Skip to content

जीवन धान्नलाई


जीवनमा धान्नु हो भने
मीठो मात्र भएर हुँदैन
कहिलेकाहीँ टर्रो पिरो पनि हुनुपर्छ,
मीठो मसिनोले मात्र कहाँ अघाउन सकिन्छ’ र
कहिलेकाहीँ जिब्रोको स्वाद पनि बिगार्नु पर्छ ।
गाउँघरमा मेल मिलाप राख्नु हो भने
नराम्रोलाई पनि राम्रो भन्नुपर्छ ।
राम्रोलाई नराम्रो भनेर
उनीहरूको मन जित्नुपर्छ ।
साथीभाइको मन राख्न
भट्टी पसलको टेबलमा
गिलास जुझाउनु सक्नुपर्छ।

जीवन धान्दा
सबैलाई आँखामा बसाउनु कहाँ सकिन्छ’ र
कसै कसैसँग आँखा तर्न पनि सक्नुपर्छ,
सिरीयस भएर बस्नु पनि राम्रो होइन
कहिलेकाहीँ ख्यालठट्टा पनि गर्नुपर्छ ।
प्रेम गर्न जान्नेले
धोका खानु पनि सक्नुपर्छ ।

जीवन धान्नलाई
यहाँ खै के के गर्न पर्दैन
सबैथोक गर्नुपर्छ,
खोलानाला तर्नुपर्छ ।
भिर पहरा पनि चढ़नु पर्छ,
चिप्लेर पनि लड्नु पर्छ,
लडेर उठ्न सक्नुपर्छ ।
कहिले हाँस्दा हाँस्दै रुनुपर्छ,
कहिले रुँदारुँदै हाँस्नु पर्छ ।
उज्यालो खोज्ने मान्छेले
अँध्यारोमा पनि हिड्न सक्नुपर्छ ।

जीवन धान्नलाई
यहाँ सबै थोक गर्नु पर्छ
राम्रो पनि गर्नुपर्छ
नराम्रो पनि गर्नुपर्छ,
सत्य लुकाउन
असत्य पनि बोल्नु पर्छ,
अलि अलि छुचो पनि हुनुपर्छ ।
कहिले मरेर जिउनु पर्छ,
कहिले जिउँदा जिउँदै मर्नु पर्छ ।

-बी बी ठकुरी
मिल्टन, कनाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *