Skip to content

थाइभूमिमा बितेका दुई रात

  • by

त्रिभुवन विमानस्थलबाट बैंकक ताकेर थाईएअर अकासियो । हेर्दाहेर्दै साउनको कालो बादलभित्र जहाज डुबेपछि मेरो मन पनि सन्देहको बादलमा मडारिन थाल्यो । सन्देह तीव्र हुँदै गयो । हर्मन हेस्सेको सिद्धार्थ पढ्न थालेको छु, तर यी आँखा केवल शब्दमा दगुर्छन्, हृदयले त्यसको अर्थ पढ्दैन । अङ्ग्रेजी पुस्तक भएर पो यस्तो भएको हो कि तेल दलेको ठाउँमा पानी बगेझैं हुन्छ । नेपाली पढ्दा पो ठीक हुन्छ कि ? प्रकाश आङ्देम्बेको सृष्टि प्रलयको सङ्घारमा पल्टाएँ भएन, राजन मुकारूङको हेत्छाकुप्पा पल्टाएँ भएन । दिन ढल्दै गयो, जति पूर्व उड्छु, त्यति साँझ पर्लाजस्तो हुन्छ । यो मन रात पर्ने बेला जङ्गलको मुखमा पुगेको कुनै बटुवाको झैं हुन्छ । एउटा कोलाहलपूर्ण सहर पनि आटब्य जङ्गलै हो । सबै छन्, तर मलाई चिन्ने को होला र ? मलाई त्यो गेटमा लिन पिङ्कर्ड आउलिन् ? कतै भूलिन् कि ? हैन मैले उनलाई भेटेँ । फिलिपिनो र भियतनामी विश्वविद्यालयबाट आउनेहरू सबैसित परिचय गरेँ । विश्वविद्यालयको गाडी चढ्यौं । 

बैंकक सहर छिचोलेपछि मीठो जून लागेको रातमा, दुईतिरका जङ्गल र बुट्यान कट्तै मैदानै-मैदानको चिल्लो बाटो सलल उडिरह्यौं । चुन्थाइबरी प्रान्त पुग्दा मध्यरात बितिसकेको थियो । भियतनामको तल, समुद्र छेउ, थाइल्यान्डको पूर्वोत्तर सोतो, मध्यरातमा ३०० कि.मि. कटियो काठमाडौंदेखि कोशी किनार । चुन्थाइबरी सारा सुनसान भइसकेको । गलेर हामी भतक्क थियौं । त्यसैले यो रातको आतिथ्यमा विश्वविद्यालयको गेष्टहाउस पस्यौं । भियतनामी मित्र र मलाई एउटा शान्त कोठा मिल्यो । भकाभकी पल्टियौं, एकैछिनमा भियतनामी घुर्न लागे  ।

बिहान उठेर हेरेँ— एउटा विचित्र भूमिमा हाम्रो बास भएको रहेछ । साना सुन्दर घर । हरिया अति हरिया चौरी काटेर मिलाएर चिटिक्क पारेका होचा-अग्ला लन । थुम्का-थुम्कीको फेदैफेद कुध्ने कालो नागवेली, यता तलाउ उता तलाउ, राजहाँस फिलिली तैरेका, नरिवलका लहर, सुपारीका लहर, ताडी र अरू पाम प्रजाति हावामा हल्लिएका । त्यस्तोमा हामी निस्कियौं । सबै चिटिक्क पारेको हरियो लन, ठाउँ-ठाउँ उभिएका झ्याम्म वृक्षहरू । वारि डिलमा एक पुष्प बगैंचा, पारि अर्को, कति राम्रा जुल्फी काटेका नीलकाँडा जस्ता र अरू सुन्दर टोपियारीका नमुना, पर्तिर रक गार्डेन, यतातिर ठूलठूला तोरण, प्रवेशद्वार, स्वागतद्वार कताकताबाट विचित्रको सुवासले हावा भरिएको । यो सारा विश्वविद्यालय परिसर— छात्रावास, कला भवन, वाणिज्य भवन, कृषि भवन, मेनबिल्डिङ, अनेक संरचना तर सुन्दर स्थानीयताको शिल्पचेतना झल्काउने सफा नकोरिएका भित्ता, बगैंचाले ढाकिएका आकर्षक पानीढलहरू  ।

आज एक सम्मेलनमा जानुछ— इन्टन्र्यासनल कन्फरेन्स अन सोसाइटी एन्ड युनिभर्सिटी विषयमा । घुम्दै-हेर्दै अति सुन्दर मोहक दृश्य र भूआकृतिमा आँखा नचाउँदै कार्यक्रमस्थल पुग्यौं । विशाल भवन छ, तीनतले । झिलिमिली छ र रङ्गीचङ्गी सिँगारिएको । टाढैबाट देखेँ, त्यसका छानाका लहरै उभिएका झण्डाहरू बिहानको सिरसिरे बतासमा हल्लिरहेको । हेर्दै गएँ— थाइल्यान्ड, इन्डोनेसिया, भियतनाम, चाइना, फिलिपिन्स, क्यानाडा, बेलायत, हङकङ, न्युजिल्यान्ड— चौध देशका झण्डा बीचमा हाँसिरहेको नेपाल । त्यो देख्ता भएको आनन्द र गौरवको बयान गर्ने शब्द मसँग छैनन् । चौध देशका हामी प्रस्तोता-वक्तालाई सम्मान गर्न झण्डा फर्फराइरहेका । तल आँगनदेखि स्वागतमा लामबद्ध भई उभिएका विद्यार्थीहरू सेतो र कालो युनिर्फम पहिरेर चिटिक्क परेका, हात जोडेर फूलसँग मुस्कुराउँदै, शिर निहुराएर स्वागतम, यता जानोस्, माथ्लो तला, उतापट्ट,ि त्यहाँ कुर्सीमा…  ।

हलको दुवै भित्तामा चौधैवटा स्टेजमा र कन्फरेन्स रूममा पनि ससाना झण्डा उभिएका । सर्वत्र यी देशहरूबीच नेपाल देख्ता मलाई भएको गौरव बयान गरिनसक्नुछ । कुनै तामझाम ढर्रा बेगर गोष्ठी सुरु भयो । मुख्य थिम समाज परिवर्तनमा उच्चशिक्षाको भूमिका भए तापनि विभिन्न विषयका कार्यपत्र समावेश थिए । त्यो दिनको मेरो गोष्ठीपत्र नेपालमा बोलिने भारोपेली भाषाबीच साहित्यिक अनुवादको आदान-प्रदान थियो । बर्मा, थाइल्यान्ड, इन्डोनेसिया, जाभा, भियतनाम आदि मुलुकमा पनि रामायण महाभारतका आदिकथा पुगेका छन् । ती प्राचीन गाथा र ग्रन्थहरूले इतिहासमा हामीलाई कहीं जोडेको हुनुपर्छ । बीचमा फुक्लियौं, हामीले एउटा अखण्ड अतीततिरको पुनःभ्रमण गर्नुपर्छ । हामी एकपल्ट भाषिक मूलतिरको परिभ्रमण गरौं, आदिम सांस्कृतिक/धार्मिक चेतनाकै सौन्दर्यतिर पसौं, एउटा साझा अनुवादकेन्द्रको स्थापना गरेर त्यस वरिपरि काम गरौं । मेरो यस्तो सारांशले पूर्वेली विद्वानहरू जुरुक-जुरुक उचालिएका थिए  ।

दिनभरि अनेक विषयका विद्वतापूर्ण कार्यपत्र भए । साँझमा सांस्कृतिक मन्दिरमा एउटा भोज थियो । खाँदा जिब्रै निलिएला जस्तो अपूर्व थाइभोजन । विश्वविद्यालयका प्रेसिडेन्ट लगायतका विशिष्टजन प्रत्येक टेबलमा पुगेर राम्ररी खाइदिनोस् अनुरोध गर्छन् । सारा विद्यार्थीले थापेका स्टल, उनीहरूको पाककला, आतिथ्य र विनयशीलता, अलिकति यो पनि चाखिदिनोस्, नयाँ कुरा थप्न ल्याउँछन् । उता स्टेजमा हजारौं वर्ष पुराना थाई नृत्यहरू प्रस्तुत हुँदाछन् । सबै हिन्दू-बौद्ध आभूषण वस्त्रमा, शास्त्रीय नृत्य गायन वन्दनाको संस्कारमा अनेक गाथाहरू कति सुन्दर अर्थपूर्ण महान अतीत त्यहाँ उतारिएको । पाहुनाको सम्मानमा एक हुल वादकहरू मधुर स्वरमा प्राचीन वाद्य र संगीतमा छन्  ।

भोलिपल्ट मुख्य थिममा बोल्ने प्यानेल वक्ता भएर चारजना माथि चढ्यौं । सूर्यचन्द्र अङ्कित झण्डा साक्षी राखेर आफ्नो विश्वविद्यालय र यसले समाज विकासमा गरेको योगदानबारे बोल्दा मलाई कम्ती अप्ठयारो परेन । त्यहाँ विद्यार्थीलाई कुलपतिले हातमा समाएर डोर्‍याएको देखेँ, हाम्रोमा विद्यार्थीले कुलपतिलाई । त्यहाँ प्राध्यापकका पछिपछि विनयशील विद्यार्थी देखेँ, यहाँ विद्यार्थीका पछिपछि विनयशील प्राध्यापकहरू । नब्बे प्रतिशत शैक्षिक जनशक्ति उत्पादन गर्ने त्रिवि राष्ट्रको मेरूदण्ड हो भनेर एकपल्ट कुर्लिएँ पनि तर यहाँ विश्वविद्यालय परिसरमा बेलाबेलै भाँचिएका मेरूदण्डहरू, सास दबाएर भागिरहेका प्राध्यापकहरू, ध्वाँसो-मोसो, लाठी र छडहरू, महिनौंका तालाबन्दी, लुकेर जागिर जोगाउने जुक्तिहरू— यी सारा नेपाली मौलिकताबारे त्यहाँ चर्चा गरौं कि भनेँ तर मलाई आँट पलाएन । रम्भाइ बार्नीको आतिथ्यले, भव्यताले, विद्यार्थी र शिक्षक नछुट्टिनेगरी चलेको, उनीहरू मिलेर सम्पन्न गरेका यति भव्य कार्यक्रम देखी म छक्क परेँ । त्यस्तोमा उभिएर बोल्न पाउँदा म एकपल्ट खुसी र गौरवले उचालिएँ । लाग्यो, यसैगरी बातविमर्शमा भाग लिँदै, अनेक संवाद छलफलमा सहभागी हुँदै, ठूलठूला विश्वविद्यालयका आँगनमा उभिने मौका पाइरहे म बाँकी यो जीवन त्यसैमा अर्पित गर्ने थिएँ । त्यसबेला मलाई उचालिँदै, सभ्यताका कान्लामा सिँगौरी हान्दै धूलो उडाउँदै कताकता पुग्ने रहरले छोप्यो । फेरि त्यहींबाट केही गोष्ठीपत्र भिरेँ र पश्चिमी गोलार्द्ध ताकेर उडेँ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *