Skip to content

अचानक टुट्यो लालप्रसादको निद्रा । बिहानको तीन पनि बज्न पाएको छैन, उसले हातमा बाँधेको महँगो रोम्यान्सन घडी हेर्यो- दुई बजेर पैँतीस मिनेट मात्र गएको छ । यो पनि कुनै निद्रा टुट्ने समय हो ? तर टुटिदियो बेइमान निद्रा । निद्रा टुटेपछि उसले थाहा पायो, बेलुका सुत्ने बेलामा यसो सुम्सुम्याउन भनी हातमा लिएको कार्ल मार्क्सको ‘दास क्यापिटल’ नामको पुस्तक छातीमै आधा पल्टिएर अडिएको रहेछ । किताब छातीमै अडिएर त केही भएन, एउटा मार्क्सवादी विचार बोकेको राजनीतिज्ञ र पार्टीको केन्द्रीय तहको नेता अनि सत्ता साझेदारीमा अर्थमन्त्री पद पाएको मान्छेको हातमा मार्क्सको दास क्यापिटल नभए अरू के हुन्छ त ? बीपीको मोदीआइन वा नरेन्द्र दाइ अथवा तीन घुम्ती कि जेल जर्नल ? आफैँलाई प्रश्न गर्यो लालप्रसादले । आफ्नो मनसँग भन्यो- कोही कार्यकर्ता वा सुरक्षा गार्डले देखेको भए कति राम्रो हुन्थ्यो यो दृश्य, म आफूमात्र असली मार्क्सवादी र अध्ययनशील अरू सबै नक्कली मार्क्सवादी र अध्ययनहीन भन्ने प्रमाणलाई मद्दत पुग्थ्यो- लालप्रसादले उसको कोठामा कोही नहुनुको बेफाइदा मूल्यांकन गर्यो । र, आफैसँग भन्यो- बेइमान समय ! यतिबेलाको मेरो अवस्था कसैले देख्नुमात्र होइन, देखेर सुटुक्क फोटो खिचेर मेरा विरुद्ध जथाभावी र भए-नभएको समाचार लेख्ने वाहियात पत्रकारहरूमाझ पुर्याइदिए कति असल हुन्थ्यो ! लालप्रसादले पत्रकारका नाममा दाह्रा किट्यो ।

सुरक्षा गार्डहरू यसो झ्यालतिरबाट चियाउँदै पो छन् कि भन्ने आशामा उसले चारैतिर आँखा डुलायो, तर त्यहाँ कोही थिएन । बाहिर घनघोर अँध्यारो थियो, बस्तीका अधिकांश मान्छेहरू निद्रामा थिए, सहर शान्त थियो । यस्तोमा कसले देखोस् उसलाई र उसको मनमा चलेका यावत् तर्कनाहरू सार्थक होऊन् ! लालप्रसादको तनाव झनै बढ्न थाल्यो ।

संसारभरका कम्युनिस्टहरूको गुरुमन्त्र दास क्यापिटल छातीमा रहनुले कुनै तनाव दिएको होइन लालप्रसादलाई, तनाव त रातभर अनेक प्रश्न गरेर एक सय छब्बीस वर्षअघि परमधाम गइसकेका मार्क्सले दिएका हुन् । त्यही प्रश्नहरूको झटाराले नै उसको निद्रा अधकल्चो पारििदयो, सपनामा मार्क्सले सोधेका कुनै पनि प्रश्नका उत्तर उसले दिन सकेको थिएन । जबजब मार्क्स प्रश्न गर्थे तबतब लालप्रसादलाई ऐंठन हुन्थ्यो, कसैले घाँटी थिचिदिएजस्तो हुन्थ्यो र अन्त्यमा अचानक उसको निद्रा टुट्यो । निद्रा टुट्दा उसको निधारमा पसिना आइरहेको थियो । तथापि, दिक्दार लाग्दा प्रश्नहरूसँगै केही रमाइला प्रसंग पनि उसको सपनामा आएका थिए । मार्क्सले हातैमा समातेर लालप्रसादलाई त्यो मुलुक घुमाएका थिए जहाँ कोही धनी र कोही गरबि थिएन, कोही पनि शासित र शासक थिएन । कोही तल्लो जात र कोही माथ्लो जातको थिएन । सबैखालका कामको सम्मान थियो । सहर र गाउँमा उतिसारो अन्तर थिएन, गाउँ झनै रमणीय थियो भने सहर सफा । त्यतिमात्र कहाँ हो र ? त्यहाँ कोही पनि बेरोजगार थिएन, मान्छेसँग अनावश्यक कुरा गर्ने वा विरोध, नारा-जुलुस गर्ने समय थिएन । समाज वर्गहीन थियो र थियो सीमानाहीन पनि । सबैतिर विकास भएको थियो । मान्छेको प्रथम र प्रमुख हक ‘निर्धक्क बाँच्न पाउने’ को सबैले सम्मान गरेका थिए । सबैको अनुहारमा कान्ति र मनमा चरम आनन्द थियो ।

अचानक लालप्रसादको मीठो सपनाको पटाक्षेप हुन पुगेको थियो र विरक्तलाग्दो प्रश्नोत्तरको चरण आरम्भ भएको थियो ।

कस्तो वाहियात प्रश्न गरेका हुन् बूढा मार्क्सले ? मैले उनको तस्बिर आफ्नो कार्यालयमा, बैठक कोठामा, घरमा सबैतिर राखेकै छु, भाषण गर्दा उनलाई आदरका शब्दहरूले सम्झना गरेकै छु, त्योभन्दा बढी अरू के नै गर्न सकिन्छ र ! अर्कोतिर आजको एक्काईसौं शताब्दीमा आएर उन्साईसौं शताब्दीको जस्तो प्रश्न गर्न मिल्छ मार्क्सले ? उन्नाइसौं शताब्दीको फिलसफी आजको एक्काईसौं शताब्दीमा आएर हुबहु अंगीकार गराउने प्रयत्न गर्न मिल्छ ? अहँ, मिल्दैन- लालप्रसादले प्रश्न र उत्तर दुवै आफैँ दियो र केहीबेर चित्त पनि बुझायो । उसले आफ्नो मनभित्र ठोकुवा पनि गर्यो- मार्क्सले राति घुमाएको जस्तो देश यो संसारमा कहीँ पनि छैन र हुन पनि सक्दैन अनि उनका प्रश्नहरू सबै असान्दर्भिक छन् ।

तर प्रश्नहरू यति ज्यादा पेचिला थिए कि तिनलाई जति बिर्सन खोज्यो त्यति नै ती तिखा बन्थे- तिम्रो देशमा यति धेरै जनता गरबिीको रेखामुनि बाँचेका छन्, अति सामान्य औषधि सिटामोल वा जीवनजल (नुन-चिनी-पानीको मिश्रण) नपाएर मृत्यु भोग्न बाध्य हुन्छन् जनता, तर तिमी भने किन यतिबिघ्न विलासी जीवन भोग्दै छौ ? तिम्रो सवारी साधनको कति पैसा पर्छ, तिमी सुत्ने पलङको मूल्य कति हो ? तिम्रो पहिरन, तिमीले प्रयोग गर्ने अत्तर, तिम्रो खान्की…. यी सबै तिमीले बोकेको सिद्धान्तअनुकूल छन् लालप्रसाद ? तिमी जनतालाई भ्रममा राखेर ठूलो धोका दिँदै छौ, तिनको गरबिीको व्यापार किन गर्दै छौ ? तिम्रो पार्टी भूमिगत छँदा तिमीलाई आफ्नो घरमा ससम्मान वास र गाँस दिने गाउँले जनतासँग के भनेका थियौ ? तिनले तिमीसँग के आशा राखेर तिमीलाई सक्दो सहयोग गरेका थिए ?

राजनीति गर्दा, चुनावमा भोट माग्दा, जनताको घरदैलो गर्दा के आश्वासन बाँडेका थियौ जनतासामु ? खोइ तिम्रो मुलुकको धनी र गरीबबीचको असमान खाडल कम गर्न तिमीले प्रयत्न गरेको ? असमानताको खाडल त झनै गहिरँिदो पो छ त ! मेरो मृत्युपछि संसारभरका जनवादीहरूले तिम्रो मुलुकको कम्युनिस्ट आन्दोलन र संघर्षका बखत तिमीहरूले लिएको जनपक्षीयताको साहै्र आशालाग्दो अवस्था देखेका थिए, सबैतिरबाट त्यसको प्रशंसा भएको थियो, तर खै अहिले कार्यान्वयनका बेला ? बुर्जवा र पुँजीवादी पार्टीको भन्दा पनि तिमीहरूको कार्यशैली जनविरोधी भयो । बुर्जवाहरू त सीधै भन्ने गर्छन्- हामी पुँजीवादी हौं र त्यसको पक्षपोषण गर्छौं, तर तिमीहरू त भन्दा आफूलाई सर्वहारा भन्छौ, जनवादी पनि भन्छौ, सामन्तीप्रथाको विरोधी भन्छौ, अनि सत्ता हातमा परेपछि ! यो द्वैध चरत्रिले तिम्रो देशको मात्र होइन, संसारभरका कम्युनिस्टलाई हानि गरेको छ । लालप्रसाद के तिमीले एउटा माघले सधैँको जाडो जान्छ वा एक पटकको निर्वाचनमा बहुमत ल्याउँदैमा सधैँ सत्तामा बसिरहन पाइन्छ भनेर सोचेका छौ ? यदि त्यसो हो भने तिम्रो पार्टीलाई जनमत प्राप्त हुने दिन अब सकिए र तिमी मन्त्री बन्ने मौका अब कहिल्यै आउने छैन !

