Skip to content

संसारमा दुक्ख विशाल रैछ


संसारमा दुक्ख विशाल रैछ
हाँसो खुसीको अनिकाल रैछ

पाइन्न चाँडै हल वेदनाको
लाखौंथरी क्लिष्ट सवाल रैछ

छन् घात रोजै प्रतिघात रोजै
साँच्चै यहाँ ज्यान हलाल रैछ

खोलो हुँदै बग्दछ आँसु धारा
सङ्कष्टको रास निहाल रैछ

बाढी छ चारैतिर दुर्दशाको
गन्तव्य रोक्ने परखाल रैछ

आनन्दमा पुग्न सकिन्न कैले
बाधा दिने तत्व बबाल रैछ

थाकिन्छ खोजेर विशुद्ध माया
सद्भावनाको हडताल रैछ

दुष्प्राप्य लाग्यो जस वा प्रशस्ति
पर्याप्त मिल्ने अवगाल रैछ

दुर्भावना व्यापक छन् जनैमा
सोचाइ नै झेल र जाल रैछ

पीडा छ काँही सुख चैन काँही
यो भाग्यको मात्र कमाल रैछ

कौडीसरी मोल छ जिन्दगीको
बेकारको जीर्ण त्रिपाल रैछ

वैली सके “कोमल” चित्तवाला
फुल्ने र फल्ने अरिङाल रैछ

(इन्द्रवज्रा)
५ मा विश्राम
– कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *