Skip to content

नीलम कार्की निहारिकाको उपन्यास “चीरहरण” प्रकाशित

20160410_BijayThapa-News


विजय थापा, वाशिंगटन डिसी

मानिस अक्सर मध्यरातमा कुम्भकर्ण झैँ मस्त निद्रामा सुत्दछन । बिदेशमा झन् कुखुराको डाकमा ब्यूँझने र एकाबिहानै काममा जानु पर्ने भएकोले सम साँझै सुत्ने पनि गरिन्छ । तर साहित्यकार नीलम कार्की निहारिकालाई आफ्नो उपन्यास “चीरहरण” प्रकाशित गर्न पटक पटक मध्यरातमा ब्यूँझिनु पर्यो । उठेर भए पनि आफ्नो काम फत्ते गरेरै छोडिन । पाँच वर्ष कडा मेहनत गरेर युवा आख्यानकार नीलम कार्की निहारिकाले आफ्नो जन्म दिनको अवसरमा पारेर “चीरहरण” उपन्यास प्रकाशित गरेकी छन ​।​

महाभारतकालीन कथा भित्र पसेर लेखिएको “चीरहरण”मा, द्वापर युगकी सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा वर्तमान समय भोगाई र घटनाहरू बुनिएका छन् । यस अघि उनको डायस्पोरिक उपन्यास अर्की आइमाई प्रकाशित थियो । जुन उपन्यास पाठकले अति मन पराएका थिए ।

निहारिका अमेरिकाको नर्थ क्यारोलिनामा बस्छिन । नीलम कार्की निहारिकाको कविता, कथा र उपन्यासमा कलम चल्ने गर्दछ । राष्ट्रिय स्तरका कविता प्रतियोगिताहरूमा पुरस्कृत हुदै अघि बढेकी निहारिका कथामा पनि सिद्द हस्त मानिन्छन । कथा संग्रहहरू -हवन, कागजमा दस्तखत र बाल मनोविज्ञानमा आधारित बेली प्रकाशित छन । बिगत नौ बर्स देखि अमेरिकामा रहेर कलम चलाइरहेकी निहारिकाको पछिल्लो प्रकाशन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो ।

प्रवासमा रहेता पनि साहित्य साधनामा बिश्राम भने गरेकी छैनन् । साहित्यकार निहारिकालाई आफ्नो जन्म दिवसमा उपन्यास प्रकाशित हुनुको खास कारण केही छ भन्ने राखेको जिज्ञासामा यो उपन्यास मेरी आमा र बाल्यकालको कारणले लेखिएको हो उनले भनिन । उनले भनिन आमाले हरेक अधिकांस रात हामी निदाउनु पूर्व महाभारतको कथा सुनाउने गर्नु हुने थिएन भने मलाई लाग्छ म “चीरहरण” लेख्ने थिइन् होला भनिन । त्यसैले जन्मदिनमा प्रकाशित गर्ने रहर भयो र आज शुभ साइतमा प्रकाशित भयो भनिन ।

“चीरहरण”को नामाकरणको साइत कसरी जुर्यो भनी जिज्ञासा राख्दा निहारिकाले भनिन प्रथम विषय बस्तु कै कारणले हो भनिन । बस्त्रहरण या “चीरहरण” भन्नेमा केही अग्रज र मित्रहरूसँग छलफल भयो र “चीरहरण” रोजिएको बताइन ।

कुराकानीको क्रममा उनले भनिन महाभारत जस्तो गहन विषयमा झन्डै छ सय पृष्टको उपन्यास आउनु चानचुन कुरा हैन भन्दै आफू आफै आश्चर्य लागेको बताइन । सम्भवत यसरी यति ठुलो महिलाको तर्फबाट लेखिएको उपन्यास पहिलो पनि हुन् पुगेको हो कि भन्ने आफूलाई लागेको बताइन ।

कुराकानी गर्ने क्रममा उनले भनिन मैले ठुलो चिर हरणको लागि समय खर्चेको छु । यो उपन्यास अर्की आईमाई उपन्यासको तुलना गर्ने हो भने दश प्रतिसत पनि मैले त्यसमा दिएको थिइन् निहारिकाले भनिन ।

प्रसंगबस तपाईं कविता किन कम लेख्नुहुन्छ भन्ने जिज्ञासामा उनी भन्छिन, नेपालमा हुदा कविता लेख्थे र नौ वर्ष भयो अमेरिका आएको १२ कविता लेखेछु । यो समय कथा र उपन्यासतिर बढी केन्द्रित भएछु भनिन । उपन्यास लेख्दा अति समय लाग्ने हुँदा त्यता ध्यान नगएको होला भनिन ।

कलम निरन्तर चलाउने साहित्यकार तथा उपन्यासकार निहारिकालाई नलेखी बस्दा कतिको छट्पट हुने हुन्छ भन्ने सवाल राख्दा उनले प्रष्ट कुरा यसरी राखिन । “चीरहरण” लेख्दा अति सकस भयो । सधैं महाविद्यालयको निर्णायक परिक्षामा जाँच दिएर आए जस्तो भयो भनिन । उनले अगाडि भनिन, अनि सोचेको थिए, “चीरहरण”को पाण्डुलिपि प्रकाशकलाई बुझाए परिक्षा सकिए झैँ आनन्दले केही समय नलेखी बस्छु । तर विषय बस्तुले लखेटे पनि लेख्दिन भनेर कहाँ हुन्छ र भनी प्रति प्रश्न गरिन ?

गफिने क्रममा हामीले अमेरिकाको व्यस्त जीवनमा लेखन कार्यमा समय कसरी व्यवस्थापन गर्नुहुन्छ सवालमा निहारिकाले भनिन आफू प्राय रातिको समयमा लेख्ने बताइन । १२ बजे उठेर ४\५ बजेसम्म लेख्छु भनिन । दिनमा लेख्ने मेरो समय बिहानको आठ देखि २सम्म हो । २ बजेपछि मेरो छोराहरू पाठशालाबाट आए पछि उनीहरूलाई समय दिन्छु भनिन । त्यस पछिको समय एक अक्षर पनि लेख्दिन र अति आवश्यक परिस्थिति बाहेक संचार माध्यम छुन्न भनिन शनिबार र आईतबार र छोराहरूको अन्य बिदाको दिन आफू दिउसो होइन राति मात्र लेख्छु भनिन ।

“चीरहरण” बारेमा अँझ कुराहरू जान्ने क्रममा हामीले उपन्यास बारेमा तपाईको भावी योजना के के छभन्दा निहारिकाले भनिन विमोचन अमेरिकामा गर्ने या नेपालमा भन्ने बारे प्रकाशकसँग कुरा भै रहेको बताइन । आफू नेपाल बाहिर भएको हुदा आफ्ना प्रिय पाठकसँग प्रत्यक्ष्य भेटघाटको अवसर पनि मिलाउने सोचिरहेको बताइन ।

उनलाई हामीले चिर हरण उपन्यास के विषय वस्तुमा आधारित छ भनी खोतल्ने क्रममा निहारिकाले उपन्यासका केही अंश यसरी हिस्सा गरिन । र “चीरहरण” बैशाख को द्रोस्रो साता देखि पाठकको हातमा पुग्ने कुरा प्रकाशन हाउस सांग्रिलाले जनाएको छ ।

समर्पणको पृष्टमा निहारिकाले लेखेकी छन –

म चाहन्थेँ, शकुनिको कुटिल योजना कार्यान्वयनपूर्व परास्त भएको लेख्न ।
म चाहन्थेँ, कौरव र पाण्डवको भातृत्व मिलाप लेख्न ।
म चाहन्थेँ, धृतराष्ट्रहरूमा राजा भारत लेख्न ।
म चाहन्थेँ, कर्णलाई नीच जातको भनिएको थिएन भनी लेख्न ।
म चाहन्थेँ, सत्यवतीलाई उनको दाजुसँगै चेदीराजवसुको आँगनमा देख्न ।
म चाहन्थेँ, कुन्तीको मातृवात्सल्यमा युधिष्ठिरहरूसँगै कर्ण पनि हुर्किएको देख्न ।
म चाहन्थेँ, काशी राजकन्याको प्रेमीसँग मिलन देख्न ।
किमार्थ म चाहन्थिनँ कुरुक्षेत्रको त्यो वीभत्स दृश्य देख्न !

सम्झौताका कारण पृथक् होलान् । हिसाब–किताबको प्रकृति या अङ्क फरक होला । तर द्वापर युगमा महर्षि परासरसँग सम्झौताको समागम गर्न विवश सत्यवती यो युगमा पनि चोक–चोकमा भेटिन्नन् भन्न सकिने अवस्था छैन ।

– आज पनि भेटिन्छन् सत्यवतीहरू !
– आज पनि भेटिन्छन् स्वयंवर सम्मुखबाट हरणमा पर्ने अम्बा, अम्बिका र अम्बालिकाहरू !
– आज पनि भेटिन्छन् अभागी कर्णका विवश आमा कुन्तीहरू !
– आज पनि भेटिन्छन् वस्त्रहरिता द्रौपदीहरू !
– आज पनि भेटिन्छन् जीवित र मृत कर्णहरू !

यो पुस्तक उनीहरूमा समर्पण !

निहारिकाले भनिन यति समय खर्चियो भने एक मात्र हैन दुई वटा विद्या वारिधि हासिल गरिन्थ्यो भन्दै अहिले आफैलाई कसरी लेखे होला भन्ने लागेको बताइन ।

अन्त्यमा, उपन्यास पनि प्रकाशित भैसकेको छ भने पाठकलाई केही संदेश दिनुहुन्छ भन्ने सवालमा उनी भन्छिन आफूले लेखनमा झन्डै पाँच वर्ष यसमा बिताएर लेखेकोले उपन्यास राम्रो छ भन्ने आफूलाई लागेको छ । पढिदिनुहोस् । पढ्न त्यति समय लाग्ने छैन भन्दै यसै मार्फत पाठकलाई आग्रह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *