सहिद औपचारिकता वा महान बलिदान ?

  • by


सन्दर्भ फेरि घुमेर सहिद दिवस आइपुगेको छ । नेपाल सरकार प्रत्येक वर्ष माघ १६ लाई ‘सहिद दिवस’ का रूपमा धुमधामसँग स्मरण गर्ने गर्छ । यो लेख सरकारको उक्त दिवस मनाउने पृष्ठभूमि र कारण होइन, सहिदको अर्थ, मर्म र अभ्यासमाथि थोरै प्रकाश पार्ने हेतु लक्ष्यित छ ।

सबैलाई थाहा छ केवल त्यो व्यक्ति सहिद हो जो आफ्नो लक्ष्यका लागि सुविचारित, सचेत एवं अविचलित ढङ्गले लडिरहँदा अमरत्वमा प्राप्त हुन्छ । उदाहरणको लागि सहिद गंगालालको गौरवशाली मृत्युवरणलाई प्रस्तुत गर्न सकिन्छ । केरकार एवं पूर्पक्षका क्रममा राणाविरोधी सङ्घर्षका चार महान सहिदहरू- दशरथचन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्रीहरूद्वारा व्यक्त गौरवशाली एवं प्रेरणादायी भावनाहरू स्वयंले सहिद को हुन् र तिनको जीवन दृष्टिकोणले कस्तो थियो भन्ने समेत सुस्पष्ट हुन्छ । अरू त अरू स्वयं टंकप्रसाद आचार्यले पनि निरङ्कुश राणाहरूका अदालतमा जति गौरवशाली एवं निर्भयपूर्वक प्रतिउत्तर दिएका थिए त्यति सायदै त्यसपूर्वको झण्डै २००० वर्ष पुरानो निरङ्कुश र जहानियाँ सत्ताका अधिकारीहरूले सुनेका हुनन् ।

केरकारका सन्दर्भमा टंकप्रसाद आचार्यसँग सोधियो- तँलाई थाहा छ- सरकार भनेको के हो ? आचार्यले उत्तर दिए- छ । त्यो भए भन त के हा ? उनले उत्तर दिए- सरकार भनेको देशको मुटु हो । फेरि राणाको हाकिमले सोध्यो- मुटु भन्ने जान्दाजान्दै फेरि यस्तो उत्पात किन मच्चाएको हो ? आचार्यले फेरि उत्तर दिए- मुटुमा कीरा परेपछि के गर्नु त ? स्वभाविक थियो राणा जर्नेललाई एउटा सामान्य बाहुन चरीका मुखबाट कडा प्रतिउत्तर सहृय थिएन । अतः तत्क्षण उसले अभियुक्तहरूमाथि कोर्रा र झापड बर्साउने आदेश दियो । तर एउटा उद्देश्य र प्रतिवद्धतामा हिँडेका तिनीहरू किमार्थ गलेनन्, लत्रेनन् ।

यसरी चार सहिदमध्ये सबैभन्दा कम उमेरका गंगालालसँग पनि अनेक पटक श्री ३ महाराज जुद्धशमशेर समक्ष माफी माग्न आग्रह गरियो तर उनले भने ‘भीखमा पाएको जीवन नबाँच्ने’ भन्दै माफी माग्न अस्वीकार गरे । अमर सहिद दशरथ चन्द र शुक्रराज शास्त्रीहरूबाट त झन माफीको कल्पनासम्म सम्भव थिएन । अन्ततः राणा सरकारद्वारा गठित केरकार तथा जाँचबुझ समिति र विशेष अदालतहरूद्वारा सिफारिस गरिएबमोजिम ९७ सालको काण्डका मुख्य अभियुक्तहरूविरूद्ध मृत्युदण्ड- फाँसीको सजाय सुनाई वि.सं. १९९७ माघ १० गते रातीबाट त्यसको कार्यान्वयन सुरू गरियो । यसको आरम्भ शुक्रराज शास्त्रीबाट भएको थियो, जसलाई उक्त राती १२ बजे पचली टेकुमा झुण्ड्याएर मारिएको थियो । भोलिपल्ट बिहान पचलीको रूखमा झुण्ड्याइएका शुक्रराज शास्त्रीको छातीमा यस्तो लेखोट टाँसिएको पाइयो ः

भरखर शिक्षा पाएका नवयुवकहरूलाई भड्काएर देशमा विद्रोह फैल्याउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजाय भयो ।

शुक्रराजलाई झुण्ड्याइएको तेस्ा्रो दिनपछि माघ १३ का दिन उही समय सिफलनिर धर्मभक्तको पनि राणाहरूले चरम यातना दिएपछि ज्यान लिए । यसपछिको पालो थियो- दशरथ चन्दर गंगालालको । यी दुबैले माघ १४ गतेको रात जाँदो भाचाखुसी र विष्णुमतीको दोभानमा राणा सरकारको तातो गोली पाए । यसरी आततायी राणा सरकारले तिनको जहाँनिया शासनको विरूद्ध उठाएको आवाजलाई सकेसम्म कठोरतापूर्वक दमन गरी जनतामा एउटा आतङ्क र भयको वातावरण सिर्जना गर्ने प्रयास गरे । इमान्दार भन्ने हो भने नेपालमा सहिद सप्ताहको जग र प्रेरक प्रसङ्गको उठान यहीँबाट हुन्छ । अन्यथा त्यसपूर्व, त्यसपछि र हालसम्म पनि यस देशमा मर्ने मार्नेको कुनै कमी छैन तर उक्त चार सहिदले यस शब्दको गौरव एवं गरिमा जति युगान्तकारी र सार्थक बनाउन सके त्यसपछि अघि र पछि कहिल्यै यस्तो हुन सकेन । वस्तुतः यही सन्दर्भमा सहिद, सहिद सप्ताह र अन्य बलिदानपूर्ण जीवनको सार्थकता एवं मर्ममाथिको मिमांशा विचारणीय र लेखकीय विषयवस्तु बनेको अवस्था पनि छ ।

सहिद को ?

सबैजस्तो स्रष्टा वा लेखकहरूले कुनै महान कामका लागि जीवन उत्सर्ग गर्ने व्यक्ति नै सहिद हुन्छ भन्ने मान्यता दिँदै आएको पाइन्छ जसलाई नेपाली शब्दकोशहरूले थोरै फराकिलो पनि पारिदिएका छन् । तिनीहरू भन्छन- आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति नै सहिद हुन्छ । यताबाट सहिदको शाब्दिक अर्थ पहिलोमा देश, दोस्रोमा संस्कृति, तेस्रोमा अस्तित्व, चौथोमा स्वतन्त्रता, पाँचौमा बलिदान र अन्तमा लोकहितका लागि बलिदान हुने व्यक्ति भन्ने हुन आउँछ । साथै, सहिद शब्दको अर्थ गर्ने स्रष्टाहरू के भन्छन् भने यसको सुरू शब्दमै ‘आफ्नो’ भन्ने पदावलीबाट “कसैको लागि होइन वा कसैको कर, बल, छल अथवा अरोट-परोट होइन आफ्नै ज्ञान, विवेकका आधारमा आफ्नो देशको निम्ति, आफ्नो संस्कृतिको निम्ति, आफ्नो स्वतन्त्रताको निम्ति, सङ्घर्षमा उत्रने र सङ्घर्षको क्रममा ज्यान गुमाउने वा आफ्नो हक अधिकारको निम्ति निर्भिक भई बलिदान हुने” व्यक्ति सहिद हुन्छ ।

यस्तो आशय व्यक्त गर्ने स्रष्टाहरू यतिमै मात्र पनि चित्त बुझाउँदैनन् र भन्छन्- लोकहित भनेर मात्र पनि पुग्दैन किनभने आखिर लोकहितमा लाग्ने त्यस्तो अमर व्यक्ति को हो त ? अतः सहिद शब्दको सत्यापनका सन्दर्भमा प्रथमतः ‘लोकहित’ लगायतका शब्दकोशद्वारा यस सन्दर्भमा प्रस्तुत सबै पदावलीहरूको समेत अर्थ गर्नुपर्ने हुन्छ । जसअनुसार लोकहित शब्दको अर्थ हुन आउँछ- सार्वजनिक हित, जनकल्याण र लोकको भलाई भन्ने उल्लेख भएको हुँदा जसले सार्वजनिक हितलाई नै आफ्नो हित ठान्ने गर्छ, जसले जनकल्याणलाई नै आफ्नो कल्याण ठान्ने गर्छ र जसले लोकको भलाईलाई नै आफ्नो भलाई ठानी तिनको हितका लागि संघर्षमा उत्रन्छ र जसले त्यसरी हितमा उत्रनेविरूद्ध नानाथरी प्रपञ्च रची मार्नेसम्मको तारतम्य मिलाउने क्रममा त्यस्तो व्यक्तिको ज्यानसमेत लिन्छ भने त्यसरी ज्यान गुमाउने व्यक्ति नै प्रकारान्तरले सहिदको रूपमा समाजमा सम्मानित हनपुग्छ । यही स्थिति त्यस्तो बलिदानी व्यक्तिका लागि आश्रय र कुनै पनि तरिकाले संरक्षणसमेतका लागि साथ दिने व्यक्तिले पनि ज्यानै गुमाउने स्थिति बन्छ भने त्यसरी अमरत्व प्राप्त गर्ने व्यक्तिपनि ‘सहिद’ नै मानिनुपर्न हुन्छ । अर्का, सहिदको सन्दर्भमा केही लेखकहरूले वर्ग, समुदाय वा राष्ट्रको हित र मुक्तिको निम्ति निश्चित उद्देश्य बोकी अग्रसर हुने क्रममा बलिदान भएको व्यक्ति नै सहिद हुनसक्छ भन्ने धारणालाई पनि भ्रान्त मान्दै वस्तुतः आन्दोलनका क्रममा मारिने जो कोही पनि सहिद हुन्छ भन्ने धारणा नै गलत छ भन्ने निष्कर्षमा उभिएका देखिन्छन् । यसक्रममा तिनीहरू कस्तो दृष्टान्त राख्छन् भने हाम्रो देशमा त पार्टी काममा हिँडेको व्यक्ति कुनै अर्कै कारणबाट मृत्युवरण गरेको हकमा सम्म ‘सहिद’ मान्ने परम्परा देखियो । यसरी नै आफ्नै सुरले बरण्डामा बसेको वा बजार घुम्नेक्रममा आन्दोलनकारीलाई लक्षित गरी चलाइएको गोली लागी निधन भएको व्यक्तिलाई ‘सहिद’ को पगरी गुथाइयो । जुन क्रम हिजोआज गाडी दुर्घटना वा अरू कुनै पनि कारणले मरेको हकमा समेत प्रयुक्त हुने स्थानमा आइसकेको अवस्था छ ।

यी तर्कहरूले यस देशमा सहिदको परिभाषासम्म पनि कायम भइनसकेको र आ-आफ्नो स्वार्थ अनुसार निहित उद्देश्यका लागि कसैलाई पनि ‘सहिद’ मान्ने गरेको अवस्था विद्यमान रहेको यथार्थलाई नै इङ्िगत गर्छन । यसको तात्पर्य रहृयो यस सन्दर्भमा हामीले प्रारम्भिक अवस्थाबाट नै कार्यारम्भ गर्नुपर्ने छ । अन्यथा वास्तविक सहिद उपेक्षित र अपमानित हुने अनि त्यस कोटीमा पर्नै नसक्ने व्यक्ति सहिदभन्दा पनि माथिल्लो स्थानमा आसिन हुने पुरानै परम्परा जारी रहने खतरालाई अब देशले टाल्न नसक्ने सम्भावना टड्कारो बनेर गएको छ । उदाहरणका लागि काठमाडौँ सहिदगेटको शिरमा रहेको राजा त्रिभुवनको सालिकलाई प्रस्तुत गर्न सकिन्छ । एउटा पनि कारण यस्ता छैन जहाँबाट राजा त्रिभुवनलाई त्यहाँ विराजमान गराउन सकियोस् । वस्तुतः यी तिनै राजा हुन जसको अन्तिम आदेशबाट उनको काँध थापेर बसेका चार सहिदहरूको हत्यासम्बन्धी आदेश जारी भएको थियो । प्रश्न उठ्छ के यस्ता व्यक्तिलाई ती महान सहिदको शिरमा विराजमान गराउनु उचित हो ? के राजा त्रिभुवन पनि नेपालका सहिद हुन् ? अन्यथा उनलाई किन सहिदको शीषर्ाशनमा राखियो ? तर यस्ता ज्वलन्त प्रश्नहरू अरू पनि हुन सक्छन् जसलाई आजको सन्दर्भमा बहसमा ल्याएर देश र जनताको सामूहिक हितमा प्राणोत्सर्ग गर्ने महान र वास्तविक सहिदहरूको विशिष्ट सम्मान हुने र अन्यले यथोचित मान, सम्मान पाउन सक्ने परम्पराको थालनीतर्फको प्रारम्भिक पाइलो चाल्नसक्ने छन् । के हामी यसतिर सोच्न सक्ने मनस्थितिमा छौँ ? यदि छौँ भने पंक्तिकारलाई लाग्छ वास्तविक अर्थमा यस्तो चिन्तनतर्फ प्रेरित हुनु नै अपमान र बेवास्ताका शिकार बनिरहेका ती महान र आदरणीय व्यक्तित्वहरूप्रतिको सम्मान सुम्पने प्रारम्भिक पाइलोको पूर्व सङ्केत हो । अन्यथा यी नक्कली सहिदहरूको भीडमा देश र जनताकै लागि प्राणोत्सर्ग गर्ने ती महान सहिदहरूको यस देशले कहिल्यै पनि सम्मान गर्न सक्ने छैन । र, यसको अर्थ हुन्छ यस देशले पनि कहिल्यै आफ्नो गरीबि, अभाव र पछौटेपनको निराकरण गर्न सक्ने छैन । किनभने जुन देशले आफ्ना पूर्वज, अग्रज र सहिदहरूको इज्जत र कदर गर्न जान्दैन त्यो देशले कहिल्यै पनि प्रगति र सुख शान्ति हासिल गर्न सक्दैन । व्यवहारमा पनि आजसम्म हाम्रो देशले भोगिरहेको चुनौति यही हो किनभने हामी नतः गुरूलाई मान्छौँ नत अग्रजलाई । अब त हामी कहाँ आइपुग्यौँ भने हामीहरू हाम्रा लागि प्राणोत्सर्ग गर्ने ती महान सहिदहरूमाथि पनि राजनीति र व्यापार गर्न थाल्यौँ । त्यसैले अब क्रमशः मानिसलाई यस्तो लाग्न थाल्यो- देश र जनताको लागि प्राणोत्सर्ग गर्नु पनि बेकार रहेछ ।

सहिदको निर्क्यौल गर्ने सरकारी प्रयास

सहिद दिवस होस् वा प्रजातन्त्र (गणतन्त्र पनि !) दिवस अनि जनयुद्ध दिवस नै पनि । यदि त्यसको मर्म तत् तत् सन्दर्भको भावनासँग मिल्दैन भने ती दिवसहरू मनाउनुको कुनै अर्थ रहन जाँदैन । उदाहरणको लागि पञ्चायतले पनि सहिद दिवस र प्रजातन्त्र दिवस बडो तापझामका साथ मनाउथ्यो तर त्यो एउटा पाखण्डबाहेक अर्थोक थिएन । दुःखको कुरा त्यसपछिका दिनहरू पनि आमनेपालीको आँखाबाट हेर्दा आधारभूतरूपले भिन्न हुन सकेनन् । कहाँसम्म भने ०४६/०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना लगत्तैको अन्तरिम सरकार स्वयंले पनि ०१७ देखि ०४६ को अवधिमा अमरत्व प्राप्त गर्नेहरूलाई सहिद मान्ने नमान्ने भन्ने सम्बन्धमा कुनै ठोस नीति तय गर्न सकेन । यति आवश्यक हो उक्त सरकारले ०४६ फागुन ७ देखि चैत्र २६ गतेसम्मको अवधिमा शहादत प्राप्त गर्नेहरूलाई चाहिँ सहिदको श्रेणीमा राख्ने निर्णय लियो । यसैक्रममा २०५२ सालमा पुर्नगठन गरिएको र त्यसपछि राजनीतिक योद्धा सम्मान समिति नाम दिइएको राजनीतिक पीडित सहायता समितिले पनि झण्डै २० करोड रूपियाँ राज्यको ढुकुटीबाट मनपर्दी बाँडफाँड गरे पनि राज्यले नतः सहिदहरू न सहिदको परिभाषा नै तय गर्न सक्यो । फलस्वरूप आफ्नो हात जगन्नाथ भनेझैँ २०६५ सालमा माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वमा बनेको पहिलो गणतान्त्रिक सरकारले पनि आफू पक्षधर झण्डै सात हजार माओवादीहरूलाई सहिदको सूचीमा राख्न राजनीतिक निर्णय गरेतापनि उसको सरकारको अवसानसँगै यो प्रयास पनि अलपत्र नै पर्‍यो ।

सबै सङ्घसंस्था र राज्यका निकायहरूलाई झैँ दलहरू सरका सहिद पंक्तिमाथि पनि भयंकर राजनीतिकरण गर्न आइपुगे । सोही कडीको पछिल्लो शृङ्खलाका रूपमा वर्तमान सरकारले पनि आफू सत्तासीन भएको लगत्तै पूर्वमन्त्री एमाले नेता मोदनाथ प्रश्रतिको संयोजकत्वमा फेरि अर्को सहिद सुझावसम्बन्धी उच्चस्तरीय कार्यदलगठन गरी त्यसले पनि सहिद नामावली र सहिदसम्बन्धी परिभाषा, मापदण्ड र आधारहरूसमेत माथि विस्तृत छलफलपछि प्रतिवेदन बुझाइएको अवस्था भएतापनि अन्य सुझावहरूकै जस्तो यो सुझाव पनि सरकारको कुनै दराजमा थन्किने निश्चित जस्तो अवस्थामा विद्यमान रहीरहेको अवस्थामा हालको सरकार विगत सात महिनादेखिनै कामचलाउ अवस्थाको रूपमा रहिरहेको अवस्थामा सरकार परिवर्तन अवश्यम्भावी देखिँदा प्रश्रति आयोगको प्रतिवेदन पनि फासफुस सम्भावना नै प्रवल रहेको अवस्था छ ।

उपसंहार

माथिको विवेचनाले देशमा सहिद शब्दको व्याख्या र सो का आधारहरू तय भइनसकेको भन्ने स्पष्ट देखाउँछ । साथै देशमा बलिदान र आन्दोलनका तरिकाहरूमा पनि सँगसँगै परिवर्तिन हुँदै नै गइरहेको अवस्था छ । फलस्वरूप देशमा जातीय, क्षेत्रीय र लिङ्गीय आन्दोलनहरूले नयाँ उचाई प्राप्त गरेबाट सहिदहरूको सङ्ख्या, दायरा र चरित्रमा पनि उल्लेख्य परिवर्तन देखापर्दै गएको छ । तथापि यी सबै सहिदहरूको परिभाषा नै गर्न नसकिने भने अवश्य पनि होइन तर सबै आन्दोलनकारी र अभियानकर्ताहरूले छोटामोटा सबै घटनाहरू तेस्र्याइ राज्यलाई लुकाउने र दमन गर्ने व्यापारका रूपमा जसरी सहिद शब्दको दुरूपयोग एवं बजारीकरण गरिएको छ । यस अवस्थामा पनि राज्यले यस गरिमायुक्त एवं गौरवशाली कर्म र शब्दको निश्चित मापदण्ड र सिद्धान्तका आधारमा परिमाषा नगर्ने हो भने भविष्यमा राज्यका नयाँ मान सम्मान, नियुक्ति र पदोन्नति पाउनेहरूमाथि आज जसरी नाक खुम्च्याउने संस्कृति हुर्कंदो अवस्थामा रहिरहेको अवस्था छ त्यसरी नै यो सहिद शब्द पनि त्यसरी नै सस्तो र बजारीकरण भएरजाने पक्काजस्तै छ ।

अतः राज्यले शिघ्रातिशिघ्र सहिदसम्बन्धी मान्यताको राज्यस्तरीय परिभाषा राजपत्रमार्फत ऐनकै रूपमा जारी गरी उक्त मापदण्डभित्र पर्ने उच्च योगदान भएका महान व्यक्तिहरूलाई मात्र सहिदको श्रेणीमा राखी तिनको मान सम्मान पनि सोही अनुसारको विशिष्ट विशिष्ट ढङ्गबाट गरिने परिपाटी बनाउनु मनासिव हुनेछ । कदाचित त देश र जनताका लागि कनै न कुनै ढङ्गले उल्लेख्य योगदान गर्दै अमरत्व प्राप्त गर्ने केही महान व्यक्तिहरू सहिदको पंक्तिबाट छुट्ने अवस्था आउने स्थिति बने त्यस्ता महान व्यक्तिहरूलाई मधेश आन्दोलनका सहिद, निश्चित जाति, भाषी र संस्कृतिसम्बन्धी सहिद, धार्मिक सहिद, जनयुद्धका सहिद, निश्चित पार्टी र विचारका सहिद र महिला आन्दोलनका सहिद आदि नामबाट पनि राज्यले त्यस्ता महान व्यक्तिहरूको सम्मानोचित व्यवहार गर्नसक्छ । जसको न्यानोबाट तिनका स्वजन, परिवारजन र अन्य शुभचिन्तकहरूसमेतले गौरव र अन्यप्रकारको सहानुभूति पनि पाउन सक्छन् । राज्यले राजकीय तहबाट चाहिँ केवल तिनै महान हस्तीहरूलाई मात्र सहिदको राजकीय सम्मान र दर्जा दिनु उचित हुनेछ जो प्रजातन्त्र, देशभक्ति, राष्ट्रियता र विश्वमानवताको रक्षामा लागिपर्दा राज्यले पक्राउ वा प्रत्यक्ष गोली प्रहारद्वारा मर्ने वा घाइते हालतमा पक्राउ परेकोमा आफ्नो गल्तीका लागि क्षमायाचनासमेतको अवसर दिँदा पनि आफूले लिएको मूल्य मान्यताविपरीत आत्मरक्षाका लागि झुक्नुभन्दा बरू मृत्युवरण गर्न राजी हुने व्यक्ति नै वस्तुतः सहिदको सम्मान पाउनयोग्य मानिनु उपयुक्त हुनेछ । अरू स्वतन्त्रता सेनानी, प्रजातन्त्र सेनानी र जनयुद्धका योद्धाजस्ता सहिद सरहको सम्मानबाट सम्बोधित हुनलायक भएतापनि वस्तुतःतिनीहरू त आन्दोलन, आदर्श र पार्टी समूहका मात्र सहिद हुन राष्ट्रका सहिद होइनन् । त्यसैले सहिद गंगालाल र शुक्रराज शास्त्रीजस्ता मृत्यु हाँक दिने साझा ध्येयमा समर्पित अमरत्व पाउने महान हस्तीमात्र वास्तविक सहिद मानिई राज्यद्वारा उक्त सम्मानको हकदार हुनेछन् बाँकी शहादत पाउने महान आत्माहरू सहिद बराबरकै सम्मानयोग्य भए पनि तिनीहरू राजकीय सम्मान पाउने पंक्तिमा भने पर्न सक्ने छैनन त्यसैले राज्यले पनि यसै मुताबिकको सहिद नीति लिनुपर्छ ।

प्रा. डा. सुरेन्द्र के. सी.

शनिबार, गोरखापत्र
माघ १५, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *