारको अस्थिरता, तोडफोड आदि ज्वलन्त घटनाक्रमलाई यस काव्यमा वियोगीले समेट्न सक्नु भएको छ । उनका कविताको विविधतालाई यहाँ हेर्न सकिन्छ –

माला कसलाई मन पर्दैन
कसको गलामा माला खेल्दैन
आस्तिक देखि नास्तिक सम्म
देवता देखि मानव सम्म
………..मालाको काम हर्षको स्वागत गर्नु हो
एकसयछैठौं शृङ्खला पृष्ठ १७२
कतै बुन्ने काममा
कतै तुन्ने काममा
कतै उन्ने कामा
…….सानो भन्दा सानो
नामको सानो
तर ठूलो कामको सफल यात्रीको परिचय
म,
गोपाल
अथार्त गोपालहरू समक्ष सियो हो भनिरहेछु ।

वियोगीजीको यो कविता-सङ्ग्रहले देशको यथार्थ चित्रण खिच्न सफल देखिन्छ । यसमा प्रयोग गरिएको भाषा सरल, सहज र मिठासले भरिएको छ । यसले प्रस्तुत गरेको विषय बस्तुलाई जीवन, युग, विसङ्गति, व्यवहार, अस्तित्व आदि बोधको रूपमा लिन सकिन्छ । राष्ट्रबोधले भरिएका, रसिला, कसिला, गुनिला, स्वादले भरिएका यथार्थ घटना क्रमलाई वियोगीजीले सहजरूपमा प्रस्तुत गर्नु भएको छ । नेपाली कविताको इतिहासमा एउटा नौलो किसिमको काव्यको सिर्जना गर्नु भएको छ । यस्तो गहन कृतिको लागि कृतिकारलाई धन्यवाद दिंदै विदा माग्दछु ।

धन्यवाद

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *