केही दिन अगाडि ईन्टरनेट चहार्दै हिँड्दा अचानक एउटा साईटमा मेरा आधा दर्जन जती रचनाहरु बिना सूचना र मेरो नाम र पूर्व प्रकाशित मेरो ब्लको व्याकलिन्क समेत नदिई छापिएको भेटें । ति मध्य केही कथाहरु धेरै अगाडी गोरखापत्र, कान्तिपुर, साप्तहिकमा प्रकाशित र एउटा भने राष्ट्रव्यापी लघुकथा सम्मेलनमा पुरस्कृत समेत थियो । आफ्नो रचना सिधै चोरेर व्यवसायीक प्रयोजनकासाथ अर्काको साईटमा राखेको देखेपछि रिस उठ्नु स्वाभाविक नै हो, तैपनि भुलवस भएको पनि हुनसक्ने अनुमान गरेर सभ्य ढंगले सो साईटको कमेण्ट बक्स, च्याट बक्स र त्यसका एडमिनलाई पनि सो रचनाहरु आफ्नो भएको जानकारी गराएँ ।
तर, न त मेरा कमेण्ट प्रकाशित भए न त मेरो ईमेलको नै जबाफ आए । सुरु देखी नै अरुहरुको लेख-रचना र सामाग्रीहरु चोर्दै पस्कदैँ गरेका त्यस साईटका कसैले पनि सामान्य ‘रेस्पोन्स’ समेत गरेनन्।
त्यसपछि अरु केही उपाए नलागेर सो साईट होस्टीङ गर्ने कम्पनी र यस्ता गलत कार्य भएमा भन्न मिल्ने ठाउँमा पनि सो बारेमा जानकारी पठाएँ । तुरुन्तै एकठाउँबाट रेस्पोन्स त आयो तर दुबै साईटमा भएका सामाग्रीहरु “Unknown language” मा भएकाले यस कार्यमा विलम्ब हुन सक्ने जानकारी पनि प्राप्त भयो । तर एउटा सकारात्मक कुरा के भयो भने त्यस साईटका हर्ताकर्ता रहेर यो सबै कामलाई ‘अन्जाम’ दिने व्यक्ति ह्युस्टन, टेक्ससमा रहने साकार भुसाल रहेको जानाकरी र निजको फोन नम्बर, ईमेल ठेगाना र घर-कार्यालयको ठेगाना समेत मलाई उपलब्ध गराईयो ।
त्यसपछि मैले सो व्यक्तिलाई आफ्नो सबै रचनाको लिन्क समेत दिएर सो रचनाहरु उनको साईटबाट हटाउन वा मेरो नाम र ब्लगको लिन्क समेत राखेर मात्रै त्यहाँ राख्न ईमेल गरें । यस पटक भने उताबाट चोर महाशयको ईमेल आयो । तर, अर्काको रचना चोरेर राखेकोमा गल्ती स्विकार्नु वा माफी माग्नुको बदला उल्टै मलाई सो रचनाहरु मेरो भएको प्रमाणित गर्न भने चोरले ।
मेरो ब्लगमा सबै रचना भएको लिन्क तिनलाई पठाईसके पछी मैले सो कार्य गरीरहनु आवश्यक थिएन, तर पनि स्थितिलाई छिट्टै सल्टाउने हिसाबले मैले मेरा पत्रिकामा प्रकाशित केही रचनाका स्क्यान कपी पनि तिनलाई पठाएँ । तर ति ठिस चोरले आजका मितिसम्म पनि तिनका साइटबाट न त मेरो रचना हटाएका छन, न त मेरो नाम वा ब्लगको व्याकलिन्क नै दिएका छन ।
हुन त यस्तो चोरीको घटना पहिलो हैन र पहिला पनि बेला बेलामा हाम्रा रचनाहरु चोरीने गरेका छन। तर ति पहिलेका चोरहरु कोही लहडमा चोर्ने, कोही टापटुपे त कोही भने यो बेहोसीमा चोर्नेहरु थिए र तिनलाई साधारण नसिहत दिने बाहेक अरु पछी लागेर हेर्नु परेन/ हेरिएन । तर यसपाला भने व्याबसायीक चोर परेकोले उल्टै जो चोर उसकै ठुलो स्वर भएकोले चुप लागेर बस्नु ठिक पनि भएन ।
नेपाली भाषामा एउटा उखान छ, “मुला चोरे पनि चोर, सुन चोरे पनि चोर” । त्यसैले ति व्यक्ति जो सुकै होउन, कुनै रेस्टुरेण्टको वेटर, ‘ह्वाईट कलर’ एक्जुकेटीभ, साइट एडमिन वा कुनै कर्पोरेट कम्पनिका सिईओ, मेरो लागि तिनको हैसियत केवल चोर हो र आज उप्रान्त तिनीसंग साधारण शिष्टता हैन चोरसंगको व्यबहार गर्नुको विकल्प पनि रहेन ।
यि ठिस चोर भएकाले यो पोष्टको के कस्तो रिस्पोन्स आउँछ भन्ने पनि हेक्का छ । तर एउटा समाज, जहाँ चोर छाती फर्काएर हिँडछ भने त्यहा सामान चोरीने मालीक उल्टो डराउने पक्कै पनि हुँदैन । म ति सम्पत्तिका मालिक हुँ र त्यो व्यक्ति चोर।
अरु कारणले नभएपनि मेरो नयाँ रचना चोर्ने बेलामा भए पनि सो चोर पक्कै यहाँ आईपुग्ने छ । अब चोरले यहि पोष्टको कमेण्ट बक्स वा कमसेकम मेरो ईमेलमा तथानाम लेख्ने पनि निश्चीत छ –चोर न हो, त्यो भन्दा राम्रो बुद्दी के नै होला—तर म ति सबै कुराको हेक्का राख्दै आफ्नो मालकियतको लागी लड्ने छु । ति चोरको ‘चोरी उपरसे सिना जोरी’ गर्ने स्वभावले भने मलाई पनि हौसला दिएको छ । एउटा अपराधि नडराउने ठाउँमा म किन डराउने !
ल हेर्नुस मेरो रचनाहरु मेरो आफ्नो ब्लगमा कहाँ छ र चोरको घरमा कहाँ छ त :
|
लेख रचना मेरो ब्लगमा |
लेख रचना चोरको साईटमा |
साथै सो साईटमा बसन्तजीका पनि दुईवटा कथा विना सूचना टाँसीएका रहेछन अरु साथिहरुको पनि हुनसक्छन् ।
टापटुपे चोरबाट आफ्नो सम्पति सुरक्षा पहिल्यै पनि गरीएकै हो, तर यो काममा ‘कर्पोरेट’ र पेशेवर चोर लागे पछि भने हामीले केही गम्भिर हुनै पर्छ । म मेरा सम्पूर्ण ब्लगरमित्रहरु, प्रबुद्द पाठकवर्ग र सबै शुभचिन्तक वर्गहरुमा यस्ता चोरहरुसंग प्रतिकार गर्न र यिनलाई बेनकाब गर्न मेरो साथ दिनुहुन पनि आह्वान गर्छु ।
Happy Blogging!
(यि चोरको बारेमा साझाको यो धागोमा पनि केही कुरा पहिलै भैसकेको रहेछ )
सानो-ठूलो जस्तो भए पनि कुनै पनि रचना तयार गर्न सर्जकको मेहनत र समय लागेको हुन्छ, त्यसैले यस्ता रचनाहरु चोर्ने र सोको अनाधृकित व्यापारीक प्रसार गर्ने विरुद्ध नयाँ पुराना सबै सर्जहरु एकजुट हुनु आवश्यक छ र सबैलाई यस किसिमको चोरीको शिकार हुनुबाट बच्न केही सचेतना होओस भन्ने मनासायले यो लेख यहाँ राखेको छु । कृपया मझेरीमा यस्ता खालको सचेतनामूलक जानकारी राख्न नमिल्ने खण्डमा मलाई सूचना गर्नुहुन वा यो पोष्टलाई डिलिट गर्नुहुन म यस मझेरीका एडमिनज्युलाई आग्रह गर्दछु । धन्यवाद् ।
http://dacharya.blogspot.com/2009/08/blog-post_12.html

दिलिपजी,
पहिलो त, तपाईंको यस
दिलिपजी,
पहिलो त, तपाईंको यस लेखलाई हटाउने प्रश्नै आउँदैन। बरू तपाईंलाई धन्यवाद दिनै पर्छ: चोरीलाई खुलासा गरेर सबको अगाडि पर्दाफास गरिदिनु भएकोमा। अन्य साथीहरू पनि, यदि यस्तै चोरी या अन्यायमा पर्नु भएको छ भने, आउनुहोस् मिलेर चोरी गर्नेहरूलाई खुलासा गरौं। कि, तिनीहरू भविष्यमा फेरि यस्तो आँट गर्न नसकुन्।
मझेरीले लेख-चोरीलाई हतोत्साहन गर्ने गरेको त यसै छ। यस बारे हाम्रो नियम प्रष्ट छ: कुनै पनि हालतमा हामी चोरीलाई सहन गर्न सक्तैनौं। अरूको लेखलाई प्रकाशन गर्न लागेको बेलामा, वास्तविक लेखक खुलाउनु पर्नेमा हामी प्रष्ट र अन्य कतै प्रकाशित भैसकेको भए श्रोत खुलाउन अनुरोध पनि गरेका छौं। यो हाम्रो सुरुदेखि कै पोलिसी हो, जसलाई निरन्तरता दिन हामी कटिबद्ध छौं।
बिगतमा केही पाठक/लेखकले अर्काको लेख रचना आफ्नो नाममा मझेरीमा राखेको पनि पाइयो, जसलाई तत्कालै हटाउने (वा वास्तविक लेखक र श्रोत खुलाएर संशोधन गर्ने) काम गर्यौं पनि। मझेरीमा अहिले पनि कुनै लेख चोरी गरी छापिएको छ भने तपाईं अनि अन्य सबै पाठक लेखकलाई हाम्रो ध्यानाकर्षण गर्न अनुरोध गर्दछौं। आफ्नो स्थानबाट गर्न सक्ने काम गर्नेछौं। त्यसको लागि हामी सबै पाठक लेखक र सञ्चालकबिच हातेमालोको खाँचो छ।
चोरी नगरौं। चोरी नगराऔं। चोरी नसहौं।
कुमार
दिलिप जी, तपाईको लेखहरू
दिलिप जी, तपाईको लेखहरू चोरिएको बारेमा उथान गर्नु भएको विषयवस्तु सहि हो, मेरो पनि केहि लेखहरु गोरखापत्रमा प्रकाशितलाई हुवहु बिदेशमा संन्चालित अनलाइन साइटमा राखेको पाइएको छु । जब सम्म विकृत मानसिक बोकेमा चोर लेखकहरुमा अरुहरुको लेख, रचनाहरु चोर्नु हुन्न भन्ने भावना आउँदैन तब सम्म यस्तो भैहरन्छ । त्यस्ता व्यक्तिहरु नाम सार्वजनिक गरेर बहिस्कार गर्नु पर्छ, सम्पूर्ण अनलाइन वेभसाइटहरु ले ।
http://www.tcspenpal.webs.com
http://www.tcspublication.com