लालप्रसाद मार्क्सको पछिल्लो वाक्यबाट ज्यादा पीडित भयो- तिमी मन्त्री बन्ने मौका अब कहिल्यै आउने छैन । पार्टीका कुरा….., गणतन्त्रका कुरा…., धनी-गरबिका कुरा…., जनजीविकाका कुरा… आ !! यी मेरामात्र जिम्माका कुरा होइनन्, मेरो पार्टीमा अरू पनि धेरै नेता छन्, अध्यक्ष, उपाध्यक्ष, महासचिव कति हुन् कति… म त जाबो केन्द्रीय सदस्य मात्रै न हुँ…. मजस्ता त मेरो पार्टीमा दर्जनौं छन्, मन्त्री पनि ममात्रै भएको हो र ! अठ्चालीस जना पुगिसके ।

यस बखतसम्म उसले सपनामा घुमेको सुन्दर देश भने भुलिसकेको थियो । लालप्रसादलाई लाग्यो- सुत्दाखेर िदास क्यापिटल पुस्तक छोएर सुतेको हुनाले वा छातीमै रहेको हुनाले यस्तो भयानक सपना देखिएको हो । अब कहिल्यै पनि उक्त पुस्तक सुत्ने बखत नछुने वा त्यसलाई सम्झना पनि नगर्ने वाचा मनमनै गर्यो उसले । तर रातो टल्किएको पुस्तकले उसलाई क्वारक्वार्ती हेररिहेको थियो । लालप्रसादले पुस्तक उठायो र आफ्ना कपडा राख्ने दराजको एउटा कुनामा त्यसलाई राखिदियो अनि ताल्चा लगायो दराजमा । आएर ओछ्यानमा पल्टियो, निदाउन खोज्यो, तर सकेन । दराज खोलेर पुस्तक पुनः हातमा लियो, त्यसका पाना पल्टाउन खोज्यो, पुस्तक उसैगरी बीच भागमा पल्टियो जसरी राति पल्टिएको थियो, जहाँ आर्थिक क्रान्तिका अनेकौं प्रसंगहरू थिए- धनी र गरीबबीच किन भेदभाव हुन्छ र त्यसलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने कुरा, सम्पत्तिको समान वितरण, काम गरेपछि पाइने ज्यालाबारे, द्वन्द्वात्मक भौतिकवाद के हो ? आदि कुरा थियो । लालप्रसादलाई भाउन्न होला जस्तो भयो- आधा लिटर जति पानी पियो ।

पुस्तकको रातो गाता टल्किएर लालप्रसादको आँखामा ठोक्किन पुग्यो । गाताको बीचमा मार्क्सको तस्बिर पनि थियो- खुइलिएको तालु, नमिलाइएका जस्ता लाग्ने दाह्री-जुँगा र उसैगरी नकोरएिका

जस्ता कपालसँग लालप्रसाद एकदमै विमोहित भयो (भूमिगत राजनीतिमा रहेका बेला लालप्रसादले मार्क्सकै जस्तो दाह्री र कपाल बनाउने प्रयत्न गरेको थियो) । लालप्रसादले कोठाको ढोका खोल्यो र उक्त पुस्तकलाई बाहिर बरन्डामा लगेर राख्यो, फेर िकोठामा आयो र ओछ्यानमा पल्टियो । तर उसको मानसिक अवस्थामा कुनै सुधार आएन, निदाउनका निम्ति उसले गरेका अनेक प्रयत्नहरू विफल भए । प्रयत्नहरूका बीच नै बिहानको मिर्मिरे उज्यालो उसको आवासमा पनि प्रवेश गर्ने सुरसार गर्दै थियो । उसको दैनिकी आरम्भ हुने बेला भइसकेको थियो ।

कार्यालय जाँदा लालप्रसादले दास क्यापिटल साथै लिएर गयो । ‘मन्त्रीज्यू कत्ति अध्ययनशील !’ यस्तै सोचे होलान् मन्त्रालयका सचिव, सहसचिव वा अन्य सम्बद्ध व्यक्तिहरूले, तर लालप्रसादका निम्ति त्यो पुस्तक एउटा असहनीय र पीडादायी

‘वस्तु’ बनेको थियो । त्यसलाई कहाा र कसरी मिल्काउन सकिन्छ भन्ने चिन्ताले ग्रस्तपारेको थियो उसलाई । फेर िराति निद्रामा मार्क्स आउने, नानाथरकिा प्रश्न गर्ने र त्यसपछि झस्केर बिउँझने अनि अनिदो रात कटाउनुपर्ने डर उसको मनमा पैदा भएको थियो ।

उसले सोच्यो- पुस्तक जलाइदिने वा कतै खाडल खनेर गाडिदिने । घरभर िसुरक्षा गार्ड, आफन्त आदि छन्, त्यहाँ जलाउने वा च्यातेर धुजाधुजा पारी खाडलमा गाड्ने अवस्था पनि थिएन- निकै गाह्रो थियो त्यसो गर्न ।

त्यस दिन लालप्रसादले कार्यालयमा कुनै काम गरेन । काम भन्नु कार्यालयका उच्च तहका कर्मचारीसँग गफ गर्नु, चिया-कफी वा चिसो पिउनु, फोनमा कुरा गर्नु  र कागजातमा सही गर्नुमात्र हुन्थ्यो । तर त्यो पनि गरेन उसले । भेटघाटका निम्ति कसैलाई समय दिएन । कसैसँग बोल्ने मन थिएन उसलाई ।

कार्यालय समय सकिएर निवास र्फकने क्रममा लालप्रसादले ड्राइभरलाई अलि घुमाउरो बाटो अथवा मूल बजारको बाटो भएर लैजान भन्यो । केही बेरपछि नै मूल बजारको बाटोको छेवैमा जब उसका आँखा अगाडि फोहोरको डंगुर देखापर्यो, उसले कारको सिसा खोल्यो र फ्यालिदियो दास क्यापिटल त्यही फोहोरको डंगुरमा । त्यसपछि उसले लामो सास तान्यो । ड्राइभर र कारभित्र रहेका सुरक्षा गार्ड दुवै चुपचाप थिए, मन्त्रीलाई पुस्तक किन फालेको भनेर प्रश्न गर्ने हिम्मत उनीहरूसँग थिएन ।

आजको सपनामा पनि हिजोजस्तै गरी मार्क्स आए भने के गर्ने ? उनका सम्झना दिलाउने यावत् वस्तुहरू दास क्यापिटल पुस्तक फालेजसरी नै फोहोरको डंगुरमा मिल्काउन कसरी सकिएला ? अफिस, पार्टी कार्यालय, मेरो आफ्नै निवासलगायतका स्थानमा टाँगिएका मार्क्सका तस्बिर हटाउन सम्भव छ ? मैले त्यो पुस्तक त्यसरी फालेको कसैले देख्यो वा देख्ने ड्राइभर अथवा सुरक्षा गार्डले कसैलाई भनिदिए भने मेरो हविगत के होला ?

लालप्रसाद निवास फर्कंदा साँझ पर्नपर्न लागेको थियो । यद्यपि, आजका दिन लालप्रसादका निम्ति निकै लामो बनेको थियो । यो धरतीमा किन आज यति लामो समयसम्म उज्यालो छाएको छ ? यो प्रकृति किन आज यति निष्ठुर बनिरहेछ ? किन यो घडी ढिलो घुमेको छ ? यो अँध्यारो किन आज परपर भागेको छ ? किन एकाबिहानैदेखि मेरो टाउको दुखेर मलाई चक्कर लागिरहेछ ? यस्ता थुप्रै प्रश्न उसले आफूसँग गरेको थियो ।

तर कुनै पनि प्रश्नका उत्तर उसँग थिएनन् । फगत ती प्रश्नहरू झ्याँगिएर उसलाई डस्न आतुरझैँ थिए । ऊ सीधै आफ्नो ओछ्यानमा गएर पल्टियो र प्रतीक्षा गर्न थाल्यो रात कहिले पर्ला…. निद्रा कहिले लाग्ला… भनी ! साथै कामना पनि गर्न थाल्यो- सपनामा अरू जोसुकै आऊन्, तर मार्क्सचाहिँ कहिल्यै नआऊन् !

कान्तिपुर कोशेली
२०६६ कार्तिक १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *