Skip to content


सबैको सबैसँग केही काम छ यहाँ
मन नपरे पनि साइनोको नाम छ यहाँ,
सबैको सबैसँगको स्वार्थले गर्दा
हरेक सम्बन्ध अहिले बदनाम छ यहाँ।

सबैलाई सबैभन्दा पुग्नु छ माथि
एक–अर्काको खुट्टा तानातान छ साथी,
खै ! तँछाड मँछाडमा जीत छ कसको ?
त्यसैले त अविश्वासको याम छ यहाँ।

ठूलठूला आदर्शमात्र लेखिने कुरा हुन्
भन्नुपर्दैन व्यवहारमा देखिने कुरा हुन्
के गर्नु–तर पनि किनबेच हुन्छ सबैको
आफैंले राखेको आफ्नो दाम छ यहाँ।

सबैका खेती अनौठा पसल चलेकै छन्
देख्दा बाहिर खुशी सबै, भित्र सबै जलेकै छन्
कति धेरै औपचारिकता निभाउँछ मान्छे
ओहो–हो ! दुनियाँदारीको नियम हराम छ यहाँ ।

देख्दा बाठाहरूको गर्जन शालीन छ
थिचिएर सोझाको आवाज मलीन छ
स्वतन्त्रता खोज्नेहरू छरपस्ट छन्
तर सबैको मुख–बेलगाम छ यहाँ
सबैको सबैसँग केही काम छ यहाँ ।

चीजन वस्ती
हाल–मलाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *