Skip to content


एउटा वृहत् चोक । धेरै बाटाहरू । मलाई थाहा छैन कुन बाटो कहाँ जान्छ । मेरो लक्ष्य, मेरो चाहना केही थाहा छैन मलाई । मेरो जीवनको हरेक निर्णय पहिले बाबा आमा गर्नुहुन्थ्यो, पछि सदीक्षाले गरी, आज मेरो पालो छ….. ।

‘सदीक्षा मेरो तलव आयो ‘ लाऊ ।

‘किन सधैँ मलाई नै दिन्छौ ? तिमी कमाउन सक्छौ कमाएको पैसा पारलगाउन सक्दिनौ ?’

‘ठिकै छ सधैँ झैँ भाग लगाउँछु । आधा हाम्रो खर्च, आधा मेरो खर्च ।’

‘हुँदैन, पूरै आधा तिमी वर्तमानमा खर्च गर्न सक्दिनौ केही भविष्यका लागि सोच । ‘

‘ठीक छ यस आधामा पनि आधा मेरो भविष्यका लागि तिमी नै साँची देऊ ।’

कमाइ मेरो निर्णय सदीक्षाको हुन्थ्यो । म कमाइको केही भाग उसलाई दिन्थे । ऊ खर्च मिलाएर गर्थी । म तनहुँ र ऊ चितवनकी भएता पनि यसरी हामी एक अर्कामा पूर्ण थियौँ । ऊ कुनै काम गर्दिनथी मात्र पढाइ । पढाइ उसको एक मात्र लक्ष्य थियो । बाँकी रहेँ म, लक्ष्य पढाइ भए तापनि मोजमस्ती मेरो रहर । म जिन्दगीमा हार्न चाहन्नथँे । मात्र रमाउन चाहन्थँे । मैले जे चाहँे त्यो जसरी पनि पूरा गरँे । त्यसैले मेरो रहर पूरा गर्न एउटा सानो जागिर मेरो सहयात्री थियो । विहान क्लास, दिउँसो अफिस र साँझ साथीहरूसँग काठमाडौँको गल्ली तथा होटल रेष्टुरामा हाँस्दै मोजमस्ती ।

सदीक्षा भन्थीः- ‘वर्तमानको हाँसोले भविष्यलाई कुनै असर नगरोस् । ‘

म उसका शब्दलाई सधैँ खण्डन गर्थें- ‘खुसी छ त जिन्दगी, जिन्दगी छ त संसार’ । ऊ केही बोल्दिनथी ।

ऊ सधैँ विहानै उठ्थी, पानी अर्थी र चिया खाजा तयार पारी मलाई उठाउँथी । चिया खाजा खाएर हामी कलेज जान्थ्यौँ । उस्को र हित्तचित्त सबै किताब कपीको अक्षर अक्षमा बाँढिएको हुन्थ्यो । गरिव बुवा आमाको रहर पूरा गर्न ऊ दिन रात एक गरेर पढ्थी । उस्को घरबाट धेरै खर्च आउदैनथ्यो । त्यसैले उ खर्च गर्दा निकै सोच्थी ।

घरबाट राम्रै खर्च आउँथ्यो । त्यस खर्चले मेरो खाने, बस्ने र विभिन्न आवश्यकताहरू पूरा अवश्य हुन्थ्यो । तर, म निकै खर्चालु थिएँ । फिल्म, विभिन्न सांस्कृतिक कार्यक्रम नयाँ नयाँ फेसनका सामानहरूका लागि म जागिर गर्थे । मेरो जागिरका बारेमा घरमा कसैलाई थाहा थिएन । मेरो एक-एक रूपियाँको निर्णय ऊ नै गर्थी तर मेरो रहर र चाहना पनि ऊ राम्ररी बुझ्थी ।

सदीक्षा एक मिहिनेती विद्यार्थी र इमान्दार, संस्कारी छोरी पनि थिई । एकदिन अफिसबाट र्फकंदा उसको अनुहारमा मैले बेग्लै चमक देखेँ । ऊ मुसुमुसु हाँसिरहेकी थिई ।

के भो ? एनी स्पेसल ?

‘केही होइन’ ऊ मुस्कुराइरहेकी र लजाइरहेकी थिई ।

‘केही त पक्कै छ । ‘

ऊ मुस्कुराइरही । म उसको अनुहार प्रष्ट पढ्न सक्छु ।

‘प्रेमको चक्कर त होइन नी ?’

‘त्यस्तो केही पनि होइन । ‘ ऊ कुरा लुकाउन असमर्थ थिई । ओठ एक कुरा गरे तापनि आँखा अर्कै भाषा बोलिरहेको थियो ।

‘प्रेम जिन्दगी हो । यसले बाँच्न सिकाउँछ । तिमी किन लुकाँउछौ ?’ ऊ कुरा लुकाउने प्रयास गर्दै गई ।

परीक्षा नजिक आयो हामीले मिहिनेतका साथ परीक्षा दियाँै । उसको परीक्षा राम्रो भयो मेरो भने ठिकै । परीक्षा सकिएको दिन म निकै प्रफुल्लित थिएँ । स्वतन्त्रताले मेरो शरीरमा पखेटा पलाएको थियो । म साथीहरूसँग काठमाडौँको गल्ली घुम्न गएँ । निकै फरक देखिएछ काठमाडौँ । यही नै यसको विशेषता हो । नयाँ-नयाँ घरहरू, पसलहरू थपिएछन् । पुराना पसलले कतै स्थान फेरेछन् त कतै अस्तित्व नै गुमाएछन् । म चारैतिर नजर लाउँदै हिँड्दै थिए , एक्कसी कसैसँग ठोक्किन पुगेँ । पहिले त निकै रिस उठ्यो तर पछि रिस हराएर गयो । कताकता लाज पो लग्न पुगेछ । थाहै नपाई एकै नजरमा म पराइ भएछु । मेरा हात खुट्टा, शरीर सबै गल्न पुग्छन् ।

‘सरी तपाईंलाई गाह्रो पर्‍यो । ‘

‘इट्स ओ. के. ‘

‘तपाईंको शुभनाम ?’

‘अर्पिता । अनि तपाईंको ?’

‘युग’

‘स्वीट नेम’

‘धन्यवाद, फेरी भेटाँैला’ ऊ आˆनो भिजिटिङ् कार्ड मेरो अघि बढाउँछ । म उसको कार्ड लिएर कोठातर्फ र्फकन्छु ।

कोठामा गई युगको बारेमा सदीक्षालाई बढाइचढाइ सुनाएँ । म उसलाई समय-समयमा कल गर्थे । पछि हाम्रो भेटघाट सुरू भयो र त्यस भेटघाटले मित्रताको रूप लियो र समयसँगै म ऊ प्रति प्रेमको चाहना गर्न पुगेछु ।

हामी असाध्य खुसी थियौँ । सदीक्षा एक प्रेमिका र म पनि कसैलाई चाहने हुँदा उसको र मेरो मनपेट मिल्थ्यो । प्रकाश, सदीक्षाको प्रेमी र मेरो प्रेमी दुवै जना अफिसर थिए । हाम्रा प्रत्येक दिनका घटना एक अर्काको लागि परिचित थिए तर, एक-अर्काको प्रेमीसँग भने हामी कहिल्यै भेट भएका थिएनौँ ।

एक साँझ सदीक्षा प्रकाशसँग भेटी कोठामा आइपुगी ।

‘निकै खुसी देख्छु, केही नयाँ ? ‘

ऊ भन्दै गई प्रकाश उसलाई बिहे गर्ने रे । विवाहको कुरालाई लिएर सदीक्षा खुसी थिई । यस कुराले मलाई पनि निकै रोमाञ्चित बनायो । अब युग र म पनि विवाह गर्नुपर्छ । मैले निर्णय गरेँ । म ऊसँग प्रेम प्रस्ताव राखी विवाहको कुरा गर्छु । मनभरि उमङ्ग लिई मैले युगलाई कल गरेर भेट्न बोलाएँ ।

बिहानै सदीक्षालाई सबै कुरा बताई युगलाई भेट्न गएँ । ऊ पहिले नै आइसकेको रहेछ । उस्को अनुहारमा पनि खुसीका लहरहरू फैलिएका थिए । मेरो नजिक पर्नासाथ उसले खुशी हुँदै भन्यो ।

‘अर्पिता आज म धेरै खुसी छु । थाहा छ तिमीलाई ‘आइ एम गोइङ्ग टु मेरी’

म छाँगाबाट खसेँ । ऊ भन्दै थियो ‘सी इज व्युटीफुल… हर नेम-इज सदीक्षा । सदीक्षा इज माइ लभ… माइ हार्ट…..।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *