Skip to content


दशैं मनाउन होस्टलबाट घर आएको भोलिपल्टै मोटरसाइकल सहित गाएब भएपछि घरमा हल्लाखल्ला मच्चियो । कलेज, छरछिमेक, साथीभाइ, इष्टमित्र जहाँतहिँ फोन गरियो । कहीं पत्ता नलागेपछि भोलिपल्ट प्रहरीमा उजुरी टिपाइयो ।

पाँच फुट पाँच इन्च अग्लो अविनास शर्मा नाम गरेको वर्ष उन्नाइस गोरोवर्णको पातलो ज्यान भएको हल्का जुङ्गा भएको मेडिकल कलेजमा एमविविएस दोस्रो वर्षमा अध्ययनरत हसिलो युवक हिजो बिहानै मोटरसाईकल लिई निस्किएको र अजसम्म घर नर्फिएको हुँदा कहींकतै देख्नुहुने महानुभावले तलको फोन नम्बरमा सम्पर्क गरिदिनुहोला ।

स्थानीय पत्रपत्रिका र रेडियो एफएमहरुमा युवक हराएको खबर जारी गरियो । प्रहरीले पनि खोजीलाई तिब्र पार्यो ।

डाक्टर पढिरहेको छोरा कहाँ गयो होला भनेर सबै आत्तिए । कसैले अपहरण गर्यो कि भन्ने आशँका गरे । कसैले साथीकोमा गएहोला भनेर सान्तवना दिए ।

कसैले कतै घुम्न गएहोला आइहाल्छ नि भनेर आमाबाबुलाई ढाडस् दिए । तर हराएको तेस्रो दिनसम्म पनि छोराको अत्तोपत्तो लागेन ।

चौथो दिन खानाखाने बेलामा प्रहरीले बाउलाई फोन गर्यो । र तुरुन्त प्रहरी कार्यलयमा आउनु भन्यो । खानाखानै छोडेर घरमा जम्मा भएका केही इष्टमित्र र छिमेकीहरू प्रहरी कार्यलय गए । बिहानै बगरमा एउटा लास भेटिएको भन्दै बाउलाई प्रहरीले भित्र लगे र लास देखाए ।

छोराको मृत देखेर बाउ अर्धबेहोस् भए । आमाको बाक्य बस्यो । ठाउँको ठाउँ ढलिन् । आमालाई सम्हाल्दै बाउ सुक्कसुकाउन थाले । इष्टमित्र र गाउँलेहरू बाउआमालाई सम्हाल्नतिर लागे ।

प्रहरीले लासलाई पोष्टमार्टमकालागि अस्पताल लाने र लास बुझाउने भनेपछि सबै अस्पतालतिर लागे ।

डाक्टरको पोष्टमार्टम रिपोर्टले युवकले अत्यधिक मात्रामा लागुऔषध सेवन गरी सेल्फहत्या गरेको पुष्टि गर्यो ।

प्रहरीले लासलाई गाउँलेहरुसमक्ष जिम्मा लगायो । गाउँले, इष्टमित्रहरुले लासको अन्त्यष्ट्रिका लागि घाट तर्फ लगे ।

‘मैले तेँरो लागि कुनैचिजको कमि हुन दिएको थिएर ? ए, बाबु तैँले कि यस्तो निर्णय गरिस् ।’ रुन्चे स्वरमा सुक्सुकाउँदै बाउले छोराको लासलाई दागवक्ति दिए ।

चितामाथि जल्दैगरेको लासलाई हेरिरहेको एक छिमेकी प्याच्च भन्यो–‘तपाईंले आफ्ना छोराछोरीका लागि कुनैचिज कमि हुन दिनुभएन । यदि केही कमि हुन दिएको भए सायद, तपाईले यो दिन देख्नुपर्ने थिएन ।’

प्रकाशित २०७४.०९.०७ नागरिक दैनिक पश्चिमेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